अखिल भारतीय नेपाली स्वतन्त्र विद्यार्थी युनियन, लक्ष्मीनगर कमिटीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न केही समयअघि एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई भारतको नयाँ दिल्ली आइपुगेका थिए । सोही अवसरमा बाह्रखरीकर्मी ऋषिराम अधिकारीले समसामयिक राजनीति र एमालेको धारणाका विषयमा भट्टराईसँग कुराकानी गरेका थिए । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सारसङ्क्षेप :
संविधान संशोधनमा एमाले किन बाधक बन्यो, पछिल्लो समय एमाले अस्थिर राजनीतिको पृष्ठपोषक किन बन्दैछ ?
संविधान संशोधन निरन्तर चलिरहने प्रक्रिया हो । संविधान कुनै धार्मिक ग्रन्थ हैन, यो संशोधन हुन्छ । तर संशोधनको औचित्य, आवश्यकताहरू पुष्टि हुनुपर्छ । संविधान संशोधनको जुन विषयवस्तु अगाडि सारिएको छ, ती कुराहरू अहिलेको सन्दर्भमा औचित्यहिन छन् । कतिपय कुराहरू संविधानमा स्वतः स्पष्ट छन्, ती कुराहरूलाई पुनः अघि सारिएको छ । प्रदेशको सिमाङ्कन हेरफेर गर्ने कुरा, प्रदेश सभा नबनी, संसद नबनी सम्भव छैन । सम्मानित अदालत ले नै भनिसकेको त त्यो कुरा ।
फेरि त्यसलाई जबर्जस्ती संशोधन गर्ने नाममा ल्याइएको छ । नेपालको संविधानले नै बहुभाषा नीति हुने भनेको छ । नेपालमा बोलिने मातृ भाषाहरू प्रदेशको, स्थानीयको निर्णयबाट जुन–जुन ठाउँमा नेपाली भाषा बाहेक बोलिन्छ त्यहाँ त्यही रूपले सरकारी कामकाजको भाषा हुने भनिएको छ ।
तर, अहिले संशोधनको नाममा बखेडा झिकिँदैछ । यो प्रकारान्तरले नेपालमा बोलिने मैथिली, भोजपुरी, अवधि, थारू, राई, लिम्बू, मगर, गुरुङ, नेवारलगायत समुदायले बोल्ने भाषाहरुलाई समाप्त गर्ने र कुनै विदेशी भाषाको प्रभुत्व यहाँ स्थापित गर्ने उद्देश्यका साथ यो प्रस्ताव आएको छ । त्यसैले हामीले यसलाई औचित्यहिन भनेका छौं । त्यो बाहेक स्थानीय तहको संख्या बढाउने कुरामा सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन घोषणा भइसकेको सन्दर्भमा यो संख्या बढाउन नमिल्ने भएको छ । एउटा नियम कानुनबाट ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन भैसक्यो, अब अर्को कुनै प्रदेशमा अर्को नियम कानुनले चल्ने हुँदैन । त्यही नियम कानुनले चल्छ ।
मधेस आन्दोलनपश्चात पहाड–मधेसका बीचमा एउटा फाटो आयो । त्यसले दुई किसिमको राष्ट्रियता पैदा गर्यो भन्छन्, तपाई के भन्नु हुन्छ ?
कतिपयले त्यो व्याख्या गर्न खोजेका छन् । व्याख्या होइन, अपव्याख्या हो त्यो । नेपालमा दुईवटा, तीनवटा, अझ बहुराष्ट्रियता छ भनेर भौगोलिक रुपमा विभाजन गर्न खोज्ने यहाँ धेरै छन् । नेकपा एमालेको दृष्टिकोण र अध्ययनबाट हाम्रो के निष्कर्ष छ भने नेपालमा जातिय, भौगोलिक, भाषिक एवं सांस्कृतिक विविधता छ तर त्यो विविधताका बीचमा एउटा मात्र राष्ट्रियता छ । त्यो भनेको नेपाली राष्ट्रियता हो । नेपालको पहाडमा बसेर टोपी लगाउनेहरूले पनि नेपालको निर्माणमा भूमिका खेलेका छन् र तराईमा बसेर धोती लगाउनेले पनि नेपालको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् । अलग राष्ट्रियताको व्याख्या गरेर नेपाललाई विभाजित गर्ने दुष्प्रयासको एमालेले डटेर विरोध गर्छ ।
असोज दुई गते हुने दुई नम्बर प्रदेशमा एमालेको चुनावी रणनीति कस्तो छ ?
दुई नम्वर प्रदेशमा नेकपा एमाले पूरै तयारीका साथ अगाडि बढेको छ । हामीले प्रदेश नम्बर दुईका आठवटै जिल्लामा पार्टीका केन्द्रीय पदाधिकारीहरूलाई अनुगमन गर्न तथा स्थानीय अवस्था बुझ्न खटाएका छौँ । सबै नेताहरू आफ्नो–आफ्नो तोकेको जिल्लामा जानु भएको छ । पार्टीका आन्तरिक भेलाहरू, बैठकहरू, प्रशिक्षणहरु यो बीचमा चलिरहेका छन् । अधिकांश जिल्लाहरूमा उमेदवारहरू छनोट भैसकेका छन् भने केही जिल्लाका बाँकी उमेदवारहरूलाई हामी साउन मसान्तसम्म टुङ्ग्याउछौं । भाद्र लागेलगत्तै पार्टीको अध्यक्षलगायत शीर्ष नेताहरूको टोली नै तराईमा झर्ने र बहुमतका साथ दुई नम्वर प्रदेशमा विजयी हासिल गर्नेमा लाग्ने छौँ ।
तपाईं एमालेले कहिले पनि भारतका लागि बेइजिङ्ग कार्ड र चीनका लागि दिल्ली कार्ड खेल्दैनौ भन्नु हुन्छ तर पछिल्लो समय एमाले चीनसँग धेरै नजिक भएको भन्छन् नि ?
हामी भारत र चीन दुवैसँग समदूरीको सम्बन्ध स्थापना गर्न चाहन्छौँ । यो नेकपा एमालेको घोषित नीति हो किनभने दुवै देशको प्रगति र उपलब्धिहरूको फाइदा नेपालले लिन चाहन्छ । एउटा देशलाई चिढ्याएर अर्को देशको नजिक बस्ने असफल कार्यनीति हो । यो कार्यनीतिको पक्षमा हामी छैनौँ । हामी पन्चशीलको सिद्धान्त, एक–अर्काको सार्वभौमसत्ताको सम्मान, आपसी हितका लागि दुवै भारत र चीनसँग मित्रवत सम्बन्ध कायम राख्न चाहन्छौं ।
नेपाली राजनीतिमा युवालाई अवसर दिनुपर्छ भन्नुहुन्छ तपाईंहरू तर त्यो अनुरुपले युवाहरू नेतृत्व तहमा पुगेका छैनन् नि !
नेपालमा खासगरी राजनीतिमा युवाहरुको उपस्थिति उल्लेख्य रूपले बढी राखेको छ । नेकपा एमाले केन्द्रीय कमिटीमा हेर्नुहुन्छ भने युवाहरूको उपस्थिति धेरै छ । पार्टीका चुनावमा पनि उनीहरूले जितेर नै आएका छन् । हाम्रोमा मात्र हैन । अहिले कांग्रेस, माओवादीभित्र पनि युवा साथीहरू धेरै छन् । युवाहरूलाई मुख्यचाहिँ रोजगारीको अवसरहरु सृजना गर्ने महत्त्वपूर्ण कुरा हो ।
नेपालले ६०–७० वर्ष देखि लड्दै आएको राजनीतिक मुद्दामा हामी अहिले एउटा टुंगोमा पुगेका छौँ । संविधान निर्माणसँगै अब नेपालको राजनीतिक व्यवस्था सुध्रँदै गएको पनि छ । अबको मुख्य अजेण्डा भनेको आर्थिक सम्मृद्धि नै हो । नेपालको अर्थतन्त्रलाई मजवुत र आत्मनिर्भर बनाउने, नेपालमा लगानीको वातावरण बनाउने, ठूल्ठूला उद्योग–धन्दा संचालन गर्ने, व्यापार व्यवसायलाई अगाडि बढाउन, कृषिको आधुनिकीकरण गर्ने, जलश्रोतलाई बहुउपयोगी बनाउने, पर्यटनको विकास गर्ने आदि माध्यमबाट देशमा रोजगारीको सिर्जना गर्न सकिन्छ ।
डा. गोविन्द केसीको आन्दोलनमा एमाले किन मौन ?
गोविन्द केसी अनसनमा बसिराख्नु हुन्छ, अहिले पनि बसिराख्नु भएको छ । उहाँका मागहरूको सम्वेदनशीलतालाई बुझेर, सरकारले वार्ता गरेर उहाँको जीवन रक्षा गर्नुपर्छ । कति मागहरू सही होलान, कति मागहरू गलत होलान् । सबै मागहरु सही हुन्छन् भन्ने पनि छैन । नेपालका हितमा हुने मागहरू निःसर्त पूरा गर्नुपर्छ ।
जारी चीन–भारतको तनावले नेपाललाई कस्तो असर पार्ला ?
यसले नेपाललाई कुनै असर गर्दैन । यो उहाँहरूको आफ्नो मामला हो । तथापि यस्ता समस्याले नेपाललाई तर्साइराखेको हुन्छ । उनीहरूको स्वार्थको मिचाइमा कहिलेकाहीँ हामी बीचमा पर्छौं कि भन्ने भय हुन्छ । । जस्तो भारत र चीनले केही वर्षअघि लिपुलेकमा एउटा सम्झौता गरे ।
त्यो लिपुलेक नेपाली भूमी हो । भारतले आफ्नो भनेर दावी गर्छ । यसरी कहिलेकाहीँ ठूला देशहरूले साना देशहरूको सम्वेदनशीलतालाई नबुझ्दिने, त्यसप्रति नजरअन्दाज गर्दिने खतराहरू हुने गर्छन् ।
अन्त्यमा, नेपालको वर्तमान राजनीति कुन रूपमा अघि बढिरहेको छ ?
नेपालको राजनीतिक स्थिति एउटा लामो संक्रमणकालबाट हामी निस्किँदै छौँ । झण्डै ७० वर्ष यो संक्रमणकाल रह्यो । संविधान निर्माण, स्थानीय निर्वाचन, आउने संसदीय निर्वाचन, यी सबैले नेपालको राजनीतिक संक्रमणकाल अन्त्य गर्छ । हामी सम्भावनाहरूको बीचबाट अगाडि बढिरहेका छौँ । यसलाई नेपालका राजनीतिक दलहरुले सहि ढङ्गले बुझ्नुपर्छ ।
नेपाललाई आर्थिकरूपले अब्बल बनाउने नै मुख्य कुरा हो । आउने मङ्सिर–पुसमा प्रदेश सभाको निर्वाचन र प्रतिनिधि सभाको निर्वाचन गरिसक्नुपर्छ । हामी एकैपटक यो चुनाव होस् भन्ने चाहन्छौँ । किन भने यसो गरेको खण्डमा हामीले राष्ट्रको ठूलो धनराशि बचाउन सक्छौँ । विश्वास छ, संसदीय निर्वाचनमा एमालेले सुविधाजनक बहुमत ल्याउँछ । र एकल सरकार बनाउँछ ।