site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
भारत र चीन दुवैसँग समदूरीको सम्बन्ध राख्न चाहन्छौं
Sarbottam CementSarbottam Cement

अखिल भारतीय नेपाली स्वतन्त्र विद्यार्थी युनियन, लक्ष्मीनगर कमिटीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न केही समयअघि एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई भारतको नयाँ दिल्ली आइपुगेका थिए । सोही अवसरमा बाह्रखरीकर्मी ऋषिराम अधिकारीले समसामयिक राजनीति र एमालेको धारणाका विषयमा भट्टराईसँग कुराकानी गरेका थिए । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सारसङ्क्षेप :

संविधान संशोधनमा एमाले किन बाधक बन्यो, पछिल्लो समय एमाले अस्थिर राजनीतिको पृष्ठपोषक किन बन्दैछ ?

संविधान संशोधन निरन्तर चलिरहने प्रक्रिया हो । संविधान कुनै धार्मिक ग्रन्थ हैन, यो संशोधन हुन्छ । तर संशोधनको औचित्य, आवश्यकताहरू पुष्टि हुनुपर्छ । संविधान संशोधनको जुन विषयवस्तु अगाडि सारिएको छ, ती कुराहरू अहिलेको सन्दर्भमा औचित्यहिन छन्  । कतिपय कुराहरू संविधानमा स्वतः स्पष्ट छन्, ती कुराहरूलाई पुनः अघि सारिएको छ । प्रदेशको सिमाङ्कन हेरफेर गर्ने कुरा, प्रदेश सभा नबनी, संसद नबनी सम्भव छैन । सम्मानित अदालत ले नै भनिसकेको त त्यो कुरा ।

Prabhu Bank
Agni Group
NIC Asia

फेरि त्यसलाई जबर्जस्ती संशोधन गर्ने नाममा ल्याइएको छ । नेपालको संविधानले नै बहुभाषा नीति हुने भनेको छ । नेपालमा बोलिने मातृ भाषाहरू प्रदेशको, स्थानीयको निर्णयबाट जुन–जुन ठाउँमा नेपाली भाषा बाहेक बोलिन्छ त्यहाँ त्यही रूपले सरकारी कामकाजको भाषा हुने भनिएको छ ।

तर, अहिले संशोधनको नाममा बखेडा झिकिँदैछ । यो प्रकारान्तरले नेपालमा बोलिने मैथिली, भोजपुरी, अवधि, थारू, राई, लिम्बू, मगर, गुरुङ, नेवारलगायत समुदायले बोल्ने भाषाहरुलाई समाप्त गर्ने र कुनै विदेशी भाषाको प्रभुत्व यहाँ स्थापित गर्ने उद्देश्यका साथ यो प्रस्ताव आएको छ । त्यसैले हामीले यसलाई औचित्यहिन भनेका छौं । त्यो बाहेक स्थानीय तहको संख्या बढाउने कुरामा सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन घोषणा भइसकेको सन्दर्भमा यो संख्या बढाउन नमिल्ने भएको छ । एउटा नियम कानुनबाट ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन भैसक्यो, अब अर्को कुनै प्रदेशमा अर्को नियम कानुनले चल्ने हुँदैन । त्यही नियम कानुनले चल्छ । 

Global Ime bank

मधेस आन्दोलनपश्चात पहाड–मधेसका बीचमा एउटा फाटो आयो । त्यसले दुई किसिमको राष्ट्रियता पैदा गर्यो भन्छन्, तपाई के भन्नु हुन्छ ?

कतिपयले त्यो व्याख्या गर्न खोजेका छन् । व्याख्या होइन, अपव्याख्या हो त्यो । नेपालमा दुईवटा, तीनवटा, अझ बहुराष्ट्रियता छ भनेर भौगोलिक रुपमा विभाजन गर्न खोज्ने यहाँ धेरै छन् । नेकपा एमालेको दृष्टिकोण र अध्ययनबाट हाम्रो के निष्कर्ष छ भने नेपालमा जातिय, भौगोलिक, भाषिक एवं सांस्कृतिक विविधता छ तर त्यो विविधताका बीचमा एउटा मात्र राष्ट्रियता छ । त्यो भनेको नेपाली राष्ट्रियता हो । नेपालको पहाडमा बसेर टोपी लगाउनेहरूले पनि नेपालको निर्माणमा भूमिका खेलेका छन् र तराईमा बसेर धोती लगाउनेले पनि नेपालको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् । अलग राष्ट्रियताको व्याख्या गरेर नेपाललाई विभाजित गर्ने दुष्प्रयासको एमालेले डटेर विरोध गर्छ ।

असोज दुई गते हुने दुई नम्बर प्रदेशमा एमालेको चुनावी रणनीति कस्तो छ ?

दुई नम्वर प्रदेशमा नेकपा एमाले पूरै तयारीका साथ अगाडि बढेको छ । हामीले प्रदेश नम्बर दुईका आठवटै जिल्लामा पार्टीका केन्द्रीय पदाधिकारीहरूलाई अनुगमन गर्न तथा स्थानीय अवस्था बुझ्न खटाएका छौँ । सबै नेताहरू आफ्नो–आफ्नो तोकेको जिल्लामा जानु भएको छ । पार्टीका आन्तरिक भेलाहरू, बैठकहरू, प्रशिक्षणहरु यो बीचमा चलिरहेका छन् । अधिकांश जिल्लाहरूमा उमेदवारहरू छनोट भैसकेका छन् भने केही जिल्लाका बाँकी उमेदवारहरूलाई हामी साउन मसान्तसम्म टुङ्ग्याउछौं । भाद्र लागेलगत्तै पार्टीको अध्यक्षलगायत शीर्ष नेताहरूको टोली नै तराईमा झर्ने र बहुमतका साथ दुई नम्वर प्रदेशमा विजयी हासिल गर्नेमा लाग्ने छौँ । 

तपाईं एमालेले कहिले पनि भारतका लागि बेइजिङ्ग कार्ड र चीनका लागि दिल्ली कार्ड खेल्दैनौ भन्नु हुन्छ तर पछिल्लो समय एमाले चीनसँग धेरै नजिक भएको भन्छन् नि ?

हामी भारत र चीन दुवैसँग समदूरीको सम्बन्ध स्थापना गर्न चाहन्छौँ । यो नेकपा एमालेको घोषित नीति हो किनभने दुवै देशको प्रगति र उपलब्धिहरूको फाइदा नेपालले लिन चाहन्छ । एउटा देशलाई चिढ्याएर अर्को देशको नजिक बस्ने असफल कार्यनीति हो । यो कार्यनीतिको पक्षमा हामी छैनौँ । हामी पन्चशीलको सिद्धान्त, एक–अर्काको सार्वभौमसत्ताको सम्मान, आपसी हितका लागि दुवै भारत र चीनसँग मित्रवत सम्बन्ध कायम राख्न चाहन्छौं । 

नेपाली राजनीतिमा युवालाई अवसर दिनुपर्छ भन्नुहुन्छ तपाईंहरू तर त्यो अनुरुपले युवाहरू नेतृत्व तहमा पुगेका छैनन् नि !

नेपालमा खासगरी राजनीतिमा युवाहरुको उपस्थिति उल्लेख्य रूपले बढी राखेको छ । नेकपा एमाले केन्द्रीय कमिटीमा हेर्नुहुन्छ भने युवाहरूको उपस्थिति धेरै छ । पार्टीका चुनावमा पनि उनीहरूले जितेर नै आएका छन् । हाम्रोमा मात्र हैन । अहिले कांग्रेस, माओवादीभित्र पनि युवा साथीहरू धेरै छन् । युवाहरूलाई मुख्यचाहिँ रोजगारीको अवसरहरु सृजना गर्ने महत्त्वपूर्ण कुरा हो ।

नेपालले ६०–७० वर्ष देखि लड्दै आएको राजनीतिक मुद्दामा हामी अहिले एउटा टुंगोमा पुगेका छौँ । संविधान निर्माणसँगै अब नेपालको राजनीतिक व्यवस्था सुध्रँदै गएको पनि छ । अबको मुख्य अजेण्डा भनेको आर्थिक सम्मृद्धि नै हो । नेपालको अर्थतन्त्रलाई मजवुत र आत्मनिर्भर बनाउने, नेपालमा लगानीको वातावरण बनाउने, ठूल्ठूला उद्योग–धन्दा संचालन गर्ने, व्यापार व्यवसायलाई अगाडि बढाउन, कृषिको आधुनिकीकरण गर्ने, जलश्रोतलाई बहुउपयोगी बनाउने, पर्यटनको विकास गर्ने आदि माध्यमबाट देशमा रोजगारीको सिर्जना गर्न सकिन्छ ।

डा. गोविन्द केसीको आन्दोलनमा एमाले किन मौन ?

गोविन्द केसी अनसनमा बसिराख्नु हुन्छ, अहिले पनि बसिराख्नु भएको छ । उहाँका मागहरूको सम्वेदनशीलतालाई बुझेर, सरकारले वार्ता गरेर उहाँको जीवन रक्षा गर्नुपर्छ ।  कति मागहरू सही होलान, कति मागहरू गलत होलान् ।  सबै मागहरु सही हुन्छन् भन्ने पनि छैन । नेपालका हितमा हुने मागहरू निःसर्त पूरा गर्नुपर्छ ।

जारी चीन–भारतको तनावले नेपाललाई कस्तो असर पार्ला ?

यसले नेपाललाई कुनै असर गर्दैन । यो उहाँहरूको आफ्नो मामला हो । तथापि यस्ता समस्याले नेपाललाई तर्साइराखेको हुन्छ । उनीहरूको स्वार्थको मिचाइमा कहिलेकाहीँ हामी बीचमा पर्छौं कि भन्ने भय हुन्छ  । । जस्तो भारत र चीनले केही वर्षअघि लिपुलेकमा एउटा सम्झौता गरे ।

त्यो लिपुलेक नेपाली भूमी हो । भारतले आफ्नो भनेर दावी गर्छ । यसरी कहिलेकाहीँ ठूला देशहरूले साना देशहरूको सम्वेदनशीलतालाई नबुझ्दिने, त्यसप्रति नजरअन्दाज गर्दिने खतराहरू हुने गर्छन् । 

 अन्त्यमा, नेपालको  वर्तमान राजनीति कुन रूपमा अघि बढिरहेको छ ?

नेपालको राजनीतिक स्थिति एउटा लामो संक्रमणकालबाट हामी निस्किँदै छौँ । झण्डै ७० वर्ष यो संक्रमणकाल रह्यो । संविधान निर्माण, स्थानीय निर्वाचन, आउने संसदीय निर्वाचन, यी सबैले नेपालको राजनीतिक संक्रमणकाल अन्त्य गर्छ । हामी सम्भावनाहरूको बीचबाट अगाडि बढिरहेका छौँ । यसलाई नेपालका राजनीतिक दलहरुले सहि ढङ्गले बुझ्नुपर्छ ।

नेपाललाई आर्थिकरूपले अब्बल बनाउने नै मुख्य कुरा हो । आउने मङ्सिर–पुसमा प्रदेश सभाको निर्वाचन र प्रतिनिधि सभाको निर्वाचन गरिसक्नुपर्छ । हामी एकैपटक यो चुनाव होस् भन्ने चाहन्छौँ । किन भने यसो गरेको खण्डमा हामीले राष्ट्रको ठूलो धनराशि बचाउन सक्छौँ । विश्वास छ, संसदीय निर्वाचनमा एमालेले सुविधाजनक बहुमत ल्याउँछ । र एकल सरकार बनाउँछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC