काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल उत्तर कोरिया प्रस्थान गरेका छन् । उनी अपरान्ह थाइ एयरमार्फत उत्तर कोरिया प्रस्थान गरेको स्रोतले जानकारी दियो ।
उत्तर कोरिया सरकारको निमन्त्रणमा नेता नेपाल शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गरेको स्रोतले जानकारी दियो । पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नेता नेपाल उत्तर कोरिया जाने आफूले थाहा पाए पनि पार्टी कार्यालयमा त्यसको जानकारी नआएको बताए ।
“उहाँ जाने भन्ने मैले सुनेको हुँ । पार्टी कार्यालयमा जानकारी आइपुगेको छैन, किन र केका लागि जाँदै हुनुहुन्छ, पार्टीलाई जानकारी छैन,” उनले भने ।
पछिल्लो समय उत्तर कोरियासँग अमेरिका र दक्षिणकोरियासँग तनाब बढिरहँदा नेता नेपालको भ्रमणको विषयलाई लिएर अनेक टिका टिप्पणी भइरहेको छ । तर, नेता योगेश भट्टराई नेता नेपाल उत्तर कोरिया जानु सामान्य विषय भएको बताउँछन् । एमाले सचिव तथा प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले उत्तर कोरियाली नेता नेपाल आउने र नेपालका नेता उत्तरकोरिया जाने क्रम आजमात्रै सुरु नभएको भन्दै सामान्यिकरण गर्छन् ।
परराष्ट्रले भन्यो– विषम परिस्थितिमा भ्रमण गर्नु अनुपयुक्त
पूर्वप्रधानममन्त्री नेपालसहित ६ सांसदहरु उत्तर कोरियाको एक कार्यक्रमा सहभागी हुने परराष्ट्र मन्त्रालयमा जानकारी आएको बताएको छ । पराराष्ट्रकाअनुसार नेता नेपाल ६ सांसदसहित उत्तरकोरियाका शासक परिवारको प्रशंसास्वरुप आयोजित इन्टरनेशनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्संन्स अफ माउन्ट पिकेटु कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका हुन् ।
उनीबाहेक बाँकी सांसदको टोली बिहीबार नै त्यसतर्फ प्रस्तान गरेको छ । नेता नेपाल श्रीमतिका साथ प्रस्थान गरेका छन् ।
पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका नेपाललाई उत्तर कोरियाको परिस्थिति ठिक नभएको र संयुक्त राष्ट्रसंघले पनि उक्त देशसँग आर्थिक, सामाजिक गतिविधि नबढाउन आग्रह गरेको जानकारी मन्त्रालयले गराएको थियो ।
तर, नेपालले पूर्व निर्धारित कार्यक्रम भएको तथा नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध रहेकाले उक्त कार्यक्रममा जाने बताएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
उत्तर कोरियाले संयु्क्त अधिराज्य अमेरिका, दक्षिण कोरिया लगायत देशलाई आक्रमणको धम्की दिँदै विभिन्न क्षेप्यात्र र मिसाइल परीक्षण गरिरहेको छ ।
जसले गर्दा विश्व राजनीतिमा तरंग तथा द्वन्द्वको अवस्था रहँदा नेपालको भ्रमण विवादमा तानिएको छ ।
उत्तर कोरियाको गतिविधि विश्व शान्ति खलबलाउने किसिमको भएको ठहर गर्दै संयुक्त राष्ट्रसंघको सेक्युरिटी काउन्सिलले हालै उवरुद्ध अझ कडा नाकाबन्दी लगाउने प्रस्ताव पारित गरेको छ ।
त्यससँगै राष्ट्रसंघले उत्तर कोरियासँग धेरै कूटनीतिक, आर्थिक तथा सामाजिक सम्पर्क नगर्न आग्रह गरिरहेका बेला नेता नेपालले परराष्ट्रको सल्लाहलाई अटेरी गरेको बताइएको छ ।
उनको भ्रमणबारे कूटनीतिक रूपमा चासो व्यक्त भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।