विचार

किन नचढ्ने मेयर विद्या सुन्दर डेढ करोडको गाडी ?

नामैले विद्यावान् हाम्रो राजधानीका मेयर बुद्धिमा पनि कम रहेनछन् । नेपालका कम्निस्टहरूले धेरै मेहनत गरेर पत्तो लगाएका गरिबका नाममा स्रोतको दोहन गर्ने विद्या उनले नसिकेका भए पाँच वर्ष मेयर पद चलाउन उनलाई निकै धौ धौ पर्ने देखिन्थ्यो । तर अब कम्निस्टले “मान्ने” ज्योतिषाचार्यले समेत यो गाईजात्रे देशमा उनको भविष्य उज्ज्वल छ भनेर धक नमानी भविष्यवाणी गर्नेछ । त्यसैले, अर्काका कुरा काट्ने सब उल्लु हुन् । कसैको कुरा नसुनी सुख, सयल र मोज गर्नेले नै अहिले प्रशस्त जन्ती र चितासम्म धेरै मलामी पाउँछन् । 

ओहो ! लेख्दालेख्दै यो गजबको विचार आयो त । कवि शिरोमणि लेखनाथको शिरकै मणि चोर्ने आइडिया । कविजी भन्थे ‘मै खाऊँ, मै लाऊँ’ भन्नेलाई देखेर चिता मरिमरी हाँस्छ भनेर । तर, ती उहिलेका कुरा खुइले । अब त मै खाऊँ, मै लाऊँमा पोख्तकै दिन छ, त्यस्ता व्यक्ति दीन दुःखी हुने दिन गए । वास्तवमा यो एउटा पीएचडीकै विषय हुनसक्छ । कुनै विद्वान् कहलिन चाहने राजनीतिक कार्यकर्ता वा पत्रकारले संस्कृत विश्वविद्यालयमा यो विषय राखेर आवेदनमात्र दियो भने घरैसम्म विद्यावारिधिको प्रमाणपत्र आइपुग्न सक्छ । पत्रम्, पुष्पम् शुल्क आफै पत्तो लगाऊँ, यता सोध्ने कष्ट चाहिँ नगरौँ ।  

विद्यावारिधिलाई अहिले छाडौँ । यत्रो नेपाल राज्यको पनि राजधानीका प्रमुखका विषयमा कुरा भइरहेको बेलामा कहाँ त्यस्ता झारपाते पीएचडी ! वास्तवमा हाम्रा महानगरका मेयरले जाबो डेढ करोडको फर्चुनर गाडी चढ्न लागे भनेर बडो जागेको छ एउटा जमात । यिनलाई मेयरले भैँसी चढुन् कि, पाडो चढुन् कि, फर्चुनर नै चढुन् के को टाउको दुखाइ हो ? यस्तैलाई भन्छन्, अरू हात्ती चढेको देखेर सडकमा भुक्ने कुकुरे बानी भनेर । फेरि फर्चुनर जाबो केको हात्ती ? कमरेडमध्ये सुपर कमरेड, देशको इज्जतको साह्रै चिन्ता भएकी आफूलाई भण्डारको रखवाली सम्झने भएकी अर्की विद्याले पो देशको इज्जतअनुसारको १६ करोडको चारपाङ्ग्रे हात्ती चढ्न खोजेकी हुन् त ! यी साना विद्याले त के नै खोजेका हुन् र ? 

विद्या ‘फर्चुनेट’नै हुन् र तिनले फर्चुनर गाडी चढ्नै पर्छ भन्नेमा यो लेखकको पनि सोह्रै आना सहमति छ । विचरा त्यत्रो मेहनत गरेर त्यहाँसम्म पुगेका व्यक्ति, अब के हिँडेर जाउन् त अफिस ? नर्वे, डेनमार्क आदि देशका केही राजाले साइकल चढेर इज्जत कमाए भनेर उनले किन गरुन् त्यसो ? ती त सधैँका राजा नि । जे चढे नि राजा ! विचरा विद्याजीले त पाँच वर्ष हो मोज गर्ने, त्यही पनि छोड्नु ?

मेहनत कै कुरा गर्दा झन्डै उनका पूर्व नेता केशव स्थापितले लगिसकेको टिकट रातारात खोसेर यत्रो मुस्किलले चुनाव लडेर हात लागेको मेयर पदको उनले सदुपयोग नगरे कस्ले गर्ने त ? विवेकशीलको निम्सरो विवेक र साझाको नउम्रेको साख समयमै बदलिएको भए यसै पनि उनले यो पद प्राप्त गर्न हम्मे हम्मे नै पथ्र्याे । त्यसो त नेपाली कांग्रेसले आफू अलोकप्रिय हुन हदैसम्मको मेहनत नगरेको भए पनि उनको फर्चुन (अर्थात भाग्य) नजाग्न सक्थ्यो । जब तालुमा आलु फलिसक्यो भने त्यही आलु टिपेर त्यसलाई पोलेर यसो फर्चुनरमा बसेर खाउँ भन्न पनि नहुने कस्तो जमाना हो ? यति पनि गर्न नसके त बाबुआमाले राखेको नाम र त्यत्रा शिक्षक मिलेर पढाएको विद्याको के गर्नु ? अचार राख्नु ?

विचरा विद्या ! उनको पनि मन त सबै एक्लै खाने, एक्लै मोज गर्ने भन्ने सोच त हुँदै होइन नि ! सबै वडा सदस्यलाई यसो एउटाएउटा, एकाध लाख पर्ने सस्तो खालको स्मार्ट फोन दिउँ भनेर लागेकै हुन्, के के न पापै गरेजस्तो गरिहाले । अब उस्तै परे यिनले फर्चुनर चढ्ने भाग्य पनि नखोस्लान् भन्न सकिन्न । यी सुख, सयलका दुस्मनलाई त धरहरामा चढेर धारे हात लगाएर सराप्नु पर्ने । तर के गर्नु धरहरा भत्की त हाल्यो । हुनत, पाँच वर्षमा धरहरा बनाएर, प्रशस्त कमाएर, धाक जमाएर, ध्वंश मच्चाएर यिनलाई देखाउनु पर्छ । उनका कमरेडहरूले यत्रो दुःख गरेर सडकका रेलिङ भत्काएर जमाएको साख उनी त्यसै के छाड्थे ?

फेरि पाएको खाने चलन त सबैको हो । जाबो एक मुरी पाउँदा पनि पूरै एक मुठी बाँडेरै खाने चलन पञ्चे, कांग्रेसी, माओवादी सबैले चलाएकै हुन् । अब बुढी गण्डकीमा ३, २, २ को दरले भाग लाग्यो रे ! कसैले बोल्यो त ? त्यस्तो ३, २ हैन एकले नै करिब १०० वटा फर्चुनर आउँछ भन्छन् । अब त्यसको हिसाब गर्न चाहिं सबैको पिसाब आउने, एउटा गाडी चढेको कत्रो रिस ?

कुरा सिधा छ । जसरी देशमा फलेको धान, चामल, कोदो, फापर सबै जनताले बाँडेर खान्छौँ त्यसरीनै देशमा आएको कर, सहयोग, बजेट पदमा भएकाले मिलाएर खान्छन । किन नखानु ?  कसले रोक्छ ? अख्तियारले ? रोके त्यही ‘बहुलाएको’ डाक्टर केसीले रोक्दो हो । 

अख्तियारको कुरै नगरुम् । ऊ आफैँ कमाउन बसेको छ । ऊ पनि, “देऊ बा देऊ” भन्छ, नदिनेलाई पाताल धसाउँछ । अब चुडामणिले “देऊ बा” भनेर आर्तनाद गर्नेलाई दिएनन् होलान् त ? सायद, चाहिने जति दिएनन् होला । तर, हेर्नुहोला अरूले खाएको रिस गर्ने तपाईं हामीभन्दा यिनकै आगे पिछे घुम्ने जन्ती धेरै हुन्छन् । अलि दिन यसो दुःख पाएजस्तो गर्छन्, २–४ वर्ष जेल बस्छन्, २०–४० अर्ब पचाउँछन् । अनि “देऊ बा” भन्नेलाई मागेजति दिन्छन्, आफू नमिले आफ्नालाई सांसद र मन्त्री बनाउँछन् र मलामी पनि बढाउँछन् । अनि सुध्रेन यो लोक र परलोक दुवै ? दिन नि नसक्ने, “देऊ बा” भन्न पनि नसक्नेले त बिरामी हुँदा औषधिको गोलीभन्दा सहजै पुलिसको गोली पाउन बेर छैन । यसै पनि लागु पदार्थको गोली खाँदाखाँदै प्रहरीको गोली खान पाउनेहरू देखिन थालेका छन् हाम्रा नेपालाँ । 

कुरो अलि घुम्यो । कता कता रुखै रुखको जंगलमा छिर्यो । त्यसो नगरौंँ । झलमल्ल तातो घाम लागेको छ देशैभर । घामकै कुरा गरौँं । अब राजधानीका सुन्दर र विद्यावान् प्रमुखबाट बिस्तारै धेरै राम्रो काम हुने भविष्यवाणी गर्न सकिन्छ । किनभने उनले जनतालाई सुख दिने अभिप्रायले १०० प्रतिशतभन्दा बढी कर बढाएर निचोरी नै सकेका छन् । अब ती करले विकास निर्माणका काम हुन्छन्, ती काममा ठेक्का हुन्छन्, कर्मठ कमरेडले ठेक्का पाउँछन् । ती कर्मठ हातहरूले हरेक काम सकभर चाँडो र सकभर छिट्टै भत्किने प्रपञ्चका साथ निमिट्यान्न पार्छन् र बजेट डकार्छन् । चार वर्ष डकारेको पैसाको एक पित्को पाँचौ वर्ष निकाल्छन् । सडकको धुलो र धुँवाले मैलो बनेको तपाईं हाम्रो अनुहार नोटका बिटाले उजिल्याउँछन् र फेरी वातावरण घमाइलो बनाउँछन् । यसबीच तपाईं घामले पोलेजस्तो रातो हुनुस् वा रुखको पात चबाएजस्तो हरियो, फेरि पनि तपाईं हामीमाथि रजाईं गर्ने त विद्याहरू नै न हुन् । 

त्यसैले समयमै बुद्धि पुर्याउनुहोस् । जसरी विश्वेश्वरप्रसाद कोइरालाको दोषी चस्मामा एउटा स्वस्ति नगर्दा बिचरो जनताको प्राण वायु नै खुस्किन लागेको थियो, त्यस्तै होला । अहिलेनै बुझ्नुस्, फर्चुनर, रेन्ज रोभर, ल्यान्ड क्रुजर चढ्ने सबै फचुनेट (भाग्यमानी) हुन् । तिनलाई धारे हात लगाएर कहीँं पुगिन्न । नेपाल हो नेपाल, सकेको हर्सुनुस् । आजै ठूला, ठालुकोमा कतै जानुस्, भन्नुस लाल सलाम, जय नेपाल !

तपाईंको मत