काठमाडौं । मानव तस्करलाई ठूलो आर्थिक लाभ हुने कारण नेपालबाट घरेलु कामदार खाडी मुलुकमा तस्करी भइरहेको छ । रोजगारीमा जान चाहने नेपाली महिलालाई खाडी मुलुक पुर्याएर त्यहाँ नागरिकलाई बिक्री गर्दा नेपाल र खाडी मुलुक दुवैतर्फका मानव तस्कारलाई ठूलो आर्थिक लाभ हुनाले कामदार तस्करी व्यापक भइरहेको छ एउटा अध्ययन प्रतिवेदनले देखाएको छ ।
व्यवस्थापिका–संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षण भ्रमण उपसमितिको प्रतिवेदनले यस्तो भयावह स्थिति दर्शाएको छ ।
तस्करले ठूलो आर्थिक लाभ प्राप्त गर्ने भएपछि यसैको प्रभावस्वरुप नेपालका गाउँगाउँसम्म नेपाली मानव तस्कर पुग्ने गरेका छन् । उनीहरूले सोझा सिधा नेपाली महिलालाई राम्रो काम र मनग्गे कमाइ हुने आश्वासन दिएर भिजिट भिसा वा सेटिङमा तेस्रो मुलुकको बाटो हुँदै संयुक्त अरब इमिरेट्स, कुवेत पुर्याउने र त्यहाँबाट खाडीका अन्य मुलुकमा सप्लाई गर्ने गरेका छन् ।
नेपाली मानव तस्करले संयुक्त अरब इमिरेट्सको अजमान र कुवेतको सिटीमा नेपाली घरेलु कामदार आपूर्ति गर्ने कार्यालय नै खोलेर खसी बोका बिक्री गरेझैँ छानीछानी घरेलु कामदार बिक्री गर्ने गरेको नेपाली दूतावासका पदाधिकारी र नेपाली प्रतिनिधिलाई उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खुलेयाम नेपाली महिलाको खरिद बिक्री भइरहँदा पनि त्यस्ता मानव तस्कारलाई ‘डिपोर्ट’ गरी कानुनी कारबाही गर्न नेपाल सरकारको तर्फबाट पहल भएको छैन । त्यस्ता मानव तस्कर नेपालकै उच्च राजनीतिक तहबाटै संरक्षित भएको हुनसक्ने भएकाले कुनै पहल नभएको प्रतिवेदनमा भनिएको छ ।
बेचिएका नेपाली कामदारको अवस्था अत्यन्तै दर्दनाक भेटिएको छ । अवैध ढंगबाट खाडी मुलुक पुर्याएकालाई एउटा खाडी मुलुकबाट अर्को खाडी मुलुकमै स्थलगत मार्गबाट गाडीको डिकीमा समेत राखेर ओसारपसार गर्ने भएकाले कामदारको पहिचान हुन नसकेको र यकिन तथ्यांक फेला नपरेको बताइएको छ ।
खाडी मुलुकमा अवैध ढंगले पुर्याइएका नेपाली घरेलु कामदार ६० प्रशित नेपालकै विमानस्थलबाट भिजिट भिसा वा सेटिङमा पुर्याइएको छ । यस्तो धन्दामा विमानस्थलका कर्मचारी, सुरक्षाकर्मी, वायुसेवा कम्पनीका कर्मचारी र विचौलियाको प्रत्यक्ष संलग्नता रहेको छ ।
बाँकी ४० प्रतिशत भने भारतका विभिन्न शहर र श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी पुर्याएर बेच्ने गरिएको छ ।
प्रतिवेदनमा उपसमितिले उच्च राजनीतिक तह तथा नेपाल सरकारका सम्बन्धित निकायको दृढ इच्छाशक्तिबिना नेपालबाट खाडी मुलुकमा भइरहेको भयावह मानव तस्करी र बेचविखन रोक्न सम्भव नदेखिएको उल्लेख गरेको छ ।
संसदीय समितिले प्रभु साहको नेतृत्वमा अशोक कुमार मण्डल, प्रेम साह तेली, विनोद श्रेष्ठ, राधादेवी तिमिल्सिना, राज्यलक्ष्मी श्रेष्ठ रहेका उपसमिति गठन गरेको थियो ।