ad

देश

सात वर्षदेखि हराएको छोराको खोजिमा मुन्यादेवी, आठ दिनदेखि फोन लाग्छ तर छोरो बोल्दैन 

काठमाडौं । नेपाली भाषा बोल्न अप्ठ्यारो मान्ने सप्तरीकी मुन्यादेवी रामको छोरा हराएको सात वर्ष पुगेर आठ वर्ष लाग्यो । तर पनि उनी दिनहुँ छोरासँग फोन सम्पर्क हुने आशमा फोन लगाइरहन्थिन् । तर कहिले पनि लागेको होइन । 

विदेश पुगेको नौ महिनासम्म उनी छोरासँग फोनमा बोलिन् । नौ महिना पुगेपछि इन्द्रदेव पुरानो कम्पनी छाडेर हिँडेछन् । भनेअनुसारको काम नपाएपछि, काम गाह्रो भएपछि उनले त्यो कम्पनी छाडेका रहेछन् । त्यसपछि पनि आमासँग तीन महिनासम्म फोनमा बोले । 

आमाले सोधिन्, “किन कम्पनी छाडेर हिँडिस् ? प्रहरीले पक्रेला । कि प्रहरीमा जा । भन् मलाई काम गर्न अप्ठ्यारो भयो,” आमाले फोनमा भनिन्, “केही पनि हुँदैन,” इन्द्रदेवले आमालाई सम्झाइ बुझाइ गरे । 

त्यसपछि पनि तीन महिना फोनमा कुराकानी भयो । तर अहिले छोरा कहाँ छ ? के गर्दैछ ? अत्तोपत्तो छैन ।

“हमर बेटा हेरा गेल छै । भेटल.... ?, सात वर्ष भ गैले... । फोनो नई एलिए... । भेटी गेल कि हमर बेटा ....?” बाह्रखरी संवाददाताले तपाईँको छोरा हराएको थियो, फोन आउँछ ? भनेर सोधेपछि मुन्यादेवीले आतिँदै भनिन् । (हाम्रो छोरा हराएको छ, भेटियो ? सात वर्ष भयो । फोन आएको छैन । हाम्रो छोरा भेटिएको हो ?) 

उनी राम्रो नेपाली बोल्दिनन् । तर छोरा हराएको पीडा कुनै भाषा नबुझ्नेलाई पनि सहजै सञ्चार हुन्छ । उनको भावमा पीडा पोखिएको छ । बाह्रखरीसँग फोन कुराकानी गर्दै मुन्यादेवीले सातवर्षदेखि छोरा आउँछ भनेर पर्खिरहेको बताइन् । “कतै छोरासँग कुराकानी भइ पो हाल्छ कि ?” उनी दिनैजसो फोन गर्थिन् । फोन लाग्दैनथ्यो । 

अहिले आएर मुन्यादेवीकोे पीडा झनै दोब्बर भएको छ । पहिले फोन लाग्दैन र पीडा हुन्थ्यो । छोराको सम्झनाले आँशु खस्थ्यो । अहिले फोन लाग्छ तर छोरो बोल्दैन ।

मुन्यादेवीले आठ दिन अघि फोन गरिन् । फोन लाग्यो । अर्कै मान्छे बोल्यो । “नम्बर गल्ती पो भयो कि ....?” फेरि फोन गरिन् तर छोरोको आवाज होइन । 

आठ दिनदेखि फोन लाग्छ आफ्नो छोरो बोल्दैन । जति पटक फोन गरेपनि अर्कै मान्छेले फोन उठाउँछ । “मेरो छोराको फोन कसरी तपाईँसँग आयो ?” मुन्यादेवीले प्रश्न गर्न नपाउँदै फोन काटिन्छ । त्यो फोनमा बोल्ने मान्छे नचिनेको मान्छे हो । “तिम्रो छोराको फोन होइन, यो कम्पनीले किनेर दिएको फोन हो,” नचिनेको मान्छेले उत्तर दिन्छ । 
“पुलिसले पक्रेर राख्यो कि के गर्यो थाहा छैन ?” मुन्यादेवीले भनिन् । उनले छोराको खोजी गरिदिन आग्रह गरिन् ।

वैदेशिक रोजगारीका लागि कतारस्थित बिन अब्दुल रहमान ट्रेडिङ कम्पनीमा सात वर्षअघि पुगेका सप्तरीका इन्द्रदेव रामको अत्तोपत्तो छैन । ०६६ चैत्र १२ गते काठमाडौंस्थित क्यापिटल इन्टरनेश्नल मेनपावरबाट कतार उडेका इन्द्रदेव ८०० कतार रियाल कमाउने गरी स्टिलफिक्सरको जागिरमा गएका थिए ।

राज्यलाई छोरा खोजिदिन आग्रह गर्दै इन्द्रदेवकी आमा भन्छिन्, “सरकार हाम्रो छोरा जसरी पनि खोजी देऊ...हजुर,” उनको इच्छा छोराको अनुहार हेर्ने मात्र छ ।
 

तपाईंको मत