काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स वृद्धिदर घटिरहेको चिन्ता व्यक्त गरिरहँदा वैदेशिक रोजगार विभागको तथ्यांकले वैदेशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च देखाएको छ ।
सरकारले मलेसियालगायत खाडी मुलुकमा जाने कामदारका लागि फ्रिभिसा फ्रिटिकट (शून्य लागत) को व्यवस्था गरेपछि उल्लेखीय मात्रामा म्यानपावर एजेन्सीले कामदार पठाउन नसकेको र कामदारको संख्या दिनानु दिन घट्दै गएको यस अघिको रिपोर्ट थियो । तर वार्षिक विश्लेषण हेर्ने हो भने वैदेशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च देखिएको छ ।
विभागको मासिक प्रगति विवरण हेर्दा ०७४ वैशाख महिनामा संस्थागत तर्फ २९ हजार ९ सय ४३ र कोरिया ८६६ गरी जम्मा ३० हजार ८ सय ९ र व्यक्तिगततर्फ २३ हजार ५ सय २८ जनाले अन्तिम स्वीकृति लिएका थिए ।
असारसम्म आउँदा यो तथ्यांक घटेर संस्थागततर्फ २२ हजार ३ सय १९ र कोरिया १ हजार ६०६ गरी जम्मा २३ हजार ९ सय २५ र व्यक्तिगततर्फ १६ हजार ५ सय ५९ ले अन्तिम स्वीकृति लिएका थिए ।
यो तथ्यांकको विश्लेषण गर्दा वैसाख महिनामा विदेश जानेको संख्या ५४ हजार ३ सय ३७ थियो भने असारसम्म आइपुग्दा यो संख्या घटेर ४० हजार ४ सय ४८ मा झरेको छ ।
आर्थिक वर्ष ०७२/७३ मा झण्डै १ लाखले घटेको विदेशिनेको संख्या फ्रिभिसा फ्रिटिकट लागु भएको दोस्रो वर्ष अर्थात् आव ०७३÷७४ मा ६ लाख ५८ हजार पुगेको छ । यो हालसम्मकै उच्च तथ्यांक हो ।
यो तथ्यांकले विदेशप्रति नेपाली कामदारको मोह नघटेको पुष्टि गर्छ । बरु नेपाली श्रमिक विदेश जाने लागतभन्दा रोजगारीको प्रत्याभूति चाहन्छन् भन्ने स्पष्ट हुन्छ ।
आर्थिक वर्ष ०७०/७१ मा ५ लाख २७ हजार वैदेशिक रोजगारीमा गएकामा आव ०७१/७२ मा ५ लाख १२ हजार रोजगारीमा विदेशिएका थिए । आव ०७२/७३ मा यो संख्या घटेर ४ लाख १८ हजारले मात्र अन्तिम श्रम स्विकृति लिएका थिए ।
आव ०७३/०७४ मा ६ लाख ५८ हजारले अन्तिम श्रमस्विकृति लिएका छन् । यसलाई हेर्दा गत आवमा भन्दा यस आवमा विदेश जानेको संख्या २ लाखले वृद्धि भएको छ ।
वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकृत मोहन अधिकारीले विदेशिने युवाको संख्या हालसम्मकै उच्च रहेको जानकारी दिए । “तथ्यांकमा विदेश जानेको संख्या बढेको छ ।” अधिकारीले भने, “विदेश गएर आएका कामदारहरूको रिइन्ट्रीका कारण तथ्यांक बढेको देखिएको छ ।