वर्तमान परिदृश्य
दोक्लाममा भारत र चीनबीच उत्पन्न तनाव तत्कालै साम्य हुने सम्भावना देखिँदैन । यस्तो लाग्दैछ, सन् १९६२ को युद्धपछिको ५५ वर्षे अवधिमा आफ्नो मुलुकले गरेको सैन्यशक्तिको सुदृढीकरण र हातहतियारको तीव्र विकासलाई दुवै मुलुकले एक पटक परीक्षण गर्ने अवसर खोजिरहेका छन् । दुवैमा सैन्य उन्माद बढिरहेको छ र दुवै प्रमाणित गर्न चाहन्छन्, ‘एसियामा मेरो देशसँग कसैले जोरी नखोजे हुन्छ ।’
भारतीय पत्रिका इकोनोमिक टाइम्सले आफ्नो रिपोर्टमा लेखेको छ– ‘‘भारत, चीन र भूटानको सीमामा उत्पन्न यो गतिरोध एकदमै फरक खालको र डरलाग्दो लागिरहेको छ ।’’ हो, नेपाल र भूटानजस्ता दक्षिणपूर्व एसियाका साना र शान्तिप्रिय देश अनि यो क्षेत्रमा शान्ति चाहने सर्वसाधारण नागरिकका लागि अहिले देखिएको तनावको वातावरण निकै डरलाग्दो छ । यी दुई साँढेहरू जुधे भने निर्दोष बाच्छाहरूको डरलाग्दो मिचाइ असम्भव छैन । बीबीसीले इकोनोमिक टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै लेखेको छ, ‘‘यो पहिलो पटक हो, जब भारत कुनै तेस्रो मुलुकका लागि चीनको सामुन्ने खडा छ ।’’
निश्चय नै, यो गतिरोधबारे चीनका सरकारी र गैरसरकारी सञ्चारमाध्यमले निकै चासो राखेको देखिएको छ । चीनका सबैखाले सञ्चारमाध्यमले लगातार रूपमा भारतविरुद्ध चेतावनीको भाषा प्रयोग गरिरहेका छन् र उसलाई तत्काल फिर्ता जान लल्कारिरहेका छन् । उता भारतमा पहिलेदेखि विद्यमान चीन र पाकिस्तानविरोधी सञ्चार–मानसिकता यस प्रकरणमा पनि राम्रै प्रदर्शन भइरहेको छ । भारतका लगभग सबैजसो सञ्चारमाध्यमले चीनविरुद्ध व्यापक रोषपूर्ण भाषामा समाचार सम्प्रेषण गरिरहेका छन्, जुन उनीहरूको पहिलेदेखिकै आम प्रवृत्ति हो । हो, भारतीय सञ्चारमाध्यमको यो मानसिकता निर्माण हुनुका पछाडि एउटा गहिरो इतिहास लुकेको छ, जसले उत्पन्न गरेको पीडादायक संवेदनालाई उपेक्षा गर्न सकिँदैन ।
विश्वव्यापी राजनीतिक शक्ति सन्तुलनको विद्यमान परिदृश्यमा भारत अहिले निकै बलियो देखिएको छ । एकातिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चतुर कूटनीति र अर्कातिर विश्वमा बढिरहेको मुस्लिम कट्टरपन्थीहरूद्वारा उत्पन्न आतंकवादको गम्भीर त्रासदीले अमेरिका, बेलायत, फ्रान्स, जापान र जर्मनी आदि भारतप्रति खासै सहानुभूति नराख्ने तटस्थ देशहरूसमेत येनमौकामा भारततिरै लहसिने परिस्थिति उत्पन्न भएको छ । भारतको सदाबहार मित्र रुस त यसै पनि भारतदेखि टाढा जाँदैन नै ।
तर राजनीतिक र कूटनीतिक सन्तुलनदेखि केही पर गएर हेर्ने हो भने चीन पनि त्यति कमजोर छैन, बरु सैन्य शक्तिमा भारतभन्दा धेरै अगाडि छ । लाग्दैछ, अमेरिकालाई उछिनेर विश्वको एक नम्बर शक्ति बन्ने सपना देखिरहेको चीनले भारतसँग जुधेर आफ्नो सामथ्र्य प्रदर्शन गर्न चाहन्छ र अमेरिकालगायतका देशलाई समेत मनोवैज्ञानिक चेतावनी दिन चाहन्छ ।
समस्याको चुरो के हो ?
दोक्लाम भारत, भूटान र चीनको सीमामा अवस्थित ठाउँ हो । तीनै देशले यसलाई सामरिक दृष्टिले निकै संवेदनशील ठाउँ मानेका छन् । भारतको मुख्य भूभागलाई उत्तरपूर्वी राज्यहरूसँग जोड्ने पश्चिम बंगालको सिलगुडीभन्दा ठीक माथि झन्डै ५० किलोमिटर टाढा दोक्लाम पर्छ । यस अर्थमा दोक्लाम त्यति धेरै टाढाको ठाउँ होइन । चीनले तीव्र विकासको प्रक्रियासँगै आफ्ना सीमावर्ती हरेक क्षेत्रलाई मुलुकको मु्ख्य भूभागसँग जोड्न खोज्दैछ र दोक्लाममा समेत सडक बनाउन थालेको छ । तर भारत आफ्नो भूभागनजिकै चीनले चलखेल गर्न खोजेको मन पराइरहेको छैन । भारत र चीनबीच चुम्बी उपत्यकास्थित दोक्लाममा चीनले सडक बनाउन लागेको कुरालाई लिएर विवाद बढेको छ । भारतले दोक्लामलाई भूटानको भूभाग बताउँदै आएको छ र चीनले यहाँ सडक बनाउन खोजेर मिचाहा व्यवहार प्रदर्शन गरेको भारत र भूटानको आरोप छ ।
दोक्लाम समस्या खासगरी चीन र भूटानको मामिला हो । तर परिस्थितिलाई राम्ररी ‘क्यास’ गर्नसक्ने सामथ्र्य राख्ने भारतले अहिले दोक्लाममा हात हाल्दा पछि हट्नु नपर्ने विश्लेषण गर्यो र जबर्जस्ती हस्तक्षेप गर्यो ।
इकोनोमिक्स टाइम्सले लेखेको छ, ‘‘भारतले अहिलेसम्म धैर्य देखाएको छ । भारतले लगातार वार्ताको माध्यमबाट समस्याको समाधान खोजेको सन्देश दिँदै आएको छ । बाह्य विशेषज्ञहरू यो गतिरोधको समीक्षा गर्दै सन् १९६२ मा दुवै देशबीच भएको युद्धको समेत समीक्षा गरिरहेका छन् । सी जिनपिङको नेतृत्वमा चीनले सबैतिर हात पसार्न खोजिरहेको छ । जिनपिङ अर्को एक कार्यकाल निर्वाचित हुन सक्छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निकट भविष्यमै हुन लागेको १९ सौं कांग्रेसले सीलाई एक अर्को कार्यकाल सुम्पिने सम्भावना छ । गत हप्ता सीले आफ्ना बलिया प्रतिस्पर्धीलाई जाँचबुझको दायरामा ल्याएर बाटोबाट हटाउने प्रयास गरेका छन् ।’’
अखबारका अनुसार चीनले निकै चलाखीपूर्वक काम गर्दैछ । एकातिर ऊ भारतलाई उक्साउँदै छ भने अर्कातिर भूटानप्रति सहानुभूति छरेर उसलाई भारतबाट टाढा पार्न खोज्दैछ । चीनले भूटानसँग कुरा गर्न तयार रहेको तर त्यस्तो कुराकानीमा भारतको छाया पनि पर्न नहुने बताएर भारत र भूटानबीचको सम्बन्धमा भ्वाङ पार्न खोजेको विश्लेषण भारतीय सञ्चार माध्यमले गरेका छन् । प्रधानमन्त्री मोदीको अमेरिका यात्रा सुरु हुने समयतिरै दोक्लाममा सडक निर्माणको काम थालेर चीनले अमेरिकासामु भारतको छवि धमिल्याउने चेष्टा गरेको तर त्यसमा असफल भएको भारतीय सञ्चार माध्यमको टिप्पणी छ ।
चीनको गतिविधि
चीन र भारतबीच पछिल्लो गतिरोध सुरु भएको एक महिनाभन्दा बढी भयो । यसबीच केवल कूटनीतिक तवरमा मात्रै होइन, सामरिक दृष्टिले पनि आफूलाई बलियो बनाउने प्रयासमा चीन लागिरहेको छ । चीनले विगत एक महिनायता सिक्किम सीमानजिकको तिब्बती भूभागमा हतियार र सैन्य सामग्रीहरू ओसारिरहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । चिनियाँ सञ्चारमाध्यमले यसलाई गर्वका साथ प्रचारप्रसार गरिरहेका छन् र लेखेका छन्, ‘‘चीनले भारतसँग जोडिएको तिब्बती भूभागमा हजारौं टन सैन्य सामग्रीहरू जम्मा गरेको छ र यो काम जूनको अन्तिम हप्ताबाट सुरु गरिएको हो ।’’
विगत केही वर्षयता चीन आफ्नो सीमान्त क्षेत्रमा सडक र रेल सम्पर्क बढाउन प्रयासरत छ । चीनले यसबीच भारतलाई उत्तेजित बनाउने खालका केही भिडियोहरू पनि सार्वजनिक गरिरहेको छ र तिब्बतमा चिनियाँ सैनिकले युद्धअभ्यास गरिरहेको भनेर भारतमाथि मनोवैज्ञानिक दबाबसमेत सिर्जना गर्ने प्रयास गर्दैछ । अरू कुरामा शान्त र संयमित देखिने चीनले यो मामिलामा चाहिँ केही उत्तेजनात्मक र उत्ताउलो शैली प्रदर्शन गरेको विश्लेषकहरूको ठहर छ ।
पाकिस्तानको दाउ
कतिपय भारतीय सञ्चार माध्यमले भारत र चीनबीचको विवादलाई उक्साउनका लागि पाकिस्तानले आगोमा घिउ थप्न थालेको टिप्पणी गरेका छन् । सञ्चार माध्यमका अनुसार भारतका लागि पाकिस्तानी राजदूत अब्दुल बासितले चीनका राजदूत झु झाओहुईसँग भेटवार्ता गरेका छन् । यसपछि उनीहरू दुवैले भूटानका राजदूत वेटसप नाम्गेलसँग भेट गर्दैछन् । भारतीय सञ्चार माध्यमहरूले यसबारे टिप्पणी गर्दै लेखेका छन््, ‘‘यसबाट स्पष्ट हुन्छ, भारत–चीन विवादमा पाकिस्तान आफ्नो टाङ अड्याउन चाहन्छ । यो विवादलाई आफ्नो पक्षमा कसरी उपयोग गर्न सकिन्छ भनेर पाकिस्तान दाउ खोजिरहेको छ ।’’ सञ्चार माध्यमहरूले बासितले दुवै देशका राजदूतसँग भेटेर दोक्लाम विवादबारे कुराकानी गरेको दाबी गरेका छन् । बासितले भारतका लागि पाकिस्तानी राजदूतका रूपमा आफ्नो कार्यकाल पूरा गरेका छन् र आगामी महिना उनी पाकिस्तान फर्किंदै छन् ।
कस्तो थियो सन् १९६२ को भारत–चीन युद्ध ?
अधिकांशले भारत र चीनबीच अहिले उत्पन्न भएको विवादलाई सन् १९६२ को युद्धसँग जोडेर हेर्ने गरेका छन् । यसका पछाडिको ऐतिहासिक पृष्ठभूमि लगभग साठी वर्ष पुरानो छ ।
सन् १९६२ को भारत–चीन युद्धको मूल कारण भारत–चीन सीमा विवाद नै हो । तिब्बतमा सन् १९५९ मा भएको विद्रोहपछि भारतले तिब्बती धार्मिक नेता दलाई लामालाई शरण दियो । यो घटनासँगै भारत–चीनको सीमाक्षेत्रमा हिंस्रक घटनाहरूको एउटा सिलसिला सुरु भयो । भारतले त्यतिखेर म्याकमहोन सीमारेखासँग जोडिएका क्षेत्रमा सैनिक चौकीहरू स्थापित गरेको थियो । सन् १९१४ मा बेलायत र तिब्बती सरकारबीच सिमला सम्झौताअन्तर्गत कोरिएको सीमारेखालाई म्याकमहोन सीमारेखा भनिन्छ । केही वर्ष विवादित भए पनि पछि आएर भारत स्वतन्त्र हुनुअघि नै सन् १९३७ मा ‘सर्वे अफ इण्डिया’ ले तयार पारेको एउटा मानचित्रमा म्याकमहोन रेखालाई आधिकारिक भारतीय सीमारेखाका रूपमा देखाइएको छ । तर चीनले भने तिब्बत चीनको अंग भएको र स्वतन्त्र देश नभएकाले तिब्बतसँग गरिएको यो सम्झौता आफूलाई मान्य नहुने बताउँदै म्याकमहोन सीमारेखालाई अस्वीकार गर्छ ।
सन् १९५९ मा चीनका तत्कालीन राष्ट्रपति चाउ एन लाईले तयार पार्न लगाएको चीनको आधिकारिक नक्सामा म्याकमहोन रेखादेखि दक्षिणतर्फको ५६ हजार वर्गमिल क्षेत्रलाई तिब्बत स्वायत्त क्षेत्रकै भूभागका रूपमा उल्लेख गरिएको छ र यसलाई दक्षिणी तिब्बत भनेर प्रचार गरिँदै आएको छ । यही नक्साका आधारमा भारतको अरुणाचल प्रदेशलाई चीनले दक्षिणी तिब्बत मान्छ र यो आफ्नो भूभाग हो भनेर दाबा गर्छ । भारतको अरुणाचल राज्य पूर्वी सीमामा भूटान र म्यान्मारको बीचमा पर्छ ।
सन् १९६२ मा भारतले म्याकमहोन रेखालाई आधार मानेर सीमाक्षेत्रमा आफ्ना चौकीहरू स्थापना गरेपछि भारत र चीनबीच सीमायुद्ध भएको थियो ।
२० अक्टोबर १९६२ मा भारतको लद्दाख र म्याकमहोन रेखाभन्दा यताको क्षेत्रमा चीनले एकसाथ हमला सुरु गरेको थियो । चीन त्यतिखेर शक्तिशाली देखिएको थियो र भारतका केही भूभाग उसले कब्जा गरेको थियो । एक महिनापछि चीनले युद्धविरामको घोषणा गरेर विवादित क्षेत्रमध्ये एक ठाउँबाट आफ्ना सेनालाई फिर्ता लगेको थियो । चीन फिर्ता भए पनि भारतका एक दुई ठाउँ चाहिँ यो युद्धपछि सधैका लागि चीनको नियन्त्रणमा गए ।
सन् १९६२ को भारत–चीन युद्ध कठिन परिस्थितिमा भएको लडाइँका रूपमा चिनिन्छ । यो युद्धमा धेरैजसो लडाइँहरू १४ हजार फिटभन्दा माथिको अत्यधिक चिसो क्षेत्रमा भएका थिए । यो युद्धमा चीन र भारत दुवैले नौसैनिक र वायुसैनिक बलको प्रयोग गरेका थिएनन् ।
यस पटक पनि चिनियाँ सैनिकहरूले अरुणाचल प्रदेश नजिकैको तिब्बती क्षेत्रमा सैन्य अभ्यास गरिरहेको समाचार आएको छ । तिब्बती धार्मिक नेता र चीनको कम्युनिस्ट सत्ताका विरोधी दलाई लामालाई भारतले आश्रय दिएकाले चीन भारतसँग औधी रिसाएको छ । यिनै अनेकौं कारणले गर्दा भारत र चीनबीच लामो समयदेखि सीमा विवाद कायम छ ।
चीन र भारतको बीचमा एउटा लामो सीमा छ । यो सीमा हिमालय पर्वतको रेन्जसँगै पूर्वदेखि पश्चिमसँग जान्छ । केही भूभागमा यो सीमाको बीचमा नेपाल र भूटान पर्छन् । यो सीमा पूर्वमा म्यान्मारसम्म पुग्छ भने पश्चिममा पाकिस्तानसम्म फैलिन्छ । यो सीमामा अनेकौं विवादित क्षेत्र छन् ।
सन् १९६२ को भारत–चीन युद्धमा एक प्रकारले भारतको हार नै भएको थियो । त्यसैले गर्दा भारतीय सेनामा व्यापक परिवर्तनका लागि दबाब पर्यो र भविष्यमा यस्ता युद्ध भए भने कसरी सामना गर्ने भन्ने विषयले भारतमा राष्ट्रिय बहसकै रूप लियो । त्यतिखेर भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू थिए । उनीमाथि चीनको बढी विश्वास गरेको आरोप लाग्यो । भारतमा देशभक्तिको तीव्र लहर उठ्यो । तत्कालीन भारतीय राष्ट्रपति राधाकृष्णनले नेहरू सरकारको आलोचना गर्दै सेनाको तयारीमा लापरवाही गरेको र अपरिपक्व काम गरेको टिप्पणी गरे । यो हारपछि पटकपटक विवादित बन्दै आएका तत्कालीन रक्षामन्त्री कृष्ण मेननले पदबाट राजीनामा दिनुपर्यो ।
यहीँबाट आम भारतीयमा समेत चीनप्रति घृणाको भावना पैदा भयो र भारतमा चीनविरोधी एउटा लहर नै उठ्यो, जसको प्रभाव आजसम्म पनि कायम छ । भनिन्छ, चीनप्रति आफूले विश्वास गरेर शान्तिपूर्ण मित्रताको हात बढाउँदा बढाउँदै एक्कासि धोका पाएको अनुभवले नेहरू निकै दुःखी भए र यही चोटले १९६४ मा हृदयाघातका कारण उनको मृत्यु भयो । यसरी भारत र चीनबीच लामो वैमनस्य छ र यो वैमनस्यका कतिपय पाटा निकै दुःखद र त्रासदीपूर्ण छन् । भन्नु नपर्ला अहिलेको उन्मादका पछाडि यिनै पुराना घाउहरूको भूमिका पनि धेरै हदसम्म जिम्मेवार छ ।