काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको चौथो खेलमा नेपालले घरेलु टोली सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।
बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा अहिले नेपालले दिएको १६९ रनको लक्ष्य सहित सिंगापुरले जवाफी ब्याटिङ थालेको छ । ३४ ओभरको खेल सकिँदा नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ । सिंगापुरले ५ विकेट गुमाएर ९६ रन जोडेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर ५ बलमा अलआउट हुँदै १६८ रनको मध्यम स्कोर बनाएको थियो । खराब सुरुवात गरेको नेपालको लागि दिपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय पारी खेलेका थिए ।
नेपाल आज सिंगापुरलाई पराजित गर्दै न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राख्न चाहन्छ । जारी छनोटको पहिलो खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेट पराजित गरेको थियो ।