काठमाडौं । हाँस्दै, खेल्दै हुर्किएका बालबालिका स्वस्थ हुन्छन् । त्यसो त स्वभावतः बालबालिका खेलिरहन रुचाउँछन् । तर, काठमाडौँ उपत्यकाभित्र त्यस्ता बालमैत्री खेल संरचनाहरू निकै कम छन् । बालबालिकाकै लागि भनेर बनाइएको मनोरञ्जनयुक्त पार्कहरू त नगण्यमात्रामा छन् भन्दा हुन्छ । सरकारले त्यसमा खासै पहल गरेको पनि देखिँदैन ।
पछिल्लोसमय निजी क्षेत्रको लगानीमा केही पार्कहरू त बनाइएको छ तर त्यसमा आम बालबच्चाहरूको पहुँच पुग्दैन । कतिपय महँगा छन् भने कतिपय बस्तीबाट टाढा छन् ।
काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षदेखि प्रत्येक काठमाडौं महानगरपालिकाअन्तर्गतका वडाहरूका खाली स्थानमा बालबालिकाका लागि पार्क बनाउने अवधारणा अघि सारेको भए पनि त्यसले मूर्तता पाउन सकिराखेको छैन ।
स्थानीयबासीको सक्रियतामा जुन क्षेत्रमा खाली सार्वजनिक जग्गाहरू छन् त्यो ठाउँलाई ‘चिल्ड्रेन पार्क’ बनाउने योजना ल्याइएको भए पनि पार्क बन्न सकेका छैनन् । महानगरपालिकाका प्रशासन महासाखा प्रमुख हरिबहादुर कुँवर भने योजनानुसार बजेटसमेत विनियोजन भइसकेकाले पार्क बन्ने विश्वास व्यक्त गर्छन् ।
“उपत्काभित्र रहेका मुख्य पार्क जस्तै बालाजुपार्क, रत्नपार्क, शंखपार्क, विष्णुमति नदी आसपासमा विभिन्न संघ÷संस्थाको पहलका त्यस्ता पार्कहरू निर्माण भइरहेका छन्,” उनले प्रष्ट्याए ।
निर्माणधीन संरचनामा अन्तर्राष्ट्रिय स्तरको सुविधा नहुने भए पनि त्यसले पार्क चाहिन्छ भन्ने चेतना र पार्कप्रतिको आकर्षण जगाउने काम गर्ने विश्वास उनको छ ।
हालसम्म उपत्यकाको चोभार र भक्तपुरमा गरी बालबालिकाकालागि मात्रै भनेर बनेका पार्क दुईवटा मात्रै छन् ।
यसो भन्छन् अभिभावक
धुम्रबाराही बस्ने शीर्षक भट्टराई १२ वर्षका भए । विद्यालय बिदा हुनासाथ उनी फन पार्कमा गएर समय व्यतीत गर्न चाहन्छन् । फुर्सदको समय पार्कमा खेलेरै बितोस् भन्ने उनको चाह भने पूरा हुन पाएको छैन । कारण उपत्यकाभित्र कुनै त्यस्तो पार्क छैन । उनकी आमा कमला भट्टराई भन्छिन्, “बालबच्चाले फन पार्कमा गएर खेल्न खोज्छन् तर उपत्यकामा रहेका कुनै फन पार्क व्यवस्थित देखिदैँन, यसतर्फ सम्बन्धित निकायले सोच्नुपर्ने हो । ”
गोकर्ण बस्ने १० वर्षीय प्रशन्न ढुंगेल फनपार्क गएर खेल्नलाई शनिबार कहिले आउलाझैँ गर्छन् । फनपार्कमा गएर रोटेपिङ्ग खेल्न उनलाई अति मन पर्छ । उनकी आमा प्रतिभा ढुंगेल थप्छिन्, “छोराले हप्तामा एकपटक फनपार्क नगइ छाड्दैन, एक त भनेजस्तो पार्क छैन, अर्को भएका पार्क पनि अति महँगा छन्, जानै सकिँदैन ।”
पार्क जान मन भएर पनि घरमै कुँजिन विवश पात्र हुन्– कुपन्डोलकी सुकृती दास (११) । उनलाई बिदाको दिन पार्क जाउँ त लाग्छ तर कहाँ जाने ? फन पार्कमा रेल भइदियोस् । मिक्की माउससँग टाँसिएर फोटो खिच्न पाइयोस्– मन कल्पिइरहन्छ उनको ।
सुकृतीकी आमा पिंकी दास भन्छिन् “छोरीले रहर गरेर फनपार्क लिएर जान्छु तर फन पार्क हेर्दै विरक्त लाग्छ जताततै फोहर मात्रै पो देख्छु । त्यतिमात्रै हैन एउटा खेल खेल्नलाई घन्टौँ समय पर्खनुपर्छ । मनोरञ्जन गर्न भनेर गयो उल्टै निराश बनेर पर्खनुपर्छ ।”
अधिकांश अभिभावकहरू निजी क्षेत्रद्वारा सञ्चालित बालबालिकाले खेल्ने पार्कदेखि सन्तुष्ट छैनन् । पैसा तिरेमुताविकको सुविधा पार्क सञ्चालकले उपलब्ध नगराउने भएकाले उनीहरू सरकारी पार्क हुनुपर्ने बताउँछन् ।