काठमाडौं । तारकेश्वर नगरपालिका नेपालटारस्थित कक्षा ३ मा अध्ययनरत १० वर्षीया बालिका विनिता फुयाँलको परिवारलाई काठमाडौं महानगरपालिकाले सहायता रकमस्वरुप २५ हजार र तारकेश्वर नगरपालिकाले ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।
शुक्रबार ढलमा परेर मृत्यु भएकी बालिकाको घरमै पुगेर महानगर प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकम प्रदान गरेका हुन् ।
यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर २९ सामाखुसी बस्दै आएकी १३ वर्षीया बालिका सत्या सापकोटालाई काठमाडौं महानगरपालिकाले जीवनबिमा गरिदिने भएको कामनपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले बताए । सापकोटा विद्यालयबाट घर फर्किंदै गर्दा बाटामा पर्ने ढलको पाइपमा डुबे पनि उनलाई स्थानीयले तत्काल उद्धार गरेका थिए ।
यसका साथै सुरक्षित आवागमनका लागि उक्त क्षेत्रका सडकहरुका दायाँवायाँ छेउमा तत्काल रेलिङ गर्न वडाध्यलाई निर्देशन दिइएको काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले बताइन् ।