ad

विदेश

राष्ट्रपति चुनावले के फरक पर्छ भारतको भावी राजनीतिमा ?

काठमाडौं । भारतीय राजनीतिको निरन्तरतामा सोमबार (१७ जुलाई) दुई महत्त्वपूर्ण परिघटनाहरू भएका छन् । पहिलो, दिल्लीमा सोह्रौं संसद्को चौथो मनसुन सत्र सुरु हुँदैछ भने अर्को कुरा दिल्ली र देशका सबै राज्यहरूका राजधानीमा देशका चौधौं राष्ट्रपतिको चयनका लागि मतदान हुँदैछ । 
राष्ट्रपति पदका मुख्य प्रतिस्पर्धीमा भाजपासमर्थित एनडीए गठबन्धनबाट रामनाथ कोविन्द र कांग्रेससमर्थित युपीए गठबन्धनबाट मीराकुमार चुनावी मैदानमा छन् । मतदान संसद् भवनसहित हरेक राज्यको विधानसभा भवनमा बिहान १० बजेदेखि सुरु भएको छ र अपराह्न ५ बजेसम्म चल्नेछ । मतपरिणाम जुलाई २० तारिखमा घोषणा हुने कार्यक्रम छ । जुलाई २५ मा नवनियुक्त राष्ट्रपतिले पदभार ग्रहण गर्नेछन् । 

यसरी हुँदैछ मतदान  
भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार मतदाता सांसद विधायकहरूले मतदान केन्द्रमा आफ्नो साथमा कलम लिएर जान पाउने छैनन् । उनीहरूले मैसूरमा बनेको बैजनी रंगको कलमले मतदान गर्नेछन् । मतदानका लागि सांसदहरूका लागि  हरियो रंग र विधायकहरूका लागि गुलाबी रंगको मतपत्रको व्यवस्था गरिएको छ । यस चुनावमा एनडीए गठबन्धनका तर्फबाट उमेदवार बनेका रामनाथ कोविन्दलाई गठबन्धनबाहिरका एआइडिएमके, बिजेडी, टिआरएस, जेडीयु, वाइएसआर कांग्रेस र इनेलोको समेत समर्थन छ । उता कांग्रेससमर्थित युपीए गठबन्धनकी उमेदवार मीराकुमारलाई टीएमसी, सपा, बसपा, आरजेडी, वामपन्थी पार्टीहरू, आप, डीएमके र एनपीसीसहित १८ दलको समर्थन छ । चुनावमा कूल ४८५१ जनाले मतदान गर्दैछन्, जसमध्ये ४०७७ जना विधायक छन् भने ७७४ सांसद छन् । 

मोदीको दृष्टिमा मुखर्जी पितातुल्य, नयाँ राष्ट्रपति कोविन्द बन्ने निश्चितप्रायः  
राष्ट्रपति चुनाव संघारमै आइसकेको अवस्थामा अधिकांशको पूर्वानुमानअनुसार यस पटक एनडीए उमेदवार रामनाथ कोविन्दले ६३ प्रतिशत मत ल्याएर चुनाव जित्दैछन् । उनी राष्ट्रपति बने भने भारतीय राजनीतिमा, विशेषगरी भाजपा नेतृत्वको वर्तमान गठबन्धन सरकारको स्थितिमा के परिवर्तन आउँछ त ? के कोविन्दको आगमनले मोदी सरकारको स्थिति अहिलेभन्दा राम्रो हुन्छ ?

यसबारे टिप्पणी गर्दै बीबीसीमा लेखिएको छ, ‘‘प्रणव मुखर्जी कांग्रेसका वरिष्ठतम नेताहरूमध्ये एक थिए, तर उनको कार्यकालमा मोदी सरकारलाई कहिल्यै कठिनाई भएन ।’’
हालै मात्र नरेन्द्र मोदीले मुखर्जीलाई कृतज्ञतावश पितातुल्य मानेको बताएको छन् र लेखेका छन्, ‘‘मेरो जीवनको निकै ठूलो सौभाग्य हो, मलाई प्रणव दाइको औंलो समातेर दिल्लीको जिन्दगीमा स्वयंलाई स्थापित गर्ने मौका प्राप्त भयो ।’’ 

विश्लेषकहरू भन्छन्, प्रणव मुखर्जीले चाहेको भए विगत तीन वर्षमा मोदी सरकारलाई धेरै पटक असजिलो पार्न सक्थे । बीबीसीका अनुसार, विशेषगरी भूमि अधिग्रहण अध्यादेशलाई पटकपटक जारी गर्ने कुरामा राष्ट्रपतिले क्षणिक समयका लागि भए पनि मोदी सरकारलाई अप्ठ्यारो पार्न सक्थे । त्यसैगरी उत्तराखण्ड र अरुणाचल प्रदेशमा राष्ट्रपति शासन लागु गर्ने विषयमा पनि मुखर्जीेले अत्तो थापेर असजिलो पार्न सक्थे ।  

नेपालमा जस्तै भारतमा पनि राष्ट्रपतिको चुनाव यद्यपि राजनीतिक गतिविधि हो, तर यसको नाटकीय निहितार्थ हुँदैन । बढी से बढी सत्तारूढ दलको हैसियत कस्तो छ भनेर जाँच्न यसबाट सहयोग पुग्छ । आमरूपमा यसको नतिजाको अनुमान पहिल्यै हुन्छ । यस पदको संवैधानिक भूमिका पनि नेपालमा जस्तै आलंकारिक किसिमको हुन्छ । भनिन्छ, राष्ट्रपति केवल ‘रबर स्ट्याम्प’ मात्र हो । तर यति हुँदाहुँदै पनि परिवर्तित राजनीतिक परिदृश्यमा राष्ट्रपतिको भूमिका कहिले कहीं महत्त्वपूर्ण हुन सक्छ ।

जब केन्द्रीय चुनावमा कुनै पार्टीले स्पष्ट बहुमत हासिल गर्न सक्दैन र त्रिशंकु संसद् हुन्छ, त्यस्तो स्थितिमा कतिपय कुरा राष्ट्रपतिको विवेकमा भर पर्ने हुन्छन् । कोविन्द राष्ट्रपति भए भने विपक्षी दलको राष्ट्रपति हुँदा प्रधानमन्त्रीको मनमा रहने स्वाभाविक भय हराउनुबाहेक मोदीका लागि खासै फरक नपर्ने विश्लेषकहरू बताउँछन् । यत्तिको हो, सन् २०१९ मा हुन लागेको आम चुनावमा कुनै पार्टीले बहुमत ल्याउन नसकेको स्थितिमा भने भाजपासमर्थित कोविन्दको उपस्थितिले मोदीलाई सजिलो पर्न सक्छ । 

राष्ट्रपति चुनावलाई लिएर आइतबार बैठकै बैठक 
 राष्ट्रपति चुनावबारे आइतबार पूरै दिन एनडीए र युपीए गठबन्धनका बैठकहरू भए । सबभन्दा पहिले मोदी सरकारका मन्त्रीहरू र सबै विपक्षी पार्टीहरूसम्मिलित सर्वदलीय बैठक बस्यो । उक्त बैठकमा संसद्को कारवाहीलाई बिना कुनै अवरोध सञ्चालन गर्ने विषयमा कुराकानी भएको थियो । बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित अर्थमन्त्री अरुण जेटली र कांग्रेसका तर्फबाट गुलाम नबी आजाद, समाजवादी पार्टीका मुलायम सिंह यादव, नरेश अग्रवाल, सीपीएमका के.डी.राजा आदि नेताहरू उपस्थित थिए । 

सर्वदलीय बैठकलगत्तै सम्पन्न भाजपा संसदीय समितिको बैठकमा राष्ट्रपति र उपराष्ट्रपति चुनाव, मनसुन सेसनमा पेस गरिने विधेयकहरू र विपक्षको रणनीतिबारे कुराकानी भएको थियो । उक्त बैठकमा नरेन्द्र मोदी, राजनाथ सिंह, अरुण जेटली, सुषमा स्वराज, अनन्तकुमार, लालकृष्ण आडवाणी र मुरलीमनोहर जोशीसहित पार्टीका अधिकांश सांसदहरू सहभागी थिए । बैठकमा एनडीएका तर्फबाट उमेदवार बनेका रामनाथ कोविन्द पनि सहभागी थिए । बैठकमा संसदीय कार्यमन्त्री अनन्तकुमारले भने, ‘‘हामी ४० पार्टीहरूको समर्थनसहित अगाडि बढिरहेका छौं । प्रधानमन्त्रीले सोमबार सबै सांसदलाई भोट दिन अपिल गर्नुभएको छ । चुनाव अभियानमा कुनै कटुता र वैमनस्य देखिएन । यसले देशको राजनीति परिपक्व हुँदै गएको  अनुभव भएको छ ।’’

बैठकमा प्रधानमन्त्री मोदीले भने, ‘‘कोविन्दजी पूर्वप्रधानमन्त्री मोरारजी देसाईका सहायक हुनुहुन्थ्यो । अब मलाई उहाँको सहायक बन्ने मौका प्राप्त हुँदैछ । उहाँसँग काम गर्न पाउनु मेरो सौभाग्य हो । मेरो शुभकामना ।’’ कांग्रेस नेतृ सोनिया गान्धीले पनि आइतबार विपक्षी महागठबन्धनका नेताहरूसँग छलफल गरेकी थिइन् ।

एनडीए गठबन्धन बैठक आज पनि, उपराष्ट्रपति उमेदवारको नाम घोषणा हुने  
समाचारअनुसार भाजपासमर्थित एनडीए गठबन्धनको बैठक सोमबार पनि बस्दैछ । उक्त बैठकबाट उपराष्ट्रपतिमा कसलाई उठाउने भनेर नाम तय गरिने सम्भावना छ । उपराष्ट्रपतिको चुनाव आगामी अगस्त ५ तारिखमा हुँदैछ । एनडीए गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदका सम्भावित उमेदवारहरूमा केन्द्रीय मन्त्री बेंकैया नायडू, गुजरातका पूर्वमुख्यमन्त्री आनन्दीबेन पटेल र विहारका सांसद हुकुमदेव नारायण सिंहको नाम चर्चामा छ । भारतका वर्तमान उपराष्ट्रपति हामिद अन्सारीको कार्यकाल यही १० अगस्तमा समाप्त हुँदैछ ।

तपाईंको मत