काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै एकजना पनि मतदाता मतदानबाट वञ्चित हुन नहुने भन्दै मतदाता नामावली संकलनलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । आयोगलाई बुझाएको ज्ञापनपत्रमा एमालेले गाउँपालिका वा नगरपालिका केन्द्रबाट वा आयोग केन्द्रीय कार्यालयबाट समेत मतदाता नामावली संकलन गरेर भए पनि सबैलाई समेट्न आग्रह गरेको छ ।
एमाले नेता सुवास नेम्वाङले नेपालको संविधान बमोजिम बाँकी स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन समयमै सम्पन्न गर्न निर्वाचन आयोगलाई निरन्तर पहल गर्न सुझाव दिइएको बताए ।
एमालेले निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपर्युक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्न पनि आयोगलाई बुझाएको पत्रमा उल्लेख गरेको छ ।
त्यस्तै, निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइलाई अविलम्ब अन्त्य गर्दै समिति गठन गर्न आवश्यक काम गर्न पनि आयोगलाई आग्रह गरेको छ ।
निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानुन निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर निर्वाचन आयोगको सकारात्मक पहललाई एमालेले स्वागत गरेको छ ।