काठमाडौं । करण जोहर प्राय बलिउडमा नयाँनयाँ अनुहारको खोजी गर्छन्, र लञ्च गर्छन् । आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्रा करणकै देन हुन् । केही स्टार किड आउँदैछन् । र, अर्को एउटा अनुहार पनि करणको स्टुडेन्ट बन्दैछ ।
जागरण अनलाइनका अनुसार करणले लञ्च गर्न लागेको नयाँ अनुहारको नाम हो, तारा सुतारिया । उनी एक डान्सर हुन् र टीभी अभिनेत्री र भिजे पनि हुन् । उनी पुनित मल्होत्राको निर्देशनमा बन्ने चलचित्र ‘स्टुडेन्ट अफ दी इयर २’ की महत्वपूर्ण भूमिका हुनेछिन् ।
यस अघि शीर्ष भूमिकाका लागि टाइगर श्रफ फाइनल भइसकेका छन् । यस पटक कथामा दुई हिरो नभएर दुई हिरोइन हुनेछन् । र, यसका लागि चंकी पांडेकी छोरी अनन्याको नाम अघि आएको छ ।
यस अघि खबरमा टाइगरका साथ उनकी वास्तविक जीवनकी साथी दिशा पटानी हुने हल्ला थियो । तर नयाँ खबरका अनुसार यो चलचित्रकी अर्की हिरोइनका रूपमा ताराको नाम अगाडि आएको छ ।