ad

घटना क्रम

‘गोरखाको स्वाभिमानमा कसरी पुग्यो चोट ?’

काठमाडौं । दार्जिलिङको गोर्खा आन्दोलन विध्वंसको दिशातिर अघि बढिरहेकोमा चिन्ता व्यक्त हुनु स्वभाविकै हो । आन्दोलनले केही कडा रूप लिनु र प्रशासकसँग आफ्नो मागलाई प्रभावकारी रूपमा राख्नु आन्दोलनको स्प्रिट हो यद्यपि हिंसाको दिशातर्फ अघि बढेको आन्दोलनले दीर्घकालीन रूपमा त्यहीँको समुदायलाई प्रभावित बनाउँछ । 

नेपालमा १२ वर्षे माओवादी द्वन्द्व भयो । सयौँ आमाका छोराहरूले बलिदान दिए । सररकारी र विद्रोही दुवै पक्षबाट हिंसा भए ।  कयौँ महत्वपूर्ण र ऐतिहासिक भौतिक संरचना ध्वंस बनाइयो । कालान्तरमा मुलुकमा हिंसा अन्त्य भयो । तर, ती नष्ट गरिएका भौतिक संरचना फर्केर आएनन्, ती ऐतिहासिक विर्ता इतिहासमै बिलिन भए । 

दार्जिलिङ अहिले त्यही मोडमा उभिएको छ । अधिकारका लागि आन्दोलित छ । यो दार्जिलिङमा चलिरहेको आन्दोलनले यस्तै हिंसात्मक रूप लिन हुन्न भन्ने चिन्ता हो । गाडी चल्न बन्द गरिनु आन्दोलनको एउटा पराकाष्टा होला तर गाडीमै आगजनी गर्नु अराजकता हो । यही मर्मलाई हेर्दा दार्जिलिङ पर्यटकीय क्षेत्र हो त्यहाँको पर्यटनका आधारलाई भत्काइनु हुँदैन ।

बीबीसीडटकम हिन्दीले वरिष्ठ पत्रकार सुवीर भौमिकको आलेख प्रकाशित गर्दै ‘दार्जिलिङके गोरखे इतने भडके हुए क्यौं हैं?’ (दार्जिलिङका गोर्खा किन यति धेरै उग्र भइरहेका छन् ?’ प्रश्न सोधेको छ । तर लेख प्रकाशित भएको एक घण्टापछि यसको शीर्षक परिवर्तन गरेर ‘नजरियाः ममता ने गोर्खाओं के स्वाभिमान पर चोट की’ अर्थात् दृष्टिकोणः ममताले गोर्खाको स्वाभिमानमा चोट पुर्याइन’ भनेर सुधार गरिएको छ । 

यद्यपि यो आलेखमा शीर्षकबाहेक केही परिवर्तन भएन । दैनिक कामकाज बन्द गर्न सकिन्छ, चलिरहेको रेललाई रोक्न सकिन्छ, रेलवे सेवा बन्द गर्न सकिएला तर स्टेशनमा आगो लगाउनु, पर्यटनका आधार स्तम्भहरू ध्वस्त गरिनु आफैँमा बेवकुफी हो । सही सोच राख्ने गोरखाको यो काम हुन सक्दैन । गोरखा आन्दोलनलाई नोक्सान पुर्याउन चाहनेको हर्कत हो । पत्रकार भौमिकको आशय, उनी अघि लेख्छन्ः

दार्जिलिङमा गोरखाको यो पटकको आन्दोलन केही हदसम्म सन् १९८५–८६ को आन्दोलन जस्तो लागिरहेको छ । त्यतिबेला गारखा लिबरेशन फ्रंट यो क्षेत्रको एउटा बलियो संगठन थियो । यसले झण्डै चारपाँच वर्ष आन्दोलन चलायो । अहिलेको अवस्था त्यस्तै लागिरहेको छ । 

यस्तो हुनाको कारण– गोर्खा निकै रिसाइरहेका छन् । यो उनीहरूको आम्दानीको स्रोत थियो तर कहीँ चोट पुगिरहेको छ । गोरखाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशनका विषयमा गरिएको व्यवस्थाका कारण गोरखा विशेष रिसाइ रहेका छन् । यहाँको सफलतामा पश्चिम बंगाल सरकारले अनेक प्रकारले बाधा गरिरहेको

र यसलाई विफल गराउनका लागि सबै प्रकारको षडयन्त्र र प्रयास गरिएको यिनीहरूलाई लागेको छ । 

गोरखाल्याण्डको माग

अब यिनीहरूलाई महसुस भइसक्यो जबसम्म उनीहरूलाई गोर्खाल्याण्ड प्राप्त हुँदैन, तबसम्म आफ्नो क्षेत्रमा चाहेको काम गर्न सकिँदैन । यसका केही ठूला कारण पनि छन् । एउटा ममता बनर्जीको सरकारले पहाड (दार्जिलिङ) मा गोरखा संप्रदायका बीच किसिमकिसिमका फुट ल्याउने प्रयास गरेकी छिन् । 
र, सबैभन्दा ठूलो कुरा गोरखा जातिसँगै बसेका लेप्चा र भूटिया छन् तिनलाई पनि विभाजन गर्ने प्रयास गरिएको छ । साथै गोरखाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशनलाई प्राप्त हुने आर्थिक रकममा व्यवधान खडा गरिएको छ । यद्यपि केन्द्रबाट पाउने रकम आइरहेको छ । यसबाट गोरखाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशनको बाघडोर सम्हाल्ने गोरखा जनमूक्ति मोर्चा रिसाएको छ । 

गोरखाको स्वाभिमान

हेर्ने हो भने गोरखाल्याण्डलाई स्वायत्तता दिने प्रयोग पूर्ण रूपमा विफल भएको देखिँदैछ । र, अहिले जे गडबढ भइरहेको छ  त्यसले गोर्खाको स्वाभिमानमा चोट पुगेको छ । 
ममता बनर्जीको सरकारले अचानक दार्जिलिङसमेत पश्चिम बंगालका हरेक कुनामा बंगाली अध्ययन गर्नु आवश्यक छ भन्ने घोषणा गरिदियो । यद्यपि पछि यो आदेशलाई फिर्ता लिइयो । तर त्यतिबेलासम्म आगोमा घिऊ परिसकेको थियो । र, आगो फैलिन थाल्यो । यसैले गोरखाले आफूहरू भिन्नै जाति भएको र बाँकी बंगालका साथ आफ्नो कुनै तालमेल छैन भन्ने महसुस गरेको कारण नै यही हो । 
तर यो पनि साँचो हो बंगाली र गोरखा वर्षौँदेखि सँगै रहँदै आएका छन् । 


पर्यटनको हानी
वरिष्ठ पत्रकार भौमिक लेख्छन्, “मलाई लाग्छ कि गोरखा जातिको यो बेवकुफी हो । किनभने तपाईहरू कामकाज बन्द गर्न सक्नुहुन्छ, टोयट्रेन अवरुद्ध गर्न सक्नुहुन्छ । जब बांग्ला भाषाका लागि बंगालिले सन् १९६०–६१ म अममा आन्दोलन गरेका थिए, त्यहाँ उनीहरू रेललाइनमा गएर बसेका थिए ।

तपाईँ रेलसेवा बन्द गर्न सक्नुहुन्छ तर स्टेशनमा आगो लाइदिनु, पर्यटनका आधार विध्वंस गरिदिनु आफैँमा बेवकुफी हो । यो सही सोच राख्ने गोर्खाको काम हुनसक्दैन । जसले गोरखा आन्दोलनलाई असफल बनाउन, हानी पुर्याउन चाहन्छन्, यो ती व्यक्तिको हर्कत हुन सक्छ । 

मानौँ, उनीहरूलाई गोर्खाल्याण्ड प्राप्त भयो अरे, तब यो सबै बनाउनका लागि फेरि खर्च गर्नुपर्छ । यद्यपि यो काल्पनिक स्थिति हो । 

शान्तिपूर्ण तरिकाबाट... 

आजसम्म यो सबै बर्बादीको कुनै तुक छैन । यदि सबै सँगै छन् भने यी सबै कुरालाई यथावत् राखेर पनि शान्तिपूर्ण तरिकाले आन्दोलन चलाउन सकिन्छ । यदि तपाईँ मान्छेलाई डर देखाएर यी सबै हरकत गरेर एउटा आन्दोलन खडा गर्नु हुँदैछ भने यो फरक कुरो हो । 

जनता हाम्रा साथमा छन्, गोरखा जनमूक्ति मोर्चा, यसका नेता विमल गुरुङ र रोशन गिरी भनिरहेका छन्, यदि साँच्चै जनता उनका साथ छन् भने रेलवे स्टेशन जलाउनु पर्ने, चिया बगानमा आक्रमण गर्नुपर्ने, भौतिक संरचनामा क्षति पुर्याउनु राम्रो कुरो होइन ।  किनभने टी, टिम्बर र टुरिज्म दार्जिलिङको आयको मुख्य स्रोत हो ।

नयाँ राज्यको गठनमा प्रश्न

यदि तपाईँ छुट्टै राज्य माग गर्दै हुनुहुन्छ भने यी सबै उद्योगमा मुनाफा यथावत राख्नु कुनै पनि राज्यका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ । यदि तपाईँले केन्द्रलाई यसै शर्तलाई पूरा गर्ने विश्वास दिलाउनु भएन भने केन्द्रले नयाँ राज्य गठनको मागमा कहिले पनि विचार गर्दैन । 
गोर्खाल्याण्डका वरिष्ठ नेताहरूले यो कुरो बुझ्छन्, तर युवा नेताले यो कुरो बुझ्न सक्दैनन् । उनीहरूले अचानक आएको पैसा देखिरहेका छन् र यो कहाँबाट आयो भन्ने स्पष्ट छैन । 
यिनै व्यक्ति जोशमा आएर यो सबै हर्कत गरिरहेका छन् । उनीहरूलाई यो थाहा हुनुपर्छ, यस्तो केही नगरी पनि (शान्तिपूर्ण) आफ्नो आन्दोलन जारी राख्न सक्छन् ।
पत्रकार भौमिक आफ्नो आलेखमा शान्तिपूर्ण आन्दोलनको विकल्प नरहेको स्पष्ट पार्छन् । यसका लागि संयमता अपनाउनु पर्ने उनको सुझाव छ ।  
  

तपाईंको मत