site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चालू प्रेमी
Ghorahi CementGhorahi Cement

‘प्लस टु’का साथीहरू विक्रमलाई टाठो र भाग्यमानीको श्रेणीमा राख्थे । किनकि सबैभन्दा आकर्षक मानिएकी रश्मि थापा ऊसँग पट्टिएकी थिई । स्कुलका मैयाँहरूको हुलमा रश्मि प्रस्टै अलग देखिन्थी– पढ्नमा टाठी, बोल्नमा सौम्य र देख्नमा सर्लक्क अग्ली । उसको घातक मुस्कानले धेरैलाई घाइते बनाएको थियो, सहपाठीदेखि शिक्षकसम्म ।

स्कुले साथीहरूको ग्याङमा प्रबलसँग विक्रमको जम्थ्यो । दुई वर्ष जेठो र एक ब्याच सिनियर हुनुका नाताले ऊ धेरै जान्दथ्यो । तिनीहरूको दोस्ती किन पनि जम्थ्यो भने प्रबलले सुन्ने गीतहरू विक्रमलाई मन पथ्र्यो– रक र र्‍याप । प्रबलले हरपल दुबै कानमा इयरफोन ठोसेको हुन्थ्यो । विक्रमलाई भेट्दा उसले एकातिरको इयरफोन सुन्नलाई दिन्थ्यो ।

प्रबल र उसका साथीहरू कहिलेकाहीँ कक्षामा जान पनि जाँगर लगाउँथेनन् । बरु चुरोट तान्न मन पराउँथे । तिनैसँग हो विक्रमले सिकेको ।

Agni Group

भरतपुरको बसेनीमा छ गणेशस्थान । हरेक मंगलबार त्यहाँ साह्रै रमाइलो हुन्छ । धर्मभीरु बूढाबूढीमात्र जाने होइनन् त्यहाँ, ठिटाठिटीको डेटिङ स्पट पनि हो । विक्रमको स्कुलका अल्लारेहरू मंगलबार बिहान त्यही मन्दिरमा भेटिन्थे । स्कुलमा ड्रेस थियो । मन्दिरमा फेसन शो गर्थे । 
पोहोर परारैदेखि विक्रम दिदीसँग जान थालेको हो, त्यहाँ । केटाहरू दिदीसँग कुरा गर्न खोज्थे, पापड बेल्थे तर उसकी दिदी सजिलै तिनीहरूलाई भाउ दिन्नथी । तैपनि ती केटाहरू किन हिरिक्क हुन्थे ? सम्भवतः उसको रूपले होला । राम्री केटी देख्दा केटाहरूले फर्की–फर्की हेर्थे र घुटुघुटु थुक निल्थे । तर, विक्रमकी दिदी मतलब गर्दिनथी ।

विक्रमकी दिदीसँग एक–एक बहाना बनाउँदै बोल्न खोज्नेमा प्रबल पनि थियो । भाइसँग दोस्ती गर्दै दिदी ताकेको हो भन्थे केटाहरू । तर, विक्रमकी दिदी ‘त्यस्तो चुरोट तान्ने लोफर’ भनेर बिच्कन्थी । चुरोट तान्ने कुरा त उसको बहानामात्र थियो । हरेक केटामा ऊ केही न केही दोष देख्थी र तर्कन्थी । भन्थी, “यी पढ्नेवाला होइनन्, सड्नेवाला हुन् ।”

Global Ime bank

भाइ विक्रम भने दिदीभन्दा फरक स्वभावको थियो । पढनदासदेखि हल्लनदास सबै उसका साथी थिए । तैपनि सबै जाँचमा सरासर पास हुन्थ्यो । कसैकसैले भन्थे, यो केटो दिउँसो बरालिएजस्तो गर्छ, राति टुप्पी कसेर पढ्छ ।

उसमा एक खालको फुर्तिलोपना थियो, अलिक शूरो र झोंकी खालको । पाठ्यक्रमभन्दा अतिरिक्त क्रियाकलापहरूमा रूचि बढी थियो । उसको जिउमा जाँगर चलाउने हर्मोनहरूको अतिरिक्त आपूर्ति थियो शायद । उसको रगरगी देख्दा आमा जेनेटिक हो कि भनी पिरलो गर्थी ।

विक्रमको बाउ ट्रक ड्राइभर थियो । विक्रमकी आमा बिहेअघि सडकछेउको होटलमा काम गर्थी । त्यहीँ उनीहरूको माया बसेको थियो । विक्रमको बाउले त्यस्तो माया अन्त पनि बसाएको थियो । जुन कुरा विक्रमकी आमाले बिहेपछि मात्र थाहा पाएकी थिई । छोरी १८ वर्ष पुग्दासम्म पनि उसकी आमा धारे हात लगाउँथी, “थुतुनो र मुतुनोको ठेगान नभा’को बज्जिया !”

शायद डीएनएमै भएर हो कि– मैयाँहरूप्रति विक्रमको विशेष चाख थियो । त्यसमा पनि रश्मि देख्नेबित्तिकै उसको उन्माद बढ्थ्यो । रश्मि नभेटेको दिनमा दीपा देख्दा त्यस्तै हुन्थ्यो । ऊ सबैसँग हेलमेल गथ्र्यो र सबै कुरा मन पराउँथ्यो । तर, सबैभन्दा बढी रश्मिलाई मन पराउँथ्यो ।

एक पटक विक्रमले कक्षाकोठामा खसेको खाम भेटेको थियो । खोलेर हेर्दा फोटाहरू थिए । फोटो थियो, रश्मिको । खोजेजस्तो भैहाल्यो । रश्मिसँग गफ गर्ने मौका पाइयो भनेर तीन बित्ता उफ्रियो । रश्मिलाई खोज्दै जाँदा लाइब्रेरीमा भेटिई । फोटो पाएपछि रश्मिले खुसीले दशचोटि धन्यवाद दिई ।

“भाग्यवश तिमीले भेटेछौ, नत्र ठूलो संकट हुन सक्थ्यो,” उसले भनी ।

त्यसपछि उसले फोटो रुजु गरी । पहिले दिएको दश धन्यवादबाट एक धन्यवाद घटाउनुपर्ने हो कि झैं गरी । एउटा फोटो गायब थियो । रश्मिको सिंगल फोटोचाहिँ ।

प्रबलले संकलित गीतको एक सीडी विक्रमकी दिदीलाई उपहार दिएको थियो । उसकी दिदीले रिसले भनन्न हुँदै ‘मर्न नसकेको मुर्दार’ भनेकी थिई र ‘तैँ लैजा’ भनेर फिर्ता गरिदिएकी थिई । प्रबलमात्र कहाँ हो र, पछाडिपट्टि कपालको लर्को झुन्ड्याएको अर्को केटोले पनि त्यही दिनमा एउटा डीभीडी दिएको थियो र ट्राई मारेको थियो । तर, दिदीले त्यसैगरी फिर्ता गरेकी थिई । त्यो अघिल्लो सालको भ्यालेन्टाइन डेको कुरो थियो ।
अर्को वर्षको भ्यालेन्टाइन डे आयो । देख्दादेख्दै रश्मि अलिकति बढी, पोहोर सालभन्दा हर्लक्कै बढी । अझ राम्री देखिई । उसका छाती पनि बढे । उसको पुठ्ठो भकुन्डोजस्तो गोलो देखिन थाल्यो । तर, त्यस्तो बखान रश्मिलाई मन पर्दैनथ्यो । ऊ विक्रमलाई प्याट्ट हान्थी । ‘ऐया’ भन्दै पिटेको ठाउँ मुसाथ्र्यो ऊ, तर त्यस्ता नरम र लुला हातले हान्दा कहाँ दुख्थ्यो र !

केही चुनिएका गीतहरू संकलन गरेर विक्रमले एउटा सीडी रेकर्ड रश्मिलाई दियो । त्यस्तो ज्ञान उसले पोहोर साल प्रबलबाट हासिल गरेको थियो । सीडीसँगैको एउटा चिर्कटो कार्डमा उसले लेखेको थियो, ‘ह्याप्पी भ्यालेन्टाइन डे ।’

त्यसको एकै छिनमा रश्मिले त्यो चिर्कटो कागज फिर्ता गरेकी थिई । कागजको पुछारमा लेखिएको थियो, ‘थ्यांक यु’ र सँगै एउटा इमोटीकन हाजिर थियो, खुसीको मुडमा । 

त्यस दिनपछि तिनीहरू मनपर्ने गीत, मनपर्ने गायक–गायिका, मनपर्ने ब्यान्ड र मनपर्ने फिल्मका बारेमा गफिन थाले । मनपर्ने खेलाडी, मनपर्ने किताब र मनपर्ने शीर्षकमा अनेक थोक गफका विषय बने । गीत, पुस्तक र फिल्म भनेका किशोरावस्थामा मनोरञ्जनका साधनभन्दा काफी धेरै हुन् । हामी को हौं, हाम्रो भूमिका र कर्तव्य के हो ? हाम्रो विश्वास केमा अडेको छ, हामीले खोजेको भविष्य कस्तो हो– चिन्ने आधार हुन् यिनी । भ्यालेन्टाइन डे बबाल सफल भएपछि रश्मिको ‘बर्थ डे’ कसरी धमास मनाउने भनेर विक्रम सोचमग्न हुन थाल्यो । 

० ० ०

विक्रमकी आमा धार्मिक थिइन् । हरेक सोमबार अल्लि बढी व्यस्त हुन्थिन् । कुनै जागिरका निम्ति होइन, त्यो दिन उनको मन्दिरदर्शन र प्रवचन सुन्ने बार थियो । व्रत पनि बस्थिन् ।

विक्रमकी सानिमा सुशान्ति घरमा हुन्थी । उनीहरूका नातेदारको विराट्वृत्तमा ऊ नै त थिई सबैभन्दा पढालेखा । अमेरिका बसेको केटासँग उसको बिहे भएको थियो । ४ वर्ष पहिले बिहे हुँदा केटाले एक वर्षभित्रमा अमेरिका लैजान्छु भनेर वाचा गरेको थियो तर एक वर्ष एक वर्ष भन्दाभन्दै ४ वर्ष बिते । ४ वर्ष बितेपछि केटाले ‘स्टुडेन्ट भिसामा आऊ’ भन्न थाल्यो । त्यसैका निम्ति अंग्रेजी भाषाको टोफल तयारी गर्न सुशान्ति त्यो घरमा बसेकी थिई । कहिलेकाहीँ केटाकेटीको होमवर्कमा पनि सहयोग गर्ली भन्ने विक्रमकी आमाको अपेक्षा थियो । 

विक्रम ५ कक्षा पढ्ने बेलामा उसको बाउले आफ्नै नयाँ ट्रक किनेको थियो । त्यो ट्रकमा एकाधचोटि विक्रम पनि बाउसँगै घुम्न गएको थियो । त्यतिखेर उसको फरासिलो बाउ रमाइला र मायालु आन्टीहरूसँग रमाएको अनौठो लागेको थियो उसलाई । “नयाँ गाडी चलाएपछि थाहा हुन्छ, पुरानो गाडीको भिन्नता के हो,” उसको बाउ भन्ने गथ्र्यो ।

ती आन्टीहरूले उसलाई पनि औधी माया गरेका थिए । उसको दिमागमा अझै ताजै छ, त्यो कुरा । बाउसँगका यस्ता घटना बढी ताजा रहनुमा अर्को पनि कारण थियो । उसको बाउ फाट्टफुट्ट घर आउँथ्यो । विक्रम र उसकी दिदीले कति नै पो बाउसँग बिताउन पाएका थिए र ! जति पटक मौका पाए, अविस्मरणीय बने, यादगार माने ।

अर्को वर्ष त्यो ट्रक दुर्घटना भयो र बाउ बित्यो, जुन घटनाले उसलाई दुःखी बनायो, तर मर्माहतै होइन ।

असोजको एक शनिबार, रश्मि आफ्नी साथीसँग डाँडाकालिका गई । विक्रम पनि साथीसँग गयो । डाँडाको टुप्पोको मन्दिर जाने र वनभोज खाने योजना पहिल्यै बनेको थियो ।

सालको रुखको उतापट्टिको घारीनेर विक्रम मौका कुरिरहेको थियो । त्यहाँबाट तल्तिरको बस्ती जहाजबाट हेरेजस्तो देखिन्थ्यो । त्यहाँबाट हेर्दै गर्दा रश्मिले अनायास भनी, “ए सुन ! तिमी कविता लेख्छौ ?”

“ओ कविता !” ऊ रहस्यात्मक हाँस्यो ।

“लेखिरहनुपर्छ भनेको होइन,” उसले भनी, “एउटा लेख न, म पढ्न चाहन्छु ।”

“तिमी फर्माइस मात्र गर न,” उसले रोमान्टिक मुडमा भन्यो, “कविता त शब्दविन्यासले बन्छ । त्यसमा ज्यान र रूप भए के बन्छ ? सुन्दर, आकर्षक र मोहित पार्ने बन्छ । ओ ! त्यसलाई के भन्छ रे ?”

“!”

“रश्मि ।”

ऊ लाजले रातो र तातो भई । त्यसको परावर्तनले ऊ पग्लिन थाल्यो ।

रश्मिमा आत्मविश्वास खस्कँदै थियो । नर्भस देखिन्थी । नर्भस त विक्रम पनि थियो तर उसले मन दरो राख्ने प्रयास गरेको थियो र रश्मिको हात दह्रोसँग समातेको थियो । अल्लि उतापट्टि आङै जिरिङ्ग पार्ने भीर थियो । रश्मि विक्रमको जिउलाई घरिघरि च्याप्प समात्थी । त्यतिखेरै उसको शरीरबाट एक खालको बास्ना ह्वार्र आउँथ्यो । पछि रश्मिले भनी, “मुख खोलेको बाहेक अरू केही याद भएन ।”

“जुठो खाएको त मलाई पूरै याद छ,” विक्रमले मज्जा मानीमानी कानेखुसी गर्‍यो ।

“सोचेभन्दा सजिलो हुने रै’छ,” उसले भनी ।

त्यो पहिलो किसले अरू थुप्रै पहिलो महान् कुराहरूको खाता खोल्यो ।

रश्मिले विक्रमका नोटहरू दुरूस्त बनाइदिई । उनीहरूले साथमा गीत सुने र सँगसँगै गुनगुनाए । सँगसँगै नाचे, उफ्रे र रोमान्टिक कथाहरू पढे । सँगै चटपट खाए । मन्दिर अगाडि उभिएर एक–अर्काको माया माग्दै भाकल गरे र मन्दिरपछाडि गएर न्यानो अँगालोमा राप र ताप बाँडे । टुँडाल हेर्दै खितखित हाँसे । थुप्रै उल्लू कुरा र काम गरे अनि हाँसे । जे गरे, लुकीछिपी गरे । त्यसताका यस्ता कुरा हल्ला हुन नदिने प्रयत्न हुन्थ्यो । गुपचुप माया हुर्काइन्थ्यो । यी दुईको सुपर डुपर चलिरा’छ भन्ने कुरा थोरैलाई थाहा थियो ।

लुकिछिपी गर्नुपर्ने हुँदा दोस्रो किसको मौका मिलेको थिएन । विक्रमलाई भने औडाहा भैरहेको थियो । जसोतसो एउटा फिल्म हेर्न जाने मौका मिलाए । त्यो फिल्म हेरेको दिन रश्मिले कहिल्यै बिर्सिइन । ऊ सम्झिन्छे, सबै त गज्जब रमाइलो चलिराथ्यो, तर स्वाद कस्तो भने छिः मुखमा थुकेजस्तो । फिल्म भने बबाल रोचक लाग्याथ्यो । त्यसको भोलिपल्ट रश्मिले विक्रमसँग माग राखेकी थिई, चुरोट छाड्नुपर्ने । उसले उत्तिखेरै कसम खाएको थियो । 

रश्मिलाई कसरी एकान्तमा एक्लै पार्ने भन्ने दाउमा थियो, विक्रम । यसो गरे पनि नमिल्ने, उसो गरे पनि नमिल्ने । तिहारअघिको बेला थियो । सोचेजस्तै मौका मिल्यो । रश्मिका बाबुआमा मुक्तिनाथ गए । उनीहरूले रश्मिलाई पनि सँगै जान भनेका थिए तर अन्तिम बेलामा उसको पेट बेस्करी दुख्यो । ऊ घर कुर्न बसी । विक्रमले खुसुक्क साथ दिने अग्रिम सहमति थियो । त्यही रात उसले इच्छाएको तरिकाले चुम्मा खाने अनुमति पायो ।

यसपटक किसिङ कृत्यमा रश्मि पनि सक्रिय सहभागी हुँदै विक्रमका अंगहरूमा मायालु स्पर्श गरी । आकाशमा ताराहरू टहटह टल्केका थिए । अर्धचन्द्रमाको उपस्थितिमा वातावरण सुखद थियो र विशेषखालको स्पन्दन स्फुरित भइरहेको थियो । विक्रमका औंलाले रश्मिको जिउको किनारैकिनार चित्र कोरे, जताततै । उसले पनि छाडा विक्रमलाई प्रतिरोध गरिन । उसको आँट बढ्दै थियो । रश्मिले एक्कासि न्वारनदेखिको बल लगाएर आफूलाई खिची ।

“नो, नो ...,” उसले पाँचचोटि नो भनी ।

विक्रम पाँच गोली लागेको आतंककारीजस्तो देखियो ।

० ० ०

विक्रमकी आमा छोराछोरीको पढाइमा सुशान्तिले सहयोग गरोस् भन्ने चाहन्थी । तर, विक्रमचाहिँ यताउता छड्किन्थ्यो । सुशान्तिले कहिलेकाहीँ डीभीडी फिल्म ल्याउँथी । त्यतिखेर भने ऊ टुप्लुक्क हेर्न पुग्थ्यो तर त्यहाँ पनि कुरा मिल्दैनथ्यो । विक्रमलाई सलमान खानको फिल्म मनपथ्र्यो । सुशान्ति जहिल्यै बोक्थी, शाहरुख खान । “यस्तो जाबो फिल्म,” विक्रम भन्थ्यो, तैपनि हेर्ने बेला छुटाउँदैनथ्यो ।

“त्यस्तो टोफल प्रिपरेसन गरिटोपल्नेले इंगलिस फिल्म हेर्नू नि बरु,” खिसी गरेको स्वरमा एकदिन विक्रमले भन्यो ।

“ए बाबु !” उसकी आमाले चेतावनी स्वरमा भनी, “सानिमासँग जाती भएर बोल् ।”

उसले एकछिन घुरेर मात्र हेर्‍यो र भन्यो, “कति झ्याउँकिरीजस्तो कराइ’रा !”

त्यो पारा देख्दा उसकी आमा आगो भई तर बीचैमा सुशान्तिले विक्रमको काँधमा धाप मारेर ‘भर्खरका केटाहरू यस्तै हुन्’ भनेर थामथुम पारिदिई । स्वरजस्तै ज्यानले पनि मसिनी थिई सुशान्ति । लोग्ने अमेरिका भएकोले चिन्ताले सुकेकी भन्थे कोही । उसले जिन्दगीमा कहिल्यै ४० किलोको भार नाघेकी होइन । गोरी छु भनेर मख्ख पर्थी तर पहेंलिएकी थिई । र्‍याकमा राखिएको दशकौं पुराना किताबका पानाजस्तो । पैसाको त उसलाई चिन्ता थिएन, उतैबाट आउँथ्यो । चिन्ता थियो सासूको, जो ऊसँग गनगन गर्थी र भन्थी, “सुकुटी । एउटा बच्चा जन्माएको भए अहिलेसम्म मै हुर्काइदिन्थें ।” 

“लोग्ने अमेरिका, बच्चा कसरी जन्माउनु ?” ऊ सासूको ढाडपछाडि भन्थी ।

अर्को हप्ता, सोमबारको दिन थियो । सुशान्तिले विक्रमलाई भनी, “तिम्लाई मनपर्ने फिल्म छ, इंगलिसमा ।”

विक्रमले कोल्टे आँखाले सुशान्तिलाई हे¥यो, दुइटा ललिपप मागेको बच्चाले एउटा पाउँदाको भावझैं ।

“दुइटा छ,” उसले के बुझी फेरि भनी, दन्तमञ्जनको प्रचार गरे जसरी, “एउटा कमेडी, अर्को... ।”

त्यतिखेरै उसलाई हाच्छ्युँ आयो । उसले देब्रेपट्टि कोल्टेर हाच्छ्युँ गरी । उसको टिसर्ट सर्किंदा नाइटो देखियो । त्यो झोंक्कामा सुशान्तिको कपालबाट कागतीको जस्तो स्याम्पूको बास्ना ह्वास्स आयो । त्यो दिन टाउको दुखेर विक्रम स्कुल गएन । तर, फिल्म छुटाएन । सोमबारे व्रत लिएकी आमा सधैंझैं सत्संगमा गएकी थिई ।

त्यसपछि सोमबार–सोमबार विक्रमलाई टाउको दुख्ने बिरामी लाग्यो ।

० ० ०

१२ कक्षामा विक्रम र रश्मिले भँगालाको पानी पिएर अँगालोमा लुकीछिपी माया हुर्काइरहे । विक्रमले फेरि डाँडाकालिका दर्शन गर्न जाने प्रस्ताव रश्मिसँग राख्यो ।

“हुन्न,” उसले सिधै भनी ।

“सोल्टिनी, किस खान नपाएर सिक भा’छु,” उसले खुसुक्क भन्यो ।

“तिमीलाई त्यतिले पुग्दैन, सोल्टी,” उसले तुरुन्तै भनी ।

“म खोल ल्याउँछु,” सोल्टी ठिटोले भन्यो । चालू प्रेमीझैं ।

“फुट्यो भने ?” उसले भनी, “मेरो भाग्यै फुट्छ ।”

उसको दिमागमा एउटा ठूलो भयले बास गरेको थियो– कुनै कारणले पढाइ नअड्कियोस् । विक्रमले चुम्मामात्र गर्दा पनि ऊ बच्चा पाएर पढाइ छुटेको चिन्तित कल्पनामा विचरण गरिसकेकी हुन्थी । 

त्यसपछि विक्रमले चुरोट फेरि तान्न थाल्यो । रश्मिसँग भेट हुनेवाला छ भने मुखभरि चुइँगम चपाउँदै जान्थ्यो ।

रश्मि अब्बल दर्जाका विद्यार्थीमध्येमा गनिन्थी र त्यो दर्जाबाट नखस्कियोस् भनेर अत्यधिक सचेत थिई । त्यसैले ऊ म्याथ र साइन्सको ट्युसन पढ्थी । नजानेको, नबुझेको वा शंका लागेको कुरा सम्बन्धित शिक्षकसँग सोधिहाल्थी । त्यही साल पढाइ खतम गरेर आएको नयाँ विज्ञान शिक्षक सहयोगको मामिलामा असाध्यै सजिलो र जाती थियो ।

उसो त रश्मिले सँगसँगै ट्युसन पढ्न जान नसुझाएकी होइन तर जानिसकेको कुरा दोहोर्‍याएर पढ्ने उत्कट जाँगर विक्रममा थिएन । त्यसमाथि साइन्स टिचरले जुन हाउभाउले रश्मिसँग जग हालेर कुरा गथ्र्यो, त्यो उसलाई पटक्कै मन पर्दैनथ्यो । अरू सरहरूभन्दा यो सर अलिक बढी नै उदारवादी प्रतीत हुन्थ्यो । चित्त नबुझेको मान्छेसँग प्रतिक्रिया व्यक्त गर्ने विक्रमको आफ्नै स्टाइल थियो । उसले पार्किङमा राखेको त्यो शिक्षकको मोटरसाइकलको हावा फुस्काइदिएको थियो । त्यो पनि एक पटक होइन, दुई पटक ।

अरू सरहरू हेरेर विज्ञान सर तन्नेरी थियो । काटीकुटी प्लस टुका विद्यार्थी जत्रै र जस्तै । सिर्फ मास्टरी पारामा अल्लि बढी खोक्थ्यो, अल्लि राम्रा लुगा लगाउँथ्यो र बियरे भुँडी पुट्ट उठेको थियो ।

“यस्तो फाँडी गफ दिने सर त अहिलेसम्म देख्या थिएन हौ,” नयाँ शिक्षकबारे विक्रमले रश्मिसँग उही टिप्पणी गरेको थियो, त्यो पनि तीन–तीनपल्ट !

विक्रमलाई नेपाली पढाउने शिक्षिका पनि मन पर्दैनथ्यो । साहित्यको व्याख्या गरेझैं गरेर त्यो गुरुआमाले गिल्ला बढी गर्थी । आफैंलाई ताकीताकी भनेझैं लाग्थ्यो उसलाई । त्यही रन्कोमा ऊ नेपाली कक्षा छोडेर अतिरिक्त क्रियाकलापतिर लाग्थ्यो । 

० ० ०

तीन महिना बसेपछि सुशान्तिले घर साँघुरो भयो भनी गुनासो गरी । गुनासोभन्दा पनि सूचित गरी । उसले अन्तै ठाउँ लिइसकेकी थिई । वास्तवमा ऊ त्यहाँ आफ्नै जोडबलले आएर बसेकी थिई ।

“एक्ली केटी मान्छे, आफन्त हुँदाहुँदै अन्त किन बस्नु ?” त्यतिखेर उसले तर्क गरेकी थिई । तर, अब ऊ पराई ठाउँमा सर्ने भई । 

“तिमी हुँदा होमवर्कमा सहयोग गथ्र्यौ, अब म अनपढले के गरूँ ?” विक्रमकी आमाले गुनासो गरी ।

“समस्या मान्यो भने पठाइदिनु होला,” सुशान्तिले भनी, “के सुधार्नुपर्छ, उसको खाँचो मलाई थाहा छ ।”

“कुरा सुनिस् ?” विक्रमतर्फ फर्कंदै आमाले भनी र सामान ओसारपसारमा सहयोग गर्न छोरालाई अह्राई ।

“ओके,” विक्रमले भन्यो ।

“त्यसरी होइन,” आमाले कड्केर भनी, “हस् आन्टी भन् ।”

त्यसपछि विक्रम सुशान्तिकोमा गयो । धेरै पटक गयो । कहिले ऊ हातभरि किताबकापी बोकेर पुग्थ्यो, कहिले रित्तो हात सुटुक्क पुग्थ्यो । १२ कक्षाको रिजल्ट निस्केको दिन साँझ छिप्पिसकेपछि ऊ त्यहाँ मात्तिएर पुग्यो र ढोकामा लात्तीले हान्यो । उसले अलिकति खाना, अल्लि बढी जाँड र केही सर्को गाँजा लगाएको थियो ।

सुशान्तिले ढोका खोली ।

“हैट ! लास्टै झुर भो”, उसले उँभीउँभी भन्यो, “पास भइएछ, गान्धी डिभिजनमा ।”

सुशान्तिले सान्त्वनाले सम्हाल्दै उसलाई कुर्सीमा बसाई र टिसर्टको माथिल्लो टाँक खोल्न सहयोग गरिदिई । जुत्ता पनि खोलिदिई ।

“बिचरा विकु !” उसले भनी, “तिम्रो रिजल्ट योभन्दा राम्रो हुनुपथ्र्यो ।”

उसले विक्रमको बाहुलामा मुसारी, ढाडमा थम्थम्याई र घिंच्रोमा औंलाका टुप्पाले सुम्सुम्याई । उसको मात झार्न अलिकति सहयोग गरिदिई । तर, उसको उन्माद त्यति सजिलै कहाँ भाग्नेवाला थियो र !

विक्रमले सुशान्तिलाई ‘बाहिर जान’ फर्मायो तर सुशान्तिले मानिन । उसले जिद्दी गर्‍यो र उसले मध्यमार्गका रूपमा घरको छतमा जान सुझाई । भदौको सफा मौसम र त्यो जुनेली रातमा छतबाट बजार र अल्लि परको नदी अझै छर्लङ्ग देखिन्थ्यो । वर्षा रोकिएको भए पनि नदीको भेल घटिसकेको थिएन ।

वरपरका घरका छतमा फाट्टफुट्ट मान्छेहरू देखिन्थे । दक्षिणपट्टिको छतमा एउटा केटी देख्दा विक्रमको बोली ट्याप्पै बस्यो र थचक्क बस्यो, लुक्ने हेतुले ।

छतको त्यो केटीले आफूलाई नचिनोस् भनेर ऊ पिलरको छेउमा उभियो र लुकी लुकी हेर्‍यो । हो, त्यो अरू कोही होइन, रश्मि थापा थिई । 

सुशान्तिले सबै कुरा सामान्य रूपमा लिई, पहिल्यै थाहा पाएझैं । विक्रम पिलरको छेउमा उभिएर घरिघरि उतैतर्फ हेरिरहेको थियो ।

अधैर्य बनेर हेर्दाहेर्दै उसको बचेखुचेको मात उत्रिसकेको थियो । उसले एकजना मान्छे आउँदै गरेको देख्यो । त्यो मान्छे रश्मिनजिक पुग्दा उसले त्यो दृश्य हेरिरहन सकेन ।

“साला ! चुतिया !” उसले आफ्नो खिन्नतालाई भगाउने प्रयत्नमा फुत्त कुरूप शब्द भन्यो । त्यो मान्छे उसको विज्ञान शिक्षक थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३१, २०७४  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC