site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
वर्गशत्रू
Sarbottam CementSarbottam Cement

“ए ! छिटो माला ले माला,” घरभित्र पस्न नपाउँदै उसले ढोकैबाट स्वास्नीलाई आदेश दियो । 

“होइन, केको माला ? बेला न कुबेला केको माला चाहियो ?” भित्र भान्सातिरबाट स्वास्नी आफ्नै सुरमा भुत्भुताई ।

“केको कुबेला ? यो शुभबेला हो । मलाई माला चाहियो, माला । अरूले माला लगाइसके । मेरो गला रित्तो भो । तुरुन्त माला किन्न पठा,” उसले स्वास्नीलाई थप आदेश दियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“अनि किन चाहियो त यति हतार हतारमा माला ?” स्वास्नीले नजिकै आएर सोधी ।

“हरे लाटी ! मैले टिकट पाएँ के टिकट । अब म पार्टीको तर्फबाट उम्मेदवार भएँ । उम्मेदवार भएपछि टोलटोलमा भोट माग्न जानु पर्‍यो । भोट माग्न जाँदा रित्तो घाँटी लिएर त जानु भएन नि । अनि चाहिएन त माला ?” उसले दंग पर्दै स्वास्नीसँग भन्यो ।

Global Ime bank

“ए ! कुरा त्यसो पो,” लोग्नेको कुरा सुनेर स्वास्नी पनि दंग परी । लोग्नेको मुखमा हेरेर मुसुक्क हाँसी र माला किन्न पठाई ।

एकैछिनमा माला आइपुग्यो । आफैंले आफ्नो गलामा माला उन्यो । ऐनामा आफूलाई हेर्‍यो र दाह्री मुसार्‍यो । यसो हेर्दा अबचाहिँ उसलाई आफू साँच्चैको उम्मेदवार जस्तो लाग्यो ।

माला लाउनासाथ ऊ हतार–हतार बाहिर निस्कन खोज्यो । स्वास्नीचाहिँले भनी, “पख्नुस्, पख्नुस्, एकछिन ।”

“अब किन पर्खने, मलाई हतार छ हतार । ढिलो भए भोट अरूले लैजालान्,” हतारकै शैलीमा भन्यो । 

“होइन, मालाले मात्र अलि सुहाएन हजुरलाई । अलिकति अबिर पनि दल्नुपर्छ गालामा,” स्वास्नीले भनी ।

स्वास्नीले अबिर निकाली र गालामा दलिदिई । उसले फेरि ऐना हेर्‍यो । मुसुक्क हाँस्दा अबिरको बीचमा सेता दाँत देखिए । अलिकति अबिर पनि दलिसकेपछि उसले आफूलाई विजयी भैसकेको कल्पना ग¥यो । अहा ! विजयको त्यो क्षण । ऊ दंग पर्‍यो ।

ऊ फेरि निस्कन खोज्दै थियो, स्वास्नीले एक्लै होइन, दलबलसहित निस्कने सल्लाह दिई । स्वास्नीचाहिँले छिमेकी, नातागोता, शुभचिन्तक सबलाई लोग्नेले टिकट पाएको समाचार प्रसारण गरी । अरू गाउँले पनि माला लिएर उसको घरमा आइपुगे । आउनेको लाममा पार्टीका कार्यकर्ता पनि थपिए । कार्यकर्ताहरू ‘नेताजी जिन्दावाद’ भन्दै नारा लगाउन थाले । 

माला लगाइदिनेको तँछाडमछाड चल्यो । फोटो खिच्ने पत्रकारहरू पनि धुइरिए । उसको घाँटीलाई माला धान्न धौधौ पर्‍यो । तर पनि उसले ती माला घाँटीमा लगाइरह्यो । आफ्नो प्रिय माला भुइँमा राख्नुलाई उसले मालाको अपमान हुने ठान्यो । अबिर र मालाले पुरिएको अनुहारबाट ङिच्च दाँत देखाउँदै ऊ नमस्कार मुद्रामा प्रस्तुत भैरहेको थियो ।

अबिर र मालाको कम्बिनेसनले ऊ अर्कै संसारबाट यो धर्तीमा झरेको प्राणीझैं देखिएको थियो । तर, उसलाई यो देशको सबैभन्दा ठूलो मान्छे भएको गर्व अनुभूत भैरहेको थियो । मानवबाट महामानव भएको अनुभूति गर्दै थियो ऊ ।

अघिपछि लाबालस्करसहित ऊ चुनाव प्रचारप्रसार गर्न गाउँगाउँमा, टोलटोलमा, घरघरमा पुग्यो । गाउँगाउँमा उसले थप माला र अबिर पायो, ताली पायो । त्यति मात्र होइन, भोटको अश्वासन पनि पायो । हिजो उसको पार्टीलाई जो मिडियामा गाली गर्थे, उनीहरूबाट पनि प्रशंसा नै प्रशंसा पायो । तर, गाली पटक्कै पाएन । कसैबाट पाएन । कतैबाट सुनेन । जताततै ताली, बधाई र नमस्कारको ओइरोमात्र पायो ।

टोलटोल घुम्दा ऊसँगै उसको घाँटी पनि घुम्यो । घाँटीसँगै माला पनि घुम्यो । लाग्यो, मालाले पनि उसका लागि भोट मागिदिइरहेको छ । सबैले मालाधारी उसलाई भोट दिन्छन् । उसले मालालाई भित्रैदेखि धन्यवाद दियो । मनमनै सोच्यो, “घाँटीमा माला नभएको भए उसको चुनावी प्रचारमा यति धेरै माहोल कहाँ बन्थ्यो र ! हे माला माहात्म्य ! हेर यी सुन्दर फूलहरू, जो मेरो घाँटीमा सजिएका छन् । मेरो व्यक्तित्वलाई सिँगारेका छन् । धन्य म । धन्य मेरो माला ।”

गाउँ घुम्दा विपक्षी पार्टीका मान्छे र हिजो आफूलाई गाली गर्नेले समेत ताली, माला र भोटको आश्वासन दिएको देख्दा उसलाई अचम्म पनि लाग्यो । सोच्यो, “आजकल म क्या पपुलर भएछु ।”

ऊ भित्रभित्रै दंग पर्‍यो । जित्नेमा ऊ ढुक्क भयो । उसलाई चुनाव हुने दिन पर्खिन पनि गाह्रो भैरहेको थियो । जित्ने हतारोले आजै चुनाव भैदिहाले हुन्थ्यो भनेझैँ भयो ।

भोट खसाल्ने दिन आयो । उसले त्यस दिन अझ अर्को नयाँ माला किन्यो । नयाँ माला लगाएर मतदान केन्द्रतिर घुम्न थाल्यो । मतदान केन्द्रमा मत हाल्नेहरू लामबद्ध थिए । उसलाई भोट दिने आश्वासन दिएकाहरू सबै लाइन लागेका थिए । विपक्षीलाई भोट दिन्छु भन्ने कसैलाई पनि उसले लाइनमा देखेन । अब त झन् उसलाई चुनाव जित्नेमा कुनै शंका रहेन । ऊ दंगमात्र होइन, महादंग भयो । 

चुनाव सम्पन्न भयो । मतगणना सुरु भयो । मतपेटिकाबाट धमाधम विपक्षीको नाममा छाप लगाइएका मतपत्रहरू निस्कन थाले । १, २, ३ गर्दै विपक्षीले लिड गर्दै गयो । विपक्षीको भोट आएको कुरा उसलाई विश्वास लागेन ।

“लाइनमा सबै मेरा मतदाता, ढ्वांगमा सबै अरूको मत ? यो कसरी हुन्छ ?” उसले आफैंलाई प्रश्न गर्‍यो । उत्तर पनि आफैंले दियो, “अहँ, हुनै सक्दैन ।” 

फेरि सोच्यो, “कतै म निद्रामा सपना देखिरहेको त छैन ?” निद्रामा हो कि भनेर उसले आफूले आफ्नो गालामा थप्पड हान्यो । अहँ, त्यो सपना थिएन । त्यो विपना नै थियो । 

सपना नभएर विपनामै विपक्षीको मत अगाडि भएको पक्का भएपछि ऊ रन्थनियो । भन्यो, “यहाँ पक्कै धाँधली भयो ।” उसले प्रश्न गर्‍यो, “भोट त सबले मलाई दिन्छु भन्थे टोलटोल घुम्दा । तर, कसरी विपक्षीको भोट बढी आउँछ ?” ऊ एक्कासि उत्तेजित हुँदै मतगणनास्थलमै जोडले करायो, “धाँधली ! धाँधली !! धाँधली !!!”

“छैन धाँधली भएको,” निर्वाचन अधिकृतले भन्यो । उसका कार्यकर्ताले पनि उसलाई सम्झाए । धाँधली नभएको कुरा बुझाए ।

मतगणना सकियो । परिणाम आयो । विपक्षीकोे पल्ला भारी भयो । ऊ पराजित भयो । 

परिणाम आफ्नो प्रतिकूल भएपछि उसले हतार–हतार आफ्नो घाँटीको माला खोल्यो र हातैमा माला बोकेर घरतिर कुलेलम ठोक्यो । उसका पछि अब कुनै कार्यकर्ता थिएनन् । फगत् ऊ एक्लो थियो । घर पुगेर हातमा बोकेको माला टि–टेबलमा राखेर ऊ सोफामा थचक्क बस्यो ।

“ए ! पानी ले,” स्वास्नीलाई आदेश दियो । सोफामा बसेर घाइते बाघझैं ऊ छट्पटिन थाल्यो ।

स्वास्नीले गिलासमा पानी ल्याइदिई । एकैचोटिमा एक गिलास पानी घुड्क्यायो । 

स्वास्नी पनि उसको छेउमा बसी र सहानुभूति दिन थाली, “चिन्ता नगर्नुस् । राजनीति भनेको यस्तै हो । कहिले हार कहिले जित ।”

“उता जा उता । जान्ने हुन्छे धेर । बुझ्नु न सुझ्नु । केको हुन्छ हार ! धाँधली भो धाँधली,” जनताले भोट नदिएको रिस उसले स्वास्नीमाथि पोख्यो ।

स्वास्नी उठेर अर्कै कोठातिर लागी । ऊ सोफामा बसेर सुस्केरा हाल्न थाल्यो । पराजयको चोटमा लाउने मलम उसले पाएन । 

एकैछिनमा विपक्षीले विजय जुलुस निकाल्यो । उसैको घर हुँदै विजय जुलुस अगाडि बढ्यो । उसले झ्यालको पर्दा सारेर बाहिर चिहायो । विजयी हुनेको गलाभरि माला थियो । गालाभरि अबिर नै अबिर थियो । अघिपछि ठूलो लावालस्कर थियो । लावालस्करमा पहिले उसलाई भोटको आश्वासन दिने र माला र अबिर लगाइदिनेहरू सबैभन्दा अगाडि थिए ।

बल्ल उसले राजनीतिको महिमा बुझ्यो । राजनीतिको बुझिनसक्नुको चरित्र देखेर उसले आफ्नो मन बुझाउन खोज्यो तर सकेन ।

बाहिर जित्नेको नाममा ‘जिन्दाबाद’का नारा लागिरहेका थिए । विपक्षीको गलाभरिको माला उसका लागि खपिनसक्नु भयो । त्यो विपक्षीको गला सिँगार्ने मालादेखि उसलाई रिस उठ्यो । मालासँग उसलाई भयंकर घृणा जाग्यो । टि–टेबलमा भएको मालालाई उसले घुरेर हेर्‍यो । मालामा उसले विपक्षीको अनुहारशिवाय केही देखेन । मालाले आफ्नो मात्र गला सिँगार्छ भनेको त विपक्षीको गला पनि पो सिँगार्ने रहेछ । कस्तो दहिच्यूरे माला । त्यो विपक्षीको गला सिँगार्ने माला देखेर उसको रिसको पारो झन् झन् बढ्दै गयो । मालामा उसले फूल होइन, अब काँडैकाँडा देख्न थाल्यो । उसले दाह्रा किट्यो । टि–टेबलको मालालाई उठाएर चुँडाल्यो र टुक्राटुक्रा पारेर बाहिर फाल्यो । 

माला फालेर पुनः एक पटक जुलुसतिर हेर्‍यो । विजय जुलुसमा अझ धेरै मानिसहरू जोडिँदै थिए । विपक्षीका घाँटीमा मालाहरू पनि थपिँदै थिए । उसले भने विपक्षीको घाँटी सिँगार्ने सम्पूर्ण मालालाई वर्गशत्रू घोषणा गरिसकेको थियो । 

tikaram.pokharel@gmail.com

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३१, २०७४  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC