ad

साहित्य र कला

साहित्यको पित्तृसत्ता

अक्षर काका


साहित्यलाई समाजको ऐना भनिने भएकैले यसमा सचेत पंक्ति छ भन्न सकिन्छ । साहित्यले सिर्जनाको माध्यमबाट खबरदारी गर्छ । देश र समाजलाई मार्गनिर्देश गर्छ । पछिल्ला तीन पुस्ताको जीवन सडक सङ्घर्षमै व्यतीत भयो । तीन व्यवस्थाले धूलो चाटे । यसमा साहित्यको ठूलो हात छ । यसकारण कि सर्जकहरू आन्दोलनको मध्य होइन, अग्रभागमै थिए ।

आदिकालदेखि नै अविराम परिवर्तनको पदमार्ग कोर्ने साहित्य स्वयम् कुन अवस्थाबाट गुज्रिएको होला ? राजनीतिक परिवर्तनको प्रतिछाया साहित्यमा पर्‍यो कि परेन होला ? चासो यो थियो ।

आजसम्म पनि महिला विभेदका शृंखला रोकिएका छैनन् । बलात्कार यौनजन्यहिंसा, घरेलु हिंसा पुरुषसत्ताको बाछिटाका रूपमा समाजमा घटिरहेका छन्, अद्यावधि । साहित्यमाचाहिँ पितृसत्ताको प्रभाव कस्तो छ ? खोतल्ने प्रयत्न गर्‍यौँ ।

० ० ०

मोमिला जोशी । बोल्ड आवाज । तर्कपूर्ण अभिव्यक्ति । अलग पहिचान । फरक धार । उनको नाम सुन्नेबित्तिकै यी र यस्ता थुप्रै सग्ला तस्बिरहरू मस्तिष्कमा सलबलाउन थाल्छन् । 

अस्तित्वको भोगले साहित्यको आँगन चहार्न आइपुगेकी कविता र निबन्ध विधाकी सशक्त आयाम हुन् उनी । ‘प्रतिविम्बित मानवता’ कविताबाट साहित्यमा पदार्पण गरेकी मोमिलाको आवाजमा जति तिख्खरता भेटिन्छ, त्यति नै बौद्धिक तीक्ष्णता । पुरुष–पाखण्ड र स्त्री–उद्दण्डताको प्रतिरोध उनको साहित्यिक चेत हो ।

सात दशकयता मुलुकमा ठूल्ठूला परिवर्तन भए, व्यवस्था नै फेर्ने किसिमका । राजनीतिक रूपमा त्यसका असर देखिए । तर, सामाजिक परिवर्तनको तहमा छिटासम्म पुग्न नसकेको अनुभूति मोमिलाले गरिन् । विभेदका रूप फेरिए तर सार फेरिएनन् । शिक्षाको आकार फेरियो तर सोचको प्रकार फेरिएन । समग्रमा परिवर्तनको सपनाले साकार रूप लिन सकेन । उनको मान्यता छ– समाजको धमिलो चित्र र चरित्र हेर्न मूलबाटो होइन, भित्री गल्ली छिचोल्नुपर्छ । आदिम उत्पीडनका भरमार विम्बहरू समाजका गल्ली, गल्छेँडाहरूमा मनग्गे भेटिन्छन् ।

पछिल्लो समय उनले बुझेको र बेहोरेको कुरा के हो भने साहित्यमा व्यवस्था परिवर्तनको बाछिटासम्म पुग्न सकेको छैन । र, राजनीतिमा भन्दा डरलाग्दो ‘पितृसत्ता’ छ साहित्यमा । त्यसले आहत होइन, मर्माहत बनाएको छ उनलाई ।

० ० ०

‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ निबन्धसङ्ग्रह बजारमा ल्याइन् उनले । स्थिर तलाउमा ढुंगाहानेसरह तरंगित भयो, नेपाली साहित्य क्षेत्र । बगिरहेको धारभन्दा भिन्न थियो त्यो । यात्राको सपाट वर्णन, शब्ददृश्यलाई समेत निबन्धको पगरी गुथाइदिनेको भीडमा पृथक पहिचान बोकेर आएको थियो त्यो निबन्ध ।

आत्मपरक भए पनि शैलीमा नवीन चिन्तन हुनुपर्छ भन्ने सन्देश पनि थियो त्यो निबन्धको । निबन्धले सामाजिक सत्यलाई पनि आत्मसात गरेको थियो । साहित्यवृत्तमा चर्चा बटुल्यो । महिला सर्जकहरूले मुक्तकण्ठले प्रशंसा गरे । 

पुरुष सर्जकहरूले निबन्धबारे ओठ खोल्न आवश्यक ठानेनन् ! समालोचना, समीक्षा त परको कुरा ! 

तर, केही पुरुष सर्जकले आधारातमा मदिरामा लट्ठिएर फोन गर्न थाले, “मोमिला तिम्रो लेखनको ईष्र्या लाग्छ !”

पुरुषमित्रलाई प्रशंसा गर्न पनि रात नै हुनुपर्ने, रक्सीको प्याला नै समाउनु पर्ने ? के तिनले दिउँसो त्यही भन्न सक्दैनन् ? चित खाइन् उनले । “यो पितृसत्ताको प्रतिछाया हो । हाम्रो साहित्यमा पनि पितृसत्ताको दबदबा छ !” खुइया काढ्छिन् उनी ।

‘ईश्वरको अदालत’को चर्चा–परिचर्चा जारी थियो । साथीभाइको प्रशंसाले पुलकित नै थिइनन् उनी । कुरैकुरामा एक पुरुषमित्रले पुनः उनको मन अमिल्याए । समाजमा प्रतिष्ठित व्यक्ति कहिलिएका ती मित्रले प्रसंगबेगर नै छुद्र मुख चलाएछन् र साथीसर्कलमा भनेछन्, “बाख्रीहरूले पनि यस्तो लेख्न सक्छन् ?”

कवितामा आगो ओकल्ने, निबन्धमा सिंगो समाज, मानिसका अनुभूति उतार्ने व्यक्तिका विषयमा पनि यस्तो कठोर टिप्पणी गर्नेले समाजका अन्य महिलालाई कुन दाँजोमा राख्दो होला ? उदेक लाग्यो उनलाई । 

श्यामप्रसाद शर्माले भनेझैं घरमा श्रीमतीलाई साँचो लगाएर बाहिर नारी स्वतन्त्रताको भाषण दिनेहरूको कुनै कमी देख्दिनन् उनी, हिजोदेखि आजसम्म ।

यहाँसम्म कि उनको लेखनशिल्प, कला, सौन्दर्यमा खोट लगाउन ठाउँ भेट्टाएनन् भने चरित्रमा चोट लगाउने प्रयत्न गर्छन् । निकै तीतो अनुभूति बटुलेकी छन् उनले ।

‘ए तेस्ले लेखी होली र यस्तो ? त्यसको ब्वाइफ्रेन्डले लेखिदियो होला ! लोग्नेले मिलाइदियो होला !”

स्त्रीको सिर्जनामा शंका गर्नेहरू पाइलैपिच्छे भेटिन्छन् । तर, मोमिला स्वयम्ले धेरै पुरुषहरूको सिर्जनाको शिल्प मिलाइदिएकी छन् । भाषा उजिल्याइदिएकी छन् । उनी दुःखी छिन्, पुरुष सर्जकले त्यसको कहीँ कतै चर्चासम्म गर्न उचित ठानेनन् ।

० ० ०

नेपालको नाम चलेको राष्ट्रिय दैनिकबाट फोन आयो उनलाई, अन्तर्वाताका लागि । भनियो– केही विषयमा कुरा गर्नु छ । सोधिएका सबै विषयमा जानेजत्ति जवाफ फर्काइन् उनले, फोनमै ।  अन्तर्वार्ता लिने बहिनीले प्रश्न बिट मार्दै भनिन्, “अर्को कुनै महिला साहित्यकारको पनि नाम सिफारिस गरिदिनुहोस् न ।”

मोमिलाले कवि उषा शेरचनको नाम सुझाइन् । तर, भोलिपल्ट उषा शेरचनले बोलेका कुरामात्रै छापिए । मोमिलाका कुराले ठाउँ पाएनन् । उनले चित् खाइन् । सोचिन्– अर्को हप्ता छापिएला । तर, आजसम्म पनि उनको अन्तर्वार्ता त्यो दैनिकमा प्रकाशित भएन । मनले निधो गर्‍यो– पितृसत्ताले यहाँ पनि काम गर्‍यो । अन्तर्वार्ता लिने पो महिला थिइन् । पत्रिकाको स्तम्भमा त पुरुषकै हालिमुहाली थियो । पुरुषवादी अहमताको छायाले त्यहाँ पनि छाडेन !

“शायद स्तम्भ हेर्नेले खोजेजस्तो मेरो अभिव्यक्ति थिएन कि, मेरो अभिव्यक्तिले पुरुषवादी अहममा धक्का लाग्यो कि !” उनी अहिले सम्झन्छिन् ।

० ० ०

साहित्यमा होस् कि समाजमा– महिलाले रोनाधोना गरे भने उनीहरूलाई सहानुभूतिको दृष्टिले हेरिन्छ । सहयोगको हात फैलाइन्छ, दिन तत्पर भइहाल्छन् । तर, सक्षम महिलालाई उसको प्रगतिको प्रशंसा गर्न पनि ओठ नाक खुम्च्याउँछन्, मन साँघुरो बनाउँछन् मानिसहरू । नारी–सिर्जनाले पुरुषलाई उछिनेका कैयौँ उदाहरण छन् । उनी प्रश्न गर्छिन्, “के पारिजातको लेखन सौन्दर्य, शिल्पले पुरुषलाई पछि पारेको होइन ? कैयौँ पुरुष आज पनि उनीभन्दा पछि छैनन् र ? पारिजातको लेखनले डाहा हुन्छ, मलाई ईष्र्या लाग्छ भनेर शंकर लामिछानेले भनेका होइनन् ?”

गोपालप्रसाद रिमालको नाटकका पात्रले भनेझैं नारीहरूलाई ‘दया होइन, माया चाहिन्छ’ भन्छिन् उनी । यसकारण कि दयामा सहानुभूति हुन्छ, माया र प्रेममा समर्पण हुन्छ । निष्ठा हुन्छ । विश्वास हुन्छ । सद्भाव हुन्छ । समर्पण हुन्छ । श्रद्धा हुन्छ ।

र, आजको साहित्यमा पनि यही कुराको आवश्यकता छ ।

० ० ०

समाजमा मात्र होइन, सिर्जनामा पनि नारी पात्र निरीह छन् । उदेकलाग्दो देखाइन्छ । दयाको प्रतिमूर्ति बनाइन्छ । उनीहरूको जिन्दगी देखेर करुणा जगाइन्छ । पितृसत्ताको छायामुनि पिल्सिएर जीवन व्यतीत गर्न अभिशप्त छन् ती ।

‘रूपमती’ पढेर हुर्किएका हाम्रा पुरुषहरू आज पनि महिलामा त्यही खोजिरहेका छन् । ऊभित्र दमित कुण्ठा, इच्छाहरू बाहिर निस्कियो भने बिस्फोट हुन्छ, बन्द भाँडाभित्र इच्छा गुम्स्याएर राख्यो भने त्यसले विद्रोहको रूप लिन्छ भन्ने कुरा सम्झन तप्पर छैनन् । ती पुस्ता ज्युँदै छन्, अझै ।

नयाँ पुस्तासँग परिवर्तनको अपेक्षा गर्नुपर्छ । तर, केही समकालीन सर्जकहरू त्यही पुराना छायाको ओत लागिरहेजस्तो लाग्छ । कालो छायाले छोपिएर उनीहरूले आफ्नो अनुहार उजिल्याउन नसकेको हो कि भन्ने प्रतीत हुन्छ उनलाई ।

कला–साहित्यमा महिलालाई सौन्दर्यप्रशाधक सामग्रीभन्दा माथि राखिएको छैन । चाहे विम्बचेतमा होस् या प्रतीक चित्रण– सबैमा नारी सौन्दर्यलाई मात्रै बढावा दिइन्छ । आँखा, नाक, कपाल, जिउडालको चित्रण गर्नेले उसको सीप र क्षमतालाई साहित्यमा मिश्रण गर्न आवश्यकै ठान्दैन । रूपवानहरू मात्रै साहित्यको केन्द्रीय पात्र बन्ने, कस्तो उदेकलाग्दो अवस्था !

समाजको चित्र बदलिए पनि चरित्र नबदिएको उनी कहिलेकाहीँ घोत्लिन्छिन् ।

“पुरुषमात्रै होइन, छोरी जन्मिई भनेर आमा नै बेखुसी देखिन्छिन् यहाँ । छोराले पाल्ने र छोरीले फाल्ने देख्नुभएको छ र कहीँ ? छोराले हेर्छन् भने छोरीले पनि हेर्छन् नि !” अनुहारमा विस्मयभाव छाउँछ र प्रश्न गर्छिन् उनी ।

विश्व सीमाहीन भइसक्यो । पँखेटा लाएका छोराछोरी बूढेशकालको सहारा नबनेका उदाहरण आँखा अघिल्तिर देख्दादेख्दै छोराछोरीबीच विभेदको पर्खाल खडा गरेको देख्दा उदेक लाग्छ उनलाई ।

सत्ता परिवर्तनको जति रथ दौडाए पनि पुरुषसत्ताले पल्टा खानुपर्ने जति पल्टा खान नसकेकोमा चिन्तित छिन् उनी ।

आन्दोलनमा । सिर्जनामा । प्रशासनमा । सँगै छन् महिला । अधिकार दिने बेलामा चाहिँ उनीहरूलाई पछि पारिन्छ । स्थानीय तह होस् कि केन्द्रको राजनीति– जहाँ पनि महिलाको भूमिका पुरुषको सहयोगीको रूपमा मात्रै छ । पुरुषको तुलनामा महिला व्यवस्थापकीय पाटोमा अब्बल देखिएका छन् । पुरुषभन्दा मितव्ययी पनि छन् उनीहरू । तर, शासनदेपख प्रशासनसम्म महिलाहरू ‘मानार्थ’को भूमिकामा मात्रै देख्दा पुरुषसत्ताको छाया सजिलरी हट्दो रहेनछ भन्नेमा विश्वस्त छिन् उनी ।

उनले कहावत सुनाइन्, “महिला सत्तामा नारीहरूले भात पस्किएर खुट्टाले दिन्थे भन्ने सुनिन्थ्यो । पुरुषसत्तामा महिलाप्रति हेयभाव बढ्दै जाने हो भने एकदिन पुरुषसत्ता ढल्छ । अति भएपछि त्यसले निम्त्याउने खती नै त हो ।”

त्यसो त, पुरुषहरूमा जति अहमता छ, महिलाहरूमा पनि उद्दण्डता बढेको देखेखकी छन् मोमिलाले । स्वतन्त्रताका नाममा उद्दण्डता मौलाएको हो कि भन्ने ठम्याइ छ उनको । “तथापि पुरुषको अभिमानको तुलनामा नगण्य नै हो त्यो,” उनी भन्छिन् ।

०  ० ०

‘तिमी त हिरोइन हुनुपर्ने ? यस्तो राम्री मान्छे कलाकार पो बन्नुपर्छ, कहाँ साहित्यकार बन्नतिर लागेको ?’ साहित्यसाधनाको सुरुआती दिनतिर मोमिलालाई यसो भन्ने मानिस पनि निस्किए । सुन्दर युवतीहरू कलाकारितामै लाग्नुपर्छ भन्ने निम्नकोटीको चिन्तन थियो त्यो । “मेरो सिर्जना मभन्दा सुन्दर छैन ? आकर्षक जिउडालका मानिस साहित्य साधनामा लाग्न नहुने हो  ?” यसप्रकारको सौन्दर्य चेत भएकालाई उनले निरन्तर प्रश्न गरिरहिन् । 

“आज पनि कसैले आद्योपान्त शरीर नियाल्यो भने त्यही प्रश्न गर्न आँट्यो कि भनेर मस्तिष्क चनाखो हुन्छ,” मच्चिरै हाँसिन् उनी !

० ० ०

पुरुषसत्ताका अनेक छायाप्रतिछाया झेलिन् । अनगिन्ती प्रवृत्ति, प्रताडनासँग सिँगौरी पनि खेलिन् । एउटा प्रशंग उप्काइन् उनले–

स्नात्तकोत्तर पढ्दाको कुरा हो । प्रयोगात्मक परीक्षामा सुरुमा उनलाई प्राप्तांक १९ दिइएको थियो । नम्बर दिने शिक्षकले नै सुनाएका हुन् उनलाई । बच्चाकी आमा भएकीले धेरैले आश्चर्य व्यक्त गरे । एकजना शिक्षकले त विश्वासै गरेनन्– कसरी ल्याइस् यत्रो नम्बर ? मार्कसिटमा घटाएर १४ मात्रै हालिएछ । निराश भइन् उनी । काखमा बच्चा लिएर परीक्षामा सहभागी भएकी थिइन् उनी ।

“महिलाले पढ्न सक्दैनन् । राम्रो अंक हासिल गर्न सक्दैनन् भन्ने चेतको उदाहरणमात्रै हो यो,” उनले कुराकानीका क्रममा स्मरण गरिन् ।

यस्तो व्यवहारको भुक्तभोगी त उनी सानैदेखि हुन् । ०२४ सालमा धनकुटामा जन्मिएकी मोमिलाले प्रवेशिका ०३९ सालमा उत्तीर्ण गरेकी हुन् । १२ जनाले परीक्षा दिएका थिए उतिबेला । नयाँ शिक्षा लागू भएयता उनी पढ्ने विद्यालयमा कोही पनि प्रथम श्रेणीमा पास भएका थिएनन् । उनी नै प्रथम श्रेणीमा पास भइन् । तर, कलेज पढ्दा केही पुरुष भन्थे– महिला त नपढी पनि पास भइहाल्छन नि !

के भनेर सम्झाउनू तिनलाई ? अवाक हुन्थिन् मोमिला ।

० ० ०

‘पैयुँ फुल्न थालेपछि’ (२०५२), ‘जुनकीरीहरू ओर्लिरहेछन्’ (२०५५), ‘दुर्गम उचाइमा फूलको आँधी’ (२०५०) कवितासंग्रह, ‘नीलो–नीलो आकाश र दुई थोपा आँसु’ (२०५३) तथा ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ (२०६३) निबन्धसंग्रह प्रकाशन गरेकी मोमिलाले ‘सगरमाथाको नृत्यमग्न आत्मा’ (प्रतिनिधि–आधुनिक नेपाली कविता)को सम्पादनसमेत गरेकी छन् । उनी अहिले नयाँ कृतिको तयारीमा छिन् ।


मोमिलाका दुई प्रतिनिधि कविता

भीमसेन थापाको सुसाइड नोट

सम्बोधनमा नपरेका बाँकी सारा सम्बोधनहरू !
उहिल्यै इतिहासमा
बेमौसमी हुरीबतास र बर्सात्को एक दिन
आफ्नै देशभित्र निर्वासित सुदूर गाउँमा कतै
भित्तामा ससम्मान झुन्ड्याइएको
वर्षौँ पुरानो देशभक्त अमर सिंहको तस्बिरबाट
अचानक आँखा झरेछन्
हुन सक्छ—
ठीक त्यही बेलादेखि यो देशका मार्गदर्शकहरूले    
दृष्टि गुमाएको हुनुपर्दछ

फेरि एकाएक तस्बिरबाट कान झरेछन्
ठीक त्यही बेलादेखि यस देशका शासकहरू
बहिरो भएको हुनुपर्दछ

बिस्तारै छोपिएका नाकमुख पनि झरेछन् 
ठीक त्यही बेलादेखि लासहरूको दुर्गन्धित पहाडमाथि उभिएर 
देशको बिरानीमा यहाँ बेसुरा राष्ट्रियता गाइएको हुनुपर्दछ

तस्बिरबाट क्रमशः 
    हात झरेछन्
    खुट्टा झरेछन्
ठीक त्यही बेलादेखि स्वाभिमानी हातहरू
आत्महत्या गर्न विवश हुनुपर्दछ    
ठीक त्यही बेलादेखि हिँड्न सुरु गर्नुअघि नै 
यो देशको गन्तव्य नै हराएको हुनुपर्दछ

र अन्तमा मात्र अस्थिपञ्जर केवल अस्थिपञ्जर बाँकी राखेर
अमर सिंहको त्यो तस्बिरबाट मस्तिष्क र मुटु पनि झरेछन्
सायद त्यही बेलादेखि यस देशका शासकहरू
अबिरमालाले पुरिएका चेतना र हृदयशून्य 
वmेवल ठिङ्ग उभिएका सालिकजस्ता बनेको हुनुपर्दछ

यस्तो अजङ्गको अभिशप्तता अन्त्य गर्न 
यहाँ भीमसेन थापाहरूले सालिक होइन
बरु मुर्दा नै बन्नुपर्ने रहेछ ! 
— तपाईँहरूकै सेवक
भीमसेन थापा

०००

“भरखरै सुन्दै हुनुहुन्थ्यो
भीमसेन थापाको सुसाइड नोट । 
अब परिशिष्टमा :
(आजको शीर्ष खबर—
 देशभक्त भीमसेन थापाको आत्महत्याले देश स्तब्ध छ
 थापाको आत्महत्यापश्चात् उनको बन्द मुठी खोलेर हेर्दा
 उनको हत्केलामा कोरिएको किरिङमिरिङ भाग्यरेखा,
 अनि यो देशको नक्शा र 
 त्यो झुन्डिएको तस्बिरमा बाँकी रहेको
 अमर सिंह थापाको त्यो वास्तु नमिलेको अस्थिपञ्जर
 दुरुस्त उस्तै रहेको बताइएको छ)”

मात्र एउटा हाँगा काटे नि 

प्रिय पुरुष !

तिमीले—
तिमीलाई नै प्रेम गर्ने
नारीवृक्षको मात्र एउटा हाँगा काटे नि
एउटा हाँगा मात्र होइन
सयौँ पूmलहरू निष्प्राण हुने छन् 
हजारौँ पातहरूका सहारा टुट्ने छन् 
लाखौँ करोडौँ वीजहरू अवशानमा पुग्ने छन् 
एउटा हाँगा काट्दा
तिमीले सोचेभन्दा नि के–के हुने छन् ! के–के हुने छन् !!

एउटा हाँगा काट्दा—
निष्प्राण पूmलसँगै ओठका रङ्गहरू उड्ने छन्
रङ्गसँगै सपनाहरू बेरङ्ग हुने छन्
पूmलसँगै जीवनका सुगन्धहरू बिलाउने छन् 
सुगन्धसँगै उमङ्गहरू रित्तिने छन्
एउटा हाँगा काट्दा
तिमीले सोचेभन्दा नि के–के हुने छन्, हुने छन् !!

एउटा हाँगा काट्दा—
बेसहारा पातहरूसँगै हरिया विश्वासहरू झर्ने छन्
विश्वाससँगै सम्बन्धहरूले आत्महत्या गर्ने छन्
सम्बन्धसँगै हिमालको श्वेत गहन शान्ति,
पहाडको रोमाञ्चक हरियो उकाली ओराली र 
तराईको पहेँलपुर प्रेम
सारा सारा गुनासाबिना नै तिम्रो अहम्को पर्खाल नाघेर
पर्खालबाहिर बसाइँ सर्ने छन्
र तिम्रा लागि डस्टबिनमा
पुरुषत्वका धिक्कार प्रश्नहरू छाडिएका हुने छन्
एउटा हाँगा काट्दा
तिमीले सोचेभन्दा नि के–के हुने छन्, हुने छन् !!

एउटा हाँगा काट्दा
करोडौँ वीजहरूको अवशानसँगै 
ढुङ्गाका काप–कापबाट लस्कर–लस्कर निस्केर 
सृष्टिको अराजक जुलुसले तिमीलाई घेर्ने छन्
चौतर्फी कालो कालो भएर आकाश 
तिम्रो स्वघोषित शक्तिशाली बस्तीमा खस्ने छन्
दृश्यमा तिम्रो सर्वोपरिता 
तिम्रै आँखाका डिलबाट भेलका भेल बग्ने छन्
अन्ततः तिम्रो बाढीग्रस्त अहम् 
आप्mनै जलमग्न संवेदनाबाट परास्त हुने छन् 
र नारीका पाउमा छाँद हालेर 
अन्तिम पटक प्रेमको भीख माग्दै क्वाँ क्वाँ रुने छन्
एउटा हाँगा काट्दा
तिमीले सोचेभन्दा नि के–के हुने छन्, हुने छन् !!

बुझ्यौ प्रिय !
झन् हाँगामै बसेर हाँगा काट्दा
हाँगासँगै तिमी पनि 
जीवनबाट जरुर बिमुख हुने छौ
बेरङ्ग...बेढङ्ग आफ्नै गुँडको
शिथिल...शिथिल निस्तो आँखाको बार्दलीबाट खसेर आँगनमा
नउड्दै पखेटा भाँचिन अभिषप्त 
सृष्टिको प्रलय नै सोचिरहेको त्रसित कलिलो बचेरा झैँ
सुगन्धहीन...तरङ्गहीन, विरूप...विरूप बन्ने छौ
र चुपचाप...चुपचाप खरानीको थुप्रोबाट उडेर 
कसैको आँखामा अट्न नसकेको धुलाम्य सपना तिमी 
ब्रह्माण्डको शून्यमा भौँतारिने छौ
जहाँ तिम्रा लागि प्रेमको कुनै अडेसा हुने छैन !    
आखिर, चुराको आवाजहीन तिम्रो बस्तीमा
पाउजेबको झङ्कारहीन तिम्रो बस्तीमा
केवल तिम्रै क्रूर निशानाहरू बाँकी रहने छन्
हाँगामै बसेर हाँगा काट्दा त झन्
तिमीले सोचेभन्दा नि अझ के–के हुने छन्, के–के हुने छन् !!

प्रिय !
यसरी तिमीले—
तिमीलाई नै प्रेम गर्ने
नारीवृक्षको मात्र एउटा हाँगा काटे नि
एउटा हाँगा मात्र होइन
सयौँ पूmलहरू निष्प्राण हुने छन् 
हजारौँ पातहरूका सहारा टुट्ने छन् 
लाखौँ करोडौँ वीजहरू अवशानमा पुग्ने छन्
हाँगामै बसेर हाँगा काट्दा त झन्
नारी उच्छ्वासको हावा तिम्रो उच्छ्वाससँगै एकमुष्ट आँधी बनेर
तिम्रै कथित सर्वोपरि बस्तीमा अनाधिकृत प्रवेश गर्ने छन्
अनि ताण्डब मच्चाएर आँधी फर्केपछिको अस्तव्यस्त अवशेषमा
तिमीलाई नयाँ प्रेमिल बस्तीको कल्पनामा छाडेर जाने छन् 
तिमीलाई केवल कल्पनैमा छाडेर जाने छन्
.........................................
र मात्र सपनामा—
निद्रा हराम गर्ने सारा अहङ्कार सिरानीले थिचेर
निदाइरहेको तिम्रो अबोध अनुहार हेरी हेरी
एउटा अलौकिक पुतलीले तिम्रो निधार चुम्ने छन् 
र त्यो पुतलीमा
तिमीलाई नै प्रेम गर्ने 
उही नारीको आत्मा समाहित भएको हुने छन्
तर, सम्झ !
मात्र एउटा हाँगा काटे नि
तिमीले सोचेभन्दा अझ के–के हुने छन् ! के–के हुने छन् !!
 

तपाईंको मत