साहित्य र कला

किरणझैं चम्किला

नरेश फुयाँल


जिन्दगीमा सधैं सबैले गन्तव्य तोक्दैनन् । समयले नै बाटो देखाइदिन्छ, बस् हिँडिदिए पुग्छ । सपनाहरू पनि क्षितिजझैं हुन्, कहिल्यै नभेटिने ! त्यसैले पनि हुन सक्छ, किरण (नेपाल)ले किशोरावस्थामा फूलबुट्टे रंगीचंगी सपनाको भारी बोकेनन् । जिन्दगीको बाटोमा जे आयो, त्यसमै आफूलाई समर्पित गराए । रमे, रमाए र रमिरहेका छन्, सूर्यको किरणझैं उज्यालो भएर । 

हातमा बोरा र बस्ता (किताब राख्ने टिनको ब्याग) बोकेर तीन वर्षका किरण पाहाडा (गुणन) पढ्न ०३२ सालमा कलैयास्थित राजदेवी मन्दिरको आँगनमा पुग्थे । मधेसी मूलका एक जना शिक्षकले गुणन घोकाउँथे । किरणसँगै जुटको बाक्लो बोरामा बसेर थुप्रै्र केटाकेटीहरू अँगालो मारेर झुलीझुली कखरा कण्ठस्थ पार्थे । 

किरणका बुवा बैंकर थिए । बर्सेनि जस्तो जागिर सरुवा हुन्थ्यो । किरण पनि बाबुसँगै हिँड्थे । उनले १० कक्षा पढ्दासम्म ५ वटा विद्यालय परिवर्तन गरे । रौतहटको गौरमा जन्मिएका नेपाल परिवारका किरण रौतहटमा भने कहिल्यै पनि बस्न पाएनन् । तराईकै जिल्लामा बसे पनि आफ्नै जन्मथलोका लागि भने उनी पर्यटकजस्तै हुन् !

०४३ मा एसएलसी परीक्षा दिएका किरणको रिजल्ट ०४४ सालमा आयो । त्यसपछि उनका गोडा सोझिए राजधानी काठमाडौंतिर । काठमाडौं छिर्दा भनिन्छ, हरेक व्यक्तिमा एउटा सपना हुन्छ । सपना सबैले फरक–फरक देख्लान् तर उद्देश्य एउटै हुन्छ, नाम–दाम कमाउने र ठूलो मान्छे हुने । तर, किरण भने बिनासपना नै काठमाडौ छिरे ।

रहर भने पनि बाध्यता भने पनि पढ्नु थियो । बाँकी यो र यस्तै बन्छु भन्ने अन्तरमनमा कुनै सपना थिएन । 

शून्यसपनाको खाली दिमाग बोकेर काठमाडौं छिरेपछि किरणलाई टुँडिखेलमा सेनाले परेड खेलेको देख्दा भने सेना बन्ने चस्का पसेछ । सेनामा जागिर खाने रहर लाग्यो र बुझ्न गए । एसएलसी पास गरेको व्यक्ति सेकेन्ड लेफ्टिनेन्टमा भिड्न नपाउने थाहा पाएपछि अचानक पलाएको रहर अनायासै हराएर गयो । कम्ब्याट लगाएर हातमा राइफल बोकी हिँड्ने रहरले गाँजे पनि उनी त्यतैतिर हाम्फाल्न भने सकेनन् । 

त्यसपछि उनी पिपुल्स क्याम्पसमा भर्ना भए । कमर्स पढ्न थाले । नेपाल कमर्स क्याम्पसमा पढाइ सिफ्ट गरेर त्यहीँबाट स्नातक गरे । समय ०४६ को जनआन्दोलनको थियो । उनी आन्दोलनमा सरिक पनि भए । तर, राजनीतिक दलको कार्यकर्ताका रूपमा भने होइन, नागरिकका रूपमा । राजनीतिक चेतना भए पनि उनी विद्यार्थी राजनीतिमा कहिल्यै तानिएनन् । बिहानको सिफ्टमा पढ्थे । दिउँसोजस्तो बिहानी कलेजमा राजनीतिक कार्यक्रम हुँदैनथे । बिहान पढाइ सकेर किरण दिउँसो काम गर्थे । 

उनको परिवार राजनीतिक पृष्ठभूमिको थियो । उनका बुवा बैंकर हुनुअघि वाम विचारधारा अँगाल्थे । पार्टीको सानोतिनो कामसमेत गर्थे । गौरको नेपाल परिवारमा उनका बुवा कम्युनिस्ट विचार बोकेर राजनीति गर्ने पहिलो व्यक्ति हुन् रे ! तर परिवारको दबाब र आवश्यकताका कारण उनले राजनीति छोडे र बैंकमा जागिर खान थाले । किरणको घरमा त्यो बेलाका थुप्रै नेपाली तथा हिन्दी पत्रिका आउँथे । ‘गोरखापत्र’, ‘विमर्श’, ‘मायाँ’, ‘दिलमान’, ‘इन्डिया टुडे’ लगायतका पत्रिकाहरू घरमै आइपुग्थे । घरमा राजनीतिक गफगाफ हुन्थे । यसको अर्थ उनी राजनीतिक रूपमा प्रशिक्षित थिए तर पनि उनलाई विद्यार्थी राजनीतिले भने कहिल्यै तानेन । 

मरिचमान सरकारका पालामा भारतले लगाएको नाकाबन्दी र त्यही नाकाबन्दीले आन्दोलन चर्कन तयार गरिदिएको ‘ग्राउन्ड रियालिटी’ पनि उनलाई मजैले थाहा थियो । तर, पनि किरण भने राजनीतिमा मिसिएनन्, स्वतन्त्र नागरिकका रूपमा मात्रै आन्दोलनमा सरिक भए । दलीय झन्डाको ओत भने लागेनन् । 

किरण मामाको घरमा बसेर पढ्थे । घरबाट पैसा आउँथ्यो । तर, सधैं घरबाट पैसा ल्याउनेभन्दा पनि आफैं काम गर्नुपर्छ भन्ने लाग्थ्यो र उनी आईकम पढ्दैदेखि मार्केटिङ रिसर्चको काम गर्थे । अहिले पब्लिक ओपिनियन रिसर्च भएजस्तो मार्केटिङ रिसर्चको काम हुन्थ्यो । उनी त्यस्तै काम गर्थे । 

कान्तिपुर  प्रवेश

स्नातक पढिरहँदा किरणले मिराज एड्भरटाइजिङमा काम सुरु गरे । त्यही मिराज एड्भरटाइजिङले कालान्तरमा गएर ‘कान्तिपुर’ दैनिकको मुख्य विज्ञापन र वितरक एजेन्सीका रूपमा काम गर्न थाल्यो । ‘कान्तिपुर’ले उनलाई मार्केटिङमा बोलायो । ‘कान्तिपुर’ ०४९ फागुन ७ देखि प्रकाशन सुरु भएको थियो । उनी पुसमा ‘कान्तिपुर’ प्रवेश गरे । ‘कान्तिपुर’को सुरुआती चरण थियो, सबै काम गर्नुपथ्र्यो । विज्ञापन लिन जाने, पत्रिका वितरणदेखि पैसा उठाउनेसम्मको काम गर्नुपथ्र्यो । ‘कान्तिपुर’ जमेपछि उनी रेभिन्यु विभाग गए ।

०५२ सम्म उनले ‘कान्तिपुर’मा काम गरे । “त्यहाँका पत्रकारको काम र जीवनशैली देखेर मलाई खुब रमाइलो लाग्थ्यो । समाचारमा काम गर्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर, मैले कहिल्यै पनि न्युजमा काम गर्छु भनेर भनिनँ,” किरणले सुनाए ।

एफएमको यात्रा

‘कान्तिपुर’ छाडेपछि किरण पुगे नेपालको पहिलो एफएम ‘काठमाडौं एफएम’मा । एफएमको चार्म थियो, भर्खर एफएम जेनेरेसन सुरु भएको थियो । रेडियोमा बोल्ने मान्छे सेलिब्रिटीजस्तै हुन्थे । उनलाई एफएमप्रति स्रोताको मोह देखेर लोभ लागिरहेको थियो । रेडियोमा बोल्न स्वर परीक्षा पास गर्नुपथ्र्यो । स्वर परीक्षा दिए, पास भए । क्लासिक एफएमले रेडियोसँग समय लिएर १०० मेगाहर्जमा प्रसारण आरम्भ गरेको थियो । क्लासिक एड्भरटाइजिङका राकेश लामिछानले आफूसँग काम गर्न भने । त्यसपछि किरणले क्लासिकमै काम गर्न थाले । सुरुमा स्पोर्टस न्युज पढ्थे उनी । खेलकुद समाचारबाट रेडियो तरङ्गमा उदाएका किरणको क्षमता देखेर विविध कार्यक्रम चलाउन दिइयो । किरणले त्यहाँ बाल कार्यक्रमदेखि सांगीतिक र किशोरकिशोरीहरूको प्रजनन् स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि चलाए ।

उनलाई चिनायो ‘हाम्रो चासो’ले । समसामयिक विषयमा सम्बन्धित क्षेत्रका व्यक्तिलाई बोलाएर चलाइने यो कार्यक्रमले उनलाई निकै माइलेज दियो । त्यही कार्यक्रमले उनको ‘करिअर बुस्ट’ गरिदियो । क्लासिक एफएममा काम गर्दा उनी एभरेस्ट हेराल्ड दैनिकको मार्केटिङ म्यानेजर भएर पनि काम गरिरहेका थिए । 

अढाई वर्षको सहकार्यपछि क्लासिक एफएमलाई पनि किरणले बिदाइ गरे । उनले सुरु गरेको ‘हाम्रो चासो’ कार्यक्रम स्थापित भइसकेको थियो । उनले छोडेपछि त्यो कार्यक्रम अहिलेका कांग्रेस नेता गगन थापाले चलाए ।

क्लासिकबाट उनको यात्रा मोडियो सगरमाथा एफएमतिर । सगरमाथाले उनलाई ‘हाम्रो चासो’ कार्यक्रम सुनेर बोलाएको थियो । 

त्यही समय कसमस विश्वकर्मा, अजयभद्र खनाल, शिव गाउँले, राजेश घिमिरेजस्ता क्रिम पत्रकारले ‘सात दिने’ नामक ट्याब्लोइड पत्रिका प्रकाशन सुरु गरे । निकै राम्रो माइलेज पाएको त्यो पत्रिकामा किरणले मार्केटिङ म्यानेजर भएर काम गरे ।

०५५ मा किरणले आफ्नो आम्दानीको ठूलो हिस्सा गुमाएर मार्केटिङ छोडे र पूर्णकालीन पत्रकारितामा लागे । पूरै समय रेडियो सगरमाथालाई दिए । उनी सांगीतिक कार्यक्रमबाट सगरमाथा छिरेका थिए । सगरमाथाले ०५६ जेठ १० गतेबाट सुरु गर्‍यो ‘आजका कुरा’ । पत्रकारिता पढेका पत्रकारहरूको समूहले चलाउने यो कार्यक्रमको नेतृत्व किरणले गरे । ०५७ जेठसम्म चलाए । ‘आजका कुरा’ एफएम रेडियोको इतिहासमा अहिलेसम्मकै पुरानो कार्यक्रमका रूपमा चिनिन्छ । समाचार संयोजकसम्म भएका किरणले त्यहाँको संरचना फेरिएपछि खासै चित्त बुझाउन सकेनन् र सगरमाथालाई पनि त्यागे ।

हिमालमा काम गर्छौ ?

किरण क्लासिक एफएममा ‘हाम्रो चासो’ कार्यक्रम चलाउँथे । त्यही समय उनी पत्रिका ‘सात दिने’मा मार्केटिङ म्यानेजर थिए । त्यही बेला कनकमणि दीक्षितले उनलाई बोलाएर मार्केटिङमा काम गर्न आग्रह गरे । कुरा चले पनि त्याे अफरले ठोस आकार ग्रहण गर्न सकेन । 

नेपाल बैंक लिमिटेडको कर्जासम्बन्धी मुद्दामा लक्ष्मी आचार्य समूहलाई सर्वोच्चको फैसलाअनुसार भर्खरै जेल पठाइएको फाइल उनले फेला पारे । त्यही फाइल बोकेर उनी ‘हिमाल’का सम्पादक राजेन्द्र दाहाललाई भेट्न गए ।

गएर भने, “दाइ मसँग एउटा लोनसँग सम्बन्धित फाइल छ । यो आर्थिक भएकाले म त्यति धेरै केही बुझ्दिनँ । यसको समाचार हुन्छ कि भनेर आएको ।”

दाहालले त्यो फाइल आफ्नो टेबुलमा राखे र भने, “तिमी हिमालमा काम गर्छौ ?”

किरणको जवाफ थियो, “मलाई लेख्न आउँदैन दाइ ।”

“लेख्नु पर्दैन, बुँदामा लेखेर दिए हुन्छ, समाचार हामी बनाइदिन्छौं । त्यति त सक्छौ नि ?” दाहालले भने । 

किरणको जवाफ थियो, “त्यति त सक्छु ।”

“ल भोलिबाट आऊ,” दाहालले भने ।

किरणले एक महिनाको सूचना दिएर मात्रै छोड्छु भने । ०५७ असार १ गतेबाट किरण ‘हिमाल’ खबरपत्रिकाको रिपोर्टरमा नियुक्त भए । 

“तर, मैले पहिलो समाचार नै बुँदामा लेखेर दिनु परेन । म आफैंले समाचार लेख्न सकेँ,” हास्ँदै किरण भन्छन्, “मात्र मेरो अक्षर नराम्रा भएकाले टाइपिस्टले बुझ्दैनथे । त्यसैले उनीहरूसँगै बस्नुपथ्र्यो ।”

उनको पहिलो स्टोरी बैंकले कालो सूचीमा राखेका ऋणीहरूको बारेमा थियो ।

‘हिमाल’ आएपछि तरलताका विषयमा लेखिएको समाचार आवरण कथाका रूपमा छापियो तर त्यो समाचारमा उनले सम्पादक राजेन्द्र दाहालसँग बाइलाइन सेयर गरेका थिए । तेस्रो महिनामै ‘पैसैपैसा’ शीर्षकको आवरणमा पनि उनले अच्युत अधिकारीसँग बाइलाइन सेयर गरेका थिए ।

जुन फाइल लिएर उनी ‘हिमाल’ पुगेका थिए, त्यसको समाचार भने कहिल्यै बनेन । पछि अरू पत्रिकाले स्टोरी ब्रेक गरे । फाइल नै हरायो ।

“धेरै पटक मैले ल्याएको फाइल खोइ भनेर सोध्दा राजेन्द्र दाहालले खै कता पर्‍यो भन्नुभो,” किरण भन्छन्, “उहाँले हिमाल छोडेर जाने बेला (०६३ मा) ड्रोयरमा भएका फाइल हेर्दा टेबुलमुनि त्यो फाइल भेटियो ।”

लेख्न नजान्ने मान्छेलाई राजेन्द्र दाहालले किन राखे ‘हिमाल’मा ? निकै अगाडिको कुरा पनि सम्झिएका रहेछन् राजेन्द्रले । हामीलाई सुनाए–

‘हिमाल’को प्रकाशन भर्खर सुरु भएको थियो । त्यो बेला किरण क्लासिक एफएममा ‘हाम्रो चासो’ कार्यक्रम चलाउँथे । मूल्य अभिवृद्धि कर ऐन भर्खर लागू भएको थियो । त्यो विषयमा एउटा कार्यक्रम गर्नुपर्‍यो भनेर भ्याटबारे बोल्न सक्ने अतिथि खोजिरहेका थिए । पुतलीसडकमा राजेश घिमिरे भेट भए । उनले राजेशलाई भ्याटबारे बोल्न सक्ने कोही छ ? भनेर सोधे । त्यो बेला आर्थिक विषयमा बोल्न सक्ने पत्रकार खासै कोही थिएनन् । प्रतीक प्रधान, श्याम घिमिरेहरूले भर्खर आर्थिक पत्रकारिता सुरु गर्दै थिए । राजेशले ‘देशान्तर’का सम्पादक राजेन्द्र दाहालको नाम सुझाउँदै नम्बर दिए । त्यही नम्बरमा फोन गरेर किरणले कार्यक्रम चलाए ।

‘हिमाल’मा कर्जासम्बन्धी फाइल बोकेर जाँदा राजेन्द्रले सोधेछन्, “क्लासिकमा मसँग टेलिफोनमा कुरा गर्ने किरण तिमी नै हौ ?”

किरणले ‘हो’ भनेपछि राजेन्द्रले सिधै कामका लागि अफर गरेछन् । किरणको प्रश्न गर्ने तरिका र उनले उठाएको विषय मन परेकाले राजेन्द्र तानिएका रहेछन् ।

किरणले पत्रकारिता पढेका होइनन् । सुरुमै राजेन्द्र दाहालसँग काम गरे । उनले किरणका स्टोरी भने रोकेनन् । त्यसलाई किरण सौभाग्य भन्छन् । थिति बसाएर स्टोरी लेख्न र दिन सक्नु नै उनका लागि चुनौती थियो । त्यो चुनौती सामना गर्दै किरणले छोटो समयमै आर्थिक पत्रकारितामा छाप पर्ने खालका स्टोरी गरे । 

सुनौलो क्षण

किरण ‘हिमाल’ पुगेको एक वर्ष भएको थियो । दरबार हत्याकाण्ड भयो । त्यो हत्याकाण्डसम्बन्धी उनले थुप्रै समाचार लेखे । ती समाचारले किरणलाई आर्थिक पत्रकारिताको दायराबाट बाहिर निकाले । राजनीतिक समाचारप्रति किरणको लगावलाई सम्पादकले बुझे र आर्थिक घेराबाट बाहिर निकाले । त्यही बेला माओवादीको द्वन्द्व उत्कर्षमा थियो । राजाले ‘कू’ गरे । संसद् विघटन, सात दलको आन्दोलनलगायतका तात्ताता विषय थिए । जाँगर चाहिन्थ्यो, समाचारका इस्यु बग्रेल्ती थिए । तिनै समाचार इस्युले किरणको पत्रकारितालाई फुल्ने/फल्ने अवसर दिए । आर्थिकदेखि राजनीतिकसम्मको रिपोर्टिङ गर्ने अवसर पाए । देशका लागि त्यो पीडादायी क्षण थियो भने पत्रकारका लागि सुनौलो अवसर । त्यो बेलाका ‘हिमाल’का अंक पल्टाउने हो भने किरणका कभर स्टोरीले पिकअप लिएको देख्न सकिन्छ । अर्थदेखि सामाजिक, राजनीतिकलगायतका विषयमा उनले देखाएको कौशलले उनलाई ‘हिमाल’को सम्पादकसम्म पुर्‍यायो ।

समाचार के हो त ?

ओवादी द्वन्द्व चलिरहेको थियो । ‘हिमाल’लाई समाचार संकलनका लागि उदयपुर जाने निम्तो आयो । उनी अरू पत्रकारहरूसँगै उदयपुरको घुर्मी पुगे, जहाँ कम्रेड राजेश उर्फ धनबहादुर मास्केले बोले । उनले छुट्टै चार मिनेट राजेशसँग कुरा गरेका थिए । दैनिक पत्रिकाले त्यसलाई हार्ड न्युजका रूपमा छापिसकेका थिए । पाक्षिक पत्रिकाका लागि त्यो समाचार बासी भइसकेको थियो । नयाँ एंगल दिन सके समाचार हुन्थ्यो, नभए त्यो डस्टबिनमा पुग्थ्यो । 

सम्पादकले नजा भन्दाभन्दै किरण जबर्जस्ती गएका थिए । फर्केर आएपछि राजेन्द्रले ‘ल ब्रिफ गर केके भयो’ भने । किरणले ब्रिफ गरे । 

राजेन्द्रले सीधै भने, “समाचार के हो त ?”

“दाइ बन्दुक भारी भो भनेका थिए राजेशले,” किरणले भने ।

‘‘हो त्यही लेख,” राजेन्द्रले भने ।

अब हामी बन्दुक थेग्न सक्दैनौं भन्ने कोणबाट समाचार तानेर उनले स्टोरी गरे, जुन सँगै गएका साथीहरूको तुलनामा बिल्कुल फरक थियो । समाचारले बजारमा चर्चा कमायो । “त्यसपछि मलाई साथीहरूले बाहिर जान बोलाउनै छाडे,” किरण हाँस्दै भन्छन्, “यसले फरक एंगलबाट समाचार गरेर हाम्रो स्टोरी छायामा पारिदिन्छ भनेर कहिल्यै बोलाएनन् साथीहरूले ।”

माओवादी प्रोपोगन्डा

काठमाडौं माओवादीले घेरिसक्यो भन्ने हल्ला भाइरल भएको भयो । त्यही समय उनलाई माओवादीले मकवानपुरको आग्रामा कार्यक्रम छ भनेर बोलायो, जुन किरणका लागि द्वन्द्वमा गरिने प्रोपोगन्डाबारे जान्ने र अनुभव गर्ने मौका बन्यो ।

तत्कालीन माओवादीका महासचिव रामबहादुर थापा (बादल)ले भेट्न बोलाए । लोकेसन दिइयो, “मकवानपुरको पालुङमा ओर्लिएर डाँडागाउँ पुग्नू ।”

त्यहाँ पुग्दा बम बोकेका मिलिसिया उनीहरूलाई लिन आए । १७ घण्टा हिँडाएर बास बसाए । भोलिपल्ट बिहान ५ घण्टा हिँडेपछि कार्यक्रम हुने ठाउँमा पुर्‍याए । उजीर मगर, राजाराम गौतम, सतिशजंग शाही जस्ता नोटेड पत्रकार गएका थिए । ‘हिमाल’बाट भने फोटोग्राफर किरण पाण्डे पनि थिए उनीसँगै ।

बादललाई भेटाउँछौं भनेर काठमाडौंबाट लगेका माओवादीले त्यहाँ लगेर गाउँ जनसरकार प्रमुखको उपस्थितिमा सांस्कृतिक कार्यक्रम देखायो र खाना खुवाएर नयाँ प्रस्ताव राख्यो । “दुश्मनले हाम्रो कार्यक्रमबारे थाहा पाएको सूचना आएकाले कम्रेड बादल आउन सक्नुभएन । अब ७ घण्टा हिँडेर जाने हो भने कम्रेड लेखनाथ न्यौपाने (विद्यार्थी नेता)लाई भेटाउन सक्छौं ।”

किरणले आफूहरू दुई जना फर्किने निर्णय सुनाउँदै भने, “लेखनाथजीसँग कुरा गर्नुपरे म टेलिफोनमै गर्छु ।”

किरणलाई त्यो ट्रिप लेखनाथले नै मिलाइदिएका थिए । २२ घण्टा लगाएर अघिल्लो दिन पुगेको ठाउँबाट फर्किदा किरणहरू साढे तीन ३ घण्टामा फर्किए । माओवादीले फनफनी घुमाएर उनीहरुलाई आग्रा पुर्‍याएका रहेछन् । त्यहाँबाट फर्किएर उनले रिङ सिलको स्टोरी गरे ।

कुटाइ खाएकाे  दिन

‘हिमाल’भित्र कर्मचारी युनियन खडा भयो । युनियन र व्यवस्थापनभित्रै कुरा मिलिरहेको थिएन– सेवासुविधा र कामको विषयलाई लिएर । माओवादीले ‘हिमाल’माथि शृंखलाबद्ध रूपमा आक्रमण प्रयास गरिरहेको थियो । त्यत्ति नै बेला माओवादी श्रमिक संगठनमा आबद्ध हुने र काम नगर्ने श्रमिकमाथि व्यवस्थापनले कारबाही गर्‍यो । त्यतिखेर बाबुराम भट्टराईको बजेटका विषयमा किरणले एउटा स्टोरी गरेका थिए । त्यो पत्रिका नै माओवादीले जलाइदिएको थियो । माओवादीले हिंसा छोडेर आए पनि युद्ध र बन्दुकको धङधङी नमेटिएको भन्ने तवरबाट ‘हिमाल’ले केही समाचार गरिरहेको थियो । सीईओ आशुतोष तिवारी चढेको गाडीमा आक्रमणसम्म भयो ।

एकदिन अफिसकै मिटिङ भइरहेको थियो । आशुतोषले अफिसको अवस्थाबारे जानकारी गराइरहेका थिए । १५ जना जति बसेर मिटिङ गरिरहेका बेला एक हुल मान्छे कोठामा प्रवेश गरे । हुल डरलाग्दो थियो । आशुतोषको छेउमा गएर ‘आशुतोष तिवारी तैं होस् ?’ भनेर सोधे । उनले ‘हो म हुँ’ भने । उनले ‘एकछिन बाहिर बस्नुस्, मिटिङ सकेर बाहिर आउँछु’ भनेका मात्रै के थिए, धमाधम पिट्न थाले । किरणलगायत व्यक्तिले प्रतिकार गर्दागर्दै हल भरियो ।

एउटाले कुर्सी उचालेर टेबुलमा बजार्‍यो । हेर्दाहेर्दै स्थिति तनावपूर्ण बन्यो । किरण बाहिर निस्किए । रामेश्वर बोहराले पनि माओवादीको आलोचना गर्दै स्टोरी लेखेका थिए । किरणले रामेश्वरलाई पनि कुट्छन् भन्ने लागेर लुक्न भने । बाहिर भीडको मुखियाजस्तो देखिने व्यक्तिलाई किरणले सोधे, “यो पत्रिकाको कार्यालयमा के गरेको ?”

उनी बोलीनसक्दै त्यो व्यक्तिले किरणलाई मुक्का हान्यो । त्यसपछि उनी भागेर छतमा पुगे । त्यहाँ रहेका रामेश्वरलाई उनले पानी ट्यांकीको पछाडि लुक्न भने र आफू तल झरे । त्यहाँ उनीहरू ओल्लो छेउ र पल्लो छेउ गर्दै शिशा फोडिरहेका थिए । विध्वंश मच्चाइरहेका थिए । भित्र हलमा रहेका भन्दा ठूलो संख्यामा बाहिर थिए ।

त्यो बेलासम्म आशुतोषलाई निकै पिटिसकेका थिए । बल्लबल्ल भागेका उनलाई लखेट्दै गएर पनि कुटे । डम्बरकृष्ण श्रेष्ठ रगताम्मे भए । कुन्द दीक्षितले पनि कुटाइ खाए । १५–२० मिनेटको बीचमा यी सबै कुरा भइसकेका थिए ।

त्यो खबर छिनभरिमै भाइरल भयो । पत्रकारदेखि नेतासम्म ‘हिमाल’ पुगे । पत्रकार तथा मानवअधिकारकर्मीहरूका संघसंस्थाले खेद प्रकट गर्दै विज्ञप्ति जारी गरे । त्यही दिन राति माओवादी नेता दीनानाथ शर्माले फोन गरेर किरणलाई भने, “जे भयो, एकदम नराम्रो भयो । प्रधानमन्त्रीज्यू आफ्नै साथीहरूमार्फत मलाई फसाउने षड्यन्त्र भयो भनेर चिन्तित हुनुहुन्छ । एकपटक भेट्न खोज्नुभएको छ । भेट्नुपर्‍यो ।”

किरणले ‘हुन्छ’ भने ।

दीनानाथले थपे, “त्यहाँ कनकमणिजी नभइदिए हुन्थ्यो ।”

किरणले भने, “प्रकाशक नराखी हामी कुरा गर्दैनौं ।”

दीनानाथ, वर्षमान पुन, धर्मेन्द्र बाँस्तोला र दिनेश ‘हिमाल’को कार्यालय आए । कनकमणि, कुन्द र किरणले चार जनासँग कुरा गरे । दुई घण्टा लामो बसाइमा कनक र किरण चर्को स्वरमै बोले । माओवादीको आलोचना गरे । शालीन रूपमा प्रस्तुत भएका माओवादी नेताले सबै घटना विवरण टिपे । टिप्ने काम अनन्तले गरेका थिए ।

आक्रमण पार्टीको नीति नभएको र दोषीमाथि कारबाही गर्ने रेडिमेड आश्वासन दिँदै उनीहरू फर्किए । माओवादी नेताहरूले बाहिरै भेट्ने प्रस्ताव राखेका थिए । किरणले नमानेपछि उनीहरू साँझ ‘हिमाल’को कार्यालय आएका थिए ।

त्यो विषयले पिकअप लियो । ‘हिमाल’माथिको आक्रमण सबैको साझा मुद्दा बनिसकेको थियो । ‘कान्तिपुर’मा पनि श्रमिक संगठनको आवरणमा माओवादीले वितरणमा अवरोध सिर्जना गरिरहेको थियो । ‘अलाइन्स फर मिडिया फ्रिडम’ भन्ने लुज नेटवर्क तत्काल गठन भयो । त्यसले साझा रूपमा प्रेस स्वतन्त्रताका लागि लड्ने प्रतिज्ञा गर्‍यो ।

एकदिन साँझ ‘कान्तिपुर’को भवनमा ‘अलाइन्स फर मिडिया फ्रिडम’को बैठक चलिरहेको थियो । दीनानाथ शर्माले तारन्तार फोन गर्न थाले । मिटिङमा भएकाले किरणले फोन उठाएनन् । मिटिङ सकेर कलब्याक गर्दा दीनानाथ शर्माले भने, “प्रधानमन्त्रीले भेट्न खोजिरहनुभएको छ, भेट्नु पर्‍यो ।”

किरणले सोधे, “केका लागि भेट्ने ?”

“प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्‍यो,” दीनानाथले भने ।

किरणले फेरि सोधे, “केका लागि वार्ता ?”

“हिमालको इस्युमा,” दीनानाथको जवाफ थियो ।

किरणले भने, “अब यो इस्यु हिमालको मात्रै रहेन, सबैको साझा भइसक्यो । अब हामी एक्लै आउन सक्दैनौं ।”

किरणले बैठकमा दीनानाथको प्रस्ताव सुनाए । अधिकांशले ‘वार्ता अब सामूहिकरूपमा हुन्छ, हिमालसँग मात्रै हुँदैन’ भने । पत्रकार अमित ढकालले भने, “प्रधानमन्त्रीले बोलाइसकेपछि एकपटक हिमालमात्रै गएर भेट्दा फरक पर्दैन ।”

किरणले भने, “त्यसो भए म वार्ता होइन, अन्तर्वार्ता गर्छु ।”

दीनानाथलाई फोन गरेर किरणले त्यही प्रस्ताव राखे, उनले पनि ‘हुन्छ’ भने । १० मिनेट भनेर सुरु भएको कुराकानी २५ मिनेट चल्यो । 

अन्तर्वार्ता सकिएपछि प्रचण्डले सोधे, “किरणजी, तपाईंको कुरा सकियो ?”

किरणले सकिएको जनाउ दिएपछि प्रचण्डले भने, “किरणजी, हामीलाई गाह्रो भयो, त्यो विषय टुंग्याइदिनुपर्‍यो ।”

किरणले सोधे, “के विषय ?”

प्रचण्डले भने, “हिमालको विषय ।”

किरणले सपाट जवाफ दिए, “हिमालको कुनै विषय नै छैन । भएकै ऐनअनुसार हामी चलिरहेका छौं, कि ऐन संशोधन गर्नुपर्‍यो, हैन भने मिलाउने कुरा केही छैन ।”

“हामीलाई अप्ठ्यारो पर्‍यो, जसरी हुन्छ मिलाउनुपर्‍यो,” प्रचण्डले फेरि भने ।

“मैले पिटाइ खाएको छु, उहाँ (सँगै रहेका कुन्द दीक्षित)ले कुटाइ खानुभएको छ । कुटाइ खाएको हर्जना के हुन्छ ?” चर्कै स्वरमा किरणले भने, “के मिलाउने ?”

“एकदमै नराम्रो भयो । जो संलग्न छ, उनीहरूलाई कारबाही हुन्छ,” प्रधानमन्त्रीले भने । 

“आजसम्म कुनै अपराधीलाई पनि तपाईंले कारबाही गर्नुभएको छैन,” किरणले प्रचण्डलाई ठाडै भने ।

“तपाईं यहाँबाट बाहिर निस्ँिकदा उनीहरू पक्राउ परिसक्छन्,” प्रचण्डले आश्वासन दिए ।

नभन्दै बाहिर आउँदा उनीहरू पक्राउ परेको समाचार आयो ।

“खासमा ‘हिमाल’लाई दबाएर आवाज सानो बनाउन सकियो र ‘कान्तिपुर’लाई पनि त्यसै गर्न सकियो भने समग्र प्रेसमाथि नै दबदबा कायम गर्न सकिन्छ भन्ने मानसिकताबाट हिमालमाथि आक्रमण भएको थियो,” किरण भन्छन्, “बन्दुकको धङधङी र ०६४ को निर्वाचनमा आएको परिणामका कारण उनीहरूमा जन्मिएको दम्भले त्यो सब काम भइरहेको थियो । हामी नै शासक हौं भन्ने दम्भबाट उनीहरू त्यो दिनसम्म चले, जुन दिन उनीहरूले काठमाडौंमा नाकाबन्दी गरेर ठप्प पार्छौं भनेर सुरु गरेको आन्दोलन फिर्ता लिने वातावरण बनेन ।”

अहिलेको पत्रकारिता

अहिलेको पत्रकारिता कतातिर गइरहेको छ ?

किरण भन्छन्, “अहिले जसरी अरू क्षेत्रमा बेथिति छ, त्यस्तै बेथिति पत्रकारितामा पनि छ । हामी पत्रकारहरू समाचारसम्म पुग्न सकिरहेका छैनौं । हामीसम्म आएको समाचारलाई समाचार भनेर बसेका छौं । पहिला आफूसामु आएका सूचनालाई पत्रकारहरू समाचार बनाएर बस्थे, अहिले समाचार नै टेबुलमा आइपुग्छ, त्यसैलाई मेरो समाचार भनेर पत्रकारले समाचार प्रकाशन तथा प्रसारण गर्दै आइरहेका छन् ।”

तस्बिरः सरिता खड्का

तपाईंको मत