काठमाडौं । काठमाडौंको फाहोरबाट बिजुली निकालिने भएको छ ।
काठमाडौं महानगरका ३२ वडा तथा काठमाडौं उपत्यकाका १० नगरपालिकाहरुबाट संकलन गरिएको फोहोरबाट बिजुली निकालिने भएको हो ।
“उक्त स्थानको फोहोर संकलन गरी विद्युत निकालिने छ,” लगानीबोर्डका परामर्शदाता आशिष गजुरेलले बाह्रखरीसँग भने, “काठमाडौंमा दैनिक रुपमा उत्पादन हुने ७ सय मेट्रिक टनभन्दा बढी संकलित फोहोरबाट ५देखि ७ मेगावाट बिजुली उत्पादन गर्न सकिनेछ ।”
काठमाडौंको फोहोर व्यवस्थापन गर्नमा लगानी बोर्डले समन्वय गर्ने भएसँगै फोहोरबाट बिजुली निकालिने प्रक्रियाले साकार रुप लिन लागेको गजुरेलले प्रष्ट पारे ।
“फोहोर व्यवस्थापनका लागि बोर्डले नेपाल र फिनल्याण्डका दुई अलग–अलग संस्थालाई जिम्मा दिने सहमति अन्तिम चरणमा पुगेको छ,” गजुरेलले बाह्रखरीसँग भने, “यस विषयमा हामी निरन्तर छलफलमा छौं, रिजल्ट राम्रो आउनेमा सकारात्मक छौं ।”
नेपालको अर्गेनिक भिलेज र फिनल्याण्डको कम्प्युनिकेशन संस्थालाई लगानीबोर्डले फोहोर व्यवस्थापनको जिम्मा दिन लागेको हो ।
“उक्त दुई संस्थालाई काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा दिइन लागिएको हो,” लगानीबोर्डको कार्यालयमा मङ्गलबार बसेको छलफलका आधारमा परामर्शदाता गजुरेलले बाह्रखरीसँग भने, “यस विषयमा छलफल गरी निर्णय गर्न अझै ४ महिना लाग्नेछ, त्यसपछि फोहोर व्यवस्थापनमा यी दुई संस्थाले काम अगाडि बढाउनेछन् ।”
सरकारले लगानी नगर्ने
निजी कम्पनीलाई जिम्मा दिइएकाले फोहोर व्यवस्थापनमा सरकारले कुनै पनि किसिमको लगानी नगर्ने परामर्शदाता गजुरेलले बताए । १० अर्बभन्दा माथिका आयोजनाहरुमा लगानीबोर्डले लगानी गर्न पाउने कानुनी व्यवस्था भए पनि निजी संस्थालाई जिम्मा दिइने यो आयोजनामा लगानीबोर्डले कुनै किसिमको लगानी गर्ने छैन । “काठमाडौंको फोहोर व्यवस्थापन र सरफाईसम्बन्धी हरेक कार्यमा उक्त दुई संस्थाले नै सम्पूर्ण खर्च तथा लगानी बेहोर्ने छन्,” गजुरेलले भने, “यस आयोजनामा लगानी बोर्डको समन्वयकारी भूमिका रहेकाले कुनै किसिमको लगानी गर्नेछैन ।” फोहोरमैला व्यवस्थापनका लागि प्रति परिवार प्रति महिना २ सय १९ रुपैयाँ उठाइने काठमाडौं उपत्यका एकीकृत फोहोरमैलाा व्यवस्थापन आयोजनाले जनाएको छ ।
व्यवसायी, कलकारखाना र उद्योगका हकमा उठाइने शुल्क निर्धारण भइनसकेको पनि आयोजनाले जानकारी दिएको छ ।
यस्तो छ कार्ययोजना
नेपाल र फिनल्याण्डका उक्त दुई निजी संस्थाले काठमाडौंका सडकमात्र होइन, खोला, मठमन्दिर, गल्ली, फुटपाथको फाहोर र ढल सरसफाइ गरी संकलित फोहोरलाई व्यवस्थित गर्नेछन् । संकलित उक्त फोहोरको ढुवानी गरी सड्ने र नसड्ने छुट्याई विस्थापन र व्यवस्थित मात्र होइन फोहोरको प्रशोधन गरी वायोग्यास, ‘आरडिएफ’, कम्पोष्ट मल र विद्युत उत्पादनमा सदुपयोग गरिने काठमाडौं एकीकृत फोहोर मैला व्यवस्थापन आयोजनाले जानकारी दियो ।
स्थानीय विकास मन्त्रालयको सक्रियता
स्थानीय विकास मन्त्रालयको अवधारणामा लगानीबोर्डले गरेको सक्रियतापछि यो आयोजना कार्यान्वयन हुने भएको हो ।
फोहोरमैला व्यवस्थापनका लागि मन्त्रालय र फोहोरमैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रद्वारा ०६६ साल पुसमा बोलपत्र आह्वान गरिए पनि ०६७ साउनमा ¥याङ १ बोलवाला हाइड्रो एयर टेक्टोनिक्स र कस्तुरी ट्रेड लिङ्कका लागि फिल्ड भेरिफिकेशन गरेपछि यस आयोजनालाई सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । ०६८ भदौमा सर्वोच्च अदालतले अन्तरिम आदेश फुक्का गरेपछि ०६९ फागुनमा लगानीबोर्डले भेरिफिकेशनको काम पुनःसुचारु गरेको र स्थलगत भ्रमणका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो । ०७० माघमा अर्थ मन्त्रालयले स्थलगत भ्रमणपश्चात बजेट स्वीकृत गरेको थियो ।
“०७३ माघदेखि सम्बन्धित निकायबीच पीडिए वार्ता चलिरहेको छ,” गजुरेलले बताए ।
कुल ६ अर्बको लगानीमा फोहोर व्यवस्थापन तथा विजुली, बायोग्यास, कम्पोस्ट मल उत्पादनसँगै नविकरणीय ऊर्जाको उचित सदुपयोग हुने यो आयोजनाले ०७५ वैशाख १ गतेबाट घरघर र टोलटोलमा पुगी सेवा सञ्चालन गर्ने गजुरेलले बताए ।
के भन्छ महानगर ?
“यो स्थानीय तहमा जनप्रतिनिधिहरु नआएका बेला ल्याइएको योजना हो,” काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, “पछिल्ला दिनमा नवनिर्वाचित जनप्रतिनिधिहरु सम्बन्धित स्थानीय तहमा परिचालित भइसक्नुभएकाले लगानीबोर्डको एकल निर्णयबाट यो योजना कार्यान्वयन हुन कठिन छ, यसका लागि बोर्डले कामपाका विभिन्न वडाका जनप्रतिनिधिहरुसँग पनि वार्ता र छलफल गर्नुपर्ने देखिन्छ ।”
यो योजना कार्यान्वयन भएपछि फोहोर व्यवस्थापनमा घरधनी तथा काठमाडौंबासीले हालको जस्तो सास्ती बेहोर्नु नपर्ने आयोजनाले बताएको छ ।
काठमाडौपछि ललितपुर र भक्तपुरमा पनि फोहोरमैला व्यवस्थापनको यो मोडेल कार्यान्वयन गरिने लगानीबोर्डका परामर्शदाता गजुरेलले बताए ।
स्केचः लगानीबोर्डको कार्यालय