नरेश फुयाँल
काठमाडौं हरेकको सपनाको सहर हो । अझ मध्यमवर्गीयहरू सपना देख्दादेख्दै यही माटोमा हराउँछन् । दैनन्दिन जीवनलाई धकेल्दाधकेल्दै उनीहरू कतिबेला त्यही सपनाले पुरिन्छन्, पत्तै हुन्न ।
‘धनपति’ त्यस्तै औसत नेपालीको कथा हो, जसका ठूला सपना छैनन् । काठमाडौंमा श्रीमती र छोरीका स–साना सपनालाई पूरा गर्न हरेक दिन साइकलमा सहर धाउने धनपतिले ‘हुने खाने’ र ‘हुँदा खाने’बीचको वर्गीय खाडललाई प्रतिनिधित्व गर्छ । गाउँमा आँखैअघि राजनीतिज्ञ र समाजसेवी पिता गुमाएको पीडाबाट उन्मुक्ति खोज्न सहर छिरेको धनपतिको परिवार कीर्तिपुरको सानो कोठामा पनि खुसी देखिन्छ । त्यसमा सुखको अंश भने छैन । छोरीलाई राम्रो बोर्डिङमा पढाउने सपना पूरा गर्न धनपतिले कसरी राजनीतिलाई अस्त्र बनाउन खोज्छ भन्ने कथा ‘धनपति’मा बुनिएको छ ।
राजनीतिक झगडाका कारण विद्रोहीको निशाना बनेर उजाडिएको परिवारलाई पुनः राजनीतिले नै भस्म पारेको कथा नै ‘धनपति’को मूल स्टोरीलाइन हो ।
राजनीतिक बेइमानी र त्यसले समाजमा पारेको प्रभावको सटिक चित्रण गर्न सक्नु चलचित्रको सबल पक्ष हो । गाउँको काजीदेखि होटलको मजदुरसम्ममा विद्यमान राजनीतिसँगै नेताले आफ्नो स्वार्थसिद्धिका लागि खेल्ने तिकडम र त्यसले मजदुर तथा मध्यमवर्गीय परिवारलाई पारेको नकारात्मक असरलाई दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेको टिमले सपाट रूपमा पर्दामा उतारेको छ । यो खगेन्द्र स्वयंकै कथा ‘बाउसापको साइकल’मा आधारित चलचित्र हो ।
आफूले लेखेको कथामा आफैंले अभिनय गरेकाले केन्द्रीय पात्र धनपति (खगेन्द्र)ले अभिनयमा न्याय गरेका छन् । सुरक्षा पन्तले हाउभाउ र आँखाले नै धेरै कुरा भन्छिन् । निर्देशकको विश्वासलाई उनले मर्न दिएकी छैनन् । सुरक्षाको अभिनयमा खोट लगाउने ठाउँ भेटिँदैन । अभिनयका हिसाबले कमल सर (अशान्त शर्मा) चलचित्रका नायक हुन् । बालकलाकार सुरभी बर्तौलाको अभिनय पनि राम्रो छ ।
खगेन्द्र अभिनयमा मजैले डुबे पनि ‘टलकजंग भर्सेस टुल्के’ र ‘पशुपतिप्रसाद’ भन्दा फरक देखिँदैनन् । उनमा अझै पनि ती दुई चलचित्रको प्रभाव देखिन्छ । अब उनको चुनौती भनेकै आफूलाई यीभन्दा फरक चरित्रमा स्थापित गर्नु हो ।
समाजमा सबैले देखेको र धेरैले भोगेको ‘धनपति’को कथा पुरानै हो । तर, त्यही पुरानो कथालाई कसरी नयाँ रसमा देखाउन सकिन्छ भनेर जान्न ‘धनपति’ हेर्नुपर्छ । सरल कथामा धनपतिको बक्र जिन्दगीलाई मन छुने गरी देखाउँदै समसामयिक मैलो राजनीतिक प्रवृत्तिलाई झापड हान्न सक्नु यो टिमको सफलता हो ।
निर्देशक आफैंले क्यामरा चलाएकाले देखाउन खोजेको कुरामा उनी प्रष्ट छन् ।
चलचित्रको सुरुआततिर चरित्रलाई स्थापित गर्न खोज्दा कथा सुस्त अनुभूत हुन्छ । मध्यान्तरपछि चलचित्रले गति लिन खोज्दा केही हतार गरेको देखिन्छ । चलचित्रको कमजोर पक्ष भनेको क्लाइम्याक्सलाई ‘सस्पेन्स’ राख्न नसक्नु हो । चलचित्रको अन्त्य दर्शकले अगाडि नै सहजै अनुमान लगाउन सक्छन् । दोहोरिरहने दृश्य दाँतमा ढुंगाझैं हुन्छन् । पटकथा कसिलो लाग्दैन । जुन पार्टीले आफ्नो परिवार उजाड्यो, धनपति त्यही पार्टीमा लाग्नु त्यति स्वाभाविक लाग्दैन ।
चलचित्रको अन्त्य अस्पतालमा पनि हुन सक्थ्यो तर निर्देशकले धनपतिलाई घरमा पु¥याएर पुरानै सर्टपाइन्ट, टोपी पहिराएर साइकल चढाएको दृश्यले दर्शकको मन छुन सक्छ ।
‘पशुपतिप्रसाद’ टोलीले बनाएको हुँदा दर्शकले ‘धनपति’मा पनि त्यही स्तरको कथा र प्रस्तुति खोज्छन् । तर, ‘धनपति’ले त्यो आशा पूरा गर्दैन । ‘पशुपतिप्रसाद’सँग तुलना गर्दा ‘धनपति’ कमजोर भए पनि नेपालमा बनिरहेका औसत चलचित्रभन्दा माथि छ ।