आयात बढेसँगै चालु खाता घाटामा, रेमिट्यान्स बढे पनि विदेशी मुद्रा सञ्चिति घट्यो

आयात बढेसँगै चालु खाता घाटामा, रेमिट्यान्स बढे पनि विदेशी मुद्रा सञ्चिति घट्यो

काठमाडौं । कोभिडको प्रभाव कम भएसँगै बढेको आर्थिक गतिविधिले आयात क्रमश: बढ्दै जाँदा मुलुको बाह्‍य क्षेत्रमा दबाब बढाउन सुरु भएको छ ।

निर्माण क्षेत्रसँगै अन्य आर्थिक गतिविधि चलायमान हुँदा मंसिर महिनामा मात्रै एक खर्ब २३ अर्ब रुपैयाँबराबरको आयात भएको छ । चाडपर्वको माहोलमा पनि कात्तिकसम्म ४ महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँको मात्रै आयात भएकामा मंसिरमा एक्कासि आयात बढेर पाँच खर्ब २५ अर्ब ५० करोड पुगेको छ । मंसिरमा ह्‌वात्तै बढेको आयातले बाह्‍य क्षेत्रमा दबाब बढाएको हो ।

रेमिट्यान्समा भएको वृद्धिको बाबजुत मंसिरमा बढेको आयातले गर्दा शोधनान्तर बचत कात्तिकको भन्दा घटेको छ भने कात्तिकमा बचतमा रहेको चालु खाता मंसिरमा २० अर्बमाथिले घाटामा गएको छ । जसको प्रभाव विदेशी विनिमय सञ्चितिमा समेत देखिएको छ भने सञ्चिति पनि कात्तिकको भन्दा घटेको छ ।

कोभिडको प्रभावका बाबजुत बढेको रेमिट्यान्ससँगै निर्यातमा पनि सामान्य वृद्धि भएको र आयात घटेकाले गर्दा चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म लगातार चार महिना चालु खाता बचतमा थियो । तर, नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिना (साउन-मंसिर) सम्मको आर्थिक तथा वित्तीय अवस्थामा प्रतिवेदनमा मंसिर महिनामा मुलुकको चालु खाता घाटामा गएको उल्लेख छ ।

चालु आर्थिक वर्षको मंसिरसम्म चालु खाता २१ अर्ब ३२ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । २०७७ कात्तिकमसम्म चालु खाता २० अर्ब ४६ करोडले बचतमा थियो । चालु खाता मात्रै नभएर शोधनान्तर (भुक्तानी सन्तुलन) बचत पनि घटेको छ । कात्तिकमा शोधनान्तर बचत एक खर्ब १० अर्ब ६५ करोड रहेकामा मंसिरमा एक खर्ब ६ अर्ब ४८ करोडमा झरेको छ ।

आयात बढ्दा चालु खाता र भुक्तानी सन्तुलनमा मात्रै नभएर विदेशी विनिमय सञ्चितिमा पनि घटेको छ । गत असार मसान्तमा १४ खर्ब १ अर्ब १८ करोड रहेको विदेशी विनिमय सञ्चिति कात्तिकमा ७.४ प्रतिशतले बढेर १५ खर्ब ६ अर्ब ६ करोडसम्म पुगेको थियो । अमेरिकी डलरमा पनि कात्तिकमा विदेशी विनिमय सञ्चिति १२ अर्ब ६५ करोड पुगेको थियो । तर मंसिरमा विदेशी विनिमय सञ्चिति १४ खर्ब ७४ अर्ब ३४ करोडमा झरेको छ । अमेरिकी डलरमा पनि विदेशी विनिमय सञ्चिति १२ अर्ब ४५ करोड छ ।

चालु आर्थिक वर्षको पाँच महिनाको आयातलाई आधार मान्ने हो भने बैंकिङ प्रणालीसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.४ महिनाको वस्तु र १३ महिनाको वस्तु तथा आयत धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । आर्थिक गतिविधि बढ्दै जाँदा आयात बढ्दै जाने र यसले भुक्तानी सन्तुलन र चालु खातामा केही दबाब बढ्ने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्ट बताउँछन् ।

तर रेमिट्यान्समा दबाब नभएको र विदेशी विनिमय सञ्चिति पर्याप्त भएकाले यसले खासै प्रभाव नपर्ने उनको दाबी छ । चालु आर्थिक वर्षमा पनि गत वर्षकै हाराहारीमा रेमिट्यान्स आउने अवस्था देखिएको र विकास निर्माणका लागि निर्माण सामग्रीको आयातमा भएको वृद्धिले राम्रै गर्ने उनी बताउँछन् ।

२०२०/०२१ मा विश्व अर्थतन्त्र ४ प्रतिशतमाथिले विस्तार हुने अनुमान रहेकाले पनि कोभिडको प्रभाव नेपालको रेमिट्यान्समा धेरै नपर्ने अनुमान गर्न सकिने र चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांकले पनि त्यो देखाएको उनको दाबी छ ।

प्रतिकृया दिनुहोस
ad