site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
मतदानमा उर्लियो मधेस, राजपा नेतृत्व संकटमा
Sarbottam CementSarbottam Cement

स्थानीय तहको निर्वाचनका लागि जनता अत्यन्त आतुर थिए भन्ने तथ्य बुधबार सम्पन्न दोस्रो चरणको निर्वाचनबाट प्रमाणित भएको छ । पहिलो चरणमा निर्वाचन भएका प्रदेश नम्बर ३, ४ र ६ मा जस्तै यस पटक प्रदेश नं. १, ५ र ७ मा पनि मतदान महोत्सवका रूपमा सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रतिकूल मौसम भए पनि औसतमा ७०.५ प्रतिशत मतदान भएको जानकारी दिएकाँ छन् । विकट मानिने बाजुरा जिल्लामा मतदानको प्रतिशत सबैभन्दा बढी (८० प्रतिशत) देखिएको छ भने भोजपुरमा सबैभन्दा कम (६१ प्रतिशत रहेको छ) । रुकुम, दार्चुला, डँडेलधुरा जस्ता पहाडी जिल्लाको मतदान प्रतिशत बाजुराभन्दा केही कम भए पनि अन्यत्रभन्दा बढी छ । मतदान सम्पन्न भएपछि मतगणनाको काम पनि रातिबाटै सुरु भएको छ । केही ठाउँबाट प्रारम्भिक परिणामहरू आउन थालिसकेका छन् ।

मतदानमा देखिएको जनताको उल्लासमय सहभागिता, व्यापक रुचि र सक्रियता नै आजका पत्रपत्रिकाका मूल समाचार शीर्षक बनेका छन् । 
कान्तिपुरमा राजेश मिश्रले लेखेको ‘मतदान उल्लासपूर्ण’ शीर्षक समाचारलाई ब्यानर बनाइएको छ । समाचारमा राजपा बहुल क्षेत्रमा मतदाता ओइरिएको, नवलपरासीको एक केन्द्रमा मतदान बहिष्कार भएका कारण २ भोटमात्रै खसेको, मतदानका क्रममा पाँच जनाको मृत्यु भएको, बझाङमा झडपपछि मतदान स्थगन भएको र सोलुखुम्बूका तिङ्लावासीले मतदान नगरेको उल्लेख छ । 

कान्तिपुरमै ‘मतदानमा मधेसी समुदाय अगाडि’ शीर्षक राखेर बलराम बानियाँ, माधव घिमिरे, लीलावल्लभ घिमिरे र देवनारायण शाहले प्रदेश नं. १ का विभिन्न ठाउँबाट पठाएका समाचार प्रस्तुत गरिएको छ । समाचारअनुसार चुनावको बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आह्वान गरेको बन्द र विप्लव नेतृत्वको माओवादीले सुरक्षा बिथोल्ने प्रयास गरे पनि प्रदेश नं. १ का १४ वटै जिल्लामा शान्तिपूर्ण मतदान भएको छ । ‘बहिष्कारको प्रभाव परेन’ शीर्षकमा प्रदेश नं. ५ बाट अखण्ड भण्डारी र जनक नेपालले पठाएको समाचारअनुसार यस प्रदेशमा मतदानका क्रममा कुनै अप्रिय घटना भएनन् । प्रदेश नं. ७ को खबर समेटिएको ‘मतदाताले चुकाएनन् मौका’ शीर्षक कान्तिपुरको अर्को समाचारमा कतै वर्षा, कतै प्रचण्ड गर्मी, केही ठाउँमा झडप अनि केही ठाउँमा बम विस्फोट हुँदाहुँदै पनि प्रदेश नं. ७ मा दोस्रो चरणको निर्वाचन उत्साहजनक रूपमा सम्पन्न भएको उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मतदानको सन्दर्भमै केन्द्रित रही अन्नपूर्ण पोस्टमा खेम बुढामगरले पठाएको ‘थवाङी पनि मतदानमा’ शीर्षक समाचारमा अन्यत्र बहिष्कारको नारा दिएर वितण्डा मच्चाउन उद्यत विप्लवसमर्थक नेकपाका नेता, कार्यकर्ता र समर्थकले थवाङमा बिहानैदेखि लाइनमा उभिएर मतदान गरेको उल्लेख छ । अन्नपूर्णमा गोपाल शर्माले दाङबाट पठाएको ‘हातैले बम समातेर फालें’ शीर्षक समाचारमा तुल्सीपुर उपमहानगरपालिकाको प्रतापकोट आधारभूत मतदान केन्द्रमा हातले बम फालेका हवल्दार दुर्गाबहादुर रानाको तस्बिर र उनको साहसिक कर्मको विवरण छ ।

नयाँ पत्रिकामा ‘अब एउटा प्रदेशमा मात्र निर्वाचन बाँकी, ६७ जिल्लाका जनताले उत्साहपूर्वक मताधिकार प्रयोग गर्दै गाउँ–टोलमा जनप्रतिनिधि छाने, अब ८ जिल्लाका जनता प्रतीक्षामा’ शीर्षक दिएर ब्यानर समाचार बनाइएको छ । समाचारमा मतदानप्रति जनताको उत्साह झल्काउने गरी गौमुखी गाउँपालिका–३ की १०२ वर्षीया दुपर्तीमाया मल्ल नाति जोगीन्द्र मल्लद्वारा बोकिएर भए पनि मतदान गर्न आएको, तेह्रथुम आठराईका ९९ वर्षीय एक जना वृद्ध व्यक्ति दमका रोगी र पटक पटक सिकिस्त बिरामी हुने गरेका भए पनि हिँडेरै मतदान गर्न आएको र यसलाई आफ्नो भाग्य ठानेर खुसी भएको अनि डडेल्धुरामा ११८ वर्षीया महिलाले मतदान गरेको उल्लेख छ ।

Global Ime bank

नागरिकमा प्रकाशित समाचारमा चाहिँ प्रदेश नं. १ मा मधेसी बहुल क्षेत्रमै बढी मतदान भएको, प्रदेश नं. ५ मा राजपाको पकड भएको भनिने क्षेत्रमा उत्साहजनक मतदान भएको र प्रदेश नं. ७ मा चुनावले सामाजिक सद्भाव बढाएको निष्कर्षात्मक विवरण छ । 

 

तस्बिर समीक्षा

 

नागरिकमा रूपन्देही तिलोत्तमा नगरपालिकास्थित ज्योति आधारभूत केन्द्रमा मतदानका लागि लाम लागेका मतदाताको तस्बिर मुख्य छ र दाङमा हातैले बम टिपेर फालेका दुर्गाबहादुर रानाको तस्बिर पनि एङ्कर समाचारअन्तर्गत छ ।

नयाँ पत्रिकामा नातिको सहारामा बोकिएर मतदान गर्न आएकी गौमुखी गाउँपालिका–३ की १०२ वर्षीया दुपर्तीमाया मल्लको तस्बिर मुख्य छ  ।

अन्नपूर्ण पोस्टमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका खजहना निमावि केन्द्रमा मतदान गर्न लामबद्ध मधेसी, मुस्लिम, जनजाति र पहाडी समुदायको समावेशी तस्बिरलाई मुख्य बनाइएको छ ।

कान्तिपुरमा मोरङको रङ्गेली र गुल्मीको चन्द्रकोट मतदान केन्द्रमा मतदानका लागि लामबद्ध सर्वसाधारणको तस्बिरलाई मुख्य बनाइएको छ ।

राजधानीमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका मुझुङमा ७२ वर्षीय तेजबहादुर छहरीलाई स्ट्रेचरमा बोकेर भोट दिन लगिँदै गरेको, बर्दियाको बाँसगढी नगरपालिकास्थित त्रिभुवन मावि केन्द्रमा एक सय एक वर्षीया वृद्धा मतदान गरेर फर्किँदै गरेको र रूपन्देहीको कोटहीमाई गाउँपालिका– पाँचमा सर्वसाधारण मतदान गर्न लाइन लागेको परिदृश्य छ । 

हिमालय टाइम्समा पनि निर्वाचनसँग सम्बन्धित बैतडी र बर्दियाका तस्बिर छन् भने गोरखापत्रमा रुकुमको सिस्ने गाउँपालिका–५ रुकुमेनी मतदान केन्द्रमा मतदानका लागि लामबद्ध जनताको तस्बिर छ । 


सम्पादकीय
नागरिकले ‘उत्साहको अभिमत’ शीर्षक सम्पादकीय लेखेको छ । सम्पादकीयमा ‘मानो खाएर मुरी उब्जाउने’ मध्यअसारको चटारोमा पनि मतदानका निम्ति पंक्तिबद्ध हुनुलाई लोकतान्त्रिक अभ्यासप्रति सर्वसाधारणको उत्कट चाहनाका रूपमा बुझ्नु उचित हुने उल्लेख छ ।

नयाँ पत्रिकाको ‘लोकतन्त्रको शक्ति’ शीर्षक सम्पादकीयमा सोलुखुम्बू जिल्लाको साबिक तिङला गाविसले यसपटक स्थानीय तहमा जनताको शक्ति भिन्न ढंगले प्रदर्शन गरेको उल्लेख छ । 

अन्नपूर्ण पोस्टमा लेखिएको ‘महत्त्वाकांक्षी तर आवश्यक’ शीर्षक सम्पादकीयमा गृहमन्त्री जनार्दन शर्माले अगाडि सारेको प्रहरी संगठनमा सुधारको कार्ययोजनाको प्रशंसा छ । कान्तिपुरको ‘गृहप्रशासन सुधार्न पहल’ शीर्षक सम्पादकीय पनि सोही विषयसँग सम्बन्धित छ ।

हिमालय टाइम्समा ‘जनताको उन्नत चेतना’ शीर्षक सम्पादकीय छ । सम्पादकीयमा दोस्रो चरणको निर्वाचनमा जनताले देखाएको सुझबुझ र विवेक प्रदर्शनको प्रशंसा छ भने गोरखापत्रमा ‘उत्साहजनक सहभागिताको सन्देश’ शीर्षक दिएर सम्पादकीय लेखिएको छ ।
राजधानीको सम्पादकीयको शीर्षक ‘भाषणले बन्दैन स्मार्ट सिटी’ रहेको छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  ०८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC