यूएई । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा नेपाली समुदाय यूएई साहित्यिक कला संसारको आयोजना तथा कायाकल्पको सहकार्यमा २०४ औं भानुजयन्ती मनाइने भएको छ ।
असार ३० गते अर्थात् जुलाई १४ का दिन यूएईको बरदुबईस्थित सिन्ध पंजाव होटलमा भानुजयन्ति विगतका वर्षझंै यस वर्ष पनि विशेष कार्यक्रम गर्न लागिएको नेपाली समुदाय कला तथा साहित्य संसार यूएईका संयोजक कृष्ण पारसले जानकारी दिए ।
वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका राष्ट्रिय विभूति भानुभक्त आचार्यले रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए । उनले अन्य धेरै साहित्यिक कृतिहरु पनि निकालेका छन् । मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्य जगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो । २०१२ को असार २९ गते भानुजयन्ती मनाएपछि हरेक वर्ष असार २९ लाई भानुजयन्ति मनाउँदै आइएको छ ।
यसै अवसरमा दुई वर्षअघिको भूकम्पका बेला नेपाल राष्ट्र बैंकले जारी गरेको बचतपत्र खरिद गर्ने खरिदकर्ताहरुलाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको नेपाली समुदायका संस्थापक अध्यक्ष विदुर राउतले जानकारी दिए ।