site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्थानीय निर्वाचन र जबाफदेही सरकार 

\"\"


स्थानीय तहको प्रथम चरणको निर्वाचनको सफलताले नागरिकमा दोस्रो चरणको चुनावप्रति उत्साह थापिएको थियो । तर, सरकारले राष्ट्रिय जनता पार्टीलाई मनाउने भन्दै प्रदेश नम्बर २ मा मिति सारेपछि दोस्रो चरणको निर्वाचनमा शंका पैदा भएको छ । राजपाकै लागि छोटो प्रक्रियाबाट संशोधन गरिएको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ पछि राजपाले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमले चुनावको मिति सार्न ठूलो दबाब सिर्जना गरेको भनिए पनि यो  सर्वथा गलत हुनेछ ।

 प्रधानमन्त्री शेरबहादुर देउवाको मुख्य जिम्मेवारी ठानिएकोमध्येको दोस्रो चरणको स्थानीय निर्वाचन सहज नभए प्रदेश र संघीय संसद्को समेत चुनाव प्रभावित हुने जोखिम बढी हुन्छ ।  प्रधानमन्त्री देउवाको सबैभन्दा ठूलो जिम्मेवारी स्थानीय तहमा दोस्रो चरणको निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्नुगराउनु  नै हो । 
भरतपुर महानगरपालिकाबाहेक देशका ३४ जिल्लाका सबै स्थानीय तहमा सम्पन्न प्रथम चरणको निर्वाचनले नेपालमा दुई दशकपछि शक्तिको शान्तिपूर्ण हस्तान्तरण सुरुभएको छ र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको कद उच्च बनेको छ ।  दोस्रो चरणको चुनावपछि सम्पूर्णरूपले शक्तिको हस्तान्तरण हुनेछ  र अधिकारको उचित बाँडफाट हुने जनविश्वास देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

 प्रथम चरणको निर्वाचनको परिणामसँगै जनताले परिवर्तनको आशा गरेका छन् ।  तर, राजनीतिका अनेकौं उतारचढाव पारगर्दै स्थानीय निर्वाचन जितेका नेताले आजसम्म आफ्नो स्थानीय निकायको विकासको खाका कोर्न पाएका छैनन् । 

 कानुनद्वारा प्रदत्त हक अधिकारको भरपूर उपयोग गर्दै नगर तथा गाउँको बृहत्तर विकास र समुदायको अपेक्षाकृत रुपान्तरण निर्वाचित प्रतिनिधिको मुख्य जिम्मेवारी हो  ।  स्थानीय निकाय वा सरकारमा आफैँले निर्वाचित गरेका प्रतिनिधि भएमात्रै जिम्मेवार र उत्तरदायी बनाउन सकिन्छ भन्ने मान्यताअनुरूप स्थानीय सरकारलाई स्वीकार गरिएको छ तर नेपालमा प्रजातन्त्रको अभ्यासभित्र शक्तिको हस्तान्तरण हुनपाएन ।  त्यसैले होला व्यग्र प्रतीक्षाबीच प्रथम चरणको निर्वाचन घोषणापछि जनतादेखि नेतासम्म सबैमा जोसजाँगर देखियो सहरदेखि गाउँसम्म निर्वाचन र त्यसको परिणामप्रति व्यापक जनचासो देखियो । 

Global Ime bank

अब निर्वाचितहरूको कार्यक्रम तथा  यसको परिणामप्रति पनि जनता सजग छन् । जनता  उत्तरदायी र जिम्मेवार सरकारको खोजीमा छन् र  निर्वाचित जनप्रतिनिधि हरूको अधिकार क्षेत्र र भूमिकाको बारेमा प्रश्न गर्न समर्थ देखिएका छन् ।  नेपालमा झन्डै दुई दशक स्थानीय निर्वाचन नभएपछि देशका युवा पुस्ताले स्थानीय नेतृत्वमा पुग्न र मतदान गर्न पाएका थिएनन् । तैपनि हामी भनिरहेका थियौँ निर्वाचित प्रतिनिधि भएको स्थानीय निकाय लोकतन्त्रको आधारस्तम्भ मानिन्छ । 

 तर, यसको अभ्यासमा भने हामी बीस वर्षपिछ आएका छौँ । त्यसैले यो व्यवस्थाको स्थायित्वका लागि स्थानीय चुनावको सफलता अनिवार्य छ । र, प्रधानमन्त्री देउवाको सम्पूर्ण राजनीति यही सफलता र असफलतासँग जोडिनेछ । वर्तमानमा सबैभन्दा ठूलो आवश्यकता  स्थानीय निर्वाचन र उत्तरदायी तथा जिम्मेवार संस्कारको विकास गर्नु नै हो ।  त्यसैले निर्वाचनलाई प्रभाव पर्ने गरी चालिने कदम सच्याइनु जरुरी छ ।   
समृद्ध नेपाल उत्तरदायी र जिम्मेवार संस्कार भएको सरकारको गठनपछि मात्रै सम्भव छ ।  नेपालको संविधान, २०७२ ले स्थानीय तहलाई बलियो बनाएको छ  ।  संविधानमा स्थानीय तहले प्रयोग गर्न पाउने २२ वटा एकल र १५ वटा साझा आधिकार तोकिएकले पनि यसको आकलन गर्न सकिन्छ । 

 खासगरी संविधानले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र काम गर्न व्यवस्थापिका, कार्यपालिका र केही न्यायिक अधिकार दिएको छ ।  शिक्षा, स्वास्थ, कृषि, सिंचाइ, भौतिक पूर्वाधार र जनसरोकारका क्षेत्रमा संविधानले दिएको अधिकारको पूर्ण उपयोग गर्नसक्ने हो भने अग्रगामी परिवर्तन र संमृद्ध स्थानीय सरकार सम्भव छ ।  

तर, यस्ता अधिकारका बारेमा राजनीतिक दलका उमेदवारलाई बुझाउनु पर्ने हुन्छ भने जनताले पनि संघीय गणतन्त्र नेपालमा स्थानीय निकायभित्र आफ्नो पूर्णसहभागिताको भूमिका खोज्नुपर्ने हुन्छ ।   
लोकतन्त्रलाई संस्थागत र बलियो बनाउने क्रममा सबैभन्दा बढ़ी सम्भावना स्थानीय तहमै हुन्छ ।  स्थानीय नेताहरू जनताका सरोकारप्रति प्रत्यक्ष सम्बन्ध राख्ने र जबाफदेही हुने हो भने सेवा प्रवाह र शासन पद्धतिमा अपेक्षाकृत सुधार ल्याउन सकिन्छ ।  खासगरेर  स्थानीय सरकारसँग स्थानीय आवश्यकता र अवस्था सुहाउँदो निर्णय लिन सक्ने शक्ति हुन्छ ।

यसले आफ्नो क्षेत्रमा सेवा प्रवाहका लागि योजना बनाउने र संयोजन गर्ने अधिकार राख्छ । स्थानीय तहमा आवश्यक कानुन बनाउने अधिकारसमेत सुरक्षित छ । यसैले स्थानीय तहका उमेदवारले स्थानीय संरचना र त्यसको अधिकार बुझ्नु जरुरी छ ।  नेपालको लोकतान्त्रिक शासनले सीमान्तीकृतलगायत सबै नागरिकको आवश्यकतामा ध्यान दिने सुनिश्चित गराउन जरुरी छ  ।  

समयको नियमित आन्तरालमा  लोकतान्त्रिक स्थानीय सरकार बनेपछि गरिबी निवारण र शान्तिपूर्ण एवं समावेसी समाज निर्माणमा विकासका प्रयास केन्द्रित हुन सक्छन् । स्थानीय सरकारमा  न्यायपूर्ण र लोकतान्त्रिक शासन हुन नेताहरूले आफूमा रहेको शक्तिलाई जिम्मेवारीपूर्ण ढंगले बृहत्तरहितमा प्रयोग गर्नुपर्छ । स्थानीय तहमा वास्तविक परिवर्तन ल्याउन हालका केही अधिकारको सही ढंगले उपयोग गर्न सकियो भनेमात्र आमूल परिवर्तन गर्न सकिन्छ ।  

कार्यपद्धति र कार्यविधि शक्ति नियन्त्रण गर्न र सरकारी अधिकारीलाई जनताको हित, चासो र सम्बोधनका लागि काम गर्न प्रोत्साहन गर्ने प्रकारको हुनुपर्छ । 
हाम्रो देशमा अझैसम्म पनि राजनीतिक दलका प्रतिनिधिको शैली परम्परागत देखिन्छ ।  स्थानीय चुनावमा देखिएका प्रचार सामग्री र घोषणापत्रले आवश्यक परिवर्तनका सूत्र पर्याप्त प्रतिविम्बित गर्न नसकेको प्रतित हुन्छ ।  

निर्वाचनअगाडि आफ्नो दलको माध्यम द्वारा जनस्तरमा पुगेका नेताको प्रतिबद्धता नागरिकको लागि हो र उनीहरूले नागरिकप्रति गर्ने व्यवहार तथा कार्यशैली नै उनीहरुलाई बुझ्ने मुख्य आधार हो ।  जनता र निवाचित नेताबीचको सम्बन्ध सहमति र प्रतिनिधित्वमा आधारित हुन्छ । आफूलाई भोट दिएका जनताको आवश्यकता, चासो र रुचिको प्रतिनिधित्व गर्नु निर्वाचित प्रतिनिधिको प्रमुख दायित्व हो । तर, हाम्रो देशमा अझै पनि आफ्ना कार्यकर्ता अर्थात् आफ्नो दलका मानिसलाई प्राथमिकतामा राख्ने चलन छ ।  

यस्तो चलनले उत्तरदायी र जिम्मेवार सरकार दिन सकिँदैन ।  आजसम्म दलको कार्यकर्ताभन्दा सामान्य जनताको भोट नै निर्णायक देखिएको छ ।  उपयुक्त कार्य सम्पादन र जिमेवारी पूरा गर्न नसकेको खण्डमा जनताले त्यस्तो प्रतिनिधिलाई रुचाउने  छैनन् ।  आफू सन्तुष्ट नभए कुनै उमेदवारलाई चुनावमा नजिताउनु नै नागरिकले दिने सबैभन्दा चल्तीमा रहेको दण्ड सजाय हो  ।  नागरिकले दिने यस्तो प्रत्यक्ष दण्डको हेक्का राख्न सक्ने  नेताले नै प्रसिद्धि कमाउने छ ।  

जनप्रतिनिधिका लागि विश्वास, विश्वसनीयता र प्रतिबद्दता महत्त्वपूर्ण पक्ष हुन् । विश्वासले समस्या समाधान गर्न सहज बनाउँछ भने प्रतिबद्धताले चुनौती वा अप्ठेराको सामना गर्ने हिम्मत पुग्छ ।  आफूले चाहेको परिवर्तनका लागि निर्वाचित जनप्रतिनिधिले समानता, पारदर्शिता, स्वच्छता, सहभागिता र विधिको शासनप्रति ध्यान  दिनु जरुरी छ ।  

झन्डै २० वर्ष खड्किएको जनप्रतिनिधिको अभाव पूरा गर्न निर्वाचित प्रतिनिधिलाई सहज भने छैन । यसबीचमा थुप्रै आकांक्षा बढेका छन्, सम्भावना थापिएका छन् र परिवर्तनका लागि वातावरण तयार भएको छ ।  

स्थानीय स्तरमा आय आर्जनका प्रशस्त सम्भावनाबीच केन्द्र सरकारले विनियोजन गरेको बजेट पनि उलेख्य छ ।  सम्पन्न  नगर वा गाउँ बनाउने प्रसस्त अवसर जुटेका छन् ।  आवश्यक जनशक्ति तयार हुँदै गएको छ ।  नागरिकमा संगठनात्मक क्षमताको विकास भएको छ । सरकारलाई प्रश्न गर्ने क्षमताको विकास भएको छ ।  यस्तो सचेतनाले सुशासनमा मदत पुग्छ तर निर्वाचित प्रतिनिधिको दक्षता र इच्छाशक्ति नै अग्रगामी परिवर्तनको मूल आधार हो  ।  
यसरी नै स्थानीय तहमा लोकतान्त्रिक जवाफदेहीलाई बलियो बनाउन नागरिक समाजको मुख्य भूमिका रहन्छ । स्थानीय काम  कार्यबाही तथा योजना तर्जुमामा नागरिकको प्रत्यक्ष सहभागिताले चाहेको परिवर्तन सहज हुन्छ ।  

अपेक्षित परिवर्तनका लागि नागरिक समाज एउटा हिस्सा हो । सार्वजनिक क्षेत्रमा धोखा, अनियमिता र भ्रष्टाचार नियन्त्रणका लागि पनि  नागरिक समाजको उलेख्य भूमिका रहन्छ ।  तर, हाम्रो देशमा नागरिक समाजको भूमिका संतोषजनक छैन ।  नागरिक समाजका नाममा कुनै दल विशेषको गाथा गाउने परम्पराले नागरिक समाजको शक्तिलाई कमजोर बनाएको छ । विश्वास, विश्वसनीयता र प्रतिबद्धताको निर्माण हुन सकिरहेको छैन ।  

नागरिक समाजसँग सम्बन्धित संस्थाको प्रभाव बृहत्तररूपमा सम्प्रेषण गर्न यसको संजाललाई संगठित र व्यवस्थित गर्नुपर्छ ।  कमजोर कार्य सम्पादन र आन्तरिक विवादमा फसेको नागरिक समाजको संगठनले स्थानीय तहको विकासको लागि सबैको स्वामित्व र साझा जिम्मेवारीको वातावरण बनाउन सक्दैन ।  धरै मुलुकका नागरिक समाजले सरकारलाई जबाफदेही बनाउन उलेख्य सहयोग गरेका छन् ।
एक्लो प्रयासले यथास्थितिमा परिवर्तन ल्याउन कठिन हुने भएकोले अन्य सरोकारवालालाई परिचालन गरेर स्थानीय सरकारलाई जबाफदेही बनाउन नागरिक समाज चाहिने हो ।

 स्थानीय सरकारलाई उत्तरदायी र जिम्मेवार बनाउन नागरिक समाजको ठूलो भूमिका रहन्छ । तर, यसका लागि नागरिक समाजले आफ्नो उद्देश्य र कार्यशैलीमा परिवर्तन ल्याउनु जरुरी हुन्छ ।  
स्वाभाविकरूपमा स्थानीय तहमा परिकल्पना गरिएको परिवर्तन चुनौतीपूर्ण छ । नयाँ नेतृत्वको व्यवहार र कार्य सम्पादन गर्ने शैलीले समेत रूपान्तरणमा प्रभाव पार्छ ।  आफ्नो दायित्वको प्रकृतिको हेक्का राख्न सक्ने र प्रतिबद्ध जनप्रतिनिधिबाट मात्र बृहत्तर परिवर्तनको आशा राख्न सकिन्छ ।     

   

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ५, २०७४  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC