site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
परीक्षामा देउवा, आफ्नैबाट जोगिन गाह्रो

\"\"


विगतमा तीनतीनपटकको प्रधानमन्त्रीय ‘टेस्ट’ मा सन्तोषजनक अंंक हासिल गर्न नसकेका शेरबहादुर देउवाको काँधमा एकपटक फेरि परीक्षाको चुनौती र अवसर आएको छ । बाह्र वर्षपछि अब उनी राम्रो उत्तीर्णांक ल्याएर अघि बढ्छन् वा विगतको निरन्तरतामा असफलताको अर्को मानक बन्छन् भन्ने उनकै इच्छाशक्तिमा भर पर्नेछ । आज नै यो अवसरमा उनी चुक्छन् वा खरो उत्रन्छन् भनेर अनुमान गर्नु हतारो हुनेछ । आशा गरौं, उनी सुध्रिनेछन् । 

विगतमा विभिन्न अपजस बेहोरेका देउवाका लागि यो अवसर हो अपजसको कालो मेट्ने र देशलाई् सम्मुन्नतिको नयाँ मार्गमा डोर्याउने । संक्रमणकालको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको वृक्षको मलजल गर्ने अवसर देउवाकै काँधमा आइपुगेको छ । 

Agni Group

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको राजतन्त्रप्रति मोहभंग भएपछि राजनीतिक छलाङ मार्दै उनी गणतन्त्रको कित्तामा उभिन पुगे र कांग्रेसलाई दह्रो खुट्टा टेकाए । फलस्वरूप, राजतन्त्र नै समाप्त भयो ।

कांग्रेसकै तत्कालीन सभापति सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भयो र यसको नेतृत्व पनि कांग्रेसले नै लियो ।

Global Ime bank

वर्तमान कांग्रेस सभापति देउवा त्यही संविधान कार्यान्वयनकोे शासकीय कार्यभार सम्हाल्न पुगेका छन् । कांग्रेसको यो विरासतलाई उनले पार लगाउन सके भने इतिहासमा उनको कलंक मेटिएला । अन्यथा उनले आफ्नो मात्र राजनीतिक भविश्य समाप्त गर्ने छैनन् कांग्रेसलाई नै संकटमा पार्नेछन् । अपेक्षा गरौँ, त्यस्तो नहोस् । 

\"\"
देउवाका चुनौती 
देउवाको लागि तत्कालको चुनौती नै २०७४ माघ ७ भित्र संविधानले तोकेअनुसार सबै तहको निर्वाचन सम्पन्न गर्नु हो । कार्यकारी प्रमुखले इच्छाशक्ति र इमानदार प्रतिबद्धता देखाउन सक्यो भने हाम्रोजस्तो सानो काम वा कुराले पनि जनताको मन जित्न सक्ने मुलुकमा धेरै गर्न सकिन्छ भन्नेमात्र देउवाले बुझ्नुपर्छ । 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अहिलेको उपलब्धिलाई पूर्णरुपमा आत्मसात गर्नसकेको देखिन्न । देउवालाई प्रधानमन्त्री निर्वाचित गर्दैगर्दा संसद्को रोस्ट्रममा उभिएर सत्ता छाड्दै गरेका पुष्पकमल दाहालकै शब्दमा भन्ने हो भने एमाले अहिलेको उपलब्धि (संघीय लोकतान्त्रिक गणतन्त्र)प्रति प्रतिबद्ध छैन । जति प्रतिबद्ध दाहालको आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) छ । प्रतिबद्धता व्यवहार र संस्कारमा देखिनुपर्छ । आफूले भनेको मात्र ठीक अरु सबै बेठीक भन्ने मनोरोगले ग्रस्त छ एमाले । 

एमालेका लागि गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिकता जस्ता विषय उति साह्रो प्रिय छैनन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा उसले हस्ताक्षर गरेको छ तर पनि संविधानका प्रति एमालेको खुला हृदय छैन ।

एमाले अध्यक्ष केपी ओलीको विचार र भनाइलाई आधार मानेर व्याख्या गर्ने हो भने यो संविधानप्रति एमालेको असन्तुष्टि छरपस्ट नै देखिन्छ । आफू अनुकूल व्याख्या गरेर एमाले नेताहरु संविधानको दुहाइ दिन्छन् । देउवाका लागि पहिलो र एकमात्र आन्तरिक घरेलु चुनौती एमालेलाई यो लोकतान्त्रिक पद्धतिमा सँगसँगै हिंडाउने नै हो । साथै राजपालाई संवैधानिक प्रक्रियामा ल्याएर हिंडाउनु अर्को चुनौती हो । 

यहाँ १२ बुँदे शान्ति सम्झौताको पृष्ठभूमि बन्दै गर्दा नयाँ दिल्लीमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासामु आखिर विद्रोही माओवादीलाई यो प्रक्रियामा ल्याएर के जितिन्छ भनेर एक अनौपचारिक बसाइमा पंक्तिकारले जिज्ञासा राख्दा उहाँले दिएको जवाफ अहिले पनि सान्दर्भिक लागेको छ । उहाँ भन्नुहुन्थ्यो —कम्युनिस्ट हुँ भन्नेलाई ललाइफकाई गरेर हामी प्रजातन्त्रवादीले यही प्रक्रियामा समेटेर भित्र्याउन सक्नु नै हाम्रो जिम्मेवारी हुनुपर्छ, त्यही हाम्रो सफलता हुनेछ । हामी प्रजातन्त्रवादी हौँ, हामी उग्रवादी बाटोमा जान सक्दैनौं, बदलामा उग्रवादको बाटोमा लागेकाहरुलाई पनि फकाइफुलाई यही प्रक्रियामा समेट्नु पर्छ, त्यही भएर म अहिले देशले अरु बढी क्षति बेहोर्न सक्दैन भनेर माओवादीलाई फकाएर भएपनिसंसदीय प्रक्रियामा भित्र्याउन लागेको हुँ । यसमा मलाई सबैको सहयोग चाहिएको छ । नभन्दै कोईरालाले एमाले समान हैसियत दिएर माओवादीलाई संसदीय व्यवस्थामा भित्र्याए ।

यसबीचमा एमालेलाई पनि धेरै अवसर थियो सच्चिने,सुध्रिने र लोकतन्त्रप्रति प्रतिबद्ध भएर खरोरुपमा उत्रने । तर जाँदाजाँदै दाहालले रोस्ट्रमबाट केपी ओलीलाई लक्षित गरेर जिज्ञासा राखे जस्तै छ एमालेको अवस्था । अर्थात्, व्यवहारमा अहिलेको उपलब्धिप्रति एमाले अझै ’रिजर्भ’ रहेको छ र उसका गतिविधि पनि त्यस्तै छन् । एमालेलाई जिम्मेवार प्रतिपक्ष बनाउने र यस उपलब्धिको परिणाम जनताको तहसम्म पुर्याएर कार्यान्वयनमा लैजानका लागि देउवाले गर्ने भनेको नै बाँकी चुनाव हो ।

आफ्नैबाट जोगिनुपर्ने चुनौती 
सत्तामा रहेका शेरबहादुर देउवा समकालीन नेपाली राजनीतिज्ञहरुमा प्रजातन्त्रका लागि संघर्षका क्रममा तत्कालीन शासकहरुबाट बढी यातना पाउनेमध्ये पर्छन् । यातनाका क्रममा उनको जीब्रोमा करेन्ट लगाइदिएको पीडामात्र भोगेका होइनन् राजाबाट अपमानित भएर फालिएका पनि हुन् । प्रजातन्त्र र मुलुकका लागि आफ्नो जीवन सुम्पेका देउवा देउता नै भने होइनन् ।

उनका पनि सामान्य मानिसका जस्तै कैयौं कमजोरी होलान् । तर, सुदूर पश्चिमको डडेल्धुराबाट राजनीतिको केन्द्रमा स्थापित भएका देउवा भाग्यमानी पात्र भने अवश्य हुन् ।
उनले गरेको योगदान र विगतमा भोगेको यातनाका बारे उनी स्वयंले सोच्ने बेला हो यो । आखिर त्यो सबै केका लागि ? त्यो सबै देश र जनताका लागि हो भने इतिहासले पटकपटक यस्तो मौका देउवालाई दिनेछैन जुन मौका उनले पाएका छन् । पार्टीमा उनी आन्तरिक रुपमा प्रतिष्पर्धीविहीन अवस्थामा छन् । आफ्ना सहयात्री रामचन्द्र पौडेलको गनगनको सीमालाई उनी सहजरुपमा व्यवस्थापन गर्न सक्षम छन् ।

मुलुकको सबैभन्दा प्रभावशाली पुरानो दलको निर्वाचित सभापतिका रुपमा उनी अरुभन्दा निकै प्रभावशाली छन् । छिमेक र नेपालका अन्य सहयोगी दाता मुलुक पनि देउवाका पक्षमा सकारात्मक र आशावादी छन् । यस्तो अवसर कमैले पाउँछन् । यस्तो अवस्थामा देउवाले जोगिने भनेको आफ्नै नजिककाहरुबाट हो । देउवाको बुई चढेर रजाइँ गर्न सकिन्छ भन्नेहरुलाई उनले चिन्न सके र शासन सञ्चालनमा त्यस्ता अवसरवादीलाई हालीमुहाली गर्न दिएनन् भने देउवा सफल हुनेछन् । पार्टीभित्र चुनौतीविहीन अवस्थामा रहेका देउवालाई कतैबाट चुनौती छ भने आफ्नै निकटहरुले आआफ्नो स्वार्थ पूरा गर्न प्रयोग गर्नसक्ने चुनौती नै हो । 

संविधानको सर्वस्वीकार्यता 
देउवाको अर्को चुनौती भनेको वर्तमान संविधानलाई अधिकतम रुपमा स्वीकार्य बनाउने नै हो । यद्यपि, यस संविधानप्रति संसद्मा रहेका अधिकांश दल र नब्बे प्रतिशत जनमतको समर्थन रहेको छ ।

हस्ताक्षर गर्न चुकेका विजय गच्छदार र केही विषयमा असहमति राखेका कमल थापा पनि यही संविधानअन्तर्गत बनेका सरकारहरुमा निरन्तर सहभागी छन् र स्थानीय तहको चुनावमा पनि भाग लिएका छन् । संविधान संशोधन र स्थानीय निकायको संख्या थप गर्न माग गरिरहेको राष्ट्रिय जनता पार्टी पनि यही संविधानअन्तर्गत नै देउवा प्रधानमन्त्री चुनिदै गर्दा उनको समर्थनमा मत दिन संसद्भित्रै आएको छ । देउवाका लागि यो यस्तो अवसर हो जहाँ सबैका असहमतिलाई एउटै टोकरीमा राखी छलफल र संवादपछि अधिकतम सहमतिमा बदल्ने । यहाँनिर फेरि पनि देउवाकै भूमिकाको खोजी हुनेछ ।

उनी यो जिम्मेवारीमा कति सफल हुन्छन् त्यसैले संविधानको सर्वस्वीकार्यता र कार्यान्वयनलाई अनुमोदन गराउनेछ । सिंहदरवारको अधिकार गाउँ र स्थानीय निकायलाई दिने मामिलामा नेपालको संविधान उदाहरण नै हो ।

यसमा आफ्नै मौलिकता छ । अब त्यो अधिकार कार्यान्वयन गराउन निर्वाचित स्थानीय निकायलाई सञ्चालन गर्न थालेपछि मात्र जनताले संघीयता, समावेशिता र अधिकार प्राप्तिको वास्तविक परिभाषा बुझ्न पाउनेछन् । बीपी कोइरालाले समेत भरोसा गरेका शेरबहादुर देउवाबाट जनताको यो संविधानप्रदत्त अधिकारलाई प्रयोग गर्न पाउने बाटो बनाउने काम भएमा विगतको खतबातबाट समेत देउवाले सफाइ पाउनेछन् । अब अझ बढी इच्छाशक्तिले काम गरे देउवाका लागि यो कार्यकाल सक्रिय जीवनको उत्तरार्धको एक सुनौलो अवसर हुनेछ । 

इतिहासले सुम्पेको अन्तिम अवसर  
सत्तरीको उमेर काटेका देउवाका लागि वर्तमान राजनीतिक इतिहासले सुम्पेको यो अन्तिम अवसर हो । यो अवसरलाई कुशलतापूर्वक सदुपयोग गर्न सके भने देउवाको राजनीतिक योगदानको इतिहास सकारात्मकरुपमा लेखिनेछ ।

स्थानीय निकायको आसन्न दोस्रो चरणको निर्वाचनमा मधेसवादी दललगायत सबैलाई सहभागी गराई चुनाव गर्ने जिम्मेवारी उनकै काँधमा छ । साथै नेपाली कांग्रेसको शक्तिशाली सभापतिको नाताले उनको जिम्मेवारीमा पार्टीलाई पहिलो दलको हैसियतबाट बहुमत प्राप्त हैसियत दिलाउने र आन्तरिक नेतृत्व व्यवस्थापनको काम ढीलो नगरी सम्पन्न गर्ने जिम्मेवारी पनि छ ।

विगतमा पार्टी सरकारमा रहँदा पार्टी र सरकारका बीच नेतृत्व टकरावको अवस्था थियो । तर, अहिले शेरबहादुर देउवाका लागि कति अनुकूल अवस्था छ भने पार्टीभित्रबाट उनलाई कुनै खतरा र टकराव छैन । त्यसैले यो अनूकुल परिस्थितिलाई देउवाले अधिकतम रुपमा देश हितमा सदुपयोग गर्न सकेमा नै उनलाई भावी पुस्ताले सम्झनेछ । यो उनका लागि अन्तिम अवसर पनि हो । 

(यो लेखकका निजी विचार हुन् । लेखक आद्ध संस्थासँग यी निजी विचारको कुनै सम्बन्ध छैन ।) 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ४, २०७४  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC