site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जब महिलाले मर्ने औषधि मागिन् !!!
Ghorahi CementGhorahi Cement

भौतिक भूकम्पका धक्काहरू आउँछन्, जान्छन् । त्यसका परकम्प केही समय आउँछन् अनि झस्काएर जान्छन् । तर, मनकम्पका बाछिटाहरू जीवनभर रहिरहन्छन् । त्यसैको दस्तावेज हो– ‘भूकम्पमा मल्हमपट्टी ।’

भूकम्पमा धेरैका शरीर क्षतविक्षत बने, मुटु चोइटिए । आफन्त, प्रियजनले सदाका लागि आँखा चिम्लिए । सदाकालीन अंगभंग भए । शरीर सग्लो रहनेको सम्पत्ति माटोमा विलीन भयो । त्यसैगरी विदिर्ण बन्न पुग्यो मन– लेखक/सर्जक रवीन्द्र समीरको ।

पेशाले चिकित्सक हुन् उनी । ०७२ वैशाखमा भूकम्प जाँदा उनी छाउनीस्थित घरमै थिए, खाना खाएर आराम गर्दै गरेका । उनको घरमा निर्मोही व्यास पुगेका थिए । नियात्राबारे छलफल चलिरहेको थियो । एकतमासको आवाज निकाल्दै, धरा–आकाश हल्लाउने गरी भुइँचालो गयो । रुवाबासी, खलबली मच्चायो । मानिसहरू त्राही–त्राही भए । सुरूमा उनले केही मेसो पाएनन् । मेसो पाऊन् कसरी रु उनको जीवनकालकै ठूलो र उत्पात मच्चाउने विनाशकारी भूकम्प थियो त्यो ।

Agni Group

“हातगोडा लगलगी काँपेको देखेर सुरूमा मैले रक्तचाप बढ्यो कि भन्ने आशंका गरेको थिएँ,” उनी अहिले स्मरण गर्छन्, “एक्कासि रिँगटा चलेजस्तो ठानेपछि हातले नाडी छामेँ ।” खट्प्वालबाट बाहिर हेर्दा रुखपात, बोटबिरुवाहरू रंगमञ्चका कलाकारहरूले शरीर हल्लाएझैं नाचिरहेका थिए । र, निधो गरे– भूकम्प गयो ।

करिब एक मिनेटपछि जमिन हल्लिन छाड्यो र सुरु भयो मन हल्लिन । सम्झिए– तुफानभन्दा डरलाग्दो हुन्छ तुफानपछिको सन्नाटा । तर, त्यहाँ सन्नाटा थिएन । चित्कार र कोलाहलमात्रै थियो ।

Global Ime bank

० ० ०

भूकम्पले छाउनीमै त त्यति विनाशलीला मच्चाएन, अन्यत्र कैयौँको उठिबास लगायो । अकल्पनीय पीडा थमायो । रवीन्द्रको मथिंगलले केही सोच्नै सकेन । एक किसिमको शून्यताजस्तै थियो त्यो । शरीरमा आतंकको ज्वरो केही चिसिएपछि उनी सीतापाइला, ठूलो भर्‍याङतिर लागे । भूकम्पले ठूलो क्षति पुर्‍याएको थियो त्यहाँ । रेस्टुराँ, सहकारी र चर्च सँगै रहेको ठाउँ भत्किएर शोकमा डुबेका थिए अधिकांश । कतिको अनुहारमा डरलाग्दो आतंक पोतिएको थियो । दुर्योगले त्यसदिन सहकारीको साधारणसभा, चर्चको शनिबारे प्रार्थना, रेस्टुराँमा छुट्टी मनाउन परिवारसहित आएका गाहकीहरू सबै मोहोरीमा परेको आशंका थियो । “यहाँ त सयौँ मानिस परेका छन्, कसरी निकाल्ने होला ?” क्रमशः हल्लाको पारो तात्दै थियो । मानिसहरू के गर्ने, कसो नगर्ने, अन्योलमा थिए ।

त्यहाँको विद्रूप अवस्था नियाल्दा उनको मन भक्कानियो । क्षणभरमै निष्प्राण बन्न पुगेकाहरू र भूकम्पले अंगभंग बनाएका घाइतेहरू देख्दा उनको छाती चिरियो । सोचे– मैले त जीवन नाफामा पो पाएछु ! अब घाइतेहरूको सेवामा जुट्छु ।

दायाँबायाँ नसोची उनी उद्धारमा खटिए । एम्बुलेन्स बोलाउने र जहाँ सकिन्छ, त्यहाँ पुर्‍याउन थाले । त्यस ठाउँमा करिब ४८ जना हताहत भएका रहेछन् । नेपाली सेना, प्रहरीका अतिरिक्त बाह्य देशका सुरक्षाकर्मीले शव एक–एक गर्दै निकाले ।

घाइतेको संख्या आधा सय नाघेको थियो । त्यस दिन घाइतेको उद्धारमा जुटेपछि भोलिपल्टबाट उनले छाउनीस्थित घरमै उपचार सुरू गरे । “बत्ती नभएकाले कम्प्युटर, प्रिन्टर केही थिएन, तथापि हातैले ‘निःशुल्क स्वास्थ्य शिविर’ लेखेर घरमा टाँसेँ र उपचार सुरू गरेँ,” उनले सम्झिए, “विशेषज्ञ सेवा, उपचार गर्ने अवस्था थिएन । आफूसँग भएका उपचार सामग्री, औषधि आदि लिएर घरमै उपचार गरेँ ।”

भूकम्पको आपतभन्दा पनि भयंकर हुन्छ भूकम्पपछिको विपत । कतिपय भूभागमा भूकम्पले भन्दा पनि भूकम्पपछिको महामारीले धेरैको ज्यान लिएको छ । हेइटी त्यसैको उदाहरण हो । संक्रमण नफैलियोस्, महामारी ननिम्तियोस् भनेर उनले बुताले भ्याएसम्म गरे । त्यसमा उनकी जीवनसंगिनीले पनि साथ दिइन् ।

० ० ०

भूकम्पको तेस्रो दिन उनी आदिम (पुरानो) सहर शंकरापुर पुगे, जसलाई साँखु भनिन्छ । साँखुको ऐतिहासिकता माटोमा विलय भएको थियो । पुराना सम्पदा, काठ, मूर्तिकलाका अद्भूत नमुना सडकमा पछारिएका थिए । साँखु पुगेपछि काठमाडौंको क्षति फिक्का पो लाग्न थाल्यो । भित्री सहरका ९५ प्रतिशत घर क्षतविक्षत थिए । जताततै शवको थुप्रो थियो । मानिसहरू हातगोडा फालेर सडकमा लडिबुडी खेलिरहेका थिए ।

“संयोगले त्यस दिन बज्रयोगिनी माईको मेला थियो । कतिपय खेतमा गएका थिए नत्र लाश नपरेको घर भेट्नै मुस्किल हुन्थ्यो,” त्यो दिन सम्झँदा उनको शरीरमा काँडा उम्रन्छन् । रौँ ठाडा हुन्छन् । उनी सम्झन्छन्, “त्यतिबेला मानिसहरूलाई घर भत्किएको, आफ्नो सर्वस्व गएको भन्दा पनि बाटो नपन्छाएकोमा ज्यादा आक्रोश थियो ।”

हुन पनि बाटोमा थुप्रिएको भग्नावशेषले ओहोरदोहोर गर्न पनि मुस्किल थियो । उद्धार टोली पुग्न सकेका थिएनन् । रवीन्द्रको समूह पनि गाडी बसपार्कमै राखेर बस्ती पस्नुपर्‍यो ।

\"\"

शिविरका दुई उद्देश्य थिए–

पहिलो– जतिसक्दो चाँडो गाउँमा शिविर पुर्‍याउन सके मृतकको संख्या घट्न सक्थ्यो । संक्रमणको सम्भावना दूर हुन्थ्यो । महामारी निम्तिन सक्ने खतरा टार्न सकिन्थ्यो । 

दोस्रो– साधारण घाइतेलाई गाउँमै रोक्न सके सहरमा थुप्रिएका गम्भीर प्रकृतिका घाइतेले सहज उपचार पाउँथे । तिनको उचित स्याहार सुसार हुन्थ्यो । यातायातका साधनको जटिलता बेहोर्नु पर्दैनथ्यो । मस्तिष्कमा यी विचार उत्पन्न भएपछि उनी शिविर खडा गरेर उपचारमा कस्सिए ।

भूकम्प गएको दुई महिना अवधिमा उनी १० जिल्ला पुगे । ५४ ठाउँमा क्याम्प खडा गरे । करिब ९ हजार बिरामी/घाइतेको उपचार गरे । मानिसहरू मनोवैज्ञानिक त्रासमा थिए । जतिखेरै हल्लाइरहने, ठूलो भूकम्प गएको झझल्को आइरहने । रुवाबासी, कोलाहलमात्रै कानमा गुञ्जिरहने । मानिसहरू ‘पोस्ट ट्रमा स्ट्रेस डिसअर्डर (पीटीएसडी) ’मा थिए । त्यसबाट छुटकारा दिलाउनका लागि उनीहरूले ‘सिस्नोपानी नेपाल’को तत्वावधानमा मनोज गजुरेल, लक्ष्मण गाम्नागे, टंक आचार्य, जीवन शर्मा, कमलीकान्त भेटवालसहित पाँचखाल, मेलम्ची, खाडीचौर, धादिङबेँसी, रामकोट, नगरकोट नाल्दुममा परामर्शसभा आयोजना गरे । मानसिक राहतको अनुभूति दिलाए ।

कुराकानीकै क्रममा उनले सुनाए, “मलाई पनि पीटीएसडी रहेछ । एब्नर्मल जस्तै भइसकेको रहेछु । पाखा–पहाड कुद्दा पनि थकाइको अनुभूति भएन । जतिबेलै बिरामीको उपचार गरिरहूँ, घाइतेको सेवा गरिरहूँ पो भयो ।”

त्यतिबेला उनलाई साधारण लाग्यो, अहिले सम्झँदा मुटु चिसो हुन्छ ।

० ० ०

ठ्याक्कै उनलाई दिन याद छैन । शिविर लिएर सिन्धुपाल्चोक मेलम्चीको इन्द्रेश्वरी स्कुल प्रांगण पुगेका थिए । सिन्धुपाल्चोक ०७२ को भूकम्पले पूर्णतया क्षतिग्रस्त ठाउँ हो । साथै सर्वाधिक मानवीय क्षति भएको जिल्ला पनि । चौरमा ६०–७० वटा शव राखिएका थिए । शव नभएका घरै थिएनन् । कसैकसैको घरमा दुई–तीन जनासम्मका शव भेटिए । मलामीभन्दा शव बढी भएको अवस्था थियो । मानिसहरूमा द्विविधा थियो– शवको कुरुवा बस्ने कि मृत्यु संस्कारअन्तर्गत किरिया बस्ने ?

छोरीले दागबत्ती दिइरहेका, बाबुले छोराको दागबत्ती दिइरहेका । देउरानीले जेठाजुलाई मुखाग्नी गरिरहेका, हृदयकविदारक दृश्यको साक्षी बन्नु परेको थियो रवीन्द्रलाई । भूकम्पले घरमात्रै होइन, संस्कार र परम्परासमेत भत्काइदिएको थियो । मेलम्ची बगर सामूहिक चिहान, दाहसंस्कार स्थलजस्तो बनेको थियो । शंखनाद्ले मेलम्ची बजारलाई गिज्ज्याइरहेको प्रतीत हुन्थ्यो ।

जेनतेन उपचार गरिरहेका थिए । घाइतेलाई औषधि दिइरहेका थिए । भीडमा एक्कासि एकजना महिला देखा परिन् । असरल्ल कपाल, कलेटी परेका ओठ । फरियाले भुइँ बढारिरहेको । भन्न थालिन्, “डाक्टर साप् ! तपाईंसँग फ्याट्टै मर्ने औषधि छ ?”

मुखबाट ह्वास्स रक्सीको गन्ध आइरहे पनि उनी होशमै थिइन् । तर, बढो विदिर्ण । अनुहार कैयौँ दिन नसुतेको जस्तो अनिँदो थियो । अनुहार सुन्निएको, डम्म फुलेको । शरीर नियाल्दा लाग्थ्यो– उनी घनघोर पीडामा छिन् ।

“केलाई बाँच्नु रु लोग्ने, छोराछोरी सबै भूकम्पले निलिहाल्यो ! परिवारमा आफू एक्ली छु,” उनी असहाय देखिइन् । र, पीडा दूर गर्न उनले रक्सीको सहारा लिएकी रहिछन् ।

कस्तो उपचार गर्ने रु के औषधि दिने रु रनभुल्लमा परे रवीन्द्र । शरीरमा चोटपटक रहेछ । रक्तचाप जाँच्दा थोरै उच्च देखियो । सिटामोल दिऊँ, सबै एकैचोटि खाइदेलिन् । कस्तो अपहत्ते ! क्षणमै अट्टहास गर्ने, क्षणमै बररर्र आँसु झार्ने । विक्षिप्त थिइन् उनी । सम्झाइबुझाइ गर्छु भनेर लागेको– आँखाबाट आँसु पो फाल हाल्न थाले ।

रक्सी खाएर दुःख दूर गर्ने ती महिला एक्ली थिइनन् । थुप्रै पुरुषको मल्हमपट्टी रक्सी बनिरहेको थियो । “यहाँ त भूकम्पले भन्दा पनि रक्सीले पो ज्यादा मान्छे स्वाहा बनाउलाजस्तो छ,” झल्याँस्स भए उनी । केही समय भूकम्पपीडित बस्तीमा रक्सी नखान जनचेतना पनि जगाए ।

० ० ०

जीवनपुर भूकम्पबाट खण्डहर थियो । त्यहाँ घरमात्र भत्किएका थिएनन्, कैयौँका परिवार उजाडिएका थिए, बस्ती उराठ बनेका थिए । त्यस्तैमा एकजना परेकी थिइन्, गर्भिणी । परिवारका अनुसार चिकित्सकले बच्चा जन्मिने मिति वैशाख १३ गते भनेका थिए । दुर्भाग्यवश उनको वैशाख १२ गतेको भूकम्पमा परी निधन भयो । त्यो सुन्नेबित्तिकै रवीन्द्रको मनमा अतिशय पीडाबोध भयो । त्यो गर्भे बालकले न संसार हेर्न पायो, न मृतकको सूचीमा चढ्न नै सक्यो । त्यस्ता घटना असंख्य छन्, जसले उनको मन–मस्तिष्क तरंगित तुल्याइरह्यो ।

० ० ०

राहत सामग्री बोकेर उनी भूकम्पपीडित भएका अनेक ठाउँ पुगे । गाउँबस्ती चहारे । अनेक ठाउँमा उनको मन कुँडिएका छन् । राहत सामग्रीमा ठूलाबडाकै दबदबा । बाटो छेउमा घर हुनेकै हालीमुहाली । एकान्त, मोटरबाटोले नछोएका ठाउँका पीडितले राहतै नपाउने !

यहाँसम्म कि कतिपय ठाउँमा शिविर गर्न जाँदा ‘जाबो औषधि बाँड्न के आ’को, यहाँ कोही छैन त्यस्ता बिरामी । खाद्यान्न छ भने दिएर जाओ, हैन भने खुरक्क बाटो लाग !’ जस्ता शैलीका तुच्छ व्यवहार झेल्नुपर्‍यो । कतिपयले पाखुरा नै सुर्किए । 

त्यस्तै अर्को नमीठो अनुभव पनि छ । कतिपय ठाउँमा राहतका नाममा मिनरल वाटर, पेय पदार्थ, हातमुख पुछ्ने कागज । यस्ता प्रकृतिका राहत सामग्री दूरदराजका गाउँमा पुर्‍याइएको देख्दा उनलाई हाँसो उठ्थ्यो । खोला, झरना भएको ठाउँमा किन चाहियो मिनरल वाटर र पेयपदार्थ रु खाना नै छैन, टिस्यु पेपरले हात किन पुछ्नुपर्‍यो ? कहाँ के सामग्री चाहिन्छ, ठम्याउन नसक्नेहरू राहत बाँड्न हिँडेको देख्दा उनलाई उदेक लाग्थ्यो ।

खेतमा गहुँका बाला झुलिरहेका छन् । बारीमा आलु खन्ने बेला भएको छ । तर, मानिसहरू एक पोका चामल थाप्न घण्टौँ लाइनमा बसिरहेका छन् । एक प्याकेट बिस्कुटका लागि दिन बिताइरहेका छन् । केटाकेटी नांगैभुतुंगै चाउचाउ थाप्न बसेका छन् । भूकम्पले मानिसलाई आशे पो बनाएछ । कतिखेर राहत आउला र हात थापेर खाउँला भन्ने बानी विकास गर्ने हो कि भन्ने भयले उनका खुट्टा कुँजिए । 


अनि लेखेँ ‘भूकम्पमा मल्हमपट्टी’

दुई महिना अनवरत भूकम्पपीडितको सेवामा खटिए उनी । १० जिल्लाका कुनाकन्दरा पुगे । करिब ९ हजार पीडितको नाडी छामे । ओखतीमूलो गरे । ती घटनाहरू मस्तिष्कको जालोबाट उत्रिनै मानेनन् । बरु पात्रहरू अनेक किसिमले दिमागमा झुत खेल्न थाले । 

“पात्रहरूले मस्तिष्कमा डेरा जमाएपछि किताब नलेखी सुखै पाइनँ,” मुसुक्क हाँसे उनी । यत्तिकैमा उनको अनुहारमा तुँवालो छायो । क्षितिजतिर आँखा डोलाउँदै भन्न थाले, “मैले यस्ता काम धेरै गरेको छु । भूकम्पअघि पनि कर्णालीलगायत केही ठाउँमा औषधि पुर्‍याएको थिएँ । तर, भूकम्पमा गरेको कामजत्तिको सन्तुष्टी अरु काममा लागेन ।”

यो काम गर्दा जतिको खुसी छन्, त्यत्तिकै दुःखी पनि रहेछन् उनी । ‘भूकम्पमा मल्हमपट्टी’ किताब नलेख्न परेको भए पनि हुन्थ्यो नि !

कुराकानीको अन्तिममा ईश्वरै पुकारे उनले, “फेरि यस्ता कथा–व्यथा लेख्न नपरोस् !”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०७४  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC