site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आँसु चोकमा एकदिन
Sarbottam CementSarbottam Cement

“सन्तान आँखाबाट ओझेल पर्दा मुटु चोइटिएजस्तो हुँदो रहेछ !” त्रिभुवन विमानस्थलभित्र टर्मिनल भवनको पहिलो गेटअगाडि तामाकी मुनाजस्ती छोरीलाई बिदाइ गरेपछि उनी धेरै बेर भक्कानिइरहिन् ।

अझै मनले नमानेपछि शौचालयभित्र छिरिन् र डाँको छोड्न थालिन् ।

करिब आधा घण्टापछि बाहिर निस्किँदा उनका अनुहारमा काला डोरा बसेका थिए– शायद गाजलको धर्सा थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी अर्थात् सिन्धुपाल्चोककी वर्ष ५८ की माइली तामाङ ।
२१ वर्षीया छोरी पार्वतीलाई मलेसिया पठाउन त्रिभुवन विमानस्थल आएकी रहिछन् । ओठमा पैयुँको नीलिमा थियो– कलेटी परेको । बूढी औँलामा अस्ति चुनावमा भोट हाल्दा लगाएको मसीको दागजस्तो निख्खर निलो ।

मुख उघारिन् उनले, “यी अस्ति यही हातले भोट हालेँ । तर, नेताहरूले केही गर्दैनन् र गर्छन् भन्ने विश्वास पनि छैन । छोरीलाई बाहिर पठाएपछि सुखका दिन आउँछन् कि !”

Global Ime bank

अस्ति चुनावमा भोट माग्न आउँदा नेताहरूले भनेको नसुनेकी पनि होइनन् उनले– २० वर्षपछि चुनाव हुन लागेको छ, अब गाउँको मुहार फेरिन्छ !

तर, उनको अनुहारमा कुनै चमक थिएन । बरु भनिन्, “अहिलेसम्म यही हातले आठ पटक भोट हालेँ तर हाम्रा दुःखका दिन सकिएनन् । यसपटक फेरिन्छ भन्ने आश छैन । बरु छोरी बाहिर पठाए बुढेसकालमा दुःख पाइँदैनथ्यो कि !”

छेवैमा थिइन् आयुष्मा बम्जन । उनी पनि माइलीकी छोरीसँगै मलेसिया उड्न ठिक्क परेकी । वर्ष २२ की उनी भर्खर स्नातक पहिलो वर्षमा अध्ययन गर्दै रहिछिन् । तर, पढाइ चटक्कै छोडेर बाध्यतावश विदेश उड्न लागेकाले उनको आँखा पनि सिमखेतझैँ रसिलो थियो । दाजुभाइहरू रुमालले मुख छोप्दै बिदाइ–पीडा पोख्दै थिए ।

“देशको राजनीतिक अवस्था देख्दा दिक्क लाग्छ । देश सम्झन्छु– यहीँ बस्न मन लाग्छ । जब परिवारको अवस्था देख्छु– मन भक्कानिएर आउँछ र कतिखेर विदेश उडौँ हुन्छ,” अनुहारमा छत्तीस मुजा पार्दै मनको दुःख खन्याइन् उनले ।

उनीलगायत २२ युवतीहरू नेपाली एजेन्टमार्फत मलेसियाको सोम्लिङ गार्मेन्टमा जान लागेका रहेछन् । 

“मनमा डरले डेरा जमाएको छ । मलेसिया जानु हुँदैन भनेर धेरैले नसुझाएका पनि होइनन् । बाध्यताले लखेटेपछि के गर्नु,” उनको अनुहारमा अझै विस्मयभाव पोतियो । टाउकाको स्कार्फले मुख छोपिन् ।

० ० ०

‘टर्मिनल ए वन’को पछाडि ‘टर्मिनल ए टु’ छ । तर, त्यहाँको दृश्य बिलकुल फरक । प्रायः भ्रमण भिसामा जाने र वैदेशिक अध्ययनमा जानेहरूको प्रवेशद्वार रहेछ त्यो ।

विदेश उड्न लागेकाहरू परिवारसँग बसेर सामूहिक तस्बिर लिँदै गरेका । निधारको टीकाभन्दा चम्किलो अनुहार । ओठबाट उछिट्टिएको जुनेली दीप्ति । परिवारका एकाध सदस्यहरूका आँखा रसाइरहेका थिए । तर, त्यसमा पीडाको प्रतिविम्ब होइन, खुसीकै विम्ब मिसिएको प्रतीत हुन्थ्यो । एकै ठाउँमा बाँचिरहेका फरक दृश्यहरू !

दोस्रो दृश्यले पहिलो दृश्यसँग कति सहानुभूति साट्दो हो– मनमा प्रश्न तीखो बन्यो ।

० ० ०

“बाबु पनि ‘दलाल’ हो कि क्या !”

रामेछापका दलबहादुर तामाङले कापी बोकेर ठिंग उभिएको देख्नासाथ मलाई प्रश्नले चिमोटे । उनको अनुहार उदेकलाग्दो थियो । चप्पल चुँडिएर मोटो प्लास्टिकले बाँधिएको थियो । रगत तररर्र चुहिएलाझैं गोडा पटपटी फुटेका । नलका ठोसाजस्तो अह्ररो दाह्रीमा औँला दल्दै गरिरहेका उनी आकाशमा जहाज हेर्दै विमानस्थलमा टोह्लाउँदै थिए ।

“सबैका आँखामा आँसु देख्दा आफ्नो व्यथा भुलिँदो रहेछ,” भिजेका आँखा हत्केलाले पुछेर ओभाए । र, म एजेन्ट होइन भन्ने थाहा पाउनेबित्तिकै खुलेर बोल्न थाले उनी । माइली तामाङको जस्तै उनको दायाँ हातको बूढी औँलाको नङ र मासुको बीचमा कालो धर्सो थियो– ३१ वैशाखमा मत खसालेको जनाउ । निख्खर कालो रंगले उनको गरिबी र अभावलाई निकै तीखो व्यंग्य गरेको प्रतीत हुन्थ्यो ।

“सरकारले मलेसिया जान कुनै पैसा तिर्नु पर्दैन भनेर गफ गर्छ । निःशुल्क भिसाको वकालत पनि गर्छ तर मैले यही हातले १ लाख ५० हजार तिरेँ बाबु ! राजा नभएको मुलुकमा जसले जे गरे पनि हुँदो रहेछ,” कुरै–कुरामा उनले बह पोखे, “पैसा नतिरेसम्म पासपोर्ट नै दिन्नँ भनेर दलालले धम्क्यायो बाबु । सयकडा २५ को दरले ब्याजमा ऋण काढेर छोरो मलेसिया उडाएँ ।” मुखभित्र आवाज नअडिएजस्तै आँखाभित्र आँसु अडिइरहन सकेन । आवाजसँगै तप्प चुहिहाल्यो ।

उनले ‘राजा छैनन्’ भन्नुको अर्थ राज्य छैन अथवा निरीह छ भनेको सीधा अर्थ लाग्थ्यो । त्यसैले उनलाई कसैसँग आश रहेनछ । प्रतिप्रश्न गरे, “नेताले गरेको भए जनताले यस्तो दुःख पाउनु पथ्र्यो ? बुढेसकालमा छोरानातिको कमाइ खाने बेलामा घँगारुको लठ्ठी टेकेर गौचरनमा छोरो बिदाइ गर्न आउनुपथ्र्यो ? यी सबै आफ्नो मतलबसिद्ध गर्ने हुन् । जो आए पनि केही गर्नी होइनन्, खल्ती भर्नी मात्र हुन् ।”

निःशब्द बनाए उनले ।

“राणा शासनदेखि यता तीन शासन आइसके । तर, सब दुःशासन । कंश पनि यति क्रूर अन्यायी थिएन,” उनी अझै रोकिएनन् । केही बेरपछि उठे र विमानस्थलबाट बाटो लागे ।

० ० ०

गुरु अधिकारी । घर इलाम, एकतप्पा ।

उनी विमानस्थलमा स्टेसनरी सामग्री बेच्न बसेको ०५५ सालदेखि हो । उनलाई विमानस्थल बाग्मतीझैं बदलिँदै गएको लाग्छ । तर, यो प्रतिदिन कुरूप हुँदैछ । जसरी बाग्मतीमा पानी बग्थ्यो भन्दा आश्चर्य लाग्छ, ठीक त्यसैगरी विमानस्थलमा आँसुको भेल बग्दैनथ्यो भन्दा अचम्मित हुन्छ मन ।

“०५५ सालदेखि यहीँ छु, संकटकालदेखि नै सुरु भएको हो यहाँ आँसुको भेलबाढी बग्न,” उनी विगततिर फर्किएर खुइय काढे । अनुहारमा बाक्लो निराशा पोतियो ।

उमेर बढाएर विदेश उडाउन ठिक्क पारिएका किशोरहरू । उनीहरूलाई बिदा गर्न लठ्ठी टेक्दै आएका वयोवृद्धहरू । भक्कानिएका आमाबाबुहरू । यी सबै दृश्यले विमानस्थलको अनुहार हेर्न नपरेजस्तो हुन्थ्यो । मन भरंग हुन्थ्यो उतिबेला । अचेल सामान्य लाग्छ । पच्दै गयो भनौँ ।

मानिसको मन न हो । कहिलेकाहीँ दिलभित्र आँधीतूफान पैदा हुन्छ । सोच्न थाल्छन्– विमानस्थलमा आँसुको भेल बग्न कहिले कम्ती होला ? उत्तर नपाएर प्रश्न मनभित्रै निष्प्राण बन्न पुग्छ, विलय हुन्छ ।

बिदाइ गर्न आएका र विदेश उड्ने तरखरमा लागेका अधिकांशको आँखा रसाउने र कतिपय त भक्कानिएर रुने हुनाले त्यो ठाउँलाई उनले ‘रुवाबासी केन्द्र’ राखिदिएका रहेछन् । र, उनी त्यही केन्द्रअगाडि बसेर पत्रपत्रिका, किताब, कलम र विदेश जानेलाई नेपालका केही चिनोहरू बेच्दा रहेछन् । 

“मलेसिया जानसमेत दलालीको हातमा सवा लाख थमाउनु हुन्छ, आफ्ना लागि ५० रुपैयाँ खर्च गर्नुस्,” उनले मलेसिया उड्न तम्तयार दुई युवालाई मलेसियन भाषाको पुस्तक बेचे पनि ।

“यहाँ दिनभर बस्ने हो भने तपाईंको मनमा पनि विरहको ज्वारभाटा चल्छ । तर, के गर्नु– पोल्नुपर्नेलाई पोल्दैन !” किताब ट्रलीबाट निकाल्दै गर्दा उनको अनुहार उदेकलाग्दो देखियो ।

वैदेशिक रोजगारका विकृति पनि उक्काए–

“यहाँ त भुँडी र बूढी बढ्ने समस्या पनि पो देख्छु । वैदेशिक रोजगारीमा बढोत्तरी आएसँगै समाजमा मौलाउन थालेको विकृतिको उद्घाटन थियो त्यो । वैदेशिक रोजगारीमा जाने केहीले त घरमात्रै होइन, दुई–तीनवटा जहान पनि जोड्दा रहेछन् ।” गुप्त सम्बन्ध विमानस्थलमा छताछुल्ल भएको नदेखेको दिन हुँदो रहेनछ !

“पैसासँगै विकृति पनि कमाएको देखेर खित्का छोड्न मन लाग्छ,” मच्चिएरै हाँसे उनी ।

० ० ०

विमानस्थलको छेवैमा फूल, माला र खादाको व्यापार गर्छिन् माया पोखरेल । माला बेचेर लालाबाला पाल्न थालेको त्यस्तै दुई वर्ष भयो ।  भन्छिन्, “माला बेचेर छाक टार्न सकेकोमा त खुसी नै छु तर फूल, माला किन्न आउनेको अनुहार देखेर उदेक लाग्छ !”

कुराकानीकै क्रममा सर्लाही घर भएका दम्पती आइपुगे । साथमा दुई–चारजना आफन्त पनि थिए । श्रीमतीले प्लास्टिकभित्र राखिएको सयपत्री फूलको माला किनिन् । सिउँदोको सिन्दूर नवविवाहिता दुलहीको झैँ झलमल्ल थियो । तर अनुहार मलिन, ठ्याक्कै ओइलाएको सयपत्री फूलजस्तै !

कुरैकुरामा श्रीमान्ले भने, “जहान जोडेको आज तीन महिना पुग्यो । तर, चुल्हो जोड्न गाह्रो भएपछि विदेशतिर लाग्नुपर्‍यो ।”

उनी कन्स्ट्रक्सन कम्पनीमा काम गर्न कतार जाँदै रहेछन् । श्रीमतीचाहिँ उनलाई छोड्न विमानस्थल आइपुगेकी रहिछन् । भर्खर बिहे भएका श्रीमान्लाई छोड्न आएकी उनी विमानस्थलभित्र प्रवेश गर्न सकिनन् । खुट्टा लगलग काँपे । ओठ कलेटी पर्‍यो । आँखाबाट बरर्र आँसु झरे । उनले त्यहीँ माला लगाइदिइन् र हेर्दै नहेरी आफन्तको काँधमा छाँद हालिन् । विरक्त मानिरहेका श्रीमान् झोला च्यापेर बाटो लागे ।

उनीहरू ओझेल परेपछि माला बेच्न बसेकी आमैले भनिन्, “तपाईंहरू एक–दुई दिन आउनेलाई अनौठो लाग्दो हो । हाम्रो त दैनिकी हो यो !”

० ० ०

त्रिभुवन विमानस्थलको ‘टर्मिनल ए वन’ अगाडि स्थलको नाम परिवर्तन गरेर ‘आँसु चोक’ राख्दा हुन्छ ।

वैदेशिक रोजगारीमा जाने दैनिक औसत ३ हजार मानिस र तिनका आफन्तले आँसु बगाउने ठाउँ हो त्यो । ३४ जिल्लामा स्थानीय निर्वाचन भयो । तर, त्यो तथ्यांकमा कुनै परिवर्तन आएको छैन । मुलुकमा गणतन्त्र आयो । व्यवस्था फेरियो । तर निमुखा, निम्छराको अवस्था फेरिएन । यस्तै दुर्दिन बेहोर्नुपर्छ । ०६२/०६३ को आन्दोलनमा होमिँदा शायदै कोही परिवर्तनकारीले सोचेको थियो ।

वियोगान्त चलचित्रको अन्तिम दृश्यजस्तो भर्खर विवाहबन्धनमा बाँधिएका नवदम्पती । काखेनानी छोडेर गुन्द्रुक–ढिँडोको जोहो गर्न विदेश हानिन लागेकी आमा । बुढेसकालमा लठ्ठीको सहारामा सन्तान बिदाइ गर्न आएका वयोवृद्धहरू । यी सबैको अश्रुलहरले सिँगारिएको टर्मिनल भवन । यस्तो लाग्छ– अचेल त्रिभुवन विमानस्थलमा आँसुको भेल बग्छ र समीपमा बग्ने बाग्मतीको अस्तित्व जीवित छ । 

विमानस्थलबाट बाहिर निस्किँदा झमक्क साँझ पर्न लागेको थियो । बाहिर विदेश जानेको लामो लाम थियो । अँध्यारो सघन हुँदै थियो । एक्कासि मनमा खुल्दुली मडारियो– भोलि आउने बिहानको नियति पनि यस्तै त होला !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०७४  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC