site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तक्मे बूढाका तक्मा
Ghorahi CementGhorahi Cement

साँझ पानी पर्दै थियो, फोन आयो ।

“कता हो ? लौ भोलि बिहान भेटिहल्नु परो,” अलि आदेशसहितको आग्रह थियो कि मैले ‘हस् म बिहान पुग्छु’ भनें ।

बिहान पानी त पर्दै थियो । कोटेश्वरबाट बागबजार जाने मिनीबस नै कुरेर बागबजारको गल्ली पुगें । एउटा लज छ बागबजारमा, म जान थालेको १० वर्ष जति हुन लाग्यो ।

Agni Group

लजको कोठा नं. १०८ । कोठा भनिए पनि भान्सामा कोठा बनाइएको । भान्सा कोठामा हुने स्ल्याब यो कोठामा पनि छ । तर राम्रो भा’छ । बूढालाई किताब कापी, कम्प्युटर राख्न कुनै टेबल चाहिएको छैन । असरल्ल परेको कोठामा स्ल्याबमाथि कम्प्युटर राखेर आँखा नै भित्र छिराउँलाझैं गरेर के गर्दैछन्, महावीर पुन ?

“लु म आएँ । के काम हो ?”

Global Ime bank

“लौ सुन त । मेरा तक्माहरूलाई चटक्क पारेर फ्रेममा राख्नुपरो । कसैले चासो दिन्छ कि ? केही महिना पहिले पनि मैले फेसबुकमा त राखेको यो तक्माहरू लिलाम गरम् भनेर । भनेजत्ति पैसा उठाउन सकिएन यो आविष्कार केन्द्रलाई ।”

मैले ‘हुन्छ’ भनें । तक्माहरू खोज्दै एउटा कार्टुनमा हालें । ‘यस्ता मोटा–मोटा किताब के यसै फाल्नु, म लैजान्छु है’ भन्दै केही किताब पनि कार्टुनमा हालेर हिँडें ।

बाहिर पानी त पर्दै थियो । स्थानीय निर्वाचनको चहलपहल थियो । म यो बागबजार महावीर पुनलाई नै भेट्न भनेर आएको र धाएको पनि करिब १० वर्ष भएछ ।

सन् २००७ को अगस्ट महिना महावीर पुनले म्यागेसेसे पुरस्कार पाएको घोषणा भयो । एसियाको नोबल पुरस्कारका रूपमा हेरिने यो पुरस्कार पाउनेबित्तिकै मैले महावीरलाई फोनमा सम्पर्क गरेको थिएँ । पुरस्कार घोषणाको भोलिपल्टै उनीसँग मेरो भेट भयो । म त्यो बेला ‘कान्तिपुर टिभी’मा काम गर्थें । म विज्ञान प्रविधि र वातावरण विषयमा समाचार संकलन गर्थें । हामीले ‘कान्तिपुर टिभी’मा साँझको पाहुनाका रूपमा महावीरलाई बोलाएका थियाैं । चितवनबाट सिधै काठमाडाैं आएर महावीरलाई हाम्रो समाचार स्टुडियोमा ल्याइयो । पु¥याउने बेला बागबजारसम्म म छोड्न गएको थिएँ । 

म्यागेसेसे पुरस्कार घोषणा भएको करिब १० वर्ष पुग्न लाग्दा महावीरले पाएको त्यही तक्मा म कार्टुनमा हालेर त्यही बागबजारको लजबाट निस्कँदै छु । चटक्क परेको फ्रेम हालेर लिलाम गर्न । 

म्यागेसेसे पुरस्कार पाएपछि महावीरको चर्चा निकै बढ्यो । म्यागेसेसेले उनको चर्चा र कामको चाप पनि बढिरहेको थियो । उनले आफ्नै वायरलेस प्रविधिबाट आफ्नै गाउँ नागीमा लगेको इन्टरनेट देशका अन्य भूभागमा विस्तार गर्दै गए । जिल्लाका सदरमुकामसम्म टेलिकम र इन्टरनेट सेवाप्रदायक पुगे पनि नाफा नदेखिने गाउँहरूमा महावीरकै नेटवर्क आवश्यक पर्छ र अहिले पनि काम गरिरहेको छ ।

सन् २००९ मा मेरो मास्टर्सको थेसिस महावीरले गाउँमा लगेको प्रविधि के हो भनेर गर्ने सुर कसेँ, त्यसपछि मैले महावीरका काम बुझ्न थालैँ अलिअलि । 

महावीर इन्टरनेटका लागिमात्र काम गर्ने होइन रै’छन् । जसरी काठमाडौंमा प्रचार छ, त्यस्तो होइन रै’छ । उनले त समुदायको विकास, शिक्षा र स्वास्थ्यका लागि बढी समय दिने रै’छन् । इन्टरनेट एउटा माध्यम मात्र रै’छ । इन्टरनेटको माध्यमबाट समग्र विकासका लागि उनले म्यागेसेसे पुरस्कार पाएका रै’छन् ।

गाउँदेखि संसारभर महावीरको कामको प्रशंसा भइरहँदा पनि सरकार र सरकार सञ्चालकहरूले गाउँ–गाउँमा इन्टरनेट लैजाने कुरालाई प्राथमिकतामा राख्न सकेनन् । बजारले नै आफैं बिस्तारै इन्टरनेटको महत्व बढाउँदै लगेको छ ।

तर, महावीर ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकम सरकारले खर्च गर्न नसक्दा दिक्क छन् । 

सन् २००९ देखि २०१२ को बीचमा महावीरले अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग निर्माण र प्रचारमा बिताए । हरेक गाउँका गाउँलेहरू मिलेर सामूहिक भान्सा खुवाउने र घरघरमा लगेर पाहुना राख्ने नयाँ मोडलको होमस्टे सुरु भयो । एकपटकमा ४० भन्दा बढी पाहुना राख्न सक्ने गरी तयार गरिएको यो पदमार्गमा पदयात्रीले आरामसँग हिमालको काखमा इन्टरनेट चलाउन पाउने सुविधा महत्वपूर्ण कोसेढुंगा मानिएको छ । इन्टरनेट र समुदाय मिलेर नयाँ ठाउँमा पनि पर्यटक भित्र्याएर महावीरले देखाए ।

महावीरलाई म आफ्नो कथाको पात्रभन्दा बढी चासो दिन थालेको थिएँ । उनका कार्यक्रमहरूमा जान्थेँ । उनीसँग बसेर कुरा गर्ने क्रम बढेको थियो ।

सन् २०१२ को सुरुवाततिर पूर्व–पश्चिम हिमाली यात्राका लागि निस्किने योजना सुनाउँदा महावीर रिसाए, “काम गर्न छोडेर कता घुम्न ?” तर फेरि हौसला दिँदै भने, “ठाउँ–ठाउँको जीपीएस ल्याउनू । मलाई टावर बनाउन चाहिन्छ ।”

महावीर नेपालका कुनै पनि कुनाकाप्चा र पाखाहरू आफ्नो कम्प्युटरमा हिसाब गरेर टावरको अनुमान गर्न सक्छन् । पूर्व–पश्चिम यात्राको चौथो दिन नपुग्दै महावीरको आवश्यकता महसुस भयो मलाई । हामी सुकेटार छोडेर फुम्फे पुग्न नपाउँदै हाम्रो सम्पर्क सारा संसारसँग टुट्यो । जतिजति कञ्चनजंघातिर बढ्यो, त्यति नै सम्पर्क कष्टकर हुँदै थियो । मैलै सम्झिएँ, महावीरले म्याग्दीतिर गरेजस्तो काम यता पनि गरे हुने नि ! किन खाली म्याग्दीमात्र भनिरहनुपर्ने हो र ?

९९ आैँ दिनको यात्रा सकेर काठमाडौं फर्केको केही हप्तामै ठमेलमा रेस्टुराँ खोल्ने तयारी अघि बढेको रै’छ । म पनि पुगें तयारी हेर्न । सोधें, “किन खोलेको रेस्टुराँ ?”

उनले पुलुक्क मेरो मुखतिर घुरेर हेर्दै भने, “कसले दिन्छ पैसा काम गर्न ? कहाँ माग्न जाने ? कहाँ हात थाप्ने ? अब काम गर्ने, मिहिनेत गर्ने अनि गाउँमा के–के चाहिन्छ, लैजाने हो । तिमीले पनि त देखेर आयौ त देश, अब अहिले नगरे कहिले गर्ने ?”

म त्यही दिनबाट ठमेलको रेस्टुराँमा स्वयंसेवक भएँ र अहिलेसम्म पनि छु । 

महावीरलाई नयाँ कुरा र कामको विषेश चासो छ । उनी सधैं हौस्याउँछन्– यो सम्भव छ भनेर । उनी सपनाको बाहेक अरु चिन्ता कम लिन्छन् कि जस्तो लाग्छ । कहिलेकाहीँ त आफ्नो परिवारको भन्दा बढी चिन्ता उनलाई आफ्ना सपनाहरूको छ कि जस्तो लाग्छ ?

रेस्टुराँ खोलेको ६ महिना नपुग्दै ‘लौ एउटा आइडिया आ’छ’ भन्दै आविष्कार केन्द्रको कुरा सुरु भयो । सुुरुमा यो अलि गोप्यजस्तो लाग्थ्यो । म रेस्टुराँ गइरहन्थें । आविष्कार केन्द्रको छलफलमा सहभागी भइन्थ्यो, यो नयाँ र ठूलो कुरा थियो । महावीर दिनदिनै सिंहदरबार धाइरहन्थे– ‘आविष्कार केन्द्र भनेको चानचुने कुरा होइन, तिमीहरू बुझ्दनौ’ भन्दै । पटक–पटक अर्थमन्त्रीहरूलाई भेटेर आएको बताउँदा हामी हाँसेर ‘खै यो बुझ्ने को आउने हो !’ भन्थ्यौं ।

सन् २०१४ मा महावीरले अर्काे विश्वचर्चित सम्मान पाए ‘इन्टरनेट हल अफ फेम’ । इन्टरनेट सोसाइटीले प्रदान गरेको यो सम्मानपछि उनको चर्चा फेरि चल्यो । यसपटक उनका सुट–टाई लगाइएका फोटोहरूले चर्चा पाए । सुट–टाईमा फोटो खिचाए पनि मैले देखेको १० वर्षयता महावीर उस्तै छन् । साधारण लुगा लाउँछन् । बढी चप्पलमै यताउता हिँड्छन्– चाहे काठमाडाैँ होस् या गाउँका कुनै पदमार्ग । तर, १ वर्षयता उनको छटपटाहट बढेको छ– उनले कल्पना गरेको आविष्कार केन्द्रका लागि रकम जम्मा गर्न नसकेकोमा । 

‘इन्टरनेट हल अफ फेम’को तक्मा पनि मसँगै छ कार्टुनमा– लिलामीको तयारीका लागि ।

आविष्कार केन्द्र खोल्ने आइडिया सन् २०१४ देखि नै उनको दिमागमा थियो । तर, उनी सरकारसँग मिलेर काम गर्न चाहन्थे । पटक–पटक सरकार परिवर्तन हुँदा पनि कुनैसँग सहकार्य हुन नसकेपछि १० महिनायता महावीर राष्ट्रिय आविष्कार केन्द्रका लागि जनताको घरदैलो गरेर सहयोग जुटाउने महादान अभियानमा जुटेका छन् ।

यो आविष्कार केन्द्रको सपना पूरा गरे बल्ल केही काम गरेजस्तो हुन्छ । 

अमेरिकी विश्वविद्यालयबाट डिग्री लिएपछि नेपाल फर्केर गाउँ पसेका महावीर सबै नेपालीलाई देशभित्रै राख्ने र सिर्जनशील काममा लगाउने प्रयासमा छन् । यसका लागि उनले विश्वविद्यालयबाट पाएको सम्मानित तक्मा पनि लिलामीमा राखेका छन् ।

“४ करोड त जम्मा भैसक्यो, ५० करोडको लक्ष्य हो । एक–दुइटा एडमा पनि खेलियो । जसले सहयोगको अफर गर्छ, तिनीहरूसँग काम गर्छु । तर पनि म आत्तिएको छु । मैले आफूसँग भएको जग्गा पनि आविष्कार केन्द्रलाई दिइसकें,” महावीरले हिम्मत हारेका छैनन् ।

केही हप्तायता यी पदकहरूको लिलामीका लागि हामीले खुला चर्चा गरिरहेका थियौँ । तर, नेपालभित्र कसैले चासो नदिएपछि अमेरिका लिलामीका लागि लैजाने तयारी भएको छ । आज शनिबारसम्म यो नेपाल कनेक्सनमा हेर्न सकिनेछ ।

“राम्रो पो देखियो त !” आज फ्रेम लगाएका तक्माहरू मिलाएर राखेपछि महावीरले भने । 

“राम्रो भएर के गर्नु अब !” मैले भनें ।

“आफूसँग थन्किएर बसेका यी पदक अरू कसैले संरक्षण गरेर आविष्कार केन्द्रलाई केही जुट्छ भने के भो र ?” अलि मलिन स्वरमा उनले भने । 

मैले एउटा ट्विट सम्झिएँ । ऋषिराम पन्थले हिजो लेखेका थिए, “जिन्दगीमा यति धेरै कमाउन मन छ कि ती पदक किन्न सकूँ र महावीरलाई नै फिर्ता गर्न सकूँ ।”

saurav@storycycle.com

@DhakalSaurav

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०७४  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC