site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेताजी ! कलंकको टीका कहिल्यै मेटिँदैन
Sarbottam CementSarbottam Cement

नेता ती हुन्, जो आफू बाटो बनेर जनतालाई हिँडाउँछन् । तर, ती पनि नेता भएका छन्, जो जनतालाई बाटो बनाएर आफू त्यो बाटोमाथि हिँड्छन् । 

ती नेता नै देउता हुन्, जो जनताको मनमन्दिरमा बस्छन् । 

सिधा प्रश्न गरेँ– शेरबहादुरजी ! लज्जा के हो ? तपाईंहरू कसका नेता ? 

Prabhu Bank
Agni Group
NIC Asia

शेरबहादुरजी ! सबैभन्दा पहिला यो प्रश्न तपाईं र पुष्पकमल दाहालजीलाई हो । 

विधिको शासनविरुद्धको कुरुक्षेत्रमा तपाईंहरूको लज्जाजनक पराजय भएको छ, स्वीकार्ने कि नस्वीकार्ने ? अब कुन योग्यताले आफूलाई योग्य ठान्ने ?

Global Ime bank

यही प्रश्न तपाईंजस्ता सबै दलका, सबै दलदलका र सबै दलबलका नेताहरू रामचन्द्र पौडेल, खड्गप्रसाद ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, कमल थापा, विजय गच्छदार, महन्त ठाकुर, उपेन्द्र यादवलगायत राजेन्द्र महतोजीहरूलाई पनि हो । तपाईंहरूले पनि कुनै न कुनै रूपमा सधैं विधिको शासनविरुद्धको चलखेललाई नै राजनीति बनाउनु भएको छ । र, बारम्बार लज्जास्पद पराजय पनि भोग्नुभएको छ । तर, अझै आफूलाई नै योग्य नेता ठान्दै हुनुहुन्छ ?

कसरी मानौं तपाईंहरूलाई नेता ? नेताका घर जनताका आस्थाकेन्द्र मानिन्छन् तर तपाईंहरूका घर डन, दलाल र माफियाका अखडा भएका छन् । सडकमा राष्ट्रवादको गीत गाउने मुख तपाईंहरूकै हुन्छ । राष्ट्रघातको ग््य्रान्ड डिजाइन तपाईंहरूकै कोठाबाट आउँछ । तपाईंहरूलाई कुन भगवानले बनाए, जसको मुख र मन कहिल्यै मिल्दैन ! 

जनता साना घरमा बस्छन् । तपाईंहरू ठूला घरमा बस्नुहुन्छ । ठूला घरबाट निस्केको दूर्गन्धको भेल र धूवाँको मुस्लोले देश प्रदूषित भइसकेको छ । छ्या.. ठूला घरभित्र कति धेरै फोहर ! आफ्नै देशका नेता छेउ पर्दा नाक थुन्नुपर्ने दुर्भाग्य कस्तो हुन्छ ? अरु कुन देशका नागरिकले बोहेरका होलान् हाम्रोजस्तो दुर्भाग्य ? 

प्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ घरको चर्चा भाइरल भयो । किनभने त्यो सानो घर, घरमात्र हैन, निष्ठाको मन्दिर पनि हो । छ, तपाईंहरू कुनै नेताको यस्तो घर ? 

नेताहरूका महँगा र सुकिला लुगाले आङ र अंग छोपिन्छ तर अनुहार नांगै छ । नांगो अनुहारमा ‘फूल’ हैन लज्जाका अण्डाकार ‘फुल’ फुल्न थालेको धेरै भइसक्यो । निष्ठाका नेत्र जब लोभ, लालच र स्वार्थका कचेराले पुरिन्छन्, तब आफ्नै अनुहारमा झुन्डिएका फुल आफैंले देखिँदैन । तपाईंहरू प्रायः सबैका अनुहार हेरिनसक्ना छन् । 

नेताहरू ! तपाईंहरूलाई म डेनिस लेखक ह्यान्स सी एन्डरसनको कथाको बादशाह जस्तो देख्न थालेको छु । 

बादशाहलाई देशको परवाह थिएन, नयाँ–नयाँ पोशाक र सुखसयलको तृष्णामात्र थियो । एकदिन दुई चतुरले बादशाहका लागि नयाँ पोशाक बनाए । हावाले बुनेको कपडा भनेर बादशाहलाई पहिराए । बदलामा बादशाहबाट अथाह सम्पत्ति पाए । बादशाहले आफ्ना अनुचरलाई सोधे, सबैले ‘महान् व्यक्तित्व’ भनिदिए । बादशाह त्यही पोशाकमा नगरको परेडमा गए । बादशाहसामु असल देखिन वरिपरिका सबैले प्रशंसा गरे, महान् भनिदिए । बादशाहलाई देखेर एउटा सानो बालख कहालिएर रुन थाल्यो । रुँदै भन्न थाल्यो, “बादशाह त नांगै छन् ।”

अहिले म त्यो बालकजस्तै भएको छु । मेरा आँखा त्यो बालखका आँखाजस्तै भएका छन् । नाक थुनेर हिँड्न थालेका ‘आमजनता’ नेताको नग्नता देखेर आफ्ना आँखा छोप्न बाध्य छन् । 

शेरबहादुरजी ! प्राडो र पजेरो संस्कृति भित्र्याएर नेपाली राजनीतिलाई धनधान्य बनाउने श्रेय तपाईंसँग छ । ऊबेलाको सांसद् खरिदबिक्रीको ‘धन्धा’ अहिलेसम्म चलेको छ । उहिले ती हाम्रा जनप्रतिनिधि थिए, सांसद् थिए । हाम्रा जनप्रतिनिधिलाई तपाईंहरूले ‘भेडाबाख्रा’मा रुपान्तरण गरेर ‘प्राइस ट्याग’ लगाउनुभएको हो कि हैन ? 

जनतालाई अझै भ्रम छ, प्रतिनिधि चुन्यौं । तपाईंहरू भ्रममुक्त हुनुहुन्छ– जनताले फेरि ‘भेडाबाख्रा’ छानेर पठाएका छन् । खेलोफड्को चलिरहेको छ । यो घृष्णास्पद अभ्यासको अन्त्य तबसम्म हुन्न, जबसम्म तपाईंहरूको पुस्ता रहन्छ । 

सबै दलका सबै नेताले सधैं राज्य र राज्यका अंगलाई मौरीको रसिलो चाको ठान्नुभएको छ । मह काढ्ने, हात जनतालाई चटाउने, आफूले डाडु डुबाउने गर्नुभएको छ कि छैन ? तपाईंहरू कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेसवादी वा अरु जो–जो हुनुहुन्छ, आँखा चिम्लेर राष्ट्रको ढुकुटीमा डाडु डुबाउनु हुन्छ । हो, कि हैन ?

शेरबहादुरजीले सर्वोच्च अदालतलाई पनि त्यही चाको देख्नुभो । मह काढ्न झुम्राको सुत्लामा महाअभियोगको आगो सल्काएर कोच्नुभो । तर, त्यो मौरीको चाको थिएन, अरिंगालको गोलो थियो । 

यसलाई दृष्टिभ्रममात्र हैन, मतिभ्रम पनि भनिन्छ । राजनीतिमा मतिभ्रम अयोग्यताको ‘ए प्लस’ ग्रेड हो । 

सुशीला कार्की प्रधानन्यायाधीश मात्र हैन, उनका कर्मले उनलाई न्यान्याधीपति बनाएको छ । विधि–विधान र नीति–नियमका संरक्षक भनेर चिनाएको छ । ‘राक्षसीरूप’ विरुद्ध उभिने दुर्गाको अवतारका रूपमा उभ्याएको छ । बाँच्ने कर्म नै हो, मान्छे हैन । 

शेरबहादुरजी, देशका नीति–नियम, विधि–विधानलाई कुल्चेर, किचेर, मिचेर, थिचेर, मारेर सत्ता र पैसाको खेलोफड्को गर्ने तपाईंमात्र हैन, सबै हुन् । सत्तालाई तपाईंहरूले जुवाको खालमात्र हैन, ‘रेडलाइट जोन’ जस्तो बनाउनुभएको छ । जो तिर्खायो, गयो, प्यास मेट्यो । त्यही गरेर, त्यही देखेर, त्यही सिकेर फेरि पनि त्यही गर्नुभो, अरिंगालको घानमा पर्नुपो । जनता जनार्दन पनि हुन्, अरिंगाल पनि हुन् । 

बामदेव गौतमजीले सुरु गरेको प्रहरी महानिरीक्षक शिकारको बिँडो सबैले थाम्नुभो । त्यसपछिका कुनै नियुक्ति विवादरहित भएनन् । त्यही बिँडो समाएर धेरै महानिरीक्षक भए, अन्ततः प्रायः सबै जेल गए । नेताका शिकारलाई प्रधानन्यायाधीशले जेल कोच्नु अपराध ठहरियो । महाभियोगलाई गुडियाको खेल सम्झिनुभो । तपाईंको ‘अनाडीपन’लाई अरु के भनौं ? शब्द छैन, धिक्कार भनेँ । 

टुकुचाको गन्धेपानी पिएर हजार अपराध गर्नेले अरुलाई पवित्रताको पाठ नसिकाउँदा राम्रो । तपाईंहरूका मन–मस्तिष्कमा सधैं स्वार्थ र लालचको टुकुचा बगेको छ । त्यो सफा गर्नुस् । 

मानिसबाट त्रुटि हुन्छ । मानिसले गल्ती गर्छ । त्रुटि र गल्ती क्षमायोग्य हुन्छन् । तर, कसैले त्यही गल्ती बारम्बार दोहो¥याउँछ भने त्यो गल्ती हैन, अपराध हुन्छ । अपराध कहिल्यै क्षमायोग्य हुदैन । त्यसलै भष्मासूरहरू कहिल्यै क्षमायोग्य छैनन् ।

नेताज्यूहरू ! तपाईंहरूले त्रुटि र गल्ती हैन, सधैं अपराध गर्नु भएको छ । बारम्बार गर्नुभएको छ । तपाईंहरूले जतिपटक, जति ठूलो अक्षम्य अपराध गरे पनि सधैं क्षम्य हुने ? तपाईंहरू नै सधैं सत्ताको योग्य भइरहने ? के राजनीतिमा अपराध नै योग्यता हो ? लज्जाहीनताको पराकाष्ठा योभन्दा अर्को के हुन्छ ?

आज नेपाल दक्षिण एसियाको सबैभन्दा गरिब मुलुक भनेर चिनिएको छ । सगरमाथाको देश हैन, विश्वकै सबैभन्दा अग्ला भ्रष्टाचारी नेताहरूको देश भनेर चिनिएको छ । किन तपाईंहरूलाई अलिकति पनि लज्जाबोध छैन ? किन अलिकति पनि संकोच हुँदैन दुर्नाम कमाएर बाँच्न ? देशको दुर्गतिको जिम्मा कसले लिने ? 

तपाईंहरूले आजसम्म कति अपराध गर्नुभएको छ, थाहा छ ? आफैं तोक्नुस् तपाईंहरूलाई के अभियोग लगाउने ? महाभियोगभन्दा ठूलो अभियोग के हुन सक्छ ? के सजाय दिने ? देशको दुर्गतिको कारण तपाईंहरू हो कि हैन ? 

सबै पार्टीका यी सबै नेतालाई यिनै हरफबाट प्रश्न गर्न चाहन्छु– तपाईंहरूमध्ये को छ चोखो ? छातीमा हात राखेर जन्म दिने आमाको कसम खाएर भन्न सक्नुहुन्छ, मैले राष्ट्र लुटेको छैन भनेर ?

राष्ट्र भनेको माटोमात्र हैन, मातृभूमि हो । मातृभूमि आमा हुन् । मातृभूमि लुट्नु र मातृघात गर्नु समान अपराध हो कि हैन ? 

एउटा अपराधीले आफ्नो अपराध लुकाउन अर्को झन् ठूलो अपराध गर्छ । त्यही स्थिति, त्यही मनस्थिति, त्यही दिशा र त्यही गतिमा तपाईंहरूले सधैं त्यस्तै अपराध गर्नुभएको छ कि छैन ? रावणले जटायुका पखेटा छिमलेजस्तो देशका योग्य, कर्मठ र इमान्दार व्यक्तिको पखेटा छिमलेर आफ्नो कुत्सित स्वार्थ पूरा गर्नेभन्दा अरु बहादुरी कसले के गर्नुभो ? 

औषधि ‘डेट एक्सपाएर’ भएपछि विष हुन्छ । प्रयोग गरे मान्छेको मृत्यु पनि हुन सक्छ ।

तपाईंहरू देशका लागि ‘डेट एक्सपाएर’ औषधिजस्तो भइसक्नुभएको छ । तर, अक्सिजन लिएर भए पनि देश टोक्न छोड्नुहुन्न । देश मरिरहेको छ, अस्तिभन्दा हिजो, हिजोभन्दा आज । जनतालाई सधैं भोलिको त्रास छ । यो अपराध हो कि हैन ?

अभिभावकको भूमिका निभाउनुपर्ने देशको जेठो र जिम्मेवारी पार्टीका नेताहरूले विवेक गुमाउँदा लोकतन्त्र झनै बदनाम हुँदै गएको छ । शेरबहादुरजी ! कलंकको टीको कहिल्यै मेटिँदैन । 

नेताज्यूहरू ! स्वार्थको कचेरा पखालेर विवेकका आँखा खोल्नुस् । 

देशको प्रधानमन्त्री बन्ने भनेको आफ्नो रहर पूरा गर्नलाई नै हो । अहिलेसम्म धेरैले रहर पूरा गर्नुभो । तर, देश लज्जित छ, यो कस्तो लोकतन्त्र ? 

आगे ‘गणेशमानजीका भेडा’हरूको मर्जी । खराउपूजा गरेर आफ्ना नेतालाई एन्डरसनको कथाझैं बादशाह बनाउने कि कांग्रेस बचाउने ? लोकतन्त्रलाई थप बदनाम हुनबाट बचाएर सुदृढ बनाउने कि कांग्रेसको डुंगासँगै लोकतन्त्रको जहाज पनि डुबाउने ?

नेताज्यूहरू ! जनतालाई विकल्प स्वीकार्न वाध्य नबानउनुस् । जनताका मनमन्दिरमा बस्ने देउता बन्नुस्, शुभकामना ! 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०७४  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC