काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावलाई अधिनायकवादी कदमको संज्ञा दिएको छ ।
पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधिश कार्कीमाथि महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेर स्वतन्त्र न्यायालय र सासहिक प्रधानन्यायाधिशमाथि ठाडो हस्तक्षेप गरेको प्रतिक्रिया पनि दिए ।
न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले प्रधानन्यायाधिश कार्कीमाथिको महाअभियोग नेपालको न्यायिक इतिहासकै दुःखद् घटना भएको पनि उल्लेख गरे ।
उपनेता नेम्वाङले प्रधानन्यायाधीश कार्कीले न्यायालयमा देखाएको साहस र भ्रष्टाचार विरोधी गतिविधिलाई सहन नसक्नेहरुले महाअभियोग लगाएको आरोप पनि लगाए ।
उपनेता नेम्वाङले प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावलाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको टिप्पणी पनि गरे ।
उनले प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोग पूवाग्रही भएको उल्लेख गर्दै त्यसविरुद्ध गम्भीर भएर सोच्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।
सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रले आईतबार आईजीपी नियुक्तीमा त्रुटिपूर्ण फैसला गरेको, न्यायालयमा गुटबन्दी गरेको लगायतका अभियोग लगाई प्रधानन्यायाधिश कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको थियो ।