काठमाडौँ । अक्षर काकाका नामले साहित्यकर्ममा चिनिने रामनाथ खनालले पहिलो आख्यान ‘देउती ल्याएका छन् । शनिबार पत्रकार एवम् लेखक नारायण वाग्ले, समीक्षक गुरुङ सुशान्त र लेखक स्वयम्ले त्यसको लोकार्पण गरेका हुन् ।
सिन्धुपाल्चोकको सिन्धु र इन्द्रावती परिवेशको कथा समेटीएको उपन्यासमा आधा शताव्दीअघिको सामाजिक विषमता उतारिएको छ । विशेष गरेर सिमान्तकृत, किनारीकृत समुदायको आवाज उठाउन रुचाउने लेखकले शिवपुरी–इन्द्रावती परिवेशको सामाजिक मनोदशा दुरुस्त उतारेका छन् ।
उपन्यासमा कथ्य भाषा, आञ्चलिकता र नारीको मनोदशालाई विभिन्न शिल्पमा प्रस्तुत गरिएको छ । उपन्यासमा तत्कालीन समयमा एकल महिलाले भोग्नुपरेको दुःख र पीडाको प्रतिबिम्ब छरपस्ट छन् । जुन आजको सन्दर्भमा पनि पुरानो नलाग्ने लेखकको दाबी छ ।
अनावरणकै अवसरमा पत्रकार वाग्ले र समीक्षक सुशान्तले ‘आख्यानमा इतिहास लेखन’बारे विचार–विमर्श गरेका थिए ।
२४३ पृष्ठमा समेटिएको उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।