site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ऐना
Sarbottam CementSarbottam Cement

आजको रात तपाईंहरू जुन कथाहरू सुनाउँदै हुनुहुन्छ, त्यसलाई दुइटा श्रेणीमा राख्न सकिन्छ । एउटा त त्यस्ता कथा छन्, जसमा एकतर्फ जीवित मान्छेहरूको कथा छ भने अर्काेतर्फ मृत मान्छेहरूको । त्यस्ता शक्तिको उपस्थिति छ कि एउटा दुनियाँबाट अर्काे दुनियाँमा आउने–जाने काम सम्भव छ । भूत, पे्रत आदि यसै श्रेणीमा पर्छन् । दोस्रो किसिमको कथामा पराभौतिक क्षमता, पूर्वाभास र भविष्यवाणी गर्न सक्ने क्षमता समेटिएको छ । तपाईंहरूको कथा यसै श्रेणीमा पर्छ ।

साँच्ची नै भन्ने हो भने तपाईंहरूको सबै अनुभव यिनै दुई श्रेणीमा विभाजन गर्न सकिन्छ । जसले भूत देख्छन्, उनीहरूले भूत नै देखिरहन्छन् । उनीहरूलाई अरु कुराको पूर्वाभास हुँदैन । जसलाई पूर्वाभास हुन्छ, उनीहरूले कहिल्यै भूत देख्दैनन् । यस्तो किन हुन्छ, मलाई थाहा छैन । 

शायद यो पहिलो वा दोस्रो कुराप्रति तपाईंहरूको व्यक्तिगत झुकावका कारणले पनि हुन सक्दछ– कम्तीमा मलाई त यस्तै लाग्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, केही मान्छेहरू भने आजकल कुनै पनि श्रेणीमा आउँदैनन् । उदाहरणका लागि मलाई नै हेर्नुहोस् न । आफ्नो ३० वर्षे उमेरमा मैले आजसम्म न त कुनै भूत देखेको छु, न त मलाई कुनै पूर्वाभास नै भएको छ । मैले कुनै भविष्यवाणी गर्ने खालको सपना पनि देखेको छैन ।

एकपल्ट म केही साथीहरूसँग लिफ्टमा थिएँ । उनीहरूले कसमै खाएर भने– लिफ्टमा हामीसँगै एउटा भूतको प्रतिछाया पनि थियो । तर, मैले त केही देखेकै थिइनँ । उनीहरूले दाबी गरेका थिए कि मेरै छेउमा श्वेत वस्त्र लगाएको एक महिलाको धमिलो आकृति थियो । कमसे कम मैले त कुनै आकृति देखेको थिइनँ । म र मेरा अन्य दुई साथी–हामी तीनै जना लिफ्टमै थियौँ । मेरा मित्रहरू त्यस्ता पनि थिएनन् जसले मलाई डर देखाएर बेवकुफ बनाउन झुट बोलेका हुन् । यो सारा घटनाक्रम असामान्य थियो तर पनि सत्य कुरा त यो हो कि मैले आजसम्म भूत देखेको छैन । 

Global Ime bank

तर एकपल्टको कुरा हो, मात्र एक पल्टको । एकपल्ट म अति नै डराएको छु, जब मलाई ऐठन भएको थियो । यो घटना भएको १० वर्षभन्दा बढी नै भइसकेको छ तर मैले यसको बारेमा कसैलाई पनि सुनाएको छैन । यो घटना सम्झिँदा पनि म झसंग हुन्छु । मलाई लाग्थ्यो कि सम्झिँदा मात्रै पनि त्यो घटना फेरि दोहोरिन सक्छ । त्यसैले म यतिका वर्ष चुपचाप बसेँ । तर, आज सबैले आ–आफ्ना डरलाग्दा अनुभव सुनाएका छन् र पाहुना हुनुको कारणले मैले पनि तपाईंहरूलाई त्यस्तै कुनै अनुभव सुनाउनु मेरो कर्तव्य बन्छ । सुन्नुस् म डराएको त्यो कथा ः

१९६० को दशक अन्त्यतिर विद्यार्थी आन्दोलन चरमोत्कर्षमा थियो । यो त्यही समय थियो, जतिबेला मैले विद्यालयको शिक्षा हासिल गरेको थिएँ । म ‘हिप्पी पिँढी’को हिस्सा थिएँ, त्यसैले विश्वविद्यालयमा भर्ना हुन अस्वीकार गरेँ । यसको साटो मैले जापानमा घुमीघुमी ठाउँठाउँका श्रमिकहरूलाई उपयुक्त हुने काम गरेँ । मलाई यस्तो महसुस भइसकेको थियो कि जीवन बाँच्नुको सही तरिका भनेको मेहनत मजदुरी गर्नु नै हो । हुनसक्छ तपाईं मलाई युवा र अधीर भन्नुहुन्छ । आज पछाडि फर्केर हेर्दा मलाई लाग्छ– म त्यो समय बिन्दास जीवन बाँचिरहेको थिएँ । यस्तो जीवन जिउने मेरो छनोट सही थियो वा गलत– मलाई थाहा छैन । तर, फेरि मलाई त्यस्तो मौका मिल्ने हो भने मैले त्यही जीवन छान्नेछु ।

पूरै देश घुम्न थालेको दुई वर्ष भइसकेको थियो । हिँउदको बेला थियो– मैले केही समय विद्यालयमा चौकिदारको काम गरेँ । यो विद्यालय निगाता क्षेत्रको एउटा सानो सहरमा थियो । लगातारको कामले म साह्रै थकित थिएँ । म केही आरामदायी कामको खोजीमा थिएँ । राति चौकिदारीको काममा खासै केही गर्नु पर्दैनथ्यो । दिउँसोको समयमा म स्कुलको पियनको कोठामा सुत्थेँ । रातिमा मेरो काम सामान्य थियो– केवल दुईपल्ट विद्यालयको चक्कर लगाएर के–कस्तो छ, हेर्नुपथ्र्यो । बाँकी समय म संगीत सुन्थेँ, पुस्तकालयमा गएर किताब पढ्थेँ, जिममा गएर एक्लै बास्केटबल पनि खेल्थेँ । कुनै विद्यालयमा पूरा रात बिताउने काम त्यस्तो नराम्रो होइन । तपाईंलाई लाग्छ– म डराएको थिएँ ? अहँ, बिल्कुलै थिइनँ । जब तपाईं १८ वा १९ वर्षको हुनुहुन्छ, तपाईंलाई कुनै कुराको केही परवाह हुँदैन । 

मलाई लाग्दैनथ्यो कि तपाईंहरूमध्ये कसैले रातमा चौकिदारको काम गर्नुभएको छ । त्यसैले मैले चौकिदारको कामकाजबारे भन्नुपर्छ । तपाईंले हेरचाह गर्दै रातमा दुई चक्कर लगाउनुपर्छ– ९ र ३ बजे । यही तपाईंको काम हुन्छ ।

जुन विद्यालयमा मैले जागिर खाएको थिएँ, त्यसको एउटा भवन तीनतले थियो । बीस वटा कोठा थिए । यो खासै ठूलो विद्यालय थिएन । नियमित कक्षाका अलावा संगीत, कला र विज्ञान प्रयोगशालाका लागि एउटा–एउटा कोठा थिए । त्यसबाहेक शिक्षकहरू बस्ने एउटा ठूलो कोठा थियो, प्रधानाध्यापकको अफिस कोठा थियो एउटा । कफी पिउने एउटा पसल, एउटा व्यायामशाला र एउटा नाट्यशाला पनि । राति यी सबैको चक्कर लगाउनु मेरो काम थियो ।

रातमा पहरेदारी गर्दै चक्कर लगाइरहँदा मैले चेकलिस्टमा चिन्ह लगाउँथें– हरेक कोठाको । मलाई लाग्छ– म ओछ्यानमा बसीबसी पनि चिन्ह लगाउन सक्छु । तर, त्यसो भन्दैमा मैले विद्यालयको चक्कर लगाउने कष्टबाट मुक्ति पनि त पाउँदिनथेँ । म त्यस्तो गैरजिम्मेवार थिइनँ । आखिरमा विद्यालयको चक्कर लगाउन त्यति समय लाग्ने पनि त होइन । यदि राति कतै चोरी भयो भने जिम्मेवारी पनि मेरै हुन्थ्यो ।

जेसुकै होस्, राति ९ र ३ बजे मैले पूरै विद्यालयको चक्कर लगाउँथेँ । मेरो बायाँ हातमा टर्च हुन्थ्यो, दायाँ हातमा एउटा लौरो र पुरानो तरवार । स्कुलमा हुँदा मैले तरवारबाजी सिकेको थिएँ । त्यसैले मैले कुनै आक्रमणकारीलाई सहजै भगाइदिन सक्छु भन्ने आत्मविश्वास थियो । यदि कोही आक्रमणकारी पेशेवर नभएर ऊसँग असली तरवार हुन्थ्यो भने पनि म डराउँदिनथेँ । तपाईंलाई थाहा छ नि, म त्यतिबेला युवा थिएँ । आजको समय हुन्थ्यो भने म कुलेलम ठोक्थें ।

जे होस्, यो घटना अक्टोबरको एउटा तुफानी रातमा घटेको थियो ।

मौसम एकदमै गर्मी थियो । साँझ पर्नेबित्तिकै लामखुट्टेको झुण्ड जम्मा भइसकेको थियो । मैले लामखुट्टे भगाउन थुप्रै धुप बालेँ । बाहिर तुफान आँधीहुरी थियो । स्विमिङ पुलको ढोका फुटेको थियो, तेज हावामा त्यसकै खटखट आवाज आइरहेको थियो । किला ठोकेर ढोका बनाइदिऊँ जस्तो पनि लाग्यो तर बाहिर चकमन्न अँध्यारो थियो । त्यसैले त्यो ढोका रातभर त्यसैगरी बजिरह्यो । 

त्यो रात ९ बजे पहरेदारी गर्दा सबै ठीकै थियो । मैले चेललिस्टका सबै बीस वटै चिजमा चिन्ह लगाएको थिएँ । सबै ढोकामा ताला झुन्डिएका थिए, सबै चिज आ–आफ्ना स्थानमा यथावत् थिए । कहीँ कतै पनि केही बिग्रेको थिएन । म पियनको कोठाका आएँ । ३ बजे उठ्नका लागि घडीमा अलार्म लगाएँ । ओछ्यानमा पल्टनेबित्तिकै म निदाएँ । 

३ बजे अलार्म बजेपछि म उठेँ । केही अनौठो लाग्यो । मैले तपाईंहरूलाई ठीकसँग बुझाउन सक्दिनँ तर मलाई केही फरक महसुस भइरहेको थियो । यस्तो लागिरहेको थियो कि मानौं कुनै चिजले ओछ्यानबाट उठ्ने मेरो प्रयासलाई थिचिरहेको थियो । सामान्यतया म ओछ्यानबाट उफ्रिँदै उठ्छु, त्यसैले मैले केही थाहा पाइनँ । म जोडले उठ्नुपर्ने भयो ।

म सुत्नुअघि स्विमिङ पुलको ढोका चर्को हावाका कारण बजिरहेको थियो तर अहिले केही भिन्न तरिकाले बजिरहेको लाग्यो । पक्कै केही न केही अनौठो थियो । बाहिर जान मन लागेन । तर, पनि मैले आफ्नो मन बनाएँ– जेसुकै होस् आफ्नो काम त गर्नैपर्छ । यदि तपाईं आफ्नो कर्तव्यबाट एकपटक विमुख हुनुभयो भने पटक–पटक हुनुहुन्छ । म यो झमेलामा पर्न चाहन्थिनँ । त्यसैले म टर्च र लौरो लिएर विद्यालयको चक्कर लगाउन निस्किएँ ।

यो वास्तवमै अनौठो रात थियो । रात छिप्पिँदै गइरहेको थियो, सँगै हावाको रफ्तार पनि बढ्दै थियो । मेरो शरीर चिलाउन थाल्यो । कुनै चिजमा एकाग्र हुन सकिनँ । पहिले व्यायमशाला, नाट्यशाला र स्विमिङ पुलको चक्कर लगाउने निर्णय गरेँ । त्यहाँ सबै ठीकठाक थियो । स्विमिङ पुलको फुटेको ढोका तुफानी हावामा यसरी बजिरहेको थियो कि मानौं त्यसलाई पागलपनले सताएको थियो । डरलाग्दो र अनौठो !

विद्यालय भवनभित्रको स्थिति सामान्य नै थियो । म हरेक स्थानमा नजर राख्दै बीसबँुदे चेकलिस्टमा चिन्ह लगाउँदै हिँडिरहेको थिएँ । तर, मलाई केही अनौठो लागिरहेको थियो । वास्तवमा अहिलेसम्म त्यस्तो केही भएकै थिएन, जसलाई अनौठो भन्न सकियोस् । शान्तिको सास फेरेर म पियनको कोठामा फर्किन लागेको थिएँ । चेकलिस्टमा केवल एउटा चिजमात्रै बाँकी थियो– विज्ञान प्रयोगशाला । यो प्रयोगशाला भवन पूर्वी भागको कफी पसलसँगै थियो । पियनको कोठा त्यहाँबाट ठीक विपरीत दिशामा थियो । यसको अर्थ– फर्किने बेला मलाई पहिलो तलाको लामो गल्ली पार गर्नुपथ्र्यो । त्यहाँ चुक घोप्टाएझैँ अँध्यारो थियो । आकाशमा जून उदाउँदा त्यो गल्लीमा पनि मधुर प्रकाश परिरहेको हुन्छ ।

अँध्यारो छिचोल्न टर्चको उज्यालो छरें र अघि बढेँ । मौसम विभागको पूर्वानुमानअनुसार यो क्षेत्रमा सुनामी आउने सम्भावना थियो । त्यसैले पनि जून उदाएको थिएन । बाहिर आकाशमा बादलको भीषण गडगडाहट थियो । जमिनमा तुफानी हावाले स्वर मच्चाइरहेको थियो ।

म बिहानीको अपेक्षा गर्दै अगाडि बढ्दै थिएँ । मेरो जुत्ताको सोलबाट त्यो सन्नाटामा अनौठो आवाज सुनिन्थ्यो । त्यो सोलको रंग कालो थियो, मलाई आज पनि सम्झना छ । 

विद्यालयको प्रवेशद्वार आधा गल्ली हिँडेपछि आउँथ्यो । म त्यहाँबाट आइरहँदा अँध्यारोमा मैले केही देखेँ । म नराम्ररी अत्ताल्लिएँ । मेरो निधारबाट पसिनाको धारा छुट्न थाल्यो । तरवारको बिँडलाई कसिलो गरी समातेँ र त्यतैतिर एकटक हेरिरहें । टर्चको उज्यालो जुत्ता राख्ने दराजसम्म पु¥याएँ ।

त्यहाँ मानव कदको ऐना थियो, जसमा मेरो प्रतिविम्ब देखिइरहेको थियो । अघिल्लो रात यहाँ कुनै ऐना देखेको थिइनँ । कसैले दिउँसो नै ऐना राखिदियो होला । हे भगवान् ! मेरो सातोपुत्लो उड्यो ।

ऐनामा मेरो अनुहार देखेर थोरै राहत महसुस भयो । तर म नराम्रोसँग डराएकोमा आफैंप्रति ग्लानि भयो । 

टर्च भुँइमा राखेर चुरोट सल्काएँ । एकदमै नियालेर त्यो ऐनामा आफ्नै अनुहार हेरें । बाहिर सडकबाट मधुरो प्रकाश झ्याल हँुदै ऐनामा परिरहेको थियो । मेरो पछाडि स्विमिङ पुलको ढोका अहिले पनि उही लयहीन तालमा बजिरहेको थियो । 

चुरोटको एक–दुई सर्काे तानेपछि मैले अनौठो कुरा देखेँ । ऐनामा देखिइरहेको मेरो प्रतिविम्ब वास्तवमा मेरो थिएन । बाहिरबाट बिल्कुलै मेरैजस्तै लागिरहेको थियो तर त्यो म थिइन । त्यो म त थिएँ तर अर्कै म थिएँ । कुनै दोस्रो म, जुन नहुनुपर्ने थियो । मलाई थाहा छैन, म तपाईंहरूलाई कसरी सम्झाऊँ । मलाई त्यतिबेला कस्तो अनुभव भइरहेको थियो, अहिले बुझाउनै सक्दिनँ ।

मैले बुझें– ऐनामा देखिएको प्रतिविम्बले मलाई घृणा गथ्र्यो । उसको घृणा समुद्रमा तैरिरहेको हिमखण्डजस्तो थियो । एउटा यस्तो घृणा, जसलाई कसैले मेटाउन सक्दैनथ्यो ।

म केहीबेर त्यसै उभिइरहेँ । मेरो चुरोट औँलाबाट फुस्केर भुँइमा झ¥यो । ऐनामा देखिएको चुरोट पनि भुँइमा झ¥यो । एक–अर्कालाई घुर्दै हामी त्यहाँ उभिइरह्यौँ । मलाई लाग्यो– कसैले मेरो हातखुट्टा बाँधिदिएको छ । म अलिकति पनि चल्न सकिरहेको थिइनँ । 

अन्ततः उसको हात हल्लियो । उसको दायाँ हातका औँलाले चिउँडो छोए र बिस्तारै कीराजस्तै उसका औँलाहरू उसकै अनुहारतर्फ बढे । अचानक मैले पनि महसुस गरेँ कि मेरा औँलाहरू पनि त्यस्तै हर्कत गर्दै थिए । ऐनामा रहेको व्यक्तिको प्रतिविम्बले मेरा हरेक कुरालाई कब्जा गरेको जस्तो लाग्थ्यो । 

भित्रबाटै आफ्नो सम्पूर्ण शक्ति एकत्रित गरी म बेस्सरी चिच्याएँ । आफूसँगै रहेको काठको तरवार उठाएर त्यो ऐनालाई बेस्सरी हिर्काएँ । मैले सिसा फुटेको आवाज सुनेँ । पछाडि नर्फकी म दौडिएर कोठातिर लागें । कोठा पुग्नेबित्तिकै मैले भित्रबाट ढोका लगाएँ र सिरकभित्र घुसेँ । मलाई एक्कासि त्यही चुरोटको चिन्ता लाग्यो, जुन मेरो हातबाट खसेको थियो । तर म त्यहाँ कुनै हालतमा जानेवाला थिइनँ । बाहिर तुफानी हावाले प्रचण्ड स्वर मच्चाइरहेको थियो । स्विमिङ पुलको ढोका बिहानसम्मै पनि उस्तै लयहीन बजिरहेको थियो । 

मलाई पूर्ण विश्वास छ– तपाईंहरूले मेरो कथाको अन्त्य थाहा पाउनुभयो । वास्तवमा त्यहाँ कहिल्यै कुनै ऐना नै थिएन ।

सूर्याेदय हुनुभन्दा पहिले नै सुनामीको कहर बन्द भइसकेको थियो । तुफानी हावा चल्न बन्द भएको थियो, बाहिर एउटा घमाइलो दिन उदाएको थियो । म विद्यालयको मूल ढोकामा गएँ । मेरो औँलाबाट खसेको चुरोट अहिले पनि त्यहीँ थियो । मेरो भाँचिएको तरवार पनि त्यहीँ थियो । तर, त्यहाँ कुनै ऐना थिएन । फुटेका काँचका टुक्रा पनि थिएनन् त्यहाँ । पछि सोधपुछ गर्दा थाहा भयो– त्यो ठाउँमा कहिल्यै कुनै ऐना लगाइएकै थिएन । 

मैले त्यहाँ जे देखेँ, त्यो भूत थिएन । त्यो त म नै थिएँ । म यो कुरालाई कहिल्यै बिर्सन सक्दिनँ कि त्यो रात म कति डराएको थिएँ । जब मलाई त्यो रातको याद आउँछ, मेरो मनमा यही विचार उत्पन्न हुन्छ– विश्वमा सबैभन्दा डरलाग्ने चिज हाम्रो आफ्नै रूप हो । तपाईंलाई के लाग्छ ? 

तपाईँलाई लाग्दो हो– मेरो घरमा एउटा पनि ऐना छैन त ! मेरो कुरामा विश्वास गर्नुस्– बिनाऐना दाह्री काट्न सिक्नु कुनै सहज काम थिएन । 

अनुवाद: उपेन्द्रराज पाण्डेय 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०७४  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC