site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेस्मिक ल्यान्डस्केप
Ghorahi CementGhorahi Cement

कपालमा भूकम्पको बज्रपात 

भद्रपुर बजार, लेखनाथ चोकको नाईको दुकानमा पसेको छु । पसलभित्र श्वेत दाह्री र उच्च ललाट भएका कवि शिरोमणि लेखनाथ पौड्यालको चित्र छैन, बरू प्रियङ्का चोपडाको ग्ल्यामरस पोस्टर छ । 

मानव–हात्ती द्वन्द्वको रिसर्चका क्रममा जिल्ला वन कार्यालय, झापामा पसेको थिएँ । काम सकिनासाथ नाईको दुकान खोज्दै हिँडेँ । पसलमा काठका तीनवटा साधारण कुर्ची छन् । ग्राहक नभएकाले कुर्ची रित्ता छन् ।

Agni Group

उखरमाउलो गर्मीमा नाई उँघिरहेकाजस्तै देखिन्छन् । म छिरेपछि सतर्क हुन्छन् र एउटा कुर्चीतिर बस्न हातले इसारा गर्छन् । एउटा कुनामा राखिएको पानको बिडा उठाउँछन् र मुखमा हाल्छन् । क्षणभरमै उनको कुशल हातको कैँची कहिले हावामा, कहिले मेरो कपालमा नाच्न थाल्छन् । 

अगाडिको ऐनामा नियाल्दै सम्झिन्छु पत्नी अमृतालाई । सम्झँदै हाँस्छु पनि । घरबाट निस्कँदा उनले भनेकी थिइन्, “अब झापामै कपाल काटेर आउनू । यताको भर नपर्नू ।”

Global Ime bank

२५ अप्रिलको भूकम्पको क्षति तत्कालै जनधनमा देखियो । त्यस भयावह घटनाको कल्पना पनि गर्न मन लाग्दैन । सम्झनाले फेरि भयको सञ्चार गराउँछ भन्ने डर लाग्छ । समयले सबै घाउ पुर्छ भनेको सत्य रहेछ । मानिसहरूमा भूकम्पको मनोवैज्ञानिक त्रास क्रमशः बाहिरिँदै थियो । तङ्गिँ्रदै थियो । 

एकदिन अचानक ख्याल आयो, कपाल लामो भइसकेछ । टोल नजिककै नाईको दुकान पुगेँ । दुवै बन्द रहेछन् । भूकम्पको प्रभाव आफ्नै कपालमाथि बज्रेको बोध भयो । दुई, चार दिन धाउँदा पनि पसल खुलेको नदेखेपछि वास्ता गर्न छाडिदिएँ । कपाल कति ठूलो कुरा हो र भन्ने प्रश्नले गिज्यायो पनि । 

सम्झना भयो, भूकम्पलगत्तै काठमाडौँ छाड्नेहरूको हजारौँ, लाखौँको ताँती । एक्सोडसको चाप बढेपछि केही संस्थाले उपत्यकाबाट बाहिरिनेलाई निःशुल्क बसको व्यवस्था पनि गरेको थियो । 

अप्ठ्यारोमा ओत दिने स्थानलाई छाडी जान असङ्ख्य मान्छे तँछाडमछाड गर्दै थिए । नाईहरू पनि उपत्यका छाड्न हतारिएछन् । कपाल बढेर सिकसिक लाग्न थाल्यो तर कपाल काट्न पाइएन । भूकम्पको प्रभाव कपालका रौँमा समेत पर्दो रहेछ भन्ने अनुभवले विचित्रताबोध गरायो । 

नाईमात्र होइन, दिनहँु दर्जनौँ पटक खाली बोत्तल, पुराना कागज भनी कराउँदै हिँड्ने र फलफूल बेच्नेहरू पनि शिवभक्तमार्गमा देखिन छाडे । मेरो टोल हठात् शान्त भएको थियो । ती श्रमजीवीहरूले टोलवासीलाई सेवा त पु¥याइरहेकै थिए तर उनीहरूमा कमाउने प्रयोजन अचाक्ली हावी थियो । अवसर मिले, ठगी पनि हाल्थे । एकपटक मैले समातेँ पनि । उस्तै परे महँगो तिर्नुपथ्र्यो, डेलिभरी शुल्कसमेत । 

हाँसो पनि उठ्यो । न नाईको दुकान, न पानदुकान । न मिठाई भण्डार, न माछा पसल । नामनिसाना थिएन । सबै मान्छेलाई आफ्नो ज्यानै सबभन्दा प्यारो हुन्छ भन्ने सोच्दा त्यो घटना स्वाभाविक भएर आउँथ्यो तर शतप्रतिशत नै कुलेलम ठोक्ने सामूहिक प्रवृत्ति सम्झँदा उदेक पनि लाग्थ्यो । 

कपाल काटेपछि छुरा लगाउने पालो आयो । उनले सेभिङ क्रिम दले । त्यसपछि एक्कासि बाहिर निस्किए । किन ? म छक्क परेँ । पान थुक्न रहेछ । पानको हल्का गन्ध बोकेर उनी भित्र पसे र छुराबाट पुरानो ब्लेड निकाले । त्यसको स्थानमा नयाँ ब्लेड हाले र छुरा चलाउन थाले । 

भैरहवा बसाइमा सिकेको हिन्दी बोलेँ मैले, “काठमाडौँ मे तो अभी बार्बरका सप बन्द हैं, इस लिए अब इधर कपाल कटा रहा हुँ । मालुम नहीँ, कब तक ऐसा रहेगा ?”

एकैछिनमा लाग्यो, किन हिन्दीमा बोलेको हँुला ? नेपालीमै बोलेको भए पनि हुन्थ्यो । नाई पनि के कम, भन्यो, “सब लोग डर गया होगा, मैँने भी टीभी मे देखा था, बहुत डरवाना भूकम्प था ।” तर, सबैले काठमाडौँ छाडेका थिएनन् । डर लाग्दालाग्दै पनि सामना गरेकै थिए सयौँ परकम्प ।

५० रुपियाँ तिरेर पसलबाट निस्किँदा मैले गब्बरसिंहलाई सम्झँे । ‘शोले’ फिल्ममा खाकी पहिरन लगाएको गब्बरसिंह बेल्टलाई पत्थरमा लतार्दै गर्जन्छ, ‘जो डर गया, सम्झो वो मर गया ।’ जे होस्, पत्नीको सुझावले काम गरेको थियो र कपाल काट्न नपाएको तनावलाई झापामा विसर्जन गरेको थिएँ ।


ज्यापू दाइको बारीको पाटा 

ज्यापू दाइको बारी घर नजिक नहुँदो हो त, पोस्ट–क्वेक जीवन धेरै गुणा दुःखदायी हुने निश्चित थियो । नजिकै भएकाले धेरै राहत पाउन सक्यौँ । बारीको पाटा टोलबासीको आश्रयस्थल बनेको थियो । पाटैभरि बग्रेल्ती पालहरू टाँगिएका थिए । मनमा डर र त्रासको अवशेष टाँगिएझैँ । 

समय चकमन्न थियो । हावा त्रास बोकेर ओहोरदोहोर गथ्र्यो । मानवदेह भयले खुम्चिएर निन्याउरो अनुहारमा सीमित थियो । त्राहिमाम् त्राहिमाम् माहोल थियो । भयानक युद्धबाट कसो कसो बँचेको जस्तो मानसिकता सबैले बोकेका थिए । एफएममा मर्ने, घाइते हुने र सम्पत्ति क्षतिको विवरण अनवरत आइरहेको थियो । मोबाइलको ब्याट्री बेलाबेलामा सकिएर सूचनाको प्रवाहमा व्यवधान उत्पन्न हुन्थ्यो । 

सबैको हालत खस्केको थियो । केही भई पो हाल्ने हो कि ? आशङ्का व्याप्त थियो । आपत्, आपत्, आपत् । विपद्, विपद्, विपद् । लगातारको परकम्पले शरीर त थाकेको थियो नै, मस्तिष्क पनि क्लान्त बन्दै गएको थियो ।

समय रोकिएर ठप्प थियो । जीवनका उदात्त तरङ्ग अचानक विशाल पत्थरमा ठोक्किएर चकनाचुर भएको थियो । सिङ्गो जीवन खुम्चिँदै बारीको पाटामा लडेको थियो । उभिन खोजेको तर उभिइनसकेको मान्छेको जीवन कस्तो मरन्च्याँसे देखिएको थियो भने त्यसको उचाइ बन्दाकै हाराहारीको देखिन्थ्यो । 

मलाई सात्र्रको नासिया छोप्न आइरहेको भान हुन्थ्यो । म दगुरिरहेको थिएँ । भेटाउन नदिन । दुई–चार दिन त्यसै गुजारेपछि एकदिन पालबासीसँग मैले प्रस्ताव राखेँ, “केही रकम उठाएर बारीधनीलाई सहयोग गरौँ ।”

वास्तवमा त्यो खुला स्थानमा हामीले ठूलो त्राण पाएका थियौँ । भूकम्पलगत्तै सबैले उनैको बन्दाबारीमा धावा बोलेका थियौँ । अरू उपाय पनि थिएन । त्यसैले म ज्यापू दाइप्रति कृतज्ञ बनेको थिएँ । 

थाहा पाएँ, उनी मखनतिर बस्दा रहेछन् । बारीका घोचाहरू उखालिदिएका थियौँ । बन्दा र आलु सत्यानाश पारिदिएका थियौँ । मलमूत्र, फोहोरमैला प्रदूषणको त कुरै भएन । एकदिन शिविरका केटाकेटीका साथमा फोहोरमैला बटुल्न लगाई एउटा कुनामा फोहोर जलाएका थियौँ । सफा वातावरणमा बस्न पो आनन्द ! आखिर मान्छे फोहोरमा बस्ने जाति त होइन नि ! सकुन्जेल शान्त र हरियाली स्थानमा बस्ने हो । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाबाट सिकेको अनुशासन थियो त्यो । तर, सरसफाइलाई निरन्तरता दिन सकिएन ।

स्वेच्छाले जे जति उठ्छ, सहयोग गरौँ भन्ने कुरा भयो । सल्लाह मिल्यो । सहयोग एकपल्टको मात्र कहाँ हो र ? अर्को पटक पनि पाटामै आउनुपर्ने हुन सक्छ । लगातारको परकम्पले हामीलाई दूरगामी बनाएको थियो । 

सहयोगका निम्ति अनुरोध गर्न हामी चार जना प्रत्येक टेन्टमा पालैपालो पस्यौँ । शिविरमा २०–२५ परिवार भएकाले दुई, तीन हजार उठ्ने अनुमान थियो । एकाध सय जति सकिन्छ, उठाएर धनीलाई दिऊँ । तरकारीबारीमा  नोक्सानी भएको छ, बारी छेउको शौचालय दुर्गन्धित भएको छ । फोहोरै टिप्न पनि कसैलाई लगाउन सक्छ धनीले । १५ घरले सजिलै दिए । आधाआधीले गज्जबकै अभिनय गरे । सय, ५० रुपियाँका निम्ति पनि अनेकन् बहाना बनाए । मान्छे कति अररो प्राणी ? गुणग्राही बन्न केले रोक्दो रहेछ ?

रवीन्द्र मिश्रको पुस्तक ‘खान पुगोस्, दिन पुगोस्’ सम्झँे । खान नपुगेर त दिन आनाकानी गरेका होइनन् ? प्रश्न पनि उब्ज्यो । एकाध सयको कुरा थियो । फेरि स्वेच्छाको रकम थियो । भूकम्पले मान्छेलाई भर्खर धेरै कुरा बताएर गएको थियो । धनकै कुरा गर्दा शायद बारीधनीलाई नदिए पनि हुन्थ्यो तर व्यावहारिक रूपमै कृतज्ञता दर्शाउन चाहन्थ्यौँ हामी । नत्र धन्यवादको भारीले च्यापेर मार्न हामी कम छैनौँ । खोक्रो शब्दप्रति हाम्रो अचम्मको मोह छ । 

चानचुन २३ सय रुपियाँ उठ्यो । रकमको जिम्मा मैले लिएँ । केही दिनपछि उनी बारीमा आएको मौका पारी रकम बुझाएँ । उनी अलि अप्ठ्यारो मान्दै थिए । 

भोलिपल्ट नै शिविरमा गाइँगुइँ सुनिन थाल्यो । कसले पैसा उठाउन थालेको हो यस्तो विपद्मा ? पैसा उठाएर के गर्न खोजेको हो ? किन दिने त्यस्तालाई पैसा ? दिक्क लाग्यो त्यो खबर सुन्दा । 

शिविरसंसार गज्जबको रहेछ । किसिमकिसिमको, अनौठो, विविध आर्थिक सामाजिक र सांस्कृतिक पृष्ठभूमिका मान्छे बस्ने भएकोले त्यस्तो भएको होला । फेरि हामीलाई अरूबारे अनावश्यक टिप्पणी गर्दै बस्न फुर्सद पनि छ । सकारात्मक सोच राख्ने जमात त नगण्य नै भइसक्यो । 

सानो अनुभव नै मलाई पर्याप्त भयो । सामाजिक कार्यमा दत्तचित्त भएर लाग्ने इमान्दार र कर्मठ अगुवाहरूको जीवन अनुभव झन् कस्तो होला ? कस्तो इस्पातले बनेका मान्छे होलान् ती ? ६, सात दिनमै शिविरको आँखीझ्यालबाट मान्छेको सामाजिक मनोविज्ञान प्रस्ट देखेँ ।  

भूकम्प पनि छ है

कवि गोपालप्रसाद रिमालले क्रान्तिको सिंहनाद गर्दै लेखेथे, ‘एक जुगमा एक दिन एकचोटि आउँछ ।’ भूकम्पमा पनि त्यो सूक्ति लागू हुँदो रहेछ । यस्तो भूकम्प पनि जुगमै एकपटक आउँदो रहेछ । त्यसैले सर्ट मेमोरीको बाहुल्य भएको मान्छेका स्मृतिबाट भूकम्प हराउँदो रहेछ । 

रिमालको एक दिन क्रान्तिमा सवार भएर आउँछ । तर, भूकम्प कसैमा सवार नभईकन, प्राकृत रूपले आउँछ । विचार, सङ्गठन, पार्टी र लडाकुसँग लेनादेना नभएरै । 

मान्छेले मान्छेबीचकै सम्बन्धलाई बढी महत्त्व दिन्छ । प्रकृतिसँगको सहअस्तित्वमा मानिसको ध्यान कमै गएको छ । प्रकृति र पर्यावरणप्रति चिन्ता कतै देखिन्छ भने, प्रकृतिसँग तादात्म्य भई बसेका आदिवासी समुदाय, अध्यात्मले स्पर्श गरेका ध्यानीहरू, वातावरणीय विज्ञानका विद्यार्थी, ग्रिन एक्टिभिस्ट र सीमित समूहमा मात्र । नत्र मानव जाति समग्रमा एन्थ्रोपोसेन्ट्रिक हुँदै गइरहेको छ, जसले ब्रह्माण्डको केन्द्रमा मानिस हुन्छ भन्ने मत राख्छ । 

मानवअधिकार, अर्थशास्त्र, मानवशास्त्र, समाजशास्त्र, प्रविधि यसैका खोज, पद्धति र उपकरण हुन् । प्राकृतिक नियमलाई बुझ्ने मान्छेको जिज्ञासा पर छुट्दै गएको छ । इकोसेन्ट्रिज्म अर्थात् आत्मनिर्भरित इकोसिस्टमको अपरिहार्यतामात्र आदर्श बनेको छ । राजनीति त पूरै एन्थ्रोपोसेन्ट्रिक स्कुलिङको मार र भारमा थिचिएको छ । भूगोल, भूगर्भशास्त्र, प्राणीशास्त्र, जीवविज्ञान, वनविज्ञान, जैविक विविधता, जलाधार संरक्षण, इकोलोजी आदि विषय परिधिको प्राथमिकतामा परेको छ । 

अक्षांश र देशान्तरको सिरानी हालेर फल्टलाइनमाथि सुतेको छ देश । नीतिनिर्मातालाई चासो छैन । देश फ्राजाइल हिमालयनको काखमा अवस्थित छ, नेतालाई मतलब छैन । खुला स्थानहरू प्लटिङका लागि अन्धाधुन्ध मिचिएको छ, नगरपालिकालाई चिन्ता छैन । नौसिखिया ठेकदारहरू हाइराइज भवन बनाइरहेछन्, प्रशासनलाई हेक्का छैन । देश निद्रामा हिँडिरहेको छ । स्लिप वकिङ् । 

भूगर्भविज्ञान र प्राकृतिक विपद् व्यवस्थापन सार्वजनिक बहसको केन्द्रमा हम्मेसि आउँदैनन् । आउँछन् त, पाँचतारे होटलको मौसमी सेमिनार र गोष्ठीमा मात्र । नेताको पटरपटर बकबकमा मात्र आउँछन् । बोसे बुद्धि भएका तर मानवता रत्तिभर नभएका ब्रोइलर विज्ञको कार्यपत्रमा मात्र आउँछन् । पार्टीका चुनावी घोषणापत्रमा आउँछन् । 

जुगमा एकचोटि आउने भएकाले भूकम्पलाई हामी चटक्कै बिर्सन्छौँ । जुगमै एकचोटि आउने भएकाले यसले उथलपुथल गर्छ भन्ने पनि हामी बिर्सन्छौँ । हामी बरू जुगमा अनेक पटक आइरहने विषयमा सदैव व्यस्त रहन्छौँ । त्यो व्यस्तता हामीलाई सुविधाजनक लाग्छ ।

हामी रङ, वर्ण र लिङ्गमा मात्र होइन, रौंको छिद्रसम्म विभाजित हुन्छौँ । उदारतालाई ढुलमुले भन्छौँ । ससाना कुरामा मरिहत्ते गर्छौं । हस्याङफस्याङले जीवनको बिग पिक्चर देख्नबाट वञ्चित हुन्छौँ । मान्छेको उदात्तताको मूल्य कम आक्छौँ । भूकम्प पनि छ भन्ने बिर्सन्छौँ । तसर्थ, भूकम्प जाँदा हामी तिलस्मी घटना भएजस्तै कहालिन्छौँ, चिच्याउँछौँ, लत्तो छाड्छौँ र रनथनिन्छौँ । 

भूकम्पबाट ज्यान जोगिँदा लागेथ्यो, दोस्रो जीवन पाएँ । अब नयाँ ढङ्गले जीवन जिउँछु । अनावश्यक लोभ, मोह, वासना, क्रोध त्यागेर सरल ढङ्गले बाँच्छु । अरूको पनि त्यस्तै अनुभव सुनेको थिएँ । तर, समय बित्दै जाँदा मान्छे फेरि चलाख हुँदै जादो रहेछ र बिष्टा खाने चतुर कागजस्तो बन्दो रहेछ । उही वृत्तमा फर्किंदो रहेछ ।

हाम्रो अवचेतन मनमा भूकम्प पनि छ भन्ने बोध छिर्नु अत्यावश्यक छ । जीवनको क्षणभङ्गुरताको बोध गराउन पनि भूकम्प आइरहनु पर्छ । सेस्मिक ल्यान्डस्केपमा बसेपछि त्यो बोध सजिलै हुनुपर्ने हो तर हाम्रो ट्रेजेडी ! हामीले भूकम्पलाई क्रमशः बिर्संदै गइरहेका छौँ । 

मनकारी हातहरू 

परकम्प आइरहँदा, गइरहँदा एक बिहान विक्रम लोप्चनको फोन आयो । उनी रसुवावासी हितैषी हुन् । स्याउबारी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव पनि । स्याउबारी तामाङ गाउँ । मेरो पीएचडीको अध्ययन क्षेत्र । 

त्यसै क्रममा आउजाउ गर्दा उनीसँग सम्बन्ध जोडिएको थियो । फोनमा उनको स्वर अलि असहज सुनिन्थ्यो, “रोशन सर, नमस्ते ! भूकम्पले गाउँमा धेरै क्षति भएको छ । जिल्लामा हाम्रो पहुँच नभएकाले राहत पाउन सकेनौँ । तपाईंले सहरमा मान्छेहरू चिन्नुभएको होला, केही गरिदिनुहुन्छ कि ?”

एकै सासमा बोलेका थिए उनी । सहयोग माग्नुपर्दा स्वरले अप्ठ्यारो टिपेको हो कि ? मनमा भाव आयो– खोइ के गर्न सकिएला र ? अब परेन आपत् ? तर, जवाफमा भनेँ, “विक्रमजी, म साथीभाइ, इष्टमित्रहरूसँग सल्लाह गर्छु र के गर्न सकिन्छ, हेरूँला नि ।”

उनको आग्रह धेरै स्वाभाविक थियो । स्याउवारी समूहले मेरो अध्ययनमा सहयोग गरेको थियो । अन्तरक्रिया, सर्वेक्षण र वन नापजाँचमा सघाएको थियो । आफूले सघाएको मान्छेलाई आवश्यक पर्दा सम्झनु स्वाभाविकै हो । तर, सहयोग माग्न अप्ठ्यारो मान्ने मेरो बानी र सीमित नेटवर्किङले केही गर्न नसकिने हो कि ? चिन्ता लागेको थियो ।

अब केही गर्नुपर्ने जिम्मेवारी भनुँ या बाध्यता आइलाग्यो । निकै सोचेपछि फेसबुक सम्झँे । फेसबुकमा राहतको सेरोफेरोमा अत्यधिक सूचना पोस्ट भइरहेका थिए । केही आशा जाग्यो, सहयोगी हातहरू सामाजिक सञ्जालमा भेटिएलान् कि ? बेलुकी फेसबुकमार्फत् सहयोगको अपेक्षा गरेँ । आफ्नै संस्था ग्रिन गभर्नेन्स नेपालबाट केही सहयोग पाउन सकिन्थ्यो तर थोरै सामग्री लिएर रसुवा जान सजिलो थिएन । 

भुक्तभोगीको भनाइमा गाडीको जोहो सबभन्दा कठिन थियो । पहिलो, पाउन गाह्रो । दोस्रो, भाडा अति चर्को । स्टाटस लेखेको चार–पाँच घण्टामै एउटा सहयोगी हात उठेजस्तो देखे । राम्ररी नियालेँ । दीपेश प्याकुरेलको हात थियो । उनी जडीबुटी विशेषज्ञ हुन् । उनले रसुवा स्याउबारीको धसिङ्ग्रे प्रशोधन केन्द्रको स्थापनामा योगदान पु¥याएका थिए । उनलाई म चिन्थेँ । यद्यपि सम्पर्क पातलो थियो । फोनमा दोहोरो बातचित भयो । उनलाई पनि विक्रमले सहयोगका निम्ति आग्रह गरेका रहेछन् । दीपेशले भने, “मेरो सम्पर्कमा पनि केही सहयोगी छन् तर राहत सामग्री थोरै भएर अलमलमै बसेको छु । मिलेर लगौँ न ।” त्योभन्दा खुसीको खबर त्यो बेला के हुन सक्थ्यो ? “यो त राम्रो विचार हो,” मैले भनेँे । 

अत्यावश्यक पाल, त्रिपाल, दाल, चामल, तेल, नुन लग्न सके ठूलो सहयोग हुन्थ्यो । त्यही बेलुकी मित्र सुविन्द्र बोगटीको पनि सहयोगी हात उठेको देखँे । सीमा कार्कीमार्फत् डालास गुर्खाको सौजन्यमा पनि केही राहत सामग्री प्राप्त भयो । मित्र राजेश राईले आफ्ना दोसल्लाहरू उपलब्ध गराए । फेसबुकमै स्टाटस लेखी दोसल्ला सहयोग गर्न अपिलसमेत गरे । त्यसै स्टाटसबाट प्रभावित भएर भवानी घिमिरेले ९–१० थान दोसल्ला उपलब्ध गराए । 

राहत सामग्री भएकाले समयको महत्त्व ठूलो थियो । तीन दिनभित्रै यसरी किरण तिमिल्सिना, राजेश राई, गोपाल गौतम, प्रदीप चौधरी, विकल दाहाल, नृपेश, नीरज, विमल, दिपेश प्याकुरेल, किशोर आत्रेय, सुरज गौतम, उदय र सुविन्द्र बोगटीहरूको सहयोगमा बिहानै गल्छीकोे बाटो सामग्री लिएर रसुवा हुइँकियौँ । 

बाटो साँघुरो र घुमाउरो थियो । हेभी ट्राफिकले ट्रकलाई गुड्न कठिन बनाएको थियो । तर, फराकिलो हत्केलाकोे हाइवेमा राहत सामग्री बिनाअवरोध गन्तव्यतिर लम्किरहेको थियो ।

नागढुंगाको ओरालो झर्दै गर्दा विक्रमलाई फोन गरेँ । “ठाउँठाउँमा राहत सामग्री ल्याएका गाडीलाई पीडितहरूले रोकेको खबर सुनिन्छ । स्थिति कस्तो छ ? बाटोमा लिन आउनुपर्छ कि ?” विक्रमले भने, “नुवाकोट, रसुवामा त्यस्तो समस्या छैन । ढुक्कले आए हुन्छ । बरू हामी कालिका बजारसम्म आउँछौँ ।”

त्रिभुवन हाइवेबाट ट्रक गल्छीतिर मोडियो । गल्छीमा तात्तातो चिया पिएपछि ताजगी महसुस ग¥यौँ । त्यसपछि त्रिशूली नदीको समानान्तर उत्तरतिर हान्नियौँ । बाटो किनारमा देखिने ध्वस्त घरहरूको दृश्यमा शोकका प्रेतात्माहरू नाचिरहेका देखिन्थे । करिब डेढ घण्टाको यात्रापछि कालिका बजारमा विक्रम र उनका साथीहरू हामीलाई पर्खिरहेका देखिए । 

सबैसँग हात मिलायौँ । परिचय ग¥यौँ । मनमा लाग्योे– मनकारी हातहरू पाएर राहत सामग्रीले गन्तव्य भेटेको छ । सामुदायिक भवन पुग्दा, भवनअगाडि सयौँ गाउँबासी हामीलाई नै उत्सुकतापूर्वक पर्खिरहेका थिए । बच्चाहरू यत्रतत्र कुदिरहेका थिए । ट्रक बिस्तारै भवनअगाडि रोकियो । हामी गाडीबाट ओर्लियौँ । मेरो हृदय पग्लिएको थियो र हर्षको आँसु पनि आँखाको डिलबाट ओर्लन खोज्दै थियो ।  

राहतको अर्थ–राजनीति 

जिल्लामा पहुँच नभएकाले राहत पाउन सकेका छैनौँ भन्ने विक्रमको दबिएको स्वरमाथि विचार्न थाले । राहत प्राप्त गर्ने समुदायको छनोट, सामग्रीको आयतन र वितरणमा पनि शक्तिसम्बन्धको ठूलो भूमिका हुँदो रहेछ । यदि स्याउबारीबाट कुनै राष्ट्रिय स्तरको नेता बनेको हुन्थ्यो भने तुरन्त राहत पुग्ने निश्चित थियो । नुवाकोटको राहत सामग्री वितरणको कथा त सबैले सुनेकै कुरा हो । राष्ट्रिय स्तरकै नेता तर विपक्षी दलको हुन्थ्यो भने केही ढिलासस्ती हुन सक्थ्यो । नेता नै नभएको ठाउँको त बेहाल नै हुने रहेछ । 

राहतको अर्थ–राजनीति टड्कारो देखियो । कुनै स्थानमा राहत आवश्यकताभन्दा बढी पुगेको छ, कहीँ नपुगेर बेहाल । कत्रो असमानता ! अझ बाटो नपुगेको दुर्गम गाउँको स्थिति कस्तो होला ? सोच्दा पनि अत्यास लाग्थ्यो । राज्यले एक हदमा सक्रियता पनि देखाएकै थियो । भलै प्रक्रियामा प्रशस्त कमीकमजोरी थिए । मिडियाले लेखे पनि । तर, पर्याप्त समन्वय नहुँदा र राजनीतिक पूर्वाग्रहले धेरै प्रभावित गाउँ विभेदमा परे । आखिर त्यो राज्यकै उदासीनताको कारण भएको थियो ।

सहयोगी संस्थालाई आफ्नो दातृसंस्थालाई रिपोर्टिङ गर्न फोटो अनिवार्य थियो । आपत्मा राहत सामग्री वितरणको फोटो खिच्नु उपयुक्त त हँुदै होइन तर त्यो अर्को यथार्थ हो । प्रभावित बासिन्दाको आत्मसम्मानलाई चोट नपुग्ने ढङगले कारण बताएर फोटो खिच्दा फरक पर्दैन । यस्तोमा आदर्शको व्याख्या गरिराख्नु पर्दैन पनि । हामीले त्यसै ग¥यौँ । उनीहरूलाई भन्यौँ, “सहयोगी संस्थाले राहत सामग्री वास्तविक प्रभावितसम्म पुग्यो÷पुगेन थाहा पाउन केही फोटो पठाउन भनेकाले एक–दुई फोटो लिन्छौँ, यसलाई अन्यथा नलिइदिनुस् ।”

कुरा प्रस्ट राखेपछि समुदायले सहयोग गर्छन् नै । लामो समय समुदायमा काम गरेकाले हामीलाई त्यस्तो विश्वास थियो । भयो पनि त्यस्तै । उनीहरूले स्वीकृति दिए । वितरणको केही फोटो खिच्यौँ । त्यसपछि ध्वस्त गाउँबस्ती हे¥यौँ । धेरै बेर मौन रह्यौँ । मौनतामा मात्र पीडाको अंशियार हुन सम्भव छ । हिजोआज भेटिने अधिकांश ब्रोइलर विकासेजस्तो पटरपटर बोलेनौँ । त्यो धेरै बोल्ने बेला होइन । त्यो दुःख र पीडामा छेउमै उभिने समय हो । त्यसै ग¥यौँ । एकाध घण्टापछि फक्र्यौं । 

फर्किंदा राहत सामग्री बोकेका दर्जनौँ गाडी बाटामा भेटिए । राहत वितरणको अर्थ–राजनीतिबारे पुनः सोच्छु । एउटै प्राकृतिक प्रकोपको नोक्सानी आर्थिक–सामाजिक स्थितिअनुसार भिन्न हुँदो रहेछ । अझ राहत वितरणमा त अर्थ–राजनीतिक संरचनाले निर्णायक भूमिका खेल्दो रहेछ । नेता र सांसद पनि आफ्नो निर्वाचन क्षेत्रमा राहत पु¥याउन बढी उद्यत हुँदा रहेछन् । शायद पराजित भएको स्थानमा उदासीन बन्दा हुन् ।

जिल्ला प्रशासन कार्यालय विपद् व्यवस्थापन गर्ने निकाय भएकाले त्यसमा पहँुच हुनेले राहत पाउँदो रहेछ, नहुने चिल्लै पर्दो रहेछ । स्याउबारी चिल्लै पर्ने हजारौँ गाउँमध्येको एक प्रतिनिधि गाउँ थियो । प्राकृतिक विपद्को अर्थ–राजनीतिक आयाम, रसुवाको पहाडी बाटोभन्दा पनि जटिल र बाङ्गोटिङगो लाग्न थाल्यो मलाई । 

(शार्वरी बुक्सले भूकम्पका स्मृतिहरू समेटेर प्रकाशन गरेको पुस्तक ‘अप्रिय अप्रिल’ बाट । यो पुस्तक राजकुमार बानियाँले सम्पादन गरेका हुन् ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०७४  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC