site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुन्दरिया
Sarbottam CementSarbottam Cement

रमाइलो कुरा के भइदियो भने दुःखनाले आफ्नी छोरीको नाम सुन्दरिया राखेको थियो । सुन्दरिया नाम किन र कसरी राखियो ? भलै, यसको कारण बिस्तारै आउला । तर अहिलेलाई सुन्दरियाको कथा यसरी नै सुरु हुन्छ ।

सुन्दरिया सानैमा पनि निकै राम्री थिई । दुःखनालाई यस कुरामा निकै गर्व थियो । ऊ सुन्दरियालाई खुबै माया पनि गर्थ्यो । उसलाई गाउँका अरु केटाकेटीहरुभन्दा टाढा राख्न चाहन्थ्यो । साथै संस्कारगत काम जस्तैः गुइँठा पार्नु, ओख्ली कुट्नु, भाँडाकुँडा टिलिक्क ऐनाझैँ चम्किलो पारेर माझ्नु या लिपपोत गर्नबाट उसले आफ्नी छोरीलाई कोसौँ टाढा राखेको थियो । कहिलेकाहीँ आमाचाहिँले आँगन बढार्न लगाई भने पनि ऊ स्वास्नीलाई काँचै खाउँलाझैँ आग्नेय नेत्रले हेर्दै खरेटो डगरपारि पुग्ने गरी हुत्याइदिन्थ्यो ।

छोरीको सौन्दर्यलाई लिएर ऊ नानाथरीका सपना बुन्थ्यो । छोरीलाई कुनै पनि काम गर्न दिँदैनथ्यो । ऊ आफू भने रिक्सा चलाउँथ्यो र मजदुरी गरी खान्थ्यो । रिक्सामा राम्रा-राम्रा तरुनीहरुका तस्बिर टाँस्नु उसको विशेष सोख थियो । उनीहरुका लोभलाग्दा अनुहार, गोरा चिल्ला, सुकुमार हातगोडा देखेर ऊ कहिलेकाहीँ सोच्ने गर्थ्यो, "के मेरी सुन्दरिया तरुनीमा यत्तिकी राम्री देखिन सक्दिन होली त ?"

Prabhu Bank
Agni Group
NIC Asia

एकपल्ट सानैमा छोरीको नाम राख्ने कुरामा उसकी स्वास्नीसँग झगडा परेको थियो । यति गरिबी हालतमा छोरीको नाम सुन्दरिया राख्नु धनीहरुको संस्कारलाई मानहानि गर्नु हो भन्ने उसकी स्वास्नीको तर्क थियो । तर, उसले आफ्नो कुरालाई अनुमोदन गराउन लात्तीले भकुर्ने स्थितिको पनि झन्डै सिर्जना गर्‍यो । छोरीको नाम सुन्दरिया नै राखिछाड्यो ।

दुःखना रिक्सा चलाउँदा सधैँ छोरीका बारेमा सोचिरहन्थ्यो । उसको जीवनमा एकमात्र अभिलाषा छोरीलाई जतिसक्दो राम्री बनाउनु थियो र उसका लागि सरसुविधा जुटाइदिनु थियो । दुःखनाको रिक्सामा कहिलकाहीँ राम्रा कुनै सम्भ्रान्त परिवारका केटी पनि बस्न आइपुग्थे । त्यस्तो बेला ऊ आफूमा अझ फूर्तिलोपन ल्याउने कोसिस गर्थ्यो र रिक्सा हाँक्थ्यो । हाँक्दाहाँक्दै उसलाई लाग्थ्यो, रिक्सामा आफ्नी छोरी छे । जिस्क्याउन अझ जोडले पाइडल मार्थ्यो, ठीक त्यसैबेला ‘रोक भन्ने आवाजले मात्र ऊ झसङ्ग हुन्थ्यो ।

Global Ime bank

हरेक साँझ घर फर्किनुअघि दुःखना एकपल्ट जोगेन्दरको दुकानमा जान्थ्यो । जोगेन्दर उसको हित्तचित्त मिल्ने साथी थियो र उसको पानको दुकान थियो । दिउँसो बीच-बीचमा दुःखना आफ्ना यात्रुहरुलाई बसालेर जोगेन्दरकै दुकान अघिल्तिरबाट जोडले रिक्सा हाँक्थ्यो र पान बनाउन व्यस्त जागेन्दरलाई हे…हे… गर्दै हात हल्लाउने गर्थ्यो । सट्टामा जोगेन्दर पनि पान चपाउँदै-हाँस्दै हात हल्लाइदिन्थ्यो ।

जोगेन्दरले ग्राहकहरुका ठीक अघिल्तिर पर्ने गरी एउटी राम्री तरुनी केटीको तस्बिर फ्रेम गरी झुन्ड्याइराखेको थियो । हावाले जब त्यो तस्बिर बिस्तारै हल्लाउँथ्यो, त्यो केटी कहिले जोगेन्दरतिर र कहिले ग्राहकहरुतिर फर्केर पालैपालोसँग आँखा झिम्क्याउने गर्थी । दुःखना धेरैबेरसम्म निश्चल र मुग्ध भएर हेरिरहन्थ्यो । ‘आज दिनभरिमा कति कमाइयो ?’ भनी जोगेन्दरले सोध्दा मात्र ऊ झल्याँस्स हुन्थ्यो र आफ्ना लागि एक बिँडा पान र छोरीका लागि केही सस्ता चकलेट र बिस्कुट किन्थ्यो । खुकुलो भइरहेको लुङ्गी कम्मरमा कस्तै भुइँमा एकपल्ट पिच्च थुक्थ्यो र काँधको गम्छाले मुख पुछ्दै कुनै चल्ती फिल्मको गीत गुनगुनाउँदै वा ‘चल गोरिया मेला देखन मेलवा हो, अरे मेलवा मे मिली है, सजनवा…’ भन्दै रिक्साको पाइडल बेस्सरी चलाउँथ्यो ।

समयसँगै दुःखना बूढो हुँदै गइरहेको थियो । अब ऊ पहिलेजस्तो छिटो-छिटो रिक्सा चलाउन सक्दैनथ्यो । केही गरी चलाइहाल्यो भने पनि छिट्टै स्याँ-स्याँ हुन्थ्यो । उता छोरी भने झन्-झन् राम्री र तरुनी हुँदै गइरहेकी थिई । उसका आवश्यकताहरु पनि बढ्दै गइरहेका थिए र ऊ आफ्नो शृङ्गारमा पनि विशेष ख्याल राख्दै गइरहेकी थिई । यी सब देखेर अब दुःखनालाई कहिलेकाहीँ लाग्थ्यो- छोरीको नाम सुन्दरिया राख्न त खास गाह्रो परेन तर यसलाई जोगाइराख्न भने निकै गाह्रो हुँदो रहेछ ।

दुःखना अब निकै कमजोर र रोगी पनि भइसकेको छ । अब ऊ हिँड्डुल गर्न सक्दैन । उसको शरीरमा बिलकुलै तागत छैन । चुपचाप डोरीको खाटमा बसेर चिलिम तानिरहन्छ । अब ऊ छोरीको फर्माइस पूरा गर्न नसक्ने मात्र होइन कि घरका आवश्यकतासमेत टार्न नसक्ने भइसकेको छ । यतिन्जेल छोरीका दौँतरीहरुको भने गौनासमेत भएर दुई-तीनवटा छुचुन्द्राजस्ता बच्चा भइसकेका थिए । उसकी छोरी भने अझैँ त्यो गाउँका लागि फोहोर पोखरीको बीचमा टपक्क फुलेको कमलको फूलजस्तै थिई ।

बस्तीका अल्लारे ठिटाहरु र एक-दुई मालिकबाबुहरु पनि अब पोखरीको डिलवरपर बिहानदेखि साँझ अबेरसम्म पनि मडारिन थालेका थिए । दुःखनालाई यो सब थाहा थियो र पनि विवश थियो । चुपचाप सहनुशिवाय त्यसको अर्को विकल्प थिएन । फेरि न त ऊसँग आम्दानीको कुनै स्रोत नै थियो, न उसकी छोरी कुनै काम गर्न सक्थी । उसले कुनै सीप सिकेकी थिइन अर्थात् सिकाइएको थिएन । मात्र ऊ रुप र यौवनकी खानी थिई । एकातिर सुन्दरियाले पनि यो कुरालाई राम्ररी बुझेकी थिई भने अर्कोतिर बाबुको कमाइ नहुँदा ऊ आफ्ना आदतमा सहजै कटौती गर्न पनि त सक्दिनथी ! कारण ती सब उसको यौवनसँगै पलाएका थिएनन्, बालककालदेखि नै स्वभावसँग टाँसिएर आएका थिए । यसरी नै कुनै पनि काम नगर्नु वा गर्न नसक्नु पनि उसको स्वभावको अर्को पक्ष थियो ।

बूढो दुःखनाले यो कुरालाई बढो गम्भीर रुपमा लिएको थियो र आफूलाई अपराधीझैँ महसुस गर्दै सधैँ झोक्राइरहन्थ्यो । छोरीलाई कहिल्यै ठाडो भएर हेर्न पनि सक्दैनथ्यो । बेला-बेलामा ऊ ग्लानि सहसुस गर्थ्यो र एक्लै आफैँलाई धिक्कार्थ्यो । यसकारण कि उसले किन आफ्नो जात नै गरिबी हो भन्ने कुरा बिर्सन खोज्यो ? किन उसले सौन्दर्यको सुरक्षा र कदर गर्ने ‘विसहरा भगवान्’मात्र हुन सक्दैनन् भन्ने कुरालाई समयमै विश्वास गर्न सकेन ?

सुन्दरिया पनि धेरै दिनसम्म बेचैन भइरही । सोच्थी, बाबुले उसको लागि जिन्दगीभर दुःख सहे र अब उनी कामलायक पनि रहेनन् । आमा-बाबु र आफ्ना लागि पनि अब कुनै कामको थालनी गर्नु छ । फेरि आफ्ना केही आदतहरु पनि यति बलिया र महँगा छन्, जसलाई न छोड्न सकिन्छ, न सजिलै पूरा गर्न । तर उसले निर्णय छिट्टै निकाली र एक मध्यान्ह आफूलाई निक्कै शृङ्गारेर फूर्तिसाथ घरबाट निस्की । बाबु-आमा दुवैले आश्चर्य मानेर हेरी मात्र रहे । केही सोच्न र सोध्न पनि सकेनन् ।

बेलुकी भयो, सुन्दरिया घर फर्किन । बाबु-आमा आत्तिन थाले । ठूलो साँझ पनि छिप्पिन थाल्यो । छोरी अझै आइन । उनीहरु झन् आत्तिएर आँगनमा घुम्दै आँखा तानी-तानी परसम्म हेर्न थाले । बूढा-बूढी आपसमा पनि बोल्न सकिरहेका थिएनन् । केवल दुवैका आँखामा विभिन्न आशंका र छटपटी मात्र थियो । रात निक्कै बितिसकेपछि सुन्दरिया एउटा ठूलो पोको हातमा झुन्ड्याएर थाकेको अनुहार लिएर फर्किई । बूढाबूढी ट्वाल्ल हेरिरहे ।

उसले बूढाबूढीका अघिल्तिर बिस्तारै पोको खोली र एउटा असल जातको धोती, केही औषधि एवम् तागतका बोतल र केही फलफूलहरु आमा-बाबुका अगाडि राखिदिई । अनि कतिखेर हो कुन्नि उसले एउटा सानो पर्स भुइँमा फ्याँकेकी रहिछ, जसबाट सय-सयका केही नोटहरु चियाइरहेका थिए र केही भने बाहिर खसिरहेका थिए । बाबु यो सब देखेर केही क्षोभ, पीडा र घृणाले खोक्तै घोप्टो परेर भित्र पस्यो । आमा भने केही अनिष्टको आशङ्काले छोरीलाई एकोहोरो यसरी हेरिरही मानौँ ती आँखाले यही सोधिरहेथे ‘न तँलाई काम गर्ने आदत छ न कुनै सीप छ, न तँसँग लगानी गर्ने पुँजी नै छ, तर तैँले कुन त्यस्तो काम पाइस् कि यत्तिका महँगा सामान र रुपियाँसमेत ल्याइस् ?’

सुन्दरिया पनि मौन थिई । उसको थाकेको शरीर, हारेको अनुहार र शून्य आँखाले मानौँ यही जवाफ दिइरहेथ्यो, "मैले आजदेखि त्यही कामको थालनी गरेँ, जसलाई सीप, दक्षता र लगानी गर्ने पुँजीसमेत चाँहिदो रहेनछ । मात्र अलिकति रुप र यौवनको घडालाई तिर्खालुहरुबीच छचल्काइदिए मात्र पनि पुग्दो रहेछ ।"

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०७४  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC