site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टेन्डर
Ghorahi CementGhorahi Cement

आज यमराजको भव्य र आलिसान दरबारमा निकै चहलपहल छ । मान्छेहरू आइरहेछन्, गइरहेछन् । आउनेहरू उत्सुक आँखाले दरबारको मुख्य प्रवेशद्वारको नजिकै टाँसिएको सूचनापाटी हेर्छन्, डायरी निकालेर केही कुरा टिप्छन्, फेरि सूचना पढ्छन् र टिपेको कुरा दोहोर्याएर रुजु गर्छन् । सूचनापाटीमुन्तिर मान्छेहरूको कुँडुलो लागेको छ । धक्कामुक्की र ठेलमठेल छ, त्यहाँ । फर्किनेमध्ये धेरै जना हँसिलो अनुहार लगाएर ठूल्ठूलो स्वरमा हल्ला गर्दै फर्किरहेका छन् । दरबारतिर जानेहरूले पनि निकै उत्सुक स्वरमा कुरा गरिरहेको टाढैसम्म सुनिंदै छ । यमराजको दरबारको बाहिरी गेट अहिले सबैको स्वागतमा मुस्कुराएझैं म अनुभव गरिरहेको छु ।

नजिकै बसेर यी सबै दृश्य उत्सुकतापूर्वक हेरिरहेको छु म । मलाई त्यहाँ मान्छेहरू ओइरिनुको कारण सबै थाहा छ । त्यसैले सूचनापाटीमा के लेखिएको छ, पढ्न जाने जाँगर र रुचि नै छैन ममा । फर्किनेमध्येको एक जना ‘अलकायदा’ लेखेको टोपी लगाएको देख्दै डरलाग्दो मुसन्डे मान्छेले आफूसँग हिंडिरहेको साथीलाई सायद अरबी भाषामा केही कुरा भनिरहेको छ । 

यमलोकमा सबै भाषाको अनुवाद हावाले नै गरिदिन्छ । बोल्ने मान्छेले जुन भाषामा बोले पनि तपाईँ त्यसलाई आप्mनै भाषामा सुन्न सक्नुहुन्छ । म नेपाली भाषामा उनीहरूको संवाद सुनिरहेको छु । एकजना भन्दैछ– ‘‘सुनिस्, मैले त यो टेन्डर अमेरिका, बेलायत र फ्रान्सका लागि हाल्ने विचार गरें । यो हाम्रा लागि अत्यन्त सुनौलो मौका हो । आफूले गर्दै आएको काम गर्न थप हौसला, सहयोग र हैसियतसमेत पाइने भएपछि साथीहरू पनि पक्कै खुसी हुनेछन् ।’’ 

Agni Group

उसको कुरा सुनेर छेउको साथी मुसुक्क हाँस्छ र मुण्टो हल्लाउँछ । मानौं, जिन्दगीभरिको सबैभन्दा प्यारो खबर सुनेका छन्, भर्खरै उनीहरूले । उनीहरूका पाइला एकदमै छिटो–छिटो चलेको म अनुभव गर्छु । उनीहरूलाई कतिबेला आफ्नो मुलुक पुगौं र साथीहरूलाई यो रमाइलो कुरा सुनाऊँ भन्ने हुट्हुटीले व्यग्र बनाएको कुरा पनि म राम्ररी बुझ्छु । 

नौला–नौला मान्छेहरूको यो विशाल भीडमा म कतै गोरो अनुहार देखिरहेको छु, कतै कालो न कालो ठम्मरठुस हब्सी अनुहार देखिरहेको छु र कतै गहुँगोरो भारतीय हो कि श्रीलङ्कन अनुहार हो, हाँस्दै फर्किन लागेको देखिरहेको छु । भीडमा तँछाड–मछाड गर्ने एउटा अनुहारले ‘लिट्टे’ लेखेको झोला बोकेको छ, अर्कोले ‘पिपुल्स वार ग्रुप’ लेखेको रातो टिसर्ट लगाएको छ, उसैको छेउमा उभिएको अर्कोले ‘साइनिङ पाथ’ लेखेको जुत्ता ढल्काएको छ र केही पर उभिएको अर्कोले ‘हमास’ लेखेको परिचयपत्र घाँटीमा झुन्ड्याएको छ । 

Global Ime bank

मभन्दा चालीस पचास कदममात्र पर उभिएको यामान अग्लो र मोटो एक जना मान्छेचाहिं ‘तालिवान’ लेखिएको स–सानो हातेब्याग हातमा लिएर चारैतिर चनाखो गरी हेरिरहेको छ । सबैका आँखा राता–राता छन्, कसैप्रतिको ईष्र्या, रिस, प्रतिशोध र घृणाको आगोले राँकिएजस्ता । किन–किन उनीहरूको बोली पनि जर्खरिएजस्तो रूखो लाग्छ, मलाई । भर्खरै कुनै ठूलै युद्ध लडेर आएजस्तो कठोर र शुष्क अनुहार छ– धेरैको । लाग्छ, उनीहरूका आँखाले विध्वंशको विज्ञापन गरिरहेका छन् । म देखिरहेंछु, उनीहरू आपसमा भेट हुँदा एकअर्कालाई अभिवादन गरिरहेका छैनन्, मुखमा मुस्कान र आँखामा तरलता पनि अनुभव हुँदैन मलाई । 

उनीहरूमध्येको एक जना ठूलो–ठूलो स्वरमा उफ्री–उफ्री चिच्याइरहेको छ र यमराजको दरबारतिर औंला ठड्याएर भन्दैछ– ‘‘म यो संसारमा एकछत्र राज्य गर्ने सपना बोकेको साम्यवादी हुँ । त्यसैले अहिले खुलेको संसारभरिकै टेन्डरको जिम्मा मैले पाउनुपर्छ । म कार्लमाक्र्स, लेनिन र माओका ठेली रटाएर बर्सेनि दसौं लाख मान्छेलाई यमराजकहाँ पठाइदिन सक्छु । त्यसैले यसको मूल ठेकेदार म नै बन्न पाउनुपर्छ । पछि म आफ्नो भागबाट अलिकति नेपालमा, अलिकति भारतमा, अलिकति पेरूमा, अलिकति फिलिपिन्समा र अलिकति अन्यत्र पनि स–साना ठेक्काहरू कोटेसनमा दिने व्यवस्था मिलाउँछु । मैले पहिले पनि धेरै देशमा यस्तो ठेक्का सम्पन्न गरिसकेको छु । सायद मानव जातिको इतिहासमै यमराजप्रतिको बफादारी मैले जति अरू कसैले पूरा गरेको छैन । महको चास्नीमा माखो डुबाएझैं सिद्धान्तको चास्नीमा मान्छे डुबाउन मैले जति अरू कसले जानेको छ ?’’ 

सायद ऊ आफ्नो कुरा धेरैभन्दा धेरैलाई सुनाउन चाहन्छ । त्यसैले ऊ अलिकति अग्लो ठाउँमा चढेर सबैको ध्यान आफूतिर तान्न खोजिरहेको छ ।   
म देखिरहेको छु, केही उसको कुरालाई समर्थन गर्दै थपडी बजाइरहेका छन् र केही उसको कुरालाई बेवास्ता गर्दै टेन्डर फाराम किन्न यमलोकको रिसेप्सनतिर लाम लागिरहेका छन् । यस पटक साँच्चै नै प्रतिस्पर्धात्मक टेन्डर आह्वान गरेजस्तो लाग्छ, यमराजले । टेन्डर फाराम किन्ने र बुझाउने क्रममै पनि सानोतिनो भिडन्त पो हुने हो कि भन्ने आशङ्काले मेरो मनमा कता–कता सिरेटो चल्छ ।  

साम्यवादी वक्ताको कुरामा थपडी बजाउनेहरूको हुलमा मैले चिनेजस्तो एउटा अनुहार पनि छ । म धेरैबेरदेखि उसलाई राम्ररी ठम्याउने प्रयत्न गर्दैछु । उसले रातो टोपी लगाएको छ, टोपीमा तारा चिह्न अङ्कित छ र हातमा माओत्सेतुङको पुस्तक समातेको छ । कत्ति कोसिस गर्दा पनि उसलाई कहाँ देखें र उसको नाम के हो भन्ने कुराको सम्झना मेरो दिमागमा उत्रिन सक्दैन । म यत्ति भन्न सक्छु, उसलाई मैले कहीं न कहीं देखेकै हुँ । मैले चिन्ने प्रयास गरिरहेको त्यो मान्छे एक्कासि आप्mनो पछाडिको साथीसँग कुरा गर्न फनक्क पछिल्तिर फर्किन्छ । साउतीको स्वरमा बोलिरहेको उसको आवाज अलि टाढा उभिएको हुँदा म सुन्न सकिरहेको छैन । अनायास मेरो आँखा उसको पीठमा गएर ठोक्किन्छ । उसले लगाएको टी–सर्टको पछाडि ठूला–ठूला राता अक्षरमा नेपाली भाषामै ‘माओवादी’ लेखिएको म राम्ररी पढ्न सक्छु । 

एकछिन त नेपालबाट टेन्डर हाल्न आएको ऊसँग गएर केही कुरा गरौं कि जस्तो लाग्छ । तर पछि अनायास मन अमिलिएर आउँछ र म जहींको तहीं उभिइरहन्छु । नचाहँदा नचाहँदै पनि कुन्नि कुन आन्तरिक प्रेरणाले मेरो अनुहार विकृत बनेको र छातीभित्र आतङ्कको चिसो लहर दौडिएको म अनुभव गर्छु । मभन्दा केही पर बसेर धेरै बेरदेखि यी सबै दृश्य नियालिरहेको एक जना मान्छे मतिर आइरहेको छ । ऊ नजिकै आउँछ र मसँग जिज्ञासु आँखाले सोध्छ– ‘‘भन्नोस् न हजुर, यहाँ यत्तिका मान्छे जम्मा भएको किन हो ?’’

म उसलाई राम्ररी नियालेर हेर्छु, सायद ऊ मत्र्यलोकबाट भर्खर–भर्खरै मृत्यु भएकोले यमलोक आइपुगेको नेपाली हो । त्यसैले उसलाई यहाँको धेरै कुरा थाहा छैन । म उसलाई छोटकरीमा यमलोकमा खुलेको टेन्डरबारे जानकारी दिन्छु । ऊ झनै उत्सुक हुन्छ, मेरो कुरा सुनेर । म बताउँछु उसलाई, अब संसारको जनसङ्ख्या ज्यादै धेरै भएकोले मान्छेहरूलाई तुरुन्तातुरुन्तै यमलोक ल्याउन यमदूतहरूको दरबन्दी ज्यादै कम भैसक्यो । त्यसैले यमराज र चित्रगुप्तको सल्लाहमा यो काम मानिसहरूबाटै ठेक्कामा गराउनका लागि भर्खरै एउटा टेन्डर खुलेको छ । यो टेन्डर समूहगत रूपमा भर्न पाइन्छ । टेन्डरमा भाग लिने पूर्वयोग्यताका लागि मारधाड गर्ने एउटा समूह बनाएकै हुनुपर्छ र बर्सेनि कम्तीमा दस हजार मान्छेलाई यमलोक पुर्याउनसक्ने योग्यता हुनुपर्छ । टेन्डर फाराम भरेर बुझाइसकेपछि त्यसको छानबिन हुन्छ । टेन्डर कति पर्छन् र कस्ता–कस्ता पर्छन्, त्यसका आधारमा संसारभरिकै ठेक्का एक समूहलाई मात्र दिने कि देशैपिच्छे फरक–फरक समूहलाई दिने भन्ने निर्णय यमराजले गर्छन् । 

टेन्डर पर्यो भने त्यो समूहलाई यमदूतको हैसियत र दर्जा प्राप्त हुन्छ । भन्नुपरोइन, यमदूतले जो कसैलाई इच्छाअनुसार यमलोक लैजान सक्छ । त्यसैले यहाँ विभिन्न देशबाट थुप्रै समूहका प्रतिनिधिहरू टेन्डर भर्न हानथाप गर्दै आइरहेका छन् । विपक्षी सबैलाई यमलोक पुर्याउने र धर्तीमा आप्mनो राज्य खडा गर्ने यो जस्तो सुन्दर अवसर अरू के हुन सक्छ ? म उसलाई सबै कुरा बेलीबिस्तार लगाइदिन्छु । 
‘त्यसो भए यो यमदूतको हैसियत पाउने प्रतिस्पद्र्धा हो ?’– ऊ पुनः सोध्छ । 

‘अवश्य’– म छोटो उत्तर दिन्छु ।

‘अनि नेपालबाट पनि कोही आएको छ त ?’– ऊ मलाई फेरि सोध्छ । म केही नबोलेर केवल सङ्केतले रातो टोपी र टी–सर्टवाला नेपालीतिर देखाइदिन्छु । सायद उसले चिन्यो होला, त्यसैले ऊ केही बोल्दैन, तर उसको अनुहारमा पनि भय र आतङ्कको छाया सल्बलाएको म राम्ररी महसुस गर्छु । 

समय घर्किँदै गएको छ । सूर्य पश्चिमतिर ढल्किसकेका छन् । यमराजका कर्मचारीहरू सायद पाँच बजिसकेकोले होला, अफिस बन्द गर्ने तरखर गर्दैछन् । बाहिर जम्मा भएका मान्छेको भिड पनि धेरै कम भैसकेको छ । म पनि उभिँदा उभिँदा थाकिसकेको छु । यमराजका कर्मचारीहरूले ढोका बन्द गरेको आवाजले एक्कासि मेरो निद्रा खुल्छ र म जागा बन्छु । 

सपना देखेको धेरै दिन बितिसक्यो, तर मलाई यो घटना अहिल्यै भएझैं र विपनामै घटेझैं अनुभव भैरहेको छ । म आफैलाई प्रश्न गरिरहेंछु, साँच्चै नेपालबाट कसैले यमराजको टेन्डर भरे होला त ? कहिलेकहीं सपना पनि यति यथार्थ हुन्छ, त्यसलाई बिर्सिन खोज्दा विपना नै खल्लो लाग्दो रहेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०७४  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC