site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिउँ र नुन खाएर बाँचेका युवकको ५५ दिनपछि धादिङबाट जीवितै उद्धार, युवतीको तीन दिनअघि मृत्यु
Ghorahi CementGhorahi Cement

आज वैशाख १४, बिहीवार ।
राजनीतिको गोलचक्करभन्दा केही पर धादिङको अलिकति सुखद र केही दुःखद एउटा समाचार अन्नपूर्ण पोस्ट र कान्तिपुर दैनिकले मुखपृष्ठमा महत्त्वका साथ प्रस्तुत गरेका छन् । 

अन्नपूर्णले ‘५५ दिनपछि जीवितै उद्धार’ शीर्षक दिएको उक्त समाचारमा करिब दुई महिनादेखि उत्तरी धादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकलाई एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक एयरको हेलिकोप्टरले बुधबार उद्धार गरी काठमाडौं ल्याएको विवरण छ । तर दुःखको कुरा, तीमध्ये एकको तीन दिनअघि मृत्यु भएको थियो । 

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाको खोंचमा खसेका ती पर्यटकहरू ताइवानी जोडी थिए ।  बिनापथप्रदर्शक लाङटाङ क्षेत्रको पदयात्रामा गएका २१ वर्षीय युवक लाइङ सिङ युन र १९ वर्षीया युवती लिउ चेन युन फागुन २० मा धादिङको तिप्लिङ क्षेत्रबाट परिवारसँगको सम्पर्कपछि हराएको समाचारमा उल्लेख छ । ५५ दिनपछि बुधवार एक खोला किनारको ओढारमा युवकलाई अचेत अवस्थामा र युवतीलाई मृत अवस्थामा स्थानीय जनताले फेला पारेका हुन् ।

Agni Group

कान्तिपुरले सोही समाचारलाई ‘जो हिउँ र नुन खाएर बाँचे’ शीर्षक दिएर मुख्य खबर बनाएको छ । समाचारमा ती जोडीहरू हिमपातका बेला पदमार्गबाट यात्रा गर्दा चिप्लिएर २ सय मिटर तलको छाँगामा खसेपछि अलपत्र बनेको उल्लेख छ । कान्तिपुरको समाचारमा भनिएको छ, ‘‘उनीहरूसँग सुरुका केही दिनलाई पुग्ने खानेकुरा रहेछ । त्यसैलाई फारो गर्दै केही दिन गुजारेछन् । साथमा नुन भने टन्नै रहेछ । त्यसपछि वरिपरिको हिउँ बटुल्दै नुन मिसाएर खाँदै बाँचेका रहेछन् ।’’ 

समाचारअनुसार, बेपत्ता जोडीलाई खोज्न ताइवानबाट युवतीकी आमा र युवकका बाबु चैतको दोस्रो साता नेपाल आएका थिए र धेरै दिनसम्म खोजी गरेका थिए । 

Global Ime bank

एमाले पर्सियो, मोर्चा उतर्सियो 
सरकारले स्थानीय तहको संख्या वृद्धि र सीमांकन हेरफेरको सिफारिसका लागि प्रदेश नम्बर २ र ५ का ११ वटा जिल्लामा गरेको परिपत्र फिर्ता लिन सहमत भएपछि प्रमुख प्रतिपक्षी एमालेले सदनको अवरोध खुला गरेको समाचारलाई आजका सबैजसो पत्रिकाले विभिन्न कोणबाट प्रस्तुत गरेका छन् ।

कान्तिपुरले ‘एमाले मान्यो’ र अन्नपूर्ण पोस्टले ‘स्थानीय तह संख्या विवाद, पछि हट्यो सरकार’ शीर्षक दिएर यो समाचार लेखेका छन् । समाचारअनुसार बुधबार संख्या थपका लागि पठाइएको पत्र सरकारले फिर्ता लिने र एमालेले संसद्को अवरोध फुकाउने सहमति सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको थियो । 

अन्नपूर्णमा सोही समाचारको पूरकका रूपमा ‘मोर्चाको आपत्ति’ शीर्षक एक अर्को समाचार पनि छ । उक्त समाचारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षबीच भएको स्थानीय तहको संख्या नबढाउने सहमतिप्रति मधेसी मोर्चाले आपत्ति प्रकट गरेको उल्लेख छ । 

यही समाचारलाई  नयाँ पत्रिकाले ‘स्थानीय तह निर्वाचन फेरि धरापमा’ शीर्षक राखेर मुख्य बनाएको छ । समाचारमा संसद् अवरोध खुलाउन सरकारले एमालेसँग सहमति गर्दा मधेसी दल फेरि भड्किएको उल्लेख छ । 

नागरिकले यसै समाचारलाई  ‘स्थानीय तह थप्ने विवादित प्रस्ताव फिर्ता’ शीर्षक दिएर लेखेको छ । यसैको पूरकका रूपमा ‘राजपाको चेतावनी, परिणाम गम्भीर’ शीर्षक एक अर्को खबर पनि नागरिकमा छापिएको छ । 

सबै समाचारहरूको अन्तर्य हेर्दा अब पक्कै हुन्छ भनेर जनता विश्वस्त हुन थालेको स्थानीय निर्वाचनको भविष्य फेरि अन्योलग्रस्त बनेको देखिन्छ ।

निर्वाचन आयोगको निरीहता  
सत्तारूढ दल र सरकारको एजेन्डाको मात्रै पछि लाग्दा निर्वाचन गराउने संवैधानिक अधिकार पाएको निर्वाचन आयोगमाथि नै प्रश्नचिह्न खडा भएको विश्लेषण नागरिक दैनिकको ‘निरीह बन्दै निर्वाचन आयोग’ शीर्षक टिप्पणीमा गरिएको छ ।

टिप्पणीअनुसार सरकारको निर्णयलाई आयोगले जे जसरी सदर गर्दै आएको छ त्यसले आयोग सरकारसामु निरीह बन्दै गएको देखिन्छ ।

तस्बिर समीक्षा
राजधानीले काठमाडौं न्युप्लाजास्थित बिजुलीको पोलमा अव्यवस्थित रूपले झुन्ड्याएका तारमाथि तार थप्दै गरेका कामदारको तस्बिर मुख्य बनाएको छ ।
नागरिकले सरकारतर्फबाट चित्तबुझ्दो जवाफ नपाएपछि एमालेले बुधबार व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध गर्दै गरेको तस्बिरलाई मुख्य बनाएको छ । 
हिमालय टाइम्स र गोरखापत्रले आमाको मुख हेर्ने औंसीका दिन बुधबार काठमाडौंको मातातीर्थमा स्नान गर्दै गरेका दर्शनार्थीहरूको तस्बिरलाई मुख्य बनाएका छन् ।
अन्नपूर्ण र कान्तिपुरले चाहिं धादिङबाट उद्धार गरिएका ताइवानी पर्यटकको तस्बिरलाई मुख्य बनाएका छन् ।

सम्पादकीय
नयाँ पत्रिकाले ‘यी औपचारिकता’ शीर्षक सम्पादकीय लेखेको छ । सम्पादकीयमा स्थानीय तहको चुनावी घोषणापत्रमा राजनीतिक दलहरूले देखाएका औपचारिक कार्यक्रमहरूको निरर्थकताको विवेचना गरिएको छ ।

सम्पादकीयमा भनिएको छ, ‘‘स्थानीय तहको निर्वाचन हुँदै गर्दा समग्र देशको आर्थिक वृद्धिदर, रेलमार्ग, सुरुङ र द्रुतमार्गको काम गर्ने प्रतिबद्धता घोषणापत्रमा समेट्नु कुनै पनि अर्थमा सान्दर्भिक देखिन्न ।’’
नागरिकको ‘घोषणापत्रमा समृद्धि’ शीर्षक सम्पादकीयमा चाहिं नेपाली कांग्रेसको घोषणापत्रमा उल्लिखित नीति तथा कार्यक्रमको समीक्षा गरिएको छ । 

हिमालय टाइम्सले ‘निर्वाचनका तगारा’ शीर्षक सम्पादकीय लेखेको छ । सम्पादकीयमा स्थानीय तहको निर्वाचन कार्यान्वयनका बाटामा रहेका सम्भावित अवरोधहरूको विश्लेषण छ ।

कान्तिपुरले ‘वृद्धि कायम राख्ने चुनौती’ शीर्षक सम्पादकीय लेखेको छ । गोरखापत्रको ‘सुखद आर्थिक वृद्धिदर’ शीर्षक सम्पादकीय पनि यसै विषयसँग सम्बन्धित छ । दुबै पत्रिकाका सम्पादकीयमा नेपालको आर्थिक वृद्धिदर लामो समयपछि नवीनतम रेकर्डमा पुगेको तथ्य विवेचित छ ।
अन्नपूर्ण पोस्टको सम्पादकीयको शीर्षक छ– ‘अधिकार खोस्ने संशोधन’ ।

सम्पादकीयमा मधेसी मोर्चालाई निर्वाचनमा ल्याउने प्रयासस्वरूप संसद्मा प्रस्तुत गरिएको संविधान संशोधन प्रस्तावमा संसद्को उपल्लो सदन अर्थात् राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद चुन्न गाउँपालिका र नगरपालिकाका मेयर र उपमेयरलाई दिइएको अधिकार समाप्त पार्ने प्रावधानले जनअधिकार खोस्न खोजेको विश्लेषण छ ।

राजधानीको सम्पादकीयको शीर्षक छ– ‘अचानो संसद्, अति भो !’ । हरेक राजनीतिक स्वार्थ र दाउपेच पूरा गर्न संसद्लाई प्रयोग गर्ने नेपाली राजनीतिको विडम्बना यस सम्पादकीयको विषयवस्तु बनेको छ ।

तस्बिर, सिम्रिक एयर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०७४  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC