एक दशक नाट्यकर्ममा जीवन समर्पित गरिसकेकी सिर्जना सुब्बालाई रंगमञ्चमा देखाइने नाटकभन्दा पनि नाटकीय लाग्छ रे मान्छेको जिन्दगी ! नचाहेरै यस्तो हुन्छ रे !
“नाटक त केही समय नाटक भनेरै देखाइन्छ । समयसँगै पर्दा खस्छ र नाटक पनि सकिन्छ । तर यहाँ मान्छेको पूरै जिन्दगी नै नाटकीय छ,” उनी सुनाउँछिन्, “पलपलमा हामी नाटक गरिरहेका छौं । मात्रै त्यसलाई अनुभव गरिरहेका हुँदैनौं या गरेर पनि वास्ता नगरेको नाटक गरिरहेका हुन्छौं ।”
सिर्जनाको यो तर्कले रंगमञ्चको पछिल्लो दुर्दशाको फेहरिस्त दिन्छ । एक दशक लामो अनुभवबाट उनले निष्कर्ष निकालेकी छन्, “नेपालमा नाटक गरेरमात्रै बाँच्न सकिन्न, विकल्प चाहिन्छ ।”
उनले यसो भनिरहँदा नयाँ पुस्ता नाटकमा अचम्म लाग्दो गरी तानिएको छ । रंगमञ्चमै भविष्य देख्नेहरू बग्रेल्ती छन् ।
राजन खतिवडा रंगमञ्चमा लोकप्रिय नाम हो । रंगमञ्चसँग साइनो गाँस्न चाहनेहरूका लागि आदर्श पात्र हुन् । रंगमञ्चमा नाटक मञ्चन गर्दागर्दै उनले थुप्रै सर्ट फटाइसके । उनलाई रंगमञ्चले नाम दियो, इज्जत दियो । समाजमा थोरबहुत प्रतिष्ठा पनि दियो । दुई–चार जनाले बाटोमा हिँड्दा हात जोड्छन् । तर उनलाइै नाटकले पैसा भने दिएन । दिँदै नदिएको पनि होइन तर पर्याप्त भएन ।
त्यसैले त उनी भन्छन्, “मण्डला थिएटर हाम्रै हो । म त्यहाँ भोलेन्टियर मात्रै हुँ । पर्याप्त आम्दानी छैन । नभएपछि घरपरिवार चलाउन मैले पनि वैकल्पिक पेसा अपनाउनुपर्छ भने अरुको अवस्था कस्तो छ, तपाईं आफैं अनुमान लगाउन सक्नुहुन्छ ।”
आर्थिक रूपमा सुरक्षा नभए पनि रंगमञ्चमा युवाको क्रेज बाक्लो छ । राजन भन्छन्, “एउटा परिवार चलाउन काठमाडौंमा मासिक ४० हजार चाहिन्छ । तर, नाटकमा खेलेर अहिलेसम्म सबैभन्दा धेरै पाएको ‘१२ दुर्वासा’मा साढे १२ हजार थियो । त्यसका लागि साढे दुई महिना खटिनुपरेको थियो,” राजनले थपे, “थिएटरमा मात्रै नाटक खेलेर जीवन धान्न सक्ने अवस्था छैन । योसँग सम्बन्धित रेडियो नाटक अथवा फिल्म खेलेर बाँच्न सकिएला तर नाटकमात्रै खेलेर अझै पनि जीविकोपार्जन गर्न सक्ने सकिने वातावरण बनेको छैन ।”
अमेरिकी लेखक रेनाल्ड रोजको ‘टुवेल एंग्री म्यान’ नामक नाटक सुरेश सापकोटाले नेपालीमा अनुवाद गरेपछि त्यसलाई राजनले ‘१२ दुर्वासा’ नाम दिएर मण्डलामा मञ्चन गरेका थिए ।
पछिल्ला केही वर्षयता नेपाली चलचित्रमा स्थापित अधिकांश कलाकार रंगमञ्चबाटै गएका छन् । सौगात मल्ल, दयाहाङ राईदेखि विपीन कार्कीसम्म रंगमञ्चकै उत्पादन हुन् । नेपाली चलचित्र जगत् नै अहिले उनीहरूकै पछाडि घुमिरहेको छ । व्यक्तिगत अंकगणितका हिसाबले यो राम्रै भए पनि समग्र रंगमञ्चका लागि भने राम्रो नभएको राजनको बुझाइ छ । “सौगात, दयाहाङ जस्ता नाट्यकर्मीले चलचित्र गर्नुपर्ने अवस्था आउनु आफैंमा दुःखद् हो,” उनी भन्छन्, “उनीहरूलाई रंगमञ्चमै फर्किने अवस्था सिर्जना गर्नुपर्छ ।”
नाट्य घरहरू अहिले अस्तित्व रक्षाका लागि संघर्षरत छन् । पुरानो नाट्य घर गुरुकुल बन्द भइसकेको छ । मण्डला, शिल्पि, सर्वनाम र थिएटर मलको अवस्था पनि उति राम्रो छैन । दर्शकको उपस्थिति न्यून भएपछि नाट्य घरहरू आफ्नो जीवन धान्न गाह्रो महसुस गरिरहेका छन् । तर, पनि संस्थापकहरूको ‘प्यासन’ले नाट्य घरहरू अहिले जेनतेन घिस्रिरहेका छन् ।
नाटक खेलेर जीविकोपार्जन हुँदैन भन्ने कटु सत्यबाट कोही पनि अनभिज्ञ छैन । तर पनि यसप्रतिको क्रेज भने बढेको बढ्यै छ नि ।
“यसको एउटै कारण छ– अभिनयको लोभ । सबैलाई चलचित्रमा देखिनुपरेको छ । यही भूतले यहाँ आउनेको भीड लागेको हो,” मण्डलाको तालाचाँबी नै बोकेका राजन भन्छन्, “फिल्मको अभिनय र रंगमञ्चको अभिनयमा आकाश–पातालको फरक छ । दुई–चार वर्ष देखिएको यो लहरमात्रै हो । अन्ततः यो सत्यता एकदिन प्रष्ट हुन्छ । संस्थाको लिडर म त गुजाराका लागि अन्त काम गर्छु भने अरुको अवस्था के होला ? हामीलाई अभिनयको भूतमात्रै सवार छ । नयाँ कलाकारको उद्देश्य नै फिल्म हो । यही क्षेत्रसँग सम्बन्धित प्राविधिक काम गरे टिक्न सकिन्छ । तर यही गर बनेर भन्न पनि मिल्दैन ।”
चलचित्र र नाटकका सीमारेखाहरू फरक छन् । उद्देश्य फरक छ । तर पनि अभिनय त अभिनय नै हो भन्दै नयाँ पुस्ताले यसलाई चलचित्रका लागि भर्याङ बनाइरहेको छ । यही कारण मण्डलाले सञ्चालन गर्दै आएको अभिनयको कक्षा अहिले बन्द गरिदिएको छ । चलचित्रमा खेल्न चलचित्रकै भाषा पढेर बुझ्ने हुनुपर्छ भन्ने राजन नेपालमा अहिले चलचित्रसम्बन्धी पढाइ हुने कलेजको आवश्यक्ता देख्छन् ।
“अहिले अभिनय र निर्देशनका लागि पढेर आउन थालेको देखेको छु, केही सम्भावना बोकेका चलचित्रकर्मीहरू पनि आएका छन्,” उनी भन्छन्, “अभिनयमा देखिएको यो क्रेजलाई व्यवस्थापन गर्न र चलचित्रका लागि दक्ष जनशक्ति उत्पादन गर्न अब एउटा ठूलो कलेज आवश्यक छ । अहिले भएका सबै थिएटरमा रहेका जनशक्ति र विद्यार्थी हेर्दा अब नेपालमा फिल्म कलेज चल्छ पनि ।”
नेपाली रंगमञ्चमा एउटा मूर्धन्य नाम हो– सुनील पोखरेल, जसको बलबुतामा नेपाली रंगमञ्च आजको दिनसम्म आइपुगेको छ । पोखरेलको अनवरत योगदानको कदर गर्न कोही पनि हिचकिचाउँदैनन् ।
राजन भन्छन्, “सुनील दाइको निरन्तरको संघर्षले गर्दा त आजसम्म आइपुगेको छ नेपाली रंगमञ्च । उहाँजस्तै मान्छे चाहिएको छ रंगमञ्चलाई, न कि यसलाई भर्याङ बनाउने ।”
सुनील पोखरेलको भने रंगकर्मबारे आफ्नै तर्क छ । मनदेखि समर्पित भएर अथक कर्म गरे जुनसुकै क्षेत्रबाट पनि जीवन धान्न सकिने उनी बताउँछन् । “खोइ यतिका वर्ष म त यही पेसाबाटै बाँचिरहेको छु । मनबाट चाह्यो भने सकिन्छ,” उनी दृढ सुनिए, “मैले आजसम्म कुनै पेसा अपनाएको छैन । यही नाट्य क्षेत्रले नै मलाई बचाइरहेको छ ।”
यो क्षेत्रमा आइसकेका र आकर्षित हुनेहरूलाई सुनीलको पनि सुझाव रहेछ । भन्छन्, “आउनुस् स्वागत छ सबैलाई । तर, आउनुअगाडि नै कडा संघर्ष गर्ने र धैर्य हुने तयारी भने गर्नुस् ।”
केदार श्रेष्ठ थिएटर मलका सञ्चालक हुन् । उनले रंगकर्ममा आठ वर्ष बिताइसके । उनी आफ्नो कर्ममा रमाइरहेका छन् । तर, उनी आफैं प्रश्न गर्छन्, जोरजाम गरेर नाटक गरिरहेका छौं तर भोली के हुन्छ थिएटरको भविष्य ? जवाफ पनि आफैं दिए, “मलाई नै थाहा छैन ।”
“नाटक प्यासन हुनेले मात्रै गर्न सक्छ । अहिले क्रेज देखिएको छ तर कल्चर छैन,” श्रेष्ठ थप्छन्, “क्रेज र कल्चर फरक कुरा हुन् । जबसम्म नाटक हेर्नुपर्छ भन्ने कल्चर हुँदैन, त्योबेलासम्म रंगकर्ममा आश्रित हुन गाह्रो छ ।”
उनका आँखाले पनि नाटकमा युवा जमातले चियाइरहेको देखिरहेका छन् । तर, त्यहाँ पनि प्यासन छैन, क्रेजमात्रै । भन्छन्, “क्रेज त दुई÷चार दिनको घामछाया न हो । जिन्दगी समर्पित गर्न त प्यासन चाहिन्छ । दृढ इच्छाशक्ति र दह्रो आत्मबल चाहिन्छ ।”
नाटकले युवा पुस्ताको मन तान्यो । चलचित्रमा ब्रेक पाउनकै लागि भए पनि रंगमञ्चमा युवा झुम्मिन थाले । विस्तारै यो पेसा हुन थाल्यो । तर, केदार भन्छन्, “पेसा त भयो तर यो बिजनेस भने अझै हुन सकेको छैन । जबसम्म पेसा बिजनेस बन्दैन, तबसम्म त्यसको स्थिरता पनि हुँदैन । अहिले हाम्रो बैंकको लोन बढिरहेको छ ।”
नेपाली रंगमञ्चका लागि अर्को परितिच नाम हो– राज शाह । सर्वनामका हर्ताकर्ता नै हुन् उनी । भन्छन्, “एउटा नाटकका लागि दुई महिना रिहर्सल गर्नुपर्छ । एक महिना मञ्चन हुन्छ । दर्शकले टिकट किनेर उठेको पैसाले कलाकारलाई गाडी भाडा र खाजा खुवाउनबाहेक केही गर्न सकिएको छैन । दुई–चार हजार पनि कहिलेकाहीँ कलाकारको हातमा प¥यो होला तर त्यो अपवादमात्रै हो ।”
उनी पनि रंगमञ्चलाई चलचित्र यात्राको पहिलो पाइला ठानेर आउनेको ठूलो भीड रहेको स्वीकार्छन् । ३० जनाको सेक्सनमा मुस्किलले चार जना पनि रंगमञ्चमै जिन्दगी बिताउँछु भन्ने भेट्न गाह्रो रहेको उनको अनुभव छ ।
आदर्श त खल्ती मोटो हुन्जेल र अरुको खुट्टामा उभिन्जेलमात्रै हो । सबै सुनील पोखरेल कहाँ हुन्छन् र ! परिबन्दमा परेपछि आदर्श खोलाको पानीसँगै बगेर जान्छ । मान्छेले विकल्प खोज्छ । जीवनको लय समाउन आदर्शलाई एकातिर थन्काएर यथार्थमा बाँच्न थाल्छ । नेपाली रंगमञ्चमा पनि अहिले त्यही भइरहेको छ । दुई–चार दिन आउने, नाटक खेल्ने अनि आफ्नै बाटो लाग्ने । कसैका लागि यो बाध्यता होला त कसैका लागि रहर । तर, यही हो तीतो सत्य । राज भन्छन्, “वैकल्पिक पेसा अपनाउनु पर्ने बाध्यता छ । अरु काम गरेर बचेको समयमात्रै दिनु परिरहेको कारुणिक कथा छ ।”
सिर्जना कुनै समय एनजीओ तथा आईएनजीओको ‘प्रोजेक्ट बेस्ड’ नाटकबाट भने राम्रै कमाइ हुने बताउँछिन् । यस्ता नाटक वर्षमा औसतमा दुई वटाभन्दा धेरै भने हुँदैनन् ।
“आउन त कुनै वर्ष निकै धेरै पनि प्रस्ताव आउँछन् तर त्यसरी आउने नाटकमा हाम्रो सिद्धान्तभन्दा पनि स्पोन्सरकै विचार हाबी हुने अवस्था आयो भने गर्न सकिँदैन,” सिर्जना भन्छिन्, “हामी आफ्नो इमान र रंगमञ्चको धर्म बेचेर भने काम गर्दैनौं । तर, यस्ता नाटक भने राम्रा स्रोत हुन् ।”
नाट्य विधा साहित्यमा सबैभन्दा कम लेखिने विधा हो । नेपालमा झनै नाट्य कृति कम छन् । त्यसमा पनि मञ्चन गर्ने निकै कम । त्यसैले विदेशी नाटक अनुवाद गर्नुको विकल्प छैन । यसरी अनुवाद गर्ने व्यक्तिलाई पनि पारिश्रमिक दिनुपर्ने हुन्छ ।
“युमा नाटक मञ्चन गर्दा मैले लेखक युग पाठकलाई २५ हजार रुपैयाँ दिएकी थिएँ,” सिर्जना भन्छिन्, “थिएटरको आम्दानीको स्रोत भने टिकट बेच्नुबाहेक अरु केही छैन ।”
नाटक लेख्न धेरै मेहनत चाहिन्छ । तर, आर्थिक हिसाबले भने त्यति धेरै राम्रो प्रतिफल नआउने भएकाले पनि व्यावसायिक साहित्यकार मञ्चनकै लागि नाटक लेख्न आकर्षित नहुने सिर्जनाको बुझाइ छ ।
(आवरण तस्बिर: नयनराज पाण्डेद्वारा लिखित उपन्यास ‘लू’मा आधारित नाटकको एक दृश्य । यो नाटक मण्डला नाटकघरमा मञ्चन भएको थियो)