अति भावुक मान्छे म । ममाथि भावनाहरूको अघोषित राज्य छ । मुटु बलियो हो तर मन कमजोर छ मेरो । एउटा सामान्य मान्छे भए पनि जिन्दगीका रंगरू मेरा लागि सर्वस्व हुन् । सबैसित समान हुने मेरो बानीकै कारण हुनुपर्छ- सबै मतिर तानिन्छन् । आमा र बहिनीको साथी भइदिएकी प्रेमिका र ठूलै कर्पोरेट हाउसको जागिर महत्वपूर्ण थिए मेरो जिन्दगीमा । बिहान कलेज र दिउँसो जागिरमा अधिकांश समय बिताए पनि निलुलाई समय दिन उत्तिकै भ्याउँथेँ ।
हाम्रो परिवारमा बुवाको कमी सधैं हुन्थ्यो तैपनि आमाको छायामा म बुवालाई पाउँथेँ । आमा अलि बढी धर्मतिर लाग्नुहुन्थ्यो र पछिपछि म पनि लागें । घरमा पूजापाठ, श्लोक वाचन, प्रवचन आदि भइरहने हुँदा एकप्रकारको धार्मिक वातावरण थियो । खुसी–खुसी बाँचिरहेको जीवनमा कुनै कमी थिएन ।
एकदिन मैले सपना देखेँ । एकजना अपरिचित व्यक्ति भन्दै थिए, "तेरो जिन्दगी साह्रै छोटो छ, तँ अब चाँडै बिलाउनेछस्, तँ मर्दैछस् । अबको पाँच दिनभित्र तँ मर्नेछस् । जति बाँच्ने होस्, बाँचिहाल्, तेरो आयु सकिँदैछ । जति बाँच्ने होस्, राम्ररी बाँच्...।"
झल्यास्स ब्युँझिएँ । घडीमा रातिको ३ बज्दै थियो । काम्दै गरेका खुट्टासँगै म बाथरुम गएँ । बाथरुमबाट फर्किएपछि फेरि विस्तारामा पल्टिएँ र फेरि निदाएँ । सपनामा क्रमैसँग ती व्यक्ति आइरहे र भनिरहे, "तेरो जिन्दगी साह्रै छोटो छ, तँ अबै चाँडै बिलाउनेछस्, तँ मर्दैछस् । अबको पाँच ...!"
म चिच्याएँ । शरीरमा भर्खर उम्लिएको पानी झैं तातो रगत दौडिरह्यो । कामें । त्यो सपना मेरो लागि भयानक थियो– जति हिटलरको यातनागृहमा यहुदीहरूका लागि हुन्थे हरेक रात ।
खाना खाएर अस्पताल दौडिनु मेरो पहिलो प्राथमिकता भइदियो । मेडिकल चेकअपपछि डक्टर भन्दै थिए, "तपाईं मर्दै मर्नुहुन्न, तपाईंको मेडिकल कन्डिसन एक्सिलेन्ट छ ।"
चित्त बुझेन– दौडिएँ ज्योतिषकहाँ ।
अलि बेर हातका धर्सा हेरेर ज्योतिष बोल्यो, "कम्तीमा पनि ७० वर्ष त बाँच्नुहुन्छ... लेखेर राख्नुस् ।"
लेखिनँ । मनमै राखें । मन उत्तिखेरै पुलकित भयो । चिसिएको मन मनतातो भयो । जीजिविषाको यो उच्चतम अनुभूतिले फुरूंग भएँ ।
दिउँसो त खुसीमै बित्यो । अँध्यारो रात फेरि अँध्यारो भएर आयो ।
राति त्यही व्यक्ति त्यही मुद्रामा आए । अलिक रिसाएझैं देखिन्थे । भने, "तैँले जे गरे पनि गर्, तँ मछस् नै ... त्यो डाक्टर, ज्योतिषलाई के थाहा तेरो मृत्युको बारेमा ?"
हाँसिरह्यो त्यो निष्पट कालो अनुहार । चिच्चाउँदै उठें, "आमा ऽऽ ! म मर्न चाहन्नँ ।"
घडीमा राति ११ बज्दै थियो ।
अब म सुत्दै सुत्दिनँ-- मनैमन भनेँ । सिरानी तेर्सो पारेर भित्तामा अडिएँ र फोन गरें निलुलाई ।
"हेलो ऽऽ निलु !"
"को हो ?"
"म ..."
"आम्मै के भयो यति राति ? अझै सुतेका छैनौ ?"
उसले मलाई साह्रै माया गर्थी ।
"म सुत्नै सकेको छैन ।"
"कोसिस गर न ।"
"त्यो मान्छे आउँछ फेरि," म आत्तिएँ ।
"मलाई मात्र सम्झेऊ न, कोही आउन्न ।"
मेरो कुरा सुनेर उसलाई अलिक अनौठो लागेको हुनुपर्छ– हाँस्दै फोन राखी ।
म आडेस लागिराखें भित्तामा । आँखा निदाउन चाहन्थे तैपनि बल गरेर जागै राखें । एकछिन शायद निदाएँ । भयानक कालो अनुहार आयो फेरि ।
"तैँले जसलाई फोन गरे पनि गर्, तँ मछस् नै । तेरो निलुले केही गर्न सक्दिन, बुझिस् ? तँ मर्छस् र तेरै हातबाट मर्छस्...!"
म कतिखेर ब्युझिएँ, थाहा पाइनँ ।
कलेज गएर निलुलाई भेटेँ । मेरो कामिरहेको अनुहार देखेर उसले हाँस्दै भनी, "निद्रा लाग्यो कि नाइ हिजो ?"
ऊ मलाई हाँसोमा उडाउँदै थिई, उसका हाँसोका गुञ्जनहरु मेरा कानमा गुञ्जिरहे अनवरत । फरक्क फर्किएँ ।
"नरिसाऊ न..." ऊ पछिबाट कराउँदै थिई ।
"आज फिलिम हेर्न जाने ल ?"
टिकट काटेर फिल्महलभित्र पसे पनि मन रमाएन । भित्र अँध्यारो भएकोले हुनुपर्छ– डराइरहेँ । पर्दामा अचानक सुरु भयो फिल्म । सबै रमाउन थाले र त्यो भीडमा निलु पनि मिसिई । ऊ मसँग टाँसिएर बसेकी थिई । उत्तेजना आए पनि अन्धकारले बढी सताइरह्यो मलाई ।
"ओई... ! तँ आज फिलिम हेर्न आइस् ? कहाँसम्म भाग्लास् र ? तँ मर्छस्... आफ्नै हातले...!"
म काम्न थालेँ । म सपनामा थिइनँ, त्यो मान्छे पर्दामा मलाई भनिरहेको थियो । मन उत्तिखेरै बरफझैं चिसियो । शरीरका हरेक छिद्रबाट पसिनाका मूल फुटे । निलु फिल्मतिरै मस्त थिई । त्यो मान्छे चिच्याउँदै मतर्फ आइरहेको झैं लाग्यो । उठेर भागेँ र दौडिरहेँ सडकमा । एकछिनपछि पछाडि फर्केर हेर्दा त्यो मान्छे पनि पछिपछि थियो । डरले थिलोथिलो भएँ । मेरो अनुहार बाघको मुखमा परेको स्यालझैँ भयो । म अघिअघि, त्यो मान्छे पछिपछि ।
"कहाँ जालास् ! तँ मर्छस् ... जति बाँच्ने हो, बाँचिहाल्... !"
म सडकमै रुन थालेँ । एकछिनमा बाटोछेउकै रेस्टुराँमा पसेँ । यस्सो लुकेर हेरेँ– त्यो मान्छे थिएन त्यहाँ । एक घण्टापछि निस्किएँ । एकजना अनुहार चिनेका मान्छे दौड्दै आए र मलाई च्याप्प समाते ।
"नास्ताको पैसा तिर्नुपर्दैन ?"
मलाई लाज लाग्यो ।
त्यो रात म टिभी हेरेरै बसिरहें ।
दुई दिनपछि अफिस गएँ । बोस कराउँदै थियो, मैले खासै मतलब गरिनँ । एकदमै फोहोरो अफिसको ट्वाइलेटमा म कमै जान्थेँ । त्यसदिन ख्यालै नगरी ट्वाइलेटभित्र छिरेँ । मेरो होश हरायो । काम्न थालेँ । त्यो भयानक कालो अनुहार त्यहीँ थियो । यसपालि अझै क्रोधित मुद्रामा ।
"तीन दिन तेरो लागि... तँ मर्दैछस्... !"
मलाई मेरो हातप्रति पूर्ण विश्वास थियो तर त्यो मान्छेप्रति थिएन । त्यो मान्छे एकाएक त्यहाँबाट विलीन भयो । म छक्क परिरहेँ । पसिनाले कमिज पूरै भिजेको थियो । सपना र विपनाका ती शृंखलाहरूले मेरा प्रत्येक काममा असर पुर्याउन थाले । मेरी प्रेमिका मप्रति अर्कै नजरले हेर्न थाली । अफिस मप्रति सन्तुष्ट थिएन, स्पष्टीकरणको पत्र थमाइदियो । पढाइ ठप्पको ठप्पै थियो । मान्छेहरूले 'सन्की', 'पागल' भनेको सुनिरहन्थें ।
मेरो जीवनमा दुई दिनमै धेरै परिवर्तन आइसकेको थियो । पछिपछि त अवस्था झनै खराब भयो । आँखा चिम्लियो कि त्यही मान्छे आइहाल्थ्यो 'तँ मर्छस्' भन्दै । भोक, निद्रा, चैन, माया, हाँसो, खुसी सबै डाँडापारिको क्षितिजबाट मलाई गिज्याउँथे । त्यसपछि म बाटाभरि बर्बराउन थालेँ ।
चार दिन बितिसकेको थियो, त्यो मान्छेले हरेक दिन मलाई सताइरह्यो । जहाँ गए पनि, जे गरे पनि छाडेन । मलाई साँच्चिकै मरुँझैँ लाग्यो । म सरासर उठेँ र भान्सातरि लागेँ । र्याकबाट सानो बोतल झिकेँ र पानीझैँ घटघट पिएँ, जुन आजै दिउँसो मुसा मार्न आमाले ल्याउनुभएको थियो । एकछिनपछि आँखा धमिलो हुन भयो र बिस्तारै अँध्यारो छायो ।
म झल्यास्स ब्युँझिएँ । आफ्नै कोठामा थिएँ । एकदमै फ्रेस लाग्यो । आँखा चिम्लिँदा ती व्यक्ति आएनन् फेरि । खुसी लाग्यो । थ्याङ्क गड ।
त्यत्तिकैमा नेपथ्यबाट चिच्याएको आवाज सुनेँ, अचम्म लाग्यो । आमाको जस्तो लाग्यो आवाज । हतारहतार आवाजतिरै गएँ । त्यहाँ मैले पल्टिरहेको जीव देखेँ । नजिक गएर हेरें, त्यो म थिएँ । मलाई केही पनि अनुभूति भएन । डर, चिन्ता, आश्चर्य सबै हराए मनबाट । पछाडि फर्किएँ– त्यो व्यक्ति त्यहीँ थियो । ऊ हाँस्दै थियो । म अवाक् भएर उसलाई हेरिरहेँ ।