site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मनदेखि मस्तिष्कसम्म
Sarbottam CementSarbottam Cement

कविहरु भावुक हुन्छन्, उनीचाहिँ उपन्यासकार । तर पनि, उनी भावुक छन् । किनभने, उनका उपन्यास केवल उपन्यास होइनन् । भन्छन् नि, पोइटिक–नोभल । हो, उनको ‘ब्लकबस्टर’ उपन्यास ‘सेतो धरती’ पोइटिक–नोभल हो, अर्थात् कवितात्मक उपन्यास । यही किताबले अमरलाई पार्ट टाइम लेखकबाट फुलटाइम लेखक बनाइदियो । र, अरुलाई पनि आँट दियो- दामी किताब लेख्ने हो भने लेखकहरु पार्ट टाइम होइन, फुलटाइम बन्न सक्छन् । अमर उदाहरण बने ।

किताबले खास रुवाउन नपर्ने हो, भनौँ न किताबभित्रको कथाले । किनभने, त्यो किताब न हो, किताबभित्रको कथा न हो । तर, ‘सेतो धरती’जस्ता किताबको बेग्लै कुरा । अमरको यो पहिलो उपन्यास पढेर नरुने कोही पनि छैनन् । शायद कोही पनि छैनन् ।

अमरले केवल रुवाउने कथा लेख्छ भन्नेहरुलाई ‘करोडौँ कस्तूरी’ मार्फत उनले मीठो जवाफ दिएका छन् । ‘पानीको घाम’देखि ‘करोडौँ कस्तूरी’सम्मको यात्रामा उनले रिस्क लिएकै हुन् । रिस्क कहिलेकाहीँ कोही कसैका लागि बडो मीठो जवाफ बन्छ । अमरले जवाफ दिन सके । ‘करोडौँ कस्तूरी’भित्र पनि भावुकता छ, त्यसलाई ठोस खालको भावुकता भन्न सकिन्छ । त्यो उनका गम्भीर पाठकले मात्र अनुभूत गर्न सक्छन् । अरुले शायद सक्दैनन् कि ।

Prabhu Bank
Agni Group
NIC Asia

समयभन्दा निकै अघिका कथामा उनले ‘सेतो धरती’ लेखे । त्यो उनको चित्र कथा हो । जुन पढ्दा पाठकले मनमा तारा र उसले भोगेको जीवनको श्यामश्वेत चित्र कल्पना गर्छन् । र, समयभन्दा निकै अघिको कथाले समयभन्दा निकै पछि झन्डै स्तब्ध नै बनायो नयाँ पुस्ताका पाठकलाई । पाठकलाई स्तब्ध बनाउने साहित्य सफल साहित्य हो । अमर सफल भए । पाठक स्तब्ध ।

एउटा पुरुषले नारीको भावनालाई चित्रमय झलक दिन सहज भने पक्कै भएन अमरलाई । लेखक जब स्वयम् पाठक भएर ‘सेतो धरती’ पढे, उनी झनै भावुक बने । उनी स्वयम् पठक भएर रोए । पुरुष पात्रभन्दा पनि नारी पात्रका बारेमा उपन्यास लेख्दा बढी खुल्न सकिन्छ जस्तो लाग्छ उनलाई । यद्यपि, नयाँ उपन्यासको विषयमा उनी अहिल्यै खुल्न चाहँदैनन् ।

Global Ime bank

दुई/तीन महिनामा उनको नयाँ कृति पाठकसामु आउन लागेको भए पनि के र कस्तो कृति हो भन्ने कुरा उनीबाहेक यो कुरा कसैलाई पनि थाहा छैन । आफूले थालनी गरेको कार्य पूरा नभएसम्म हल्ला नगर्ने उनको बानी छ । यसपालि पनि त्यसै गर्दै छन् । हुन त हाम्रो बजार हल्लामा विश्वास गर्छ तर अमरले गर्दैनन् । कुकरको सिठ्ठी छुस्स-छुस्स लाग्यो भने भात पाक्दैन अरे, रमाइलो कुरा गर्न उनी खप्पिस छन् ।

हुन पनि उनी काँचो भात पस्कने हल्का लेखक अमर पक्कै होइनन् । त्यो त पाठकलाई थाहै छ ।

अक्सर, उत्कृष्ट कथा पस्कन सक्नु भनेको चित्रकारिता गर्नु हो । हो, अमर कुशल चित्रकार पनि हुन् । उनी रंग र कुचीका खेलाडी पनि हुन् । यो कुरा उनका कमै पाठकलाई थाहा छ । उनी एक कुशल चित्रकार पनि हुन्- ठ्याक्कै लैनसिंह वाङ्देल जस्तै ।

साहित्यमा भन्दा पनि उनी चित्रकारका रुपमा आफ्नो पहिचान बनाउन खोजेका थिए । यही सिलसिलामा उनले काठमाडौँमै बसेर छ महिना चित्रकलाको तालिमसमेत लिए । चित्रकलामा उनको रुची यतिसम्म थियो कि उनले विद्यालयमा ‘क’ लेख्नुभन्दा अगाडि साँढेको चित्र बनाएको सम्झन्छन् । रंगसँग खेल्न उनलाई बहुत मज्जा लाग्थ्यो ।

जीवनमा सबै कुरा सोचेजस्तो नहुनु पनि सुखद नै हुने रहेछ कतिबेला । किनभने, जीवन सुखद् संयोग पनि हो । उनलाई आफ्नै सुगन्ध थाहा नपाउने करोडौं कस्तूरी जस्तो भौँतारिएर हिँड्नु परेन । शादय उनलाई नेपाली साहित्यका अमर न्यौपाने हुनुपर्ने थियो र उनले समयमै आफ्नो सुगन्ध थाहा पाए ।

आख्यानमा छुट्टै उचाइ छ अमरको । २०६६ सालमा पहिलो कथासंग्रह ‘पानीको घाम’ले नै उनलाई थोरबहुत चिनायो । मदन पुरस्कार बिजेता ‘सेतो धरती’ले त उनलाई स्थापित नै गरायो ।

पुरुषले नारीको बारेमा लेख्नु अनुमान वा कल्पना मात्र हो भन्छन् आममानिस । तर, अमरको थ्योरी फरक छ । उनी भन्छन्, “नारीको सबै दुख पुरुषले नभोगे पनि नारीलाई पुरुषले अनुभव भने गर्न सक्छन् ।”

हरेक पुरुषको सफलताको पछाडि नारीको हात हुन्छ भन्ने एकथरी मान्यता छ । अमरले आफू सफल हुनुको श्रेय आफ्नी आमालाई दिन्छन् । आमाले भन्थिन्, “आफूले लेखेको कुरा पहिले आफैँ पढ्नू अनि आफूलाई चित्त बुझे अरुको पनि चित्त बुझ्छ ।”

आमाका उक्त वचन उपदेशझैँ मान्छन् उनी । भन्छन्, “आमाको साथ नभएको भए शायद ‘सेतो धरती’ लेख्न सक्ने थिइनँ होला ।”
हुन पनि उनले सेताम्मे धरतीको संस्कारमा बाँचेका थुप्रै आमाहरूका पीडा नयाँ पुस्तासँग बाँडे ।

‘सेतो धरती’ लेख्ने क्रममा उनले देवघाटमा गएर बूढी आमाहरूसँग थुप्रै अनुभव सँगाले । बिहानै चराको चिरविरभन्दा पहिले मन्दिरको घण्टीले उनलाई बिउँझाउँथ्यो ।

अमरले आफ्ना किताबमा आम मानिसलाई पात्र बनाउँछन् । ‘पानीको घाम’मा उनका पात्र थिए, सामान्य मानिस । भनौँ न ग्रास रुटका मानिस । ‘सेतो धरती’मा उनको पात्र भइन् हामीभन्दा कैयौँ दशकअघिको समय भोगेकी आम नारी । तेस्रो किताब ‘करोडौँ कस्तूरी’मा उनले प्रयोग गरे हास्यकलाकार हरिवंशलाई पात्रविम्ब बनाएर । ‘करोडौ कस्तुरी’, एउटा बहुमुखी प्रतिभा भएका व्यक्तित्वप्रति जिउँदो सम्मान हो रे, अमरलाई यस्तै लाग्छ ।

उनी सुनाउँछन्, “करोडौं कस्तूरी त्यस्ता हरिवंशहरुको कथा हो, जसले आफ्नो जीवनको कस्तूरी चिन्न सकेका छैनन् ।” अमरको त्यही ‘करोडौँ कस्तूरी’ दौलतविक्रम विष्टको ‘चपाइएको अनुहार’ उपन्यासजस्तै लागेको छ केही पाठकलाई ।

अमर साहित्यमा स्थापित हुनुपूर्व चितवनमै शिक्षण पेशामा संग्लग्न थिए । १२ वर्षको शिक्षण पेशा र आफू विद्यार्थी भएर पढेको अनुभवको मिश्रण हो दोस्रो उपन्यास ‘करोडौँ कस्तूरी’ । चितवनको रंगीला गाउँमा आफू पढेको स्कुलकालीन गतिविधिलाई उनले उपन्यासमा उतारे । र, अहिले पाठकले आफ्नो मस्तिष्कमा उतार्दैछन्, कलाकार हुनुपर्ने मान्छे डक्टर हुनु हुँदैन र डक्टर हुनुपर्ने मान्छे कलाकार भए भद्रगोल हुन्छ ।

“‘सेतो धरती’ र ‘करोडौँ कस्तूरी’मा कुन प्रिय लाग्छ ?” सयौँले उनलाई सोधिसकेको प्रश्न फेरि खेपे उनले र मनभित्रबाट आएको आवाज सुनाए, “‘सेतो धरती’ हृदय (अर्थात मन)सम्म पुग्छ भने ‘करोडौं कस्तूरी’ मस्तिष्कसम्म ।”

उनलाई लाग्छ-मस्तिष्कले लेख्न गाह्रो हुन्छ, मनले लेख्न सजिलो । त्यसैले त ‘सेतो धरती’ तीन महिनामा तयार भयो तर ‘करोडौँ कस्तूरी’ तयार पार्न तीन वर्ष लाग्यो ।

त्यसैले मनदेखि मस्तिष्कसम्मको दूरी बडो शानदार लाग्छ उनलाई ।

पोयटिक नोभलिस्टका बारे एउटा खुलासा-मनदेखि मस्तिष्कसम्म प्रहार गर्न सक्ने लेखकले केही समयमा कविता संग्रह पनि ल्याउँदै छन् । हेरौँ, उनको यो संग्रहले कसलाई कति कहाँ कहाँ प्रहार गर्ला !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३  ०७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC