भैरहवा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नभएसम्म चुनाव हुन नसक्ने भन्दै निर्वाचनपूर्व नै संविधान संशोधन गरिनुपर्ने बताएका छन् । उनले नयाँ शक्तिले चुनाव चाहेको तर सबै क्षेत्रको हकअधिकारको ग्यारेन्टी नहुँदासम्म चुनाव गर्नुको कुनै अर्थ नरहे भन्दै निर्वाचन भन्दा पहिला संविधान संशोधन गरी सबैलाई सहमतिमा ल्याएर निर्वाचन गर्न माग गरे ।
पार्टीले सुरु गरेको हिमाल, पहाड, मधेश, तराई थरुहट राष्ट्रिय एकता अभियान–२०७३ अन्तर्गत शुक्रबार भैरहवामा भएको जनसभालाई सम्बोधन गर्दै भट्टराईले संघीयता भनेकै सबै जातजाति, धर्म–संस्कृति र समुदायलाई अधिकार दिने माध्यम भएको बताए ।
मधेसी, आदिवासी, थारुहरुको माग सम्बोधन गर्नका लागि जसरी भए पनि संविधान संशोधन हुुुनुपर्ने जिकिर उनेल गरे । पिछडिएका समुदायको अधिकार सुनिश्चित गर्नका लागि पनि संविधान संशोधन गर्न जरुरी भएको बताउँदै उनले वर्षौंदेखि मिलेर बसेको समुदायलाई अधिकार दिँदैमा मधेश अलग देश भन्छ भन्नु हास्यापद भएको बताए ।
उनले पछिल्लो समय केही पार्टीहरुले एकअर्का समुदायबीच झगडा गराई सदियौंदेखि मिलेर बसेको समुदायमा विचलन ल्याउन लागेको आरोप समेत लगाए । तँ पहाडिया, तँ मधेसी भन्ने मनसाय राखेकै कारण सप्तरी घटना भएको भन्दै उनले अतिवादका कारण सप्तरीमा निर्दोष ५ जना नेपाली युवाहरुले ज्यान गुमाएको बताए ।