काठमाडौं । नेपाल खाद्य संस्थानले यस वर्ष खरिद गरेको धानमध्ये आधा बढी कुटानी भइसकेको बताएको छ । संस्थानका बिक्री वितरण विभाग प्रमुख शङ्कर सापकोटाले हालसम्म करिब १ लाख ८० हजार क्विटल धान खरिद गरेकोमा आधा अर्थात् ९० हजार क्विटलभन्दा बढी कुटानी भइसकेको बताए । उक्त कुटानी गरिएको धानबाट करिब ५७ हजार क्विन्टल चामल प्राप्त भएको उनको भनाइ छ ।
“संस्थानले आप्mना विभिन्न अञ्चल तथा शाखालगायतका कार्यालयहरूबाट कुटानी गरिरहेको छ”, उनले भने, “हामीले धान खरिद गरेकोे लगभग महिना दिनबाट कुटानीको कार्य सुरु गर्ने गरेका छौं ।”
संस्थानका अनुसार आप्mनै मिल तथा ठेक्काको माध्यमबाट धान कुटानीको कार्य अघि बढाइन्छ । धानको खरिद कार्य पश्चिम क्षेत्रदेखि सुरु भएको र कुटानीको कार्य पनि त्यतैका जिल्लाहरूबाट सुरु गरिएको सापकोटाले बताए । संस्थानले कैलाली, बाँके, पर्सा, रूपन्देहीलगायतका जिल्लाहरूबाट कुटानी कार्य सुरु गरेको प्रमुख सापकोटाले जानकारी दिए ।
कुटानी भइसकेको धानको चामल बाजुरा, बझाङ्ग, दार्चुला, बैतडी लगायतका पहाड, उच्च पहाड र कर्णाली क्षेत्रका २३ वटा जिल्लामा बिक्री गरिने उनले बताए । केही जिल्लाहरूमा भने बिक्री वितरण सुरु भइसकेको उनको भनाइ छ । संस्थानले बजारमा चामलको भाउलाई नियन्त्रण गर्दै मुलुकका विकट जिल्लाहरूमा गुणस्तरीय चामल उपलब्ध गराइरहेकोे छ । “हामीले उपलब्ध गराउने चामल सामान्यतया बजारको मूल्यभन्दा गुणस्तरीय तथा सस्तो छ”, उनले भने “प्रतिकिलो ३ रुपैयाँसम्म कम छ ।” उनले गएको वर्षको धानसमेत केही स्टकमा रहेको जानकारी दिए ।