काठमाडौं । काठमाडौंको मुटुमा रहेको माइतीघर मण्डलामा दिनहुँजसो आन्दोलन र नाराबाजी गर्नेको भीड देखिन्छ । आप्mना माग पूरा गराउनका लागि हातमा प्लेकार्ड बोकेर मानिसहरू आवाज उठाइरहेका देखिन्छन् । सानोतिनो राजनीतिक जमघटदेखि गम्भीर प्रकृतिका आन्दोलनमा समेत मानिसहरूको आक्रोश पोख्ने थलो बनेको छ– माइतीघर मण्डला ।
तर मण्डलाको स्वरूप पहिले यस्तो थिएन । कुनै बेला त्यहाँ धेरै घरहरू थिए र साँघुरो सडक थियो । अत्यधिक घरहरूका कारणले दुर्घटना बढी हुने गथ्र्यो । राजा महेन्द्रको पालादेखि ती घरहरू भत्काउने योजना भए पनि त्यो लागु हुन सकेको थिएन । निकै लामो समयपछि वि.सं.२०५७ सालमा ११ औं सार्क शिखर सम्मेलनको आयोजना नेपालमा हुने बेला मात्र माइतीघरमा रहेका घरहरू भत्काएर मण्डलाको निर्माण कार्य सुरु गरियो ।
माइतीघर मण्डला तत्कालीन मेयर केशव स्थापित र रिन्चिन योञ्जनको सक्रियतामा निर्माण भएको हो । माइतीघर मण्डला बनाउनका लागि छलफल कार्य र ठेकदार नियुक्तिदेखि लिएर मण्डला निर्माणकार्य पूर्ण रूपमा सम्पन्न गर्न जम्मा १७ दिन लागेको पूर्वमेयर केशव स्थापित बताउँछन् । स्थापित भन्छन्, “सार्क शिखर सम्मेलन सुरु हुनुभन्दा ठ्याक्कै एक दिनअगाडि मण्डलाको निर्माण कार्य पूर्णरूपमा सकिएको थियो ।” काठमाडौंको आकर्षण बढाउन र मानिसहरूको जमघट बढाउन बनाइएको मण्डला विशेषगरी शासकहरूलाई झक्झकाउने ठाउँ पनि रहेको स्थापित बताउँछन् । उनी भन्छन्, “माइतीघर मण्डला निर्माण हुनुअघि नेता र जनताले आन्दोलन गर्ने ठाउँ भनेको सिहंदरबार वरपर थियो । जनता र नेताका लागि आन्दोलन गर्ने उपयुक्त स्थानका लागि पनि मण्डलाको निर्माण गरिएको हो ।”
कालो, सुन्तला र नीलो रंग मिसाएर बनाइएको मण्डलामा कालो रंगले क्रोधलाई प्रतिनिधित्व गर्छ भने सुन्तला र नीलो रंगले क्रमशः माया र करुणालाई जनाउँछन् । झट्ट हेर्दा पार्कजस्तो देखिने मण्डला यतिखेर पार्कभन्दा बढी नारा लगाउने ठाउँ र श्रद्धाञ्जलि सभा गरिने थलो बनेको छ ।