काठमाडौँ । विश्व कीर्तिमान कायम राख्न भन्दै ८६ वर्षीय मीनबहादुर शेरचनले सगरमाथा चढ्न लागेको घोषणा गरेका छन् । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लागेको बताए ।
आरोही शेरचनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताए । उनले भने, “म बुढो भए पनि मेरो आँट बुढो भएको छैन म सगरमाथा चढेरै छाड्छु ।”
यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढ्नुभएको थियो । उनलाई सगरमाथा आरोहण गर्नका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायत, गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायतलगायत सङ्घ संस्थाको सहयोग रहेको छ ।
रासस