काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीले ११ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा स्वान्सी सिटीलाई ३–१ ले पराजित गर्दै चेल्सीले शिर्ष स्थानको अग्रता ११ अंकले लिएको हो ।
घरेलु मैदान भएको खेलमा सहज जित निकालेसंगै चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथी ११ अंकको अग्रता बनाएको हो । चेल्सीलाई जित दिलाउन सेस फाब्रिगास, डिएगो कोष्टा र पेड्रोले समान एक एक गोल गरे । स्वान्सीका लोरेन्टेले एक गोल फर्काए । र, चेल्सीले इन्ग्लिश प्रिमियर लिगको उपाधि जित्ने संभवाना प्रवल बनाएको छ ।
स्ट्रामफोर्ड ब्रीजमा भएको एकतर्फी खेलमा चेल्सीले खेलको १९ औ मिनेटमा फाब्रिगासको गोलबाट सुरुवाती अग्रता लिएको थियो । फाब्रिग्यासले गरेको गोल इन्ग्लिश प्रिमियर लिगमा चेल्सीको ३ सयौ गोल हो । तर, खेलको ४५ औ मिनेटमा स्वान्सीका लोरेन्टेले एक गोल फर्काएपछि पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा चेल्सीले थप दुई गोल थप्यो । खेलको ७२ औ मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सीले २ – १ को अग्रता बनायो । त्यसपछि खेलको ८४ औ मिनेटमा कोष्टाले एक गोल गरेपछि चेल्सीले खेल ३ – १ ले आफ्नो पक्षमा बनायो ।
जितसंगै चेल्सीले २६ खेलबाट ६३ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५२ तथा तेश्रो स्थानको आर्सनलको ५० अंक छ । तर, सिटी र आर्सनलले एक खेल कम खेलेको छ । ४२ अंक जोडेको स्वान्सी १५ औं स्थानमा छ ।
लिग अन्तर्गत नै शनिबार राति वेष्ट ब्रुमले बर्नेमाउथलाई २ – १ ले पराजित गरेको छ । त्यस्तै अर्को खेलमा हल सिटी र बर्नलीले १ – १ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।