भैरहवा । भैरहवा बहुमुखी क्याम्पसमा यही फागुन १८ गतेका लागि त्रिभुवन विश्वविद्यालयले तोकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव तालाबन्दीका कारण स्थगित भएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार शनिबार बिहान १० बजे देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । तर स्ववियु निर्वाचन कार्यालयमा मनोनयन दर्ता सुरु हुनु अगावै विभिन्न माग राख्दै संयुक्त मधेशी विद्यार्थी मोर्चा (तराई–मधेश विद्यार्थी फ्रन्ट, विद्यार्थी मञ्च र समाजवादी विद्यार्थी संघ) ले तालाबन्दी गर्दा निर्वाचन तालिका प्रभावित भएको हो । निर्वाचन कार्यालयमा तालाबन्दी भएपछि तत्कालका लागि निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत गणेश प्रसाद पाण्डेयले जानकारी दिए ।
निर्वाचन अधिकृत पाण्डेयले विज्ञप्ती जारी गरी अर्को सुचना नहुँदासम्म निर्वाचनका कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।
यसैबीच अनेरास्ववियु भैरहवा क्याम्पस इकाई समितिले तालाबन्दीको निन्दा गरेको छ । क्याम्पस कमिटी सचिव सागर यादवले निर्वाचनबाट भागेर समस्याको समाधान नहुने भन्दै आफूहरुले हार्ने डर भए पछि तालाबन्दी गरेर हजारौं विद्यार्थीको अधिकारमाथि खेलवाड गर्न खोजिएको आरोप लगाएका छन् ।