site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लोककथाको मूल्य खोज्दै 
Sarbottam CementSarbottam Cement

विषयको बोझमा अल्झिइएन भने नाटक पनि रमाइलो हुने रहेछ ।

पहिला हेरेका नाटकहरुमा समीक्षा लेख्दा सिरियस कथा भए पनि बीचमा कमेडी घुसाउन खोजेको भनेर आलोचना गर्ने गरेको थिएँ । यसपटक मण्डलामा नाटक ‘एक बोली एक दाम’ हेर्न जाँदा पनि त्यस्तै हुन्छ कि भन्ने डर लागेको थियो ।

सुरुवातका केही संवादले सोही छनक दिए । एकदमै सरल सेटमा बालुवा भरिएको बाटोमा जान लागेको हर्कमानले बाढीको कारण सबैथोक गुमेको कुरा भनिरहँदा नाटक सिरियस हुँदैछ कि भन्ने लागेको थियो । ऊ बालुवामा हिँडिरहँदा कुनै अनन्त यात्रामा गएको जस्तो लागेको थियो । कहिल्यै नटुंगिने संकटको अनौठो यात्रा, जहाँ कुनै साथी पाउन मुस्किल छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उसलाई बाटोमा कसैसँग नबोली हिँड्न आँउदैन ।

ऊ सहरको मान्छे हैन ।

Global Ime bank

बाढीका कारण छोरासमेत गुमेको भनिसक्दा ऊ आफैँसँग चुँडिन खोज्यो । कसैले लतारेर विगतमा पुर्‍याउन खोजेजस्तो । तर हर्कमान लामो समय दुःखी भएन । होला, नारायणगोपालको गीत ‘दु:ख छोड दु:खलाई त जीन्दगानी छँदैछ’ सुन्यो कि ?

हर्कमान दुःखलाई खुसीले जितेको मान्छे हो । ऊ जस्तै पीडामा पनि आफू हुने हिम्मत गर्छ । आफ्नो रहरको लागि जे पनि गर्न तयार हुन्छ ।

ऊ लोककथाको पात्र हो तर हामीसँग मिल्छ । ऊ गुरुबाट सिक्छ र हामीलाई पाइलापाइलामा सिकाउँछ ।

त्यसैले ऊ चाँडै लोककथाको पात्र बनिहाल्यो । लगत्तै नाटकको स्वरुपमा पनि परिवर्तन भइहाल्यो । उसले पर देखेको मान्छे पनि हामीलाई पर नै लाग्न थालिहाले । उसले भेटेको मान्छे हामीले पनि भेटिहाल्यौँ ।

लोककथाको एउटा फाइदा छ¸ घटना र पात्रहरुको लक्ष्य र संवादको पछाडि कुनै तर्क खोजिन्न । जे भनिएको हो, त्यो हो भनेर पत्याइन्छ । स्वरुप नै एकदमै चतुर । पात्र चतुर नहुने कुरै भएन । 

यति भइसक्दा नाटककार र निर्देशक चतुर हुनु कुनै नौलो कुरा नै भएन ।

तर, त्यस्ता पात्र पनि भ्याकुमबाट सिर्जना हुँदैनन् । कथा बन्न पनि केही कुराले प्रेरित गरेको हुनुपर्छ । हर्कमान पनि प्रेरित भएको मान्छे हो । यदि हुँदैनथ्यो भने उसलाई यात्रामाथिको विश्वास पहिल्यै उठिसक्थ्यो ।

अलिक अगाडि नाटककार सिजन दाहालसँग भेट हुँदा भन्थ्यो, "दाइ¸ अपेक्षा धेरै लिएर नआउनू ।"

मैले त्यसै गरेँ । बिनाअपेक्षा नाटक हेर्न जाँदा हलुका भइने रहेछ ।

यो नाटक बिनाअपेक्षा हेर्न जाने नाटक हो ।

नाटकले मलाई दुःखी बनाएन । कवि सौरभ कार्कीले भनेजस्तै सानामा सुनेका लोककथाहरु सम्झाइदियो । म पनि खुसी भएँ ।

यो नाटक मनोरञ्जन गर्न चाहनेहरुका लागि सुन्दर उपहार हो । हेरेर जो कोही पनि हाँस्न सक्छ । संवाद र हाउभाउले कुनै कन्फ्युजन नदिइकन हँसाउँछन् । कथा बढेर अगाडि गइसक्दा पनि पुरानो संवाद सुनेर हाँस्न मन लाग्छ । संवाद र त्यसको प्रस्तुति सटिक छन् ।

कथाको भावअनुसार पात्रहरुले चरित्रमा न्याय गरेका छन् ।

लोककथाहरु सरल हुन्छन् । त्यहाँ सामान्य तर्क हुन्छ तर तिनले कलिलोदेखि बूढो दिमागलाई एकैपाराले हँसाउन र सिकाउन सक्छन् ।

हाम्रो पछिल्लो सामाजिक स्वरुपमा लोककथा हस्तान्तरणको पाटो कमजोर हुँदै गरेको छ । कथाहरु सुन्न र सुनाइन छाडेका छन् । यो नाटकले राजधानी सहरमा मञ्चित भएर हराएको एक लोककथा सुनाउने जमर्को गरेको छ ।

लोककथा र मिथकलाई आफ्नो लेखनमा प्रयोग गर्न रुचाउने चर्चित बेलायती लेखिका एंगेला कार्टर भन्छिन्, "मानव इतिहास हेर्ने हो भने कविता वा फिक्सन सबै लेखिएर होइन, सुनाइएर आएका हुन् । सामान्य मानिसका कथा बनाएर सुनाइदिने दु:खका कारण हामीसँग अहिले कथाका संसारहरु छन् ।"

उनको भनाइमा लोककथालाई सुनाएर ल्याउने ती सबै मानिसहरुप्रति कृतज्ञता झल्किन्छ । त्यो कृतज्ञतालाई कुनै न कुनै रुपमा अगाडि लिएर जानु हाम्रो कर्तव्य हो । नाटकले सीधै नभने पनि यस्तै खाले कर्तव्यको अपेक्षा गरेको छ ।

निर्देशक पनि यो कुरामा सहमत रहेछन् । भन्छन्, "यस्ता कथाहरु सुनिनु मात्र हुँदैन, देखिनु पनि पर्छ । कुनै नयाँ तरिकाले लेखिनुपर्छ ।"

कुन स्वरुपमा गर्ने भन्ने कुरा आफैँले छान्ने हो । हामीसँग पहिला जस्तो कथा सुनाउने चलन छैन । सुनेका कथा पनि भुल्दै गएका छौँ । खगेन्द्र लामिछानेले नाटक लेखन वर्कसपमा भनेको कुरा सम्झिन्छु, "सके कथा लेख्नू, हैन भने लोककथामा नाटक बनाउनू ।"

उहाँले भनेको कुरा यदि नयाँ कथा लेख्न सकिएन भने लोककथालाई पनि नाटकको स्वरुप दिँदा हुन्छ भन्ने भावमा थियो । यो नाटक हेरेपछि लाग्दैछ- कथा नभेटेर होइन, कथा भेटेरै पनि लोककथालाई छोड्न नहुने रहेछ । लोककथामा भएका सरल एस्थेटिक्सहरुलाई बचाएर राख्नु पनि सानो उपलब्धि होइन । सिजन दाहाल र निर्देशकले यस अर्थमा ठूलो काम गरेका छन् ।

'ङ' समूहको पुस्तकालयलाई थिएटरसम्म ल्याउने प्रयासको फ्यान भएको छु । नेपालमा नाटक निर्माताको रुपमा उदाइरहेका गोविन्द पराजुलीलाई पनि साधुवाद ।

नाटकमा सुन्दर संगीत छ । संगीतमा गरिएको प्रयोग र कथामा गरिएको प्रयोग मेल खान्छन् । गितारको तारमा सारंगीको धनु (सारंगीको तारमा रेट्ने धनु आकारको सामग्री) बजाएको सारै मीठो सुनिएको छ । गितार पनि छोडिएन¸ सारंगी पनि बाँच्यो । आधासुर र दीपक श्रेष्ठलाई धन्यवाद । प्रयोग भएको लोककथा पनि वास्तवमा अलिक सिरियस थियो । यो फर्ममा आएर स्टेजमा पुग्दा कमेडी त छिर्‍यो तर कथा त बाँच्यो नि । आफूसँग भएका सांस्कृतिक कला र साहित्यलाई नयाँ पुस्ताले मन पराउने गरी बचाउने यो तरिका प्रशंसायोग्य छ ।

मलाई लाग्छ- यो नाटक पहिलोपटक नाटक हेर्न चाहनेको लागि सही छनोट हो । साना केटाकेटीहरुलाई अविभावक आफैँले लिएर जान सके झनै राम्रो ।

नाटकको हर्कमान भन्छ, "कसैसँग नबोलिकन बाटो नै कट्दैन ।"

काठमाण्डूमा यात्रा गर्ने हामी सबैलाई व्यंग्य गरेको जस्तो लाग्छ यो वाक्यले । सँगै बसेको मान्छेलाई पनि बोलाउँदैनौं नि हामी । कसैसँग हेल्लो हाईमात्र भन्ने हो भने यात्रा अर्कै हुन सक्छ नि । हर्कमानलाई जीवन शिक्षा दिने जस्ता कयौं मान्छेहरु हाम्रो नजिकैको सिटमा धेरैपटक बसेर गए होला । हामीले कानबाट हेडफोन र आँखाबाट मोबाइल हटाउँदै हटाएनौं होला ।

लोककथाका पात्र कुनै समय बाँचेर हुर्किएका हुन् । समयअनुसार परिवर्तन हुँदै र हस्तान्तरण हुँदै आएका छन् । तर हामीले त्यसलाई निरन्तरता दिन अल्छी गरिरहेका छौँ, जुन गर्नु हुँदैन ।

नाटकले यही कुरा रमाइलो ढंगबाट सिकाउन खोजेको छ ।

यति भन्दै गर्दा नाटकको कमजोर पक्षलाई पनि भुल्नु हुँदैन । लोककथालाई दर्शकसम्म पुर्‍याएर प्रशंसनीय काम गरेको नाटक ‘एक बोली एक दाम’मा यस्ता कमजोरीहरु पनि छन् ।

कलापक्ष र स्टेजमा अझै धेरै काम गर्न सकिन्थ्यो । हुन त छोटो समयमै तयार गरिएको हो भनेर निर्देशकले भनिसकेका छन् तर नाटक हेर्न आउने मान्छेले काठमान्डूका साना थिएटरहरुमा बस्ने ठाउँको बाध्यताबाहेक अरु कुनै बाध्यताको सामना गर्नु नपरोस् जस्तो लाग्छ । यदि नाटक तयार भएको छैन भने मञ्चन नै नगर्ने तर देखाएपछि त्यो समूहको तर्फबाट पूर्ण हुनुपर्छ । जुनसुकै नाटकको लागि दर्शकले तिर्ने मूल्य एकै हो ।

बीचका कुनै-कुनै संवादमा सरकारको आलोचना पनि नगरेको भए हुन्थ्यो । 'बाटो बनाइदिए त सजिलै पुगिन्थ्यो नि’ जस्तो वाक्यले सरकारलाई गाली गर्ने सामान्य प्रवृत्ति अँगालेको देखियो । नाटकमा हर्कमानलाई बाटो चाहिएको होइन, बोल्ने मान्छे चाहिएको हो । सरकारले नबोल्नु भनेको होइन, हामी आफैं आपसमा नबोलेका हौं ।

नाटकको वेशभूषा र स्टेजको सज्जा अरु बेला ठीकठाक लागे पनि राजा भएको बेलाको सिनमा थोरै फितलो लाग्छ । लोककथामा राजाको भूमिका मुख्य हुने गरेकाले वेशभूषा, स्टेज सज्जा र प्रकाशमा थोरै बढी काम भएको भए गज्जब हुन्थ्यो ।

र नाटकको अन्त्यमा पनि केही काम गर्ने ठाउँ देखिएको छ । नाटकले पहिलो खण्डमा धेरै समय लिएर पछिल्लो खण्ड सिध्याउन अलिक हतार गरेजस्तो देखिन्छ ।

अन्त्यमा-

‘बोलेर मात्र हुँदैन यहाँ, सुनिदिने को छ ?' भनेर नाटककार सिजन दाहालले भनेको कुरामा मेरो विमति छ । बोलेपछि सुन्ने मान्छे हुन्छन् । यस्ता कथाहरु सुन्ने मान्छे जम्मा भएपछि भनिन्नन् । भन्न थालेपछि सुन्ने मान्छे आफैँ आउँछन् ।

बाचाल नाटकसँग संवाद गर्ने भए एकपटक मण्डला थिएटरसम्म पुग्नुहोला ।

Twitter : @skyasesh

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC