site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुई नोबेल विजेता लेखकका चर्चित मन्तव्य
Ghorahi CementGhorahi Cement

सन् १९०१ बाट विभिन्न विधासहित साहित्यमा समेत प्रदान गरिँदै आइएको नोबेल पुरस्कार पाउने पहिलो साहित्यकार सुल्ली प्रुधोम हुन् । अहिलेसम्म ११४ साहित्यकारले यो पुरस्कार पाइसकेका छन् । नोबेल साहित्य पुरस्कार प्राप्त लेखकहरूले विश्वको ध्यान तान्न सफल भएका छन् । तर, पनि कतिपय वर्ष नोबेल प्राप्त लेखकहरू पुरस्कार ग्रहण गर्न नगएर होस् वा पुरस्कार नै अस्वीकार गरेर होस्, चर्चामा छन् । त्यसो त पहिलो नोबेल साहित्य पुरस्कार नै अनपेक्षित रूपमा प्रुधोमले पाएपछि विवाद र चर्चा भएको थियो । रसियन साहित्यकार लियो टोल्स्टोयलाई प्रबल दाबेदार मानिए पनि वैचारिक पृष्ठभूमिका कारण उनले पुरस्कार पाएनन् भनिन्छ । उनीभन्दा कम चर्चामा रहेका प्रुधोमले पुरस्कार पाउँदा स्विडिस एकेडेमीको पहिलो पुरस्कार कम विवादित बनोस् भन्ने चाहना भए पनि पूरा भने हुन सकेन ।

टोल्स्टोयलाई १९०२ र १९०३ मा पनि प्रबल दाबेदार मानिएको थियो तर पनि ‘अन्ना करेनिना’ र ‘वार एन्ड पिस’ जस्ता उत्कृष्ट कृतिका सर्जकलाई राजनीतिक विचारधाराकै कारण पुरस्कार नदिइएको हो भन्ने गरिन्छ । त्यसो त सन् १९५८ मा पुरस्कार पाएर पनि बोरिस पास्तरनाकले सोभियत युनियनको दबाबका कारण फिर्ता गरेका थिए । त्यस्तै, सन् १९६४ मा ज्याँ पौल सात्र्रले पुरस्कार नै अस्वीकार गरेका थिए । सन् २०१६ मा पुरस्कार घोषणापछि अमेरिकी गायक बब डिलनले कुनै प्रतिक्रिया नदिँदा सन् १९६४ कै घटना दोहोरिने शंका व्यक्त गरिए पनि उनले प्याटी स्मिथलाई आफ्ना प्रतिनिधिका रूपमा नोबेल पुरस्कार ग्रहणका लागि पठाएका थिए । उनले आफ्नो मन्तव्य पनि प्याटीमार्फत पठाएका थिए ।

नोबेल साहित्य पुरस्कार वितरणका बेला धेरै विवाद र चर्चा भए पनि पुरस्कारको गरिमा र महत्व भने घटेको छैन । स्वाभाविक नै हो– आफूलाई मन पर्ने साहित्यकारले नोबेल पाओस् भन्ने चाहना । हरेक वर्ष जापानी लेखक हारुकी मुराकामीलाई नोबेलको प्रबल दाबेदारका रूपमा हेर्ने गरिन्छ तर अहिलेसम्म उनका प्रशंसक÷पाठकको इच्छा पूरा भएको छैन । आफूले मन पराएको साहित्यकारले पुरस्कार प्राप्त गरेन भन्दैमा स्विडिस एकेडेमीले पक्षपात ग¥यो भन्न त मिल्दैन, उसका पनि आफ्ना सीमा र दायरा होलान् । तर, राजनीतिक पृष्ठभूमि र विचारका आधारमा भने मूल्याकंन गरिनु नोबेलको गरिमामाथि नै प्रश्नचिन्ह खडा हुनु हो ।
विवाद र आलोचना भए पनि करिब १० लाख अमेरिकी डलर र स्वर्ण पदक पाउनु एउटा लेखकको सपना नै हुन्छ । उनीहरूले पाउने स्वर्ण पदक नै करोडौंमा लिलामी हुने गरेको छ । नोबेल पुरस्कार प्राप्त लेखकको मात्रै होइन, उनीहरूले पुरस्कार ग्रहण समारोहमा दिने मन्तव्य पनि महत्वपूर्ण हुने गर्छ । प्रस्तुत छ, विभिन्न समयमा नोबेल पुरस्कार प्राप्त दुई लेखकले नोबेल पुरस्कारका साथै साहित्यबारे दिएका नोबेल मन्तव्य :

Agni Group

जोन स्टिनबेक
‘द ग्रेप्स अफ् र्‍याथ’ र ‘अफ् माइस एन्ड मेन’ जस्ता चर्चित कृतिका लेखक स्टिनबेकले सन् १९६२ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए । यर्थाथवादी घटनालाई कल्पनासँग मिश्रण गरेर लेख्न सक्ने क्षमता भएको भन्दै उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

“मेरो लेखनलाई यो उच्च सम्मानका लागि योग्य ठान्नुभएकोमा म स्विडिस एकेडेमीप्रति आभार व्यक्त गर्न चाहन्छु । मैले सम्मान व्यक्त गर्ने महान् लेखकहरूको सूचीमा मलाई उभ्याइएकोमा मेरो मनमा केही शंका छन्– म यसका लागि योग्य छु कि नाइँ ? तर पनि मैले नै पुरस्कार पाउँदा म खुसी र गौरवान्वित नभएको भन्ने चाहिँ होइन । यो पुरस्कार प्राप्त गर्नेले साहित्यको दिशा र मार्गदर्शनका बारेमा व्यक्तिगत र बौद्धिक तर्क राख्नु उचित हुनेछ । यो समयमा साहित्यकारहरूको उत्तरदायित्व र कर्तव्यका बारेमा बोल्नु उचित हुनेछ भन्ने विश्वास मैले गरेको छु । 

Global Ime bank

नोबेल पुरस्कार र यो स्थानको गरिमाले मलाई बढ्ता अनुग्रहित हुन दिँदैन । मेरो पेशा र मेरा अग्रज लेखकहरूको योगदानले मलाई सिंहजस्तै गर्जन बाध्य बनाएको छ ।

साहित्य कुनै खाली चर्चमा दैनिक दोहोर्‍याएर गाइने भजनजस्तो होइन । न त यो बाहिरी संसारदेखि बेखबर भिखारीको खेल नै हो । साहित्य भाषणजत्तिकै पुरानो चिज हो । साहित्य मानवीय आवश्यकताले उब्जाएको हो र यसको अपरिहार्यता बढ्दै गए पनि परिवर्तन भएको छैन । आदिमकालदेखि गुरुभक्ति गाउने कवि, गायक र अहिलेका लेखकहरूमा भिन्नता छैन ।  आदिमकालदेखि नै साहित्यको काम, कर्तव्य र उत्तरदायित्वका कारण यसको अपरिहार्यता बढ्दै गएको छ । 

हामीले विभिन्न कालखण्डमा विविध विषम परिस्थितिसँग सामना गर्दै आएका छौँ । महान् अग्रज लेखक विलियम फौकनरले यसै स्थानमा यसलाई केवल विश्वव्यापी डरका रूपमा चित्रण गर्नुभएको थियो । सदियौंदेखि हामीले हाम्रो मनमा डर पालेर बसे पनि हाम्रो आत्मालाई खतरा नभएको बताउनुभएको थियो ।

अरुभन्दा फौकनर मानिसको क्षमता र कमजोरीमाथि बढी अवगत हुनुहुन्थ्यो । उहाँलाई थाहा थियो कि मानवीय डरलाई बुझ्नु र त्यसको समाधान पत्ता लगाउनु नै लेखकको अस्तित्वलाई जोगाइराख्नु हो । 

यो नयाँ कुरा होइन । लेखकमाथि लाग्ने पुराना आरोपहरू उस्तै छन् । हाम्रा गल्ती र दोषहरूलाई प्रस्तुत गरेको, सुधारका लागि भन्दै हाम्रा अँध्यारा र डरलाग्दा सपना लत्याएको आरोप उहाँमाथि लाग्ने गर्छ । लेखक हृदय र आत्माको महानता तथा हारमा पनि वीरता÷सौर्यका साथै साहस र मायाका बारेमा लेख्ने लेखकका रूपमा परिचित हुनुहुन्छ । दुर्बलता र चिन्ताविरुद्धको अन्त्यहीन युद्धमा यो एउटा आशाको दियो बनेको छ ।

म मानिसको पूर्णतामाथि विश्वास नगर्नेहरूलाई लेखक मान्दिनँ । उनीहरूमा लेखनप्रति लगाव नै हुन्न । अहिले हामीमा भएको विश्वव्यापी डर त हाम्रो विस्तारित ज्ञान र भौतिक संसारका केही चिजहरूको तोडमोडको परिणाम हो । यो सत्य हो कि अन्य क्षेत्रबाट यसबारे सोच्ने काम भएको छैन । तर यसको अर्थ उनीहरू यसबारे सोच्न असमर्थ छन् भन्नेचाहिँ होइन । उनीहरूको आँखा खोल्ने काम वास्तवमा लेखककै उत्तरदायित्व हो ।

इतिहासमा मानिसहरू प्राकृतिक विपद्हरूसँग सामना गर्न एकढिक्का भएका थिए तर पनि कतिपय अवस्थामा हामीले हाम्रो जिद्धीपनका कारण सम्भावित जितलाई गुमाउनु परेको छ । मैले अल्फ्रेड नोबेलको जीवनी पढिरहेको छु । पुस्तकमा उनलाई सावधान र विचारशील व्यक्तिका रूपमा चित्रित गरिएको छ । उनले विस्फोटक पदार्थ बनाए, जसलाई सिर्जनात्मक तरिकाले प्रयोग गर्दा थुप्रै फाइदा हुन्छन् । तर, चेतना र विवेक गुमाएर प्रयोग गर्ने हो भने यसले विनाशको बाटो तय गर्छ ।

नोबेल आफैंले पनि आफ्नै समयमा आफ्नै आविष्कारको दुरुपयोगले निम्त्याएको रक्तपात देखे । आफ्नो आविष्कारले निम्त्याउन सक्ने विनाशकारी भविष्य पनि देखेका थिए होलान् उनले । धेरैले उनलाई स्वार्थी पनि भन्छन् तर म यसमा विश्वास गर्दिनँ । मलाई लाग्छ– उनले ‘कन्ट्रोलिङ सेफ्टी भल्भ’ बनाउने प्रयास गरेका थिए । मलाई लाग्छ– उनले यसलाई मानवीय मस्तिष्क र हृदयमा छाडेका थिए । मलाई लाग्छ– उनको सोचाइ नै पुरस्कारयोग्य हो । मानव ज्ञानको विस्तार र संसार बुझ्ने प्रयत्न गर्नेलाई पुरस्कार प्रदान गरिँदै आएको छ, जुन काम साहित्यको प्राथमिकतामा पर्छ । त्यस्तै, शान्ति स्थापना र अरुमा शान्तिको बिजारोपण गर्नेलाई पनि पुरस्कार प्रदान गरिँदै आएको छ । अल्फ्रेड नोबेलको निधन भएको पाँच दशक पुग्दा हामीले सही र गलत छुट्याउन सकिरहेका छैनौं । कुनै समय भगवान् मानिने शक्तिलाई हामीले हत्याइरहेका छौं । पूरा संसार र जीवको मालिक बनिरहेका छौँ । 
आफूलाई भगवानसरह ठानिरहँदा हामीले आफ्नो विवेक र उत्तरदायित्व बिर्सनु हँुदैन । हामी आफैं कुनै समय दैविक शक्तिमाथि यस्तै कुराहरूको अपेक्षा राख्थ्यौँ । हामी नै हौँ हाम्रो सुन्दर तथा विनाशकारी भविष्य निर्माता । 

त्यसैले आज सेन्ट जोनको उक्तिलाई यहाँ राख्नु सान्दर्भिक ठान्दछु, “अन्त्यमा शब्द नै हो र शब्द नै मानिस हो र शब्द नै मानिससँग  छ ।”

ओरहान पामुक
‘द म्युजियम अफ् इनोसेन्स’ र ‘स्नो’ जस्ता चर्चित कृतिका लेखक ओरहान पामुकले सन् २००६ का लागि नोबेल साहित्य पुरस्कार प्राप्त गरेका थिए । उनको ‘इस्तानबुल’ नामक आत्मकथा पनि प्रकाशित छ ।

“तिमी किन लेख्छौ ? प्रायः मलाई सोधिने प्रश्न हो यो । उनीहरू प्रायः मैले लेख्नुको अर्थ सोध्छन् । उनीहरू मलाई ‘किन लेखनजस्तो पेशामा समय खर्च गरेको ?’ भनेर प्रश्न गर्छन् । हरेकपटक मैले लेखनबारे स्पष्टीकरण दिनुपर्छ तर हरेकपटक मेरो उत्तर फरक हुन्छ ।

कहिलेकाहीँ म भनिदिन्छु– मलाई थाहा छैन म किन लेख्छु तर मलाई यसले खुसी अवश्य बनाउँछ । मलाई लाग्छ– तपाईंलाई पनि पढ्दा त्यस्तै महसुस हुन्छ । कहिलेकाहीँ ‘म सबैदेखि रिसाएको छु, त्यसैले म लेख्दछु’ भनिदिन्छु । म कोठामा प्रायः एक्लै हुन्छु, त्यही भएर लेख्छु । मैले दिने उत्तर यस्तै हुन्छन् । 

बाल्यकालमा म पेन्टर बन्न चाहन्थें । दिनहुँ पेन्टिङ गर्थें । अहिले पनि जब म लेख्न बस्छु, त्यो बालापनाको आनन्द र खुसी आउँछ । म त्यही आफ्नो बालापना प्राप्त गर्न लेख्छु । मेरो लागि साहित्य र लेखन भनेको खुसी र आनन्द प्राप्त गर्ने साधन हुन् । योबिना दुःख नै दुःख छ ।

म बाल्यकालमा पेन्टिङ गर्दा अत्यधिक रमाउँथें र मेरो व्यवहार देखेर ठूलाबडाहरू हाँस्थे । सबै नरम, उदार र मायालु थिए । मैले यी सबै कुरा मेरो आत्मकथा ‘इस्तानबुल’मा पनि लेखेको छु । कतिपयले मलाई ‘तिम्रो आत्मकथा लेख्ने उमेर भइसक्यो र ?’ पनि भने । म मौन बसेँ । म भन्न चाहन्थें– साहित्यबाट पाउने भनेको खुसी नै हो, बालापनालाई जीवनभर बचाइराख्नु हो, आफैंलाई बचाइराख्नु हो ।

अहिले यत्रो ठूलो पुरस्कार पाएको छु । अहिले पनि तिनै मान्छेहरू मलाई सोध्छन्, “तिम्रो उमेर नोबेल पुरस्कार पाउने भइसक्यो र ?”

मैले पुरस्कार पाएको खबर आएपछि मलाई सोध्ने गरिएको छ, “नोबेल पुरस्कार प्राप्त गर्दा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?”
म भन्ने गर्छु, “म एकदमै खुसी छु ।”

अहिले पनि सबै ठूलाबडाहरू मलाई हेरेर हाँसिरहेका छन् । अचानक फेरि सबैजना नरम, मायालु र उदार भएका छन् । वास्तवमा म आफू राजकुमार नै भएजस्तो महसुस गर्दैछु । म सानो बच्चा भएजस्तो महसुस गर्दैछु । कुनै क्षण म महसुस गर्छु कि म त्यति धेरै किन रिसाएँ !

यो पुरस्कारले मलाई आफ्नै बालापनको रमाइलो क्षणमा पुर्‍याएको छ । फेरि अपरिचितहरूको उदारतालाई सम्झाइदिएको छ । धेरैले यो उमेर (५४)मा नोबेल पुरस्कार दिइनु हुन्थेन पनि भने । तर धेरै पहिले, मेरो बाल्यकालभन्दा पनि पहिले, शायद म जन्मेको २ हप्तापछि होला– मैले बच्चा हुनुको स्वर्गीय आनन्द लुटिसकेको थिएँ । वास्तवमा मैले अहिले सोच्न थालेको छु । त्यसैले म लेख्छु र लेखिरहनेछु ।”

(यी दुवै मन्तव्य नोबेल पुरस्कारको आधिकारिक वेबसाइटबाट लिइएको हो । दुबै सम्पादित अंश हुन् ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC