site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आत्महत्या केन्द्र
Sarbottam CementSarbottam Cement

त्यो दिन आत्महत्या गर्न चाहनेहरुको चाप निकै कम थियो । लाइनमा चार जनामात्र ग्राहकहरु थिए । फर्म भर्ने समय भने लगभग बितिसकेको थियो ।

चारमध्ये एक बुढिँदै गरेकी महिला थिई । एउटा अधवैंसे लोग्ने मानिस र दुई जना तन्नेरी केटा थिए । शिशिर ऋतु आत्महत्याका लागि बढी उर्वर याम भए पनि लगातार तीन दिन आत्महत्या गर्ने मानिसको बहाव निकै घटेको थियो । घट्नुको कारण भने ठम्याउन सकिरहेको थिइनँ । तर, त्यसले मेरो व्यापारमा हानि गरिरहेको थियो ।

यी सबै कुरा छोडेर त्यो दिनका ग्राहकहरु स्मरण गर्न चाहन्छु । जसका नामहरु पृथक थिए । र, उनीहरुको व्यवहार पनि पृथक थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अँ, पहिलो ग्राहकबाट सुरु गर्छु । ऊ साधारण र सभ्य देखिन्थ्यो । मेरो कक्षमा आउँदा उसको हिँडाइसमेत ध्यानमा राखेको थिएँ, जो साधारण नै थियो । उसले कोरेको कपाल, उसले लगाएको सेतो सर्ट र नीलो कोट पनि बिल्कुल साधारण र स्ट्यान्डर देखिन्थे ।

उसले केही कागजहरु मेरो हातमा दियो । मैले सर्सती हेरेँ । तर, त्यसमा पैसा तिरेको बिल थिएन । सुरुमा उसले क्यास काउन्टरमा सर्भिस चार्ज तिरेको हुनुपर्थ्यो । त्यो अधवैंशेले बोहोनी नै बिगारेको थियो । उसलाई देखेर मनमनै रिस उठ्यो ।

Global Ime bank

त्यो अधवैंशेको नाम थियो– जनताप्रसाद परदेशी ।

उसको नाम पढेर सुरुमा मेरो मनको देब्रे ओठ मुस्कुरायो । त्यही समय ऊ उराठलाग्दो गरी बोल्यो, "सर, के सधैँ यस्तै थोरै मानिसहरु मात्र मर्न आउँछन् ?"

उसको प्रश्नले अलग्गै किसिमको भाव बोकेको थियो । ऊ मर्न चाहनेहरुको ठूलो हुल हेर्न चाहन्थ्यो । ताकि उजस्तै थुप्रै मानिसहरु देखेर चित्त बुझाउन सकोस् ।

मैले उसको हौसला राख्ने हेतुले बोलेँ, "तपार्इँ भाग्यमानी हुनुहुँदो रहेछ । आज बिलकुलै भीड छैन । कुनै दिन लाइनमा बस्दाबस्दा मानिसहरुको मर्ने मुड बदलिन्छ । कोहीकोही त लाइन छोडेरै हिँड्छन् ।"

टाउको हल्लाउँदै ऊ टेबलअगाडिको कालो मेचमा बस्यो । म फर्ममा आँखा डुलाउन थालेको थिएँ, उसले अनौठो प्रश्न तेर्स्याइहाल्यो, "सुसाइड सेन्टर खोल्ने आइडिया गज्जबको लाग्यो । मान्छेले क्याक्या सोच्न भ्याउँछ, है सर ?"

मैले फर्मबाट आँखा हटाएर उसलाई हेरेँ । ऊ कुरा सुन्न उत्सुक देखिन्थ्यो । मैले भनेँ, "जनताजी, यो मेरै आइडिया हो । संसारको पहिलो आत्मदहन केन्द्र यही हो ।"

उसले आफ्नो पावरवाला चस्मा सोझ्यायो । आँखीभौँ माथिपट्टि तन्कायो । उसका आँखा ठूला देखिए । निधारमा गचमच्च मुजा थिए । ऊ मेचबाट जुरुक्क उठ्यो । हात मिलाउन हात बढायो, "तपाईंजस्तो खत्रा दिमागवाला मान्छेसँग भेटेर खुसी लाग्यो ।"

उसको प्रशंसाले मलाई खुसी बनाएन । बरु मन दुःखी भयो । त्यो प्रशंसा र मसँग भेट्दाको खुसी ऊसँगै मर्नेवाला थिए । किनकि मर्ने मानिससँगै उसको सबथोक मर्छ । त्यसैले म दुःखी हुनु आफैँलाई अस्वाभाविक लागेन । ऊसँग हात मिलाइरहँदा मनले निराशासँग हात मिलाइरहेको थियो ।

हात मिलाइसकेपछि ऊ फेरि मेचमा बस्यो । फेरि बोल्यो, "पहाडको टुप्पोमा खोलिएको यो आत्मदहन केन्द्र खास्साको सुन्दर देखिन्छ ।"

त्यो पटक भने उसको कुराले रिस उठ्यो । तर, ग्राहकसँग रिसाउनु जस्तो मूर्खता शायदै होला । आफ्नो रिस दबाएँ । उसको मन नदुखोस् भनी कुरामा कुरा जोड्न खोजेँ, जसरी डोरी बाट्दा पयो जोडिन्छ, "यो अफिस विशेषतः पहाडबाट हाम फाल्न चाहनेहरुलाई मध्यनजर गर्दै खोलिएको हो ।"

उसले तुरुन्तै छड्के प्रश्न तेर्स्यायो, "पानीमा डुबेर मर्न चाहानेहरुलाई नि ?"

"यै पहाडको फेदीमा हाम्रो अर्को शाखा छ । त्यस्ता ग्राहकलाई हाम्रै भ्यानमा डेलिभर गरिदिन्छौं । त्यहाँ ठूलो खोला छ ।"

त्यसपछि ऊ चुप लाग्यो । मैले फर्म ध्यान दिई पढ्न थालेँ ।

फर्म पढ्न मलाई झन्डै दुई मिनेट लाग्यो होला । त्यो दुई मिनेटको शान्त वातावरणलाई मैले नै बिथोलेँ, "अँ, तपाई कुन तरिकाले मर्न चाहनुहुन्छ ? फर्ममा त खुलाउनुभएको छैन ।"

त्यसपछि एकाएक ऊ गम्भीर देखियो । लामो सुस्केरा छोड्यो । उफ्ऽऽऽ । दायाँ हातले चस्मा सोझ्यायो । भन्यो, "सबैभन्दा सजिलो तरिका कुन छ ? सकभर पीडा कम होस् ।"

उसको चाहना आत्महत्या गर्न चाहनेहरुको आमचाहना जस्तै थियो । मर्न चाहने मान्छेको पीडासँगको डर सम्झेर मुसुमुसु मुस्कुराएँ । मेरो मनमा सधैँझैँ एक सामान्य तर गहिरो प्रश्न अग्लिएको थियो, "हरेक आत्महत्या गर्न चाहने मान्छे पीडासँग किन डराउँछ ?" प्रश्न मनमै बिलायो जसरी रङको थोपा नदीमा खसेर बिलाउँछ ।

खैर, उसलाई मर्ने तरिकाहरूबारे प्रष्ट पार्न खोजेँ, "तरिकाअनुसार मर्ने मान्छेले तिर्नुपर्ने रकम फरक–फरक छ ।"

म विस्तृत रुपमा वर्णन गर्ने नै वाला थिएँ, उसले मलाई बीचमै रोक्यो । सोध्यो, "सबैभन्दा सस्तो के छ ?"

मैले ऊबाट त्यो अपेक्षा गरेको थिइनँ किनकि ऊ सम्पन्न देखिन्थ्यो । कुनै महँगो शानदार तरिका रोज्ला ठानेको थिएँ । जस्तै: गाँजामा सोडिएम थायोपेन्टल मिलाएको सिगार वा चुरोटको माग गर्ला ठानेको थिएँ, जसले बिस्तारै नशामै मार्छ । हुन त म अनुमानमा प्रायः फेल हुन्छु । फेरि पनि मन अनुमान गर्न छोड्दैन । अनुमान गरिरहनु आखिर मनको एक पेशा न हो ।

उसले सस्तो तरिका सोधेकाले म जानि नजानी हच्किँदै बोलेँ, "अँ..., पछाडि भीर छ । त्यहाँबाट हाम फाल्नुपर्छ ।"

फेरि तुरुन्तै सोध्न भ्यायो, "यस्का लागि कति तिर्नुपर्छ ?"

"तीस हजारमात्र ।"

त्यसमा पनि उसले तुरुन्तै आपत्ति जनायो, "यो अलि बढी महँगो भएन र ?"

मैले उसलाई सम्पूर्ण प्रकृया बुझाउने कोसिस गरेँ, "वास्तवमा यो रकम निकै कम हो । तपाईं मरिसकेपछि भीरमा लाश खोज्नुपर्‍यो । तपाईंको शरीर धेरै टुक्रा–टुक्रा भएको हुन सक्छ । त्यो अवस्थामा प्रत्येक अंग खोज्नुपर्ने हुन्छ । त्यसपछि, प्रकृया पुर्‍याई लाशको अन्त्येष्टि गर्नुपर्‍यो । तपाईंको आत्माको शान्तिका लागि पूजापाठ गर्नुपर्‍यो । अनेक खर्च पो हुन्छ त । सोचेजस्तो सजिलो कहाँ हुन्छ र ?"

ऊसँग पैसा नभएको कुरा उसको अनुहारको रुपरेखा हेरी जानिसकेको थिएँ । तर, उसले आफ्नो अभाव देखाउन चाहेन । बरु कुरा मोड्यो, "भीरबाट हाम फाल्नु त डरलाग्दो कुरा हो । केही मज्जाको उपाय छैन ?"

"निकै मज्जाको तरिका पनि छ । एउटा कोठामा तपाईंलाई नग्न सुन्दरीसँग राखिनेछ । त्यहाँ थुप्रै पेयपदार्थहरु हुनेछन् । रातो रङको पेय पदार्थमा मन्द विषसहित उत्तेजनाको औषधि मिसाइएको हुनेछ । त्यो रातो रङको जुस पिएपछि तपाईंलाई मन्द विष र उत्तेजनाले च्याँप्दै लानेछ । तपाईं त्यहाँ सम्भोग गर्दागर्दै मर्नुहुनेछ ।"

मेरो वर्णन सुनेर ऊ हँसिलो देखियो । ढुक्कका साथ श्वास फेर्‍यो । हतारिँदै बोल्यो, "यस्का लागि कति तिर्नुपर्छ ?"

"यस्का लागि सत्तरी हजार चार सय बाइस रुपैयाँ लाग्छ ।"

उसको अनुहार तेजाब पोखिएझैँ देखियो । मैले उसलाई अर्को एकदमै सरल तरिका वर्णन गर्न खोजेँ, "हामीसँग एक सित्तैको तरिका पनि छ तर त्यसको लागि सर्त लागू हुन्छ ।"

"कस्तो सर्त ?"

"तपाईंले आफ्ना आँखा हाम्रो नाममा नामसारी गर्नुपर्ने हुन्छ ।"

"कस्तो तरिका हो त्यो ?"

"हामी तपाईंलाई एक बलियो नाइलन ब्याग दिन्छौँ । त्यसमा तपाईंले टाउको घुसाएर घाँटीमा जोडले बाध्नुपर्छ । तपाईं निसास्सिएरै मर्नुहुनेछ ।"

उसले टाउको हल्लायो । भन्यो, "यो तरिका पनि ठीक छ । तर, मैले आँखा नदिए कति तिर्नुपर्छ ?"

मैले भनेँ, "माफ गर्नुहोला ! यो स्किम हामीलाई आँखा दिनेहरुका लागि मात्र हो ।"

ऊ एकैछिन मौन बस्यो । गहिरिएर सोच्न थाल्यो । आफ्ना आँखाका नानी दायाँबायाँ डुलायो । मलाई हेर्‍यो, टेबलमा छरिएका कलम, किताब हेर्‍यो । लामो सुस्केरा छोड्यो, उफऽऽऽ ।

भन्यो, "सर, म तपाईंहरुलाई आँखा दिन सक्तिनँ । म पुनर्जन्ममा विश्वास राख्छु । यो जन्ममा आँखा बेचे अर्को जन्ममा म अन्धो भएर जन्मन सक्छु । बरु अरु यस्तै खाले सित्तैको वा एकदमै सस्तो उपाय छैन ?"

मैले भनेँ, "हामीले मर्नेहरुको राम्ररी अभिलेख राख्नुपर्छ । सरकारलाई बराबर कर तिर्नुपर्छ । कम चर्को छ त करको दर !"

सरकारको नाम लिनेबित्तिकै उसका कान ठाडा भए । उसले उत्सुक हुँदै सोध्यो, "मर्नेहरुबाट पनि सरकारले ट्याक्स लग्छ र ?"

"ट्याक्स मात्रै हो र, मैले यो अफिस खोल्न कति घुस दिनुपर्‍यो, मलाई मात्र थाहा छ । लाखौँ तिरेपछि मात्र यो वैधानिक संस्था बनेको हो । कर पनि ४० पर्सेन्ट तिर्नुपर्छ । ल सोच्नुस्, हामीले के खाने ?"

त्यसपछि उसले पनि सरकारविरुद्ध केही धारणा राख्यो, "सरकार त रक्तपिपासु कीरो हो । विदेशमा जनता बेचेर खान्छ । विचारा जनता घर बनाउने सपना लिएर जान्छ । फर्किंदा भएको घर पनि रहँदैन ।"

उसले झनै भावुक हुँदै भन्यो, "यस्तै हो भने गाउँमा मलामी पाइनेछैन । घरभित्रै लाश कुहिनेछ । हेर्नुहोला ।"

मैले उसको कुरा बीचमै काटेँ, "तपाई पनि बिदेसिनुभा'थ्यो कि क्या हो ?"

उसले आफ्नो निधारभरि मुजा जम्मा पार्‍यो । एकाएक उसका आँखाहरु टम्म परे । बायाँ हातले टेबलको ग्लोब घुमायो । भन्यो, "सर, म तपाईंलाई आफ्नो कहानी सुनाउन सकुँला तर अनुभूति र अनुभव दिलाउन सक्तिनँ ।"

ऊ लगातार बोल्दै गयो, "प्रियको गलामा ठूलो मंगलसूत्र बनाउने चाहना थियो । तर, प्रिय अप्रिय बनी । मंगलसूत्रको चाहना अमंगल बन्यो । उसका खुसी किन्न म परदेशमा बेचिएँ । तर, यहाँ ऊ अरुकै खुसी भएर रमाएकी रै'छे । म उसको दुनियाँ कामदेव र इन्द्र थिएँ तर कुरुप भिकारी बन्न पुगेँ । विश्वासजस्तो अविश्वासिलो जहर दुनियाँमा केही हुँदो रहेनछ । छोरो मामाघरमा छ । उसको अगाडि उभिएर मुस्कुराउने तागत पनि बाँकी छैन । घरि आगोमा जल्न मन लाग्छ, घरि खरानी घस्न मन लाग्छ । छटपटी भैरहन्छ ।"

मलाई मिस्टर जनताको भावुकतासँग लिनुदिनु केही थिएन । उसलाई सम्झाउन पनि चाहिनँ । सम्झाएमा मेरो एक ग्राहक गुम्ने डर थियो । बरु उसलाई भावुक हुनबाट रोक्न खोजेँ । किनकि भावुकता र पीरहरु पोखेर उसको तनाव घट्न सक्थ्यो । त्यसैले आत्महत्याका कुरामा रुमलाउन खोजेँ । भनेँ, "हामीसँग महँगोमा महँगो तरिका पनि छ तर त्यो तपाईंलाई जम्दैन । भन्नुस् तपाईंसँग कति रुपैयाँ छ ?"

उसले मेरो कुरा सुनेर पनि नसुने जस्तै गर्‍यो । आफ्नै भावनामा बग्दै गयो लगातार, "छोरालाई इन्जिनियर बनाउने सपना थियो तर अब उसको जिन्दगीको नक्सा बिग्रिसक्यो । मैले पठाएको जम्मै पैसा स्वास्नीले लगेर गैहाली । वास्तवमा मसँग पैसासैसा केही छैन । बढीमा दुईचार हजार मात्र होला । म कंगाल छु सर । नितान्त कंगाल ।" ऊ एकाएक डाँको छोडेर रुन थाल्यो ।

रिसउठ्दो र झन्झटिलो ग्राहक रहेछ । मनमनै उसको आलोचना गरेँ, "यस्ता मर्नै डराउने नाथेहरु आउनुभन्दा नआउनु जाती ।"

त्यसका बाबजुद उसलाई बैठक कोठामा बस्न अनुरोध गरेँ । ऊ रुँदै, आँशु पुछ्दै बैठक कोठातर्फ लागेको थियो ।

 

० ० ०

 

दोस्रो ग्राहक ।

अँ, उसको कहानीभन्दा पनि हुलिया अस्तव्यस्त र पीडादायी देखिन्थ्यो ।

ऊ बुढिँदै गरेकी महिला थिई । कुनै साइको मान्छेको जस्तो हाउभाउ र हिँडाइ थियो उसको । फटाफट भित्र आई ऊ । तुरुन्तै अगाडिको मेचमा थचक्क बसी । हतारमा देखिन्थी । उसका औँलाहरु हल्का किसिमले काँपिरहेका थिए । ओठहरु समेत थोरैथोरै हल्लिरहेका थिए । नजरहरु समेत शान्त थिएन, अस्तव्यस्त थिए । जिरिङ्ग परेका कैला फुस्रा कपाल फोहोर देखिन्थे । अनुहार सुकेर हड्डी प्रष्ट देखिन्थे । रंगहीन थियो अनुहार ।

उसको हुलियालाई थाँती राखेर मैले कागजहरूमा ध्यान दिएँ । अफसोच ! उसले पनि बिल काटेकी रहिनछे ।

मलाई उसको दिमागमाथि शंका लागिरहेको थियो । त्यसमाथि उसले भरेका विवरणसमेत अनौठा थिए । शंकामाथि शंका थपिएपछि उसले लेखेका कुराहरु उसैलाई सोध्न थालेँ । ऊ सरासर आफैँले फर्ममा भरेका कुराहरु बताउँदै गई ।

"नाम ?"

"नेपाल आमा ।"

"नेपाल आमा ! ठेगाना भन्नुस् ।"

उसले स्वाक्क नाक बजाई । हतारिँदै भनी, "पूरै नेपाल । तर, बाबु छिमेकीले धेरै मिचिसक्यो । जसरी भोकले मेरो पेट मिच्छ ।"

मैले उसलाई अझ ध्यानसँग हेरेँ । उसले ओढेको सल ठाउँ–ठाउँमा प्वाल परेको थियो । उसको सम्पूर्ण हुलिया हेरेर ऊसँग पैसा होला भनेर अनुमान गर्नु नै मूर्खता थियो । तर पनि सोझै सोध्नु झन् मूर्खता हुन सक्थ्यो । पैसाको कुरामा ध्यान नदिएर फर्ममा लेखिएका कुराहरु फेरि सोध्न थालेँ ।

"मर्न खोज्नुको कारण ?"

"कोखबाट नेताजस्तै सन्तानहरु जन्मिए । त्यही कारण पाठेघर क्यान्सर र स्तन क्यान्सर भयो । देशजस्तै बिरामी भएकी छु । औषधि गर्न सक्दिनँ । खुब पैसा लाग्छ रे ! मालिकहरु पो देशको ढुकुटी बाँड्छन् । भेडाहरु बाँच्न के जरुरी छ र ? मर्नुपर्छ । सब मर्नुपर्छ ।"

मैले टाउको हल्लाउँदै फेरि सोधेँ, "कुन तरिकाले मर्न चाहनुहुन्छ ?"

"मलाई जुन तरिका भए नि हुन्छ ।"

त्यसपछि मैले उसलाई फर्मका कुराहरु सोध्न छोडिदिएँ । किनकि उसले फर्ममा लेखेका अक्षरहरु हुबहु सुनाएकी थिई । बरु उसलाई बिल काट्न आग्रह गरेँ, "जानुस्, बिल काटेर आउनुस् । जुन तरिकाले मर्न चाहानुहुन्छ, त्यै अनुसार बिल काट्नुहोला ।"

ऊ बर्बराउँदै बाहिरिएकी थिई । मलाई ऊसको हुलिया बिल्कुलै हाम्रो देशको हुलिया जस्तो लाग्यो ।

 

० ० ०

 

त्यसपछि तेस्रो ग्राहकको पालो आयो । अगाडिका दुबै ग्राहकभन्दा निकै र बेग्लै पृथक थियो ऊ ।

शान्त तवरले ऊ मेरो छेउमा उभियो । मैले ऊतर्फ हेरेँ, गम्भीर देखिन्थ्यो । ऊ न त केही बोल्यो न त कुर्सीमा नै बस्यो । उसको अनुहार पनि ओइलिएको जस्तो देखिन्थ्यो ।

उभिएरै उसले मेरो हातमा सम्पूर्ण कागजात दियो । मैले ती कागजातहरु समातेँ, जसमा बिल पनि थियो । त्यो दिनको बोहोनी गर्ने ऊ नै पहिलो ग्राहक बन्यो । उसको नाम थियो– भविष्य ।

भविष्यले आत्महत्या गर्न शानदार तरिका रोजेको थियो । ऊ ड्रग्सको ओभरडोज लिई मर्न चाहन्थ्यो । त्यसरी मर्न चाहनुको कारण पनि सानो नोट बनाई लेखेको थियो, "म घूस खान सक्तिनँ । यो देशमा घूस नखाने र दुई नम्बरी काम नगर्ने मान्छेको जिन्दगी नरकीय छ । ड्रग्स ? चाखेर हैन, अघाएरै मर्न मन लाग्यो ।"

६४ हजारको बिलको अभिलेख राखेँ । त्यो बिलले थोरै भए पनि मन रमाएको थियो । अनि ऊतर्फ नहेरेरै उसलाई ल्याप्चे हान्न लगाएँ । उसको फोटोमा पर्ने गरी सिग्नेचर गर्न पठाएँ । त्यसपछि कलबेल बजाएँ । बेलको आवाज सुनेर प्रधान अर्थात् हाम्रो अफिसको पीएन तुरुन्तै भित्र आयो ।

मैले प्रधानलाई सानो चिटमा प्रेस्कृप्सन लेखेर दिएँ । भनेँ, "भविष्यजीलाई ड्रग्स इन्ह्यालेसन कक्षमा लिएर जाऊ ।"

उसले सर्सर्ती त्यो हेरेर टाउको हल्लायो र भविष्यलाई लिएर गयो । त्यो बेला यस्तो लाग्यो, यो देशको भविष्य आजै आत्महत्या गरिरहेको छ ।

 

० ० ०

 

दिनको चौथो वा अन्तिम ग्राहक । वास्तवमा उसको कहानी भन्न मन छैन तर भन्नुपर्ने हुन्छ । हैन भने अहिलेसम्मका कुरा अपूरा लाग्न सक्छन् ।

ऊ मेरो अगाडिको मेचमा बसेन । गम्भीर भएर छेउमा लुसुक्क पनि परेन । ऊ त चाक्लो र पहराजस्तो छाती बनाएर ठीक मेरो अगाडि ठिंग उभियो । टेबलमा केही कागज राख्यो ।

सुरुमा त मैले मनमनै उसको सौन्दर्यको प्रशंसा गरेँ । उसको उमेरबारे लखसमेत काटेँ– शायद २४-२५ को हुनुपर्छ ।

अँ, मलाई उसको सौन्दर्य देखेर एक किसिमको लोभसमेत लागेको थियो– काश ! सौन्दर्य आदान–प्रदान गर्न सकिँदो हो त ऊ मर्नुअगाडि उसको सौन्दर्य माग्ने थिएँ ।

मनगढन्ते तारिफपछि उसका कागजात हेरेँ । उसको नाम थियो– वर्तमान ।

ऊ पनि बिल नकाट्ने ग्राहकहरुकै सूचीमा थपिएको थियो । मन खिन्न बन्यो । मैले सोझै बिलबारे कुरा गरेँ, "खै त बिल ?"

उसले मोटो बुलन्द आवाजमा बोल्यो, "यहाँ मैले आत्महत्या गर्न चाहेको तरिका छैन रे ! तपाईंसँगै सोधपुछ गर्न भनियो ।"

त्यो गम्भीर कुराले मेरो दिमाग टन्कियो । निधार आफसेआफ खुम्चियो, "वर्तमानजी, हामीसँग सबै तरिका छन्– सस्तो, महँगो । त्यो भने तरिकामा भर पर्छ । भन्नुस्- तपाईंले चाहेको तरिका कुन हो ?"

उसले अति साधारण किसिमले मेरा आँखामा आँखा राख्दै भन्यो, "जतिसुकै महँगो भए पनि म तिर्न तयार छु । मलाई आत्मघाती बमवाला ज्याकेट चाहियो । म आत्मघाती बमसँगै आत्मदाह गर्न चाहन्छु । म त यसै मर्छु नै । सिंहदरबारका केही अमान्छेहरुलाई मैसित लैजाने इच्छा छ । यो वर्तमानको इच्छा हो । आवश्यकता पनि हो ।"

उसको त्यो सुन्दर आकृतिका बाबजुत मलाई डर लाग्यो । क्रूर मानसिकता देखेर धड्कनको कम्पनसमेत बढेको थियो ।

मैले सकभर नआत्तिएरै बोल्न खोजेँ । तर, कताकता डरको बतासले मेरो आवाजलाई छोएको भान भएको थियो, "माफ गर्नुहोला त्यस्तो सेवा हामीसँग छैन । हामी त्यस्तो सेवा दिन सक्दैनौँ ।"

ऊ केही बोलेन । चुपचाप हतारिँदै फर्कियो । त्यो आवेग र आक्रोश देखेर यस्तो लाग्यो- वर्तमानले साँच्चै आत्मघाती बम खोजिछाड्नेछ । र, सिंहदरबारभित्र घुस्नेछ ।

उसले आफ्ना कागजात मेरै टेबलमा छोडेर गएको थियो । ती कागजात च्यातेर डस्टबिनमा मिल्काइदिएँ । लामो सास फेर्दै सिगार सल्काएँ । कोठाभरि सिगारको बास्ना फैलियो ।

सिगारको अन्त्येष्टिपछि कोठाबाट बाहिरिएँ ।

 

० ० ०

 

अफिसका सबै ग्राहकहरु आ–आफ्नै काममा व्यस्त थिए । मलाई भने पहिलो ग्राहक वा भनौं रुन्चे ग्राहकको सम्झना आयो । ऊ बैठक कोठामा होला कि नहोला ? मनमा प्रश्न खेलाउँदै बैठक कोठातर्फ लागेँ । नभन्दै ऊ बैठक कोठामै थियो । टिभी हेरिरहेको थियो । मलाई देख्नेबित्तिकै टिभी बन्द गर्‍यो । मेरो अनुहारमा हेर्दै थोरै मुस्कुराउन खोज्यो तर सकेन ।

मैले सोझै भनेँ, "जनताजी, तपाईंसँग जति पैसा छ दिनुस् ।"

दुइटा हजारका नोट सर्टको बायाँ खल्तीबाट निकाल्यो । पाइन्टका चारैवटा खल्ती झारझुर गरेर केही सय, १०-२० र १-२ रुपैयाँका नोट र सिक्का निकाल्यो । मैले ती चानचुन गनेँ । जम्माजम्मी २७ सय ४२ रुपैयाँ रहेछ ।

त्यसपछि उसलाई अन्डरग्राउन्ड कोठामा लिएर गएँ । कोठा अँध्यारो थियो । बत्ती बालेँ । काला भित्तामा धारिला तरवार, खुकुरी, अनि बन्दुक–पेस्तोल झुन्ड्याइएका थिए । भुइँमा केही टाउका नभएका शरीर अलपत्र परेका थिए । केही टाउका आँखा उघारेर भुइँमै फिँजिएका थिए । रगतले पूरै भुइँ लेपिएको थियो । कोठा ह्वासह्वास्ती गनाइरहेको थियो । मलाई त गन्ध एक किसिमको बानी भइसकेको थियो । तर, जनताले एकछिन नाक छोप्यो ।

ती हतियारहरु देखाउँदै भनेँ, "तपाईंको आत्माको शान्तिका लागि हामीले मन्दिरमा भेटीमात्र चढाउनेछौँ । तपाईंको मर्जी आफैँलाई गोली हान्नुस् वा धारिलो हतियारले आफ्नो गर्दन छे्द्नुस् ।"

उसले घरि मलाई हेर्‍यो घरि हतियारतिर आँखा डुलायो । घरि शरीरबाट छुट्टिएका टाउका र टाउकाविहीन शरीर हेर्‍यो । ऊ आत्तिएको जस्तो देखियो । उसको मुटुको आवाज बाहिरैसम्मै आइरहेजस्तो लागिरहेथ्यो । ऊ नडराओस् भन्ने हेतुले बोलेँ, "तपाईंको मृत्युको अभिलेख राखिनेछैन । छिटो आफ्नो काम गर्नुस् । आत्मा अमर हुन्छ, त्यसैले नडराउनुस् ।"

उसको अनुहार रातो–रातो हुँदै गयो । थुक घुटुकघुटुक निल्यो । गलाको हड्डी लगातार तलमाथि हल्लिरहेको थियो । भन्यो, "मलाई डर लाग्यो सर । ममा पीडा सम्झेर डर जन्मियो ।"

म केही बोलिनँ । बोल्न कुनै शब्द पनि फुरेनन् ।

ऊ सरासर त्यहाँबाट हिँड्यो । मैले ऊ हिडेको दृश्य चुपचाप हेरिरहेँ । ऊ अलप भइसकेपछि मैले कोठाको बत्ती निभाएँ र बैठक कोठातर्फ लागेँ । बैठक कोठाको सोफामा पल्टिएँ । टिभी चालू गरेँ । टिभीमा ताजा समाचार घन्किँदै थियो, "सरकारले बिदेसिने युवालाई फ्रि भीसा फ्रि टिकटको व्यवस्था कडाइका साथ लागू गर्ने भएको छ ।"

त्यही समय मनले मनमनै सरकारको बिजनेस पोलिसीको तारिफ गरेको थियो । जनता बेच्न सरकारको स्किम गज्जबको जो थियो ।

टिभी हेरिरहेकै थिएँ । लगभग २० मिनेटपछि एउटा मान्छे हतारिँदै मेरो अगाडि उभियो । ऊ अरु कोही नभई मर्न डराएर भागेको रुन्चे ग्राहक थियो । बीच बाटो पुगी फर्किएछ । शायद दौडँदै आएको थियो । त्यसैले थाकेको थियो । सास छिटोछिटो फेर्दै थियो । जोशिलो पारामा हतारिँदै बोल्यो, "अब डराउन्नँ सर । मलाई तलको कोठामा छिटो लिएर जानुस् ।"

त्यो समय भने मरौँ कि बाँचौँको दोसाँधमा रुमलिरहेको जिन्दगी देखेर मन असोचनीय तवरले चर्कियो । तथापि म सोफाबाट जुरुक्क उठेँ । ममा पनि हतार जन्मिएछ । म पनि छिटोछिटो बोलेँ, "ल हिड्नुस् ।"

तल्लो कोठामा झर्दै गर्दा उसलाई सजिलो तरिका सिकाउन मन लाग्यो । भनेँ, "जनताजी, पेस्तोल आफ्नो कन्चटमा ताकेर टिगर दबाउनुहोला । तपाईंलाई एक सेकेन्डको पीडासमेत अनुभूति हुनेछैन ।"

त्यो बेला यस्तो लाग्यो, कदम्कदाचित म ‘जनता’जी माथि सरकारजस्तै त बनिनँ !?!

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC