site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बाटो
Sarbottam CementSarbottam Cement

“बाटो लिन को गयो हँ ?,” वरपर सबैतिर हेरेपछि एकजना बूढा बालेले भने, “नगएको भए झट्ट जान परो ।”

कात्रो लिएपछि बल्ल चोयामा ऊनी घरछेउमा फिँजिनेछ । टाढैबाट कात्रो देखेर वल्लोपल्लो गाउँका नातेदार र मलामी पुग्नेछन् ।

दमाईले चारै दिशामा मान्छे मरेको जनाउ दिने ‘बिप्पे दमाहा’बजाएपछि कात्रोले प्रवाह गरेको सूचनालाई थप पुष्टि गर्नेछ । होइन भने कात्रोलाई सिरकको छेउला सुकाइएको हो कि भन्ठानी मान्छे अलमलिनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्म न कोही दमाई बोलाउन गएका थिए, न त कात्रो किन्न नै । 

“सब्बै हव्वा भैगे कि ? के ताल हो ?” बाजे गनगन गरे । 

Global Ime bank

भेला भएका मलामी रुवाबासीमै अलमलिएका थिए ।

“छोरी–बहिनी भए थिउथप गर्थे होला,” घाट लाने कात्रो कति लामो होला भनी बूढाबूढीले खासखुस गरे, “कोई भे प भन्नु र !”
“के गर्ने तो मनतोला ?”

आँखैआँखाले सोधे । 

मनतोला भनारकुना३ मा पसिन् । आमाको पछि लागेका छोरोलाई मलामीले रोक्न खोजे । तर, रोएपछि छाडिदिए ।

खिर्कीबाट मसिनो उज्यालो भित्र पसेको थियो । राम्ररी देख्न काफी नभए पनि त्यै उज्यालोले काम चलाउनु थियोे । 

धुइँसोले कालो न कालो भएको टिनको बाकस खोलिन् । 

लुगा झिकिन् । 

टक्टकाइन् । 

केही खसेजसरी टिप्न खोजिन्, थिएन केही ।

मानौँ, बाकसमा राखेकी थिइन्, पतिलाई पठाउने कात्रो किन्ने पैसा । त्यै बाकस थियो, जुन जोखबहादुर पहिलोपालि कालापार गएर घर फर्किंदा घोराहीमा किनेका थिए । 

टलक्क टल्कने टिनको बाकसको अनुहार बूढ्यौलीसँगै धुइँसो थपिएर कालो न कालो भएको थियो ।

बाकसबाट पैसा ननिस्केपछि मनतोलाले वरिपरि हेरिन् । 

केही त राखेझैँ लागेर फेरि भित्र पसिन् । 

छोरो पनि पछिपछि भित्र पसे । 

“को छ र मेर्ता,” भनारकुनाबाट रित्तै फर्केकी मनतोलाले आफूलाई थाम्न सकिनन् । 

“बाटो उधारे देऊ तो ब भन्न नि भइन के र !,” भन्दै मलामीले प्रतिक्रिया जनाए । 

“आमाजू, हात गर्देऊ है । सेउरेलई पठानु ता परो । सौले पत्याल्छन् कि,” आमाजूलाई साहुकहाँ ऋण लिइदिन मनतोलाले अनुनय गरिन् । 

उनकी आमाजूले ‘नाइँ’ भन्न सकिनन् । 

भेला भएजति मलामीले चिहान पुर्‍याउने तयारी थाले । उनकी आमाजू कात्रो किन्नलाई ऋण काढ्न साहुकहाँ गइन् । 

‘गाउँमा फलानो मर्दा यति थान उति थान कात्रो हाले’ भन्थे । तिनले मान्छे मरेको एक सातासम्म त कात्रोकै चर्चा चल्थ्यो । 

कति थान किने होलान् ? एक थानमा कति मिटर हुन्थ्यो होला ? कसैले हिसाब गरेनन् । 

कात्रो ल्याए । नचिरेको सिङ्गो चोयाको कापमा अल्झाए । त्यसपछि मनतोलाको घरअगाडि फिँजे । 

दमाई पुगे । 

‘अ ह्याँ कोल्बोटे जोखे हराइगे...’ भन्दै चारै दिशामा मान्छे मरेको सन्देश दिने ‘बिप्पे दमाहा’ बजाए ।

घरअगाडि कात्रो फिँजाइएको कारण थियो, देखेर मलामी आऊन् । दमाहा बजाइनुको कारण थियो, सुनेर मलामी आऊन् । 

कात्रो, दमाहाको आवाज र मलामीका चहलपहलले भकारामा बाँधिएका गाईभैँसी तर्सेर फा फा, फु फु गर्न थाले ।

एकजना मलामीले घरछेउकै टौवामा राखिएको घुर्रो झिकेर गाईभैँसीलाई दिए । तर, वस्तुभाउले भने नखाएर फा फु गरे । 

आफ्ना मेसोमा बाटो लागेका गाउँले ‘मूर्तिवत’ भए । बिप्पे दमाहा बजेको हो कि बिहे वा पूजाको भनी फरक छुट्याउन कान थापे । बिप्पे नै हो भन्ने पक्कापक्की भएपछि गाउँलेका मुखबाट झर्‍यो, “कठै नि, को गए ब !”

क्रमशः गाउँलेले अड्कल काट्न थाले, उमेरले पाकेका बूढाबूढीका अनुहार सम्झँदै । 

त्यसपछि आवाज आएतिर कान थाप्दै हेर्न थाले, “बाटो देखिन्छ कि ?”

गाउँलेका कान र नजर डुल्न थाले, दमाहा बजेको आवाज आएतिर ।

वल्लोपल्लो गाउँमा सुनिन थाल्यो : 

“होइन के सुन्दै छु हँ बिप्पे दमाहाजस्तो ?”

“मान्छे हरायो गरे किउ ठूल्जी ।”

“होइन के भन्छ यो टुकिन्ले ?”

“बाटो देक्खिन्छ कि ?”

“ऊ हेर तो आमाजू, कोल्बोट जोखेको घर प रहेछ के र । को मरो हँ ?”

“कालले जिनोकान्छो भन्छ र ? अरु प परे कि ?”

“आज राति स्यानो कुकुर भुक्या थिन हे । मान्छे खाने रैच र ब ।”

धागो कातिरहेका महिलाले टाकु बिसाएर एकापसमा भन्न थाले । 

गाउँलेका आँखा आकाशतिर उकालिए । बादलका दुई–चार टुक्राबाहेक केही थिएन । 

“आज ता सर्ग स्यानो सप्फा छैन बाल् । मर्ने मान्छ ता स्यानो धर्मी रैनचन् ।”

दमाहाको तालसँगै मान्छे रोएको आवाज पनि टाँठिन थाल्यो । 

हेर्दाहेर्दै घाम गाउँतिर झरे । 

दमाहा र सेतो लुगाले सूचना प्रवाह गरेपछि वल्लोपल्लो गाउँबाट मलामी झर्न थाले । 

“अँ के गर्ने र भाग आए ता । जानै परो ।”

“के गर्ने तो । लग्गिले भग्वान्ले । सागर परेको सेउरेलाई घरमा राख्न भएन । अब ता मनुखेबाट सेउरे भैगे । माना सक्के’सि बोलाए माथिबट भग्वान्ले । यिनी ता आब स्वर्गमा बस्चन् । ... हाइसोके भए । यिन्ले ता आब दुक्खको सङ्सारबट मुक्ति पाइले । हाम्रो भाग ब कइल आने हो ब ।”

मलामीले चोयाको कापमा कात्रोसित ‘भलाकुसारी’ पनि कोच्न थाले । 

० ० ० 

मनतोलाले घरि आँसु पुछ्थिन् त घरि खाजा भुट्थिन् । आफैंले श्रीमान्लाई घाट पठाउने सर्जाम गरिरहेकी थिइन् । 

भक्कानिएर आएको मन घरि गादोे बाँधेको गाँठोले रोक्न खोज्थिन् त घरि पछ्यौरीले । 

गहुँगोरी मनतोला रुँदारुँदा रातोपिरो न कस्तो कस्तो देखिएकी थिइन् । हिजोमात्र नयाँ चुरा लगाएकी उनले खाजा भुट्ने भुट्नेस

हातले चलाउँदा निक्लेको खोर्लाङखोर्लाङ आवाजमा चुराको आवाज मिसिँदा झन् विरही धून निक्लिरहेको थियो । छेउमा बसिरहेको छोरोले घरि आमाको आँखाबाट झरेको आँसु हेर्थे त घरि भुटिरहेको खाजा । 

बेलाबेला छोरोले बासी रोटी गाँस हाल्थे, सिँगानको सर्कोको अचारसित ।

‘हे दैव, के भयो आज मलई’ भन्दै मनतोलाले खाजा भुट्दाभुट्दै घरिघरि भुट्नेस भुइँमा राख्थिन् । 

“एकदिन जम्मैलाई पर्ने दुक्ख हो । ढिलोचाँरो मात्रै हो । मनतोला, आफूलाई समाल्,” पाका बूढीहरूले बेलाबेला भन्थे । तर, तिनका मन पनि बगेको थियो, आँसुसित आँखाको बाटो समातेर ।

“बाच्चा भन्नन् पुराने ता हो, भयो अब,” चुलोमा बसेर एक पाका बूढाले ‘औपचारिकताका लागि त हो, अब पुग्यो’ भन्थे । तर, मनतोलाको मनले मान्दैनथ्यो । 

“आब कैल प ख्वाने छु र ? भुट्छु अझ्झै,” पतिले नै खालान्जसरी मनतोलाले भन्थिन् ।
मरेको मान्छेले के खानु ? तर, खाजा अझै भुट्दै थिइन् ।

‘सेउरे पठाउने रोटा५’ भन्दै मलामीले तावामा सुक्खा रोटी पनि पकाउँदै थिए । 

दमाहा र कात्रोले सूचना पाएर आएका मलामीले घर भरियो । 

मकै, मास, जौं मिसाएर ७–८ घान खाजा भुटिन् । २०–२१ वटा रोटा पाके ।

० ० ०

शवलाई मान्द्रोमा राखे ।  सेतो कपडाले बेरे । सिरानीमा खाजा र रोटी राखिदिए । 

मलामीले जोखबहादुरको निधारमा गच्छेअनुसार रुपैयाँको फूल सिउरिदिए । 

अन्तिम बिदाइस्वरूप ढोगे । 

बाँच्दासम्म कहिल्यै सिउरिन नपाएका जोखबहादुरको निधार ‘रुपैयाँ फूल’ले सिँगारियो । 

अबोध छोरो घरिघरि बाबाको अनुहारमा सिउरेको पैसा टिप्न जान्थे । बेलाबेला बाबैबाबै भन्दै बोलाउँथे, ‘उठ्न’ भन्थे । घरिघरि ‘बाबै किन नबोलेको’ भन्थे । नबोल्ने भनेर म पनि बोल्दैन भन्दै घरि यता गर्थे त घरि उता ।

“सातो मिस्सिजान्च किउ, उता लैजाऊ लखेलई,” बेलाबेला बाबातिर हानिने बच्चालाई मलामीले समाउँदै भन्थे, “केराटीऔ, यो लखेलई भाइर लग । उतै तिमाल ।”

त्यसपछि पाका आमैहरूले रुँदै मृतकलाई सम्झाउन थाले । जसलाई ‘अह्राउने’ भन्थे । 

अब ‘उपल्नु मान्नाम’ जानलाई ‘बाटो लाग्न’ के–के गर्नुपर्छ भन्दै आँसुको लयमा उपदेश दिन थाले ः

जिउँदो होना जाँजाँ घुम्या थिइस्, ह्वाँह्वाँ पुगेस्, हुँऽऽऽ 

...तेरो ज्हान परिवार र कुलकुलामीमा हेर्न आएस्, हुँऽऽऽ 

तँ ता आजबट तेरा जिजुबाजे र बउ भएको ठौमा जा, हुँऽऽऽ 

...जलजला गएस्, हुँऽऽऽ

दाब्रे बाटो लागेस्, हुँऽऽऽ

रङ्ङीचङ्ङी फूल फुलेका होनन्, फूलमा नभुलेस्, हुँऽऽऽ

छेकबथान गर्नन्, धजा तिला चराएस्, हुँऽऽऽ 

पाटी फाली गएस्, हुँऽऽऽ

तँ काँ जानेस् भनी बाटोघाटोमा छेकबथान गर्नान्, हुँऽऽऽ

म ता रखवीरको पनाति हम्, भुजेको नाति हम्, पर्सेको छोरा हम् भन्दै गएस्, हुँऽऽऽ

तेरो जिजुबाजु र बउ खोज्दै गएस्, हुँऽऽऽ

गारभीरले रोक्नन्, म ता रखवीरको पासमा जाने हम् भनेस्, हुँऽऽऽ

मलई पठइ लैजऊ भनेस्, हुँऽऽऽ

तेरो नौ रोटी नौ तामा पैसा छ, हुँऽऽऽ

नौ धन नौ अन हाल्देका छम्, हुँऽऽऽ

तैँले गल्ती गर्‍याको थिस् कि तैँले दान दक्छिना गर्दै गएस्, हुँऽऽऽ

उभै मैकोटे गएस्, हुँऽऽऽ

उभै मैकोट काटेपछि सिस्नाको उल्टे लिस्ना छ, हुँऽऽऽ

ऐसेलको काँरा होला, हुँऽऽऽ

ऐसेलको बार होला, हुँऽऽऽ

काँराको बार काटी गएस्, हुँऽऽऽ

रखवीरको पनाति हम् भन्दै गएस्, हुँऽऽऽ

कुल देउता, कुलकुलामी भन्दै गएस्, हुँऽऽऽ

स्वर्ग लोकमा गएस्, हुँऽऽऽ 

नाम्रो जुनीजर्मन लेएस्, हुँऽऽऽ

आजबट तँ ता मनुवा रैनस्, हुँऽऽऽ

आजदिखि तँ ता जेमराजको भइस्, हुँऽऽऽ

आजबट सेउरे भइस्, हुँऽऽऽ

सम्झे पानी गएस्, हुँऽऽऽ

सम्झे पानी खाएस्, हुँऽऽऽ

तेरो ज्हान परिवार सप्पैलई सम्झेस्, हुँऽऽऽ

बिर्सेपानी गएस्, हुँऽऽऽ

बिर्सेपानी खाएस्, हुँऽऽऽ

तेरो कुलकुलामी, ज्हान परिवार र इष्टमित्र सप्पैलई बिर्सेस्, हुँऽऽऽ

ज्हान कबिलाकाँ तँ फर्केर नआएस्, हुँऽऽऽ

‘बिर्सेपानी पुगेर सबलाई बिर्सेस्’ भनेपछि मनतोला झन् भक्कानिइन् ।

उसो त आँसुको तालमा लय हाल्दै अह्राउन थालेपछि यसै भिजेको थियो, वातावरण । 

रुवाकली झन् थपियो ।

शवलाई मान्द्रोमा बेर्दै बाँध्न थाले । 

“बाटो कति लामो भयो ? बाटो समाउनु परो । कसैले लाश बोक्न परो । अगिल्लो जानेले यी यो खुकुरी उचाल्ने । खन्ने कोदाला बोक ।”

“बाहिर खुट हान्न लगाऊ तो, दमैलाई । जाने बेला भयो,” आँटीघरेले भने ।

दमाहाको ताल फेरियो अर्थात् शवलाई घाट लाने तालमा दमाहा बज्न थाल्यो । 

“मोरा बोक ।”

सबैभन्दा अघि लागे घारीघरे, कात्रो उनेको एउटा चोया समाएर । बायाँ हातले कात्रो उनेको चोया समाए भने दायाँ हातमा खुकुरी । 
क्रमशः मलामीले चोयामा उनेको कात्रो उठाउँदै बाटो लागे । 

मनतोलालाई आमाजू र मास्टर्नीले समाएर हिँडाए । 

सबैभन्दा अगाडि कात्रो बोकेका मलामी, त्यसपछि शव बोकेका अनि केही मलामीपछि मनतोला । 

“कप्रा पोल,” तीन मिनेटजति हिँडेपछि बाटोमा मलामीले मृतकका लुगा पोले । 

अघिसम्म सम्हालिँदै भक्कानिएकी मनतोलाको चित्कार चर्कंदै गयो । 

“कठै नि । गरिप् रैचन् । बाटो लामो छैन,” वारिपारिका गाउँलेले जोखबहादुरको आर्थिक हैसियत कात्रोमा जोख्न थाले । 
मृतक ‘जति धनी त्यति लामो कात्रो’ भन्ने चलन थियो ।

चिहानघाट पुगे । 

जोखबहादुरलाई आफ्नी आमाको चिहानछेवैमा गाड्न शव बिसाए । चिहानघाटमा कात्रो फिँजियो । र, दमाईले शव चिहान पुगेको जनाउ दिने दमाहाको ताल फेरे । केही क्षणमै खाडल खन्न सुरु गरेको दमाहाको ताल सुरु भयो ।

खाल्डो खनेपछि पैँयुको हाँगाले सफा गरे । कुनै पनि जीव नपरून् भनी राम्ररी हेरे । मान्द्रोसितै जोखबहादुरलाई खाल्डोमा हाले । 
मनतोलालाई सम्हाल्न झन् गाह्रो भयो । मनतोलालाई अलि पर लगे । 

जरिवाना तिर्न राखिदिने भन्दै सिउरिदिएको केही रकम निधारमै छाडे । बाँकी रकम झिके । (त्यो रकम मलामीले बराबर भाग लगाउन सलाई किनेर बाँडे ।)

“आब सप्पै मलामी आऊ है, मट्टी दिन,” बूढापाका मलामीले सबै मलामीलाई बोलाए, “मनतोलालई नि ल्याऊ ।”
मनतोलालाई खनेको माटो हात पारे । 

मनतोलाले माटो दिइन् कि उनको बगेको मन ? 

उनले फेरि सम्हाल्न सकिनन् । 

मनतोलालाई उठाए । 

बिदाइस्वरूप सबैले माटो हाल्दै ढोगे ।

मलामीले पनि माटो दिएपछि दमाहाको ताल फेरियो । दमाहाको शव गाड्ने तालमा मलामीले गाड्न थाले । 
त्यसपछि मलामीले औँला मुखमा हालेर सिठी बजाए । 

सिठीकै धुनमा माटोले छिटोछिटो पुरे । चुत्राले ढाके । चिहानको सिरानीमा काठ ठोके ताकि त्यहाँनेर चिहान रहेछ भनी थाहा होस् । 
कति दमाईले दमाहा घोप्टो पारी पिठ्युँमा बोकेर बाटो लागे भने कति दमाईले कात्रो उठाउन थाले । 

(गाउँघरको परम्परागत चल्तीको भनाइ अनुसार त्यै कात्रोको बाटो हुँदै जोखबहादुर स्वर्ग जानेछन् । कात्रो दमाईले लिनेछन् । कमिज, टोपी आदि सिलाएर लगाउनेछन् ।)

मनतोलाले फेरि फरक्क फर्केर हेरिन्, चिहानघाटमा फिँजिएको बाटो उठाइरहेका दमाई र कात्रोलाई । दमाईले जति कात्रो उठाउँदै गए, उति मनतोलालाई कात्रो झन् छोटो झन् छोटो लाग्यो । 

बाटो नै नभए कसरी पुग्ने स्वर्ग ? 

जोखबहादुर बितरा६ परेको कल्पिइन् । र, मास्टर्नीले हातको भर दिँदै मनतोलालाई जतिजति घरितर लगिन्, उतिउति मनतोलालाई जोखबहादुरले गुनासो गरेजस्तो लाग्यो । र, मनतोलाले रुँदै भन्न थालिन्, “सकिनँ । नौल्या बाबै, मलई माफ गरे ।”
त्यसपछि ? 

मनतोला आधाबाटोमा थचक्क बसिन् । 

“ढिलोचाँरो सप्पैलई पर्ने चोट हो, मन्तोला । मन बुझऊ । आफ्नो मन अर्ले बुझइदेन्नन्, आफैँले हो,” पाका महिलाले सम्झाउँदै ‘हिँड्न’ भने । 

“बाटो छोटो भएर स्वर्ग नपुग्ने हुन् कि,” मनतोलाको मनमा कात्रोको कुरा झन् तलमाथि गरे । फेरि दोहो¥याइन्, “नौल्या बाबै, मलई माफ गरे है । तम्लई बाटो हाल्न नि सकिनँ ।”

“बलै हो,” आफ्नो गाउँबाट सबैभन्दा पहिले एसएलसी गरी मास्टर्नी भएकी लयनसरीले यति भनेर मनतोलालाई सोधिन्, “भन तो सान्जी, स्वर्ग पुगेर फर्केको कोही भेट्या छौ ?”

त्यसपछि ?

मनतोलाले मास्टर्नीलाई पुलुक्क हेरिन् । 
अनि ?

‘नभेटेको’ अर्थ दिने गरी मन्टो हल्लाइन् । 
त्यसपछि ?

मनतोला बिस्तारै उभिइन् । 

१ कात्रो
२ मान्छे मरेको जनाउन दिने दमाहाको ताल
३ दोस्रो घरको मान्छे पस्न निषेध हुने घरको कुनामा बनाइएको सानो कोठा या बारिएको ठाउँ । जहाँ देउता बस्छन् भनिन्छ । यसलाई भनारकुना या भनार भन्छन् ।
४ मरेको मान्छे
५ रोटी (तर बाक्लो)
६ अलपत्र


(यो कथा सांग्रिला बुक्सद्वारा प्रकाशित विभासको कथा संग्रह ‘रोप्ला सुइना’बाट लिइएको हो ।)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC